प्रतिमहिना एक लाखकाे घिउ किन्दै मधेस प्रदेश कृषि मन्त्रालय
जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घिउले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना १ लाख रुपैयाँ बराबरको घिउ खरिद गर्न थालेका हुन्। गत फागुनदेखि घिउ खरिद सुरु भएको हो । गुठी संस्थानले पनि घिउ खरिद गर्न थालेको छ । पशुपालन तथा दुग्ध व्यवसाय गर्ने किसानसँग उधारोमा दूध खरिद गर्दै आएको आयोजनाले साउनदेखि मङ्सिरसम्मको बक्यौता रकम तिरेको भए तापनि पुस–माघको १ करोड ३१ लाख रुपैयाँ तिर्न बाँकी छ । उक्त आयोजनाअन्तर्गत १२ हजार किसान प्रत्यक्ष रूपमा आबद्ध भई आर्थिक लाभ लिन थालेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा उदयपुरका संकलन केन्द्रमार्फत दूध संकलन हुन गरेको छ । जाडो याममा चार हजार लिटर तथा सुक्खा याममा प्रतिदिन दुई हजार लिटर दूध संकलन हुने गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दा आयोजनाको मापदण्डअनुसार गुणस्तर निर्धाण गरेर मात्र बिक्री गर्ने गरिएको छ । आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ दैनिक तीन लाख मूल्य बराबरको बिक्री भइरहेको छ । आयोजनाले दूध, दही,घिउ, पनिर, आइसक्रिमलगायत सामग्री उत्पादन गर्दै आएको छ । गर्मी याममा यहाँबाट उत्पादित दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय लिटरसम्म दही बिक्री हुँदै आएको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालनलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर व्यावसायिक उत्पादन वृद्धि गर्न अभिप्रेरित गरेमा किसानको जीवनस्तर सुधार हुनका साथै आर्थिक समृद्धितर्फको यात्रमा सफलता मिल्ने आयोजनाप्रमुख जोशी बताउँछन् ।
बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका युवक, ८ जनालाई रोजगारी
सुनसरी । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्केका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौंको लगनीमा बेकरी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले १० लाख रुपैयाँ लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् । धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहेका छन् । उनीहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आएका छन् । उद्योगमा आठजनालाई रोजगारी पनि दिएका छन् । कामदारलाई मासिक आठदेखि ३० हजार रुपैयाँसम्म तलब दिँदै आएका छन् । उनीहरूले आफ्नो परिवारका लागि खर्चसमेत यसैबाट पुर्याउँदै आएका छन् । उद्यमी एनसीले आफ्नो पुख्र्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गरेका हुन् । उनी व्यवसायसँगै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध भएर काम गरिरहेका छन् । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुन् भने भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आएका छन् । एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपथ्र्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताए । धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाउँछन् । अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी । दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राई बताउँछन् । उनीहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आएका वीरेन्द्र थापा बताउँछन् । उनीहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका थापा बताउँछन् । लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउँछन् । अहिले आफ्नै ठाउँमा आठ–दश जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उनीहरू खुसी छन् । धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत सञ्चालनमा छन् । उनीहरूले सञ्चालन गर्दै आएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक दुईदेखि दुई लाख ५० हजार रुपैयाँसम्म बचत हुने गरेको बताए । ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्छन्, ‘मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।’
यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान
काठमाडौं । वाफ च्याम्पियनसिप उपविजेता नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ । एनआईसी एसियले टोलीमा रहेका २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार प्रदान गर्यो । सोमबार एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओ सन्तोषकुमार राठी, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका थिए । नेपाली महिला फुटबलले असाधारण सफलता हात पारेकाले सम्मान गरेको बैंकले जनाएको छ । फागुनमा साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो । यस्तै एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ ।
अनुपम राठीको नेतृत्वमा मोरङ उद्योग व्यापार संघको नयाँ समिति गठन
विराटनगर । मोरङ उद्योग व्यापार संघको ३४औं कार्यसमितिको अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल तथा प्रवक्तामा दिपेश सुवेदी चयन भएका छन् । साथै, बैठकमा संघको नियमबमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओमप्रकाश शर्मा, संघका शाखाहरूतर्फबाट कृष्णप्रसाद रिजाल र अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियमबमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् । सोमबार, मोरङ व्यापार संघ (साविकको मोरङ व्यापार संघ) को ३४औं कार्यसमिति सदस्यहरूको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो । संघको विधानअनुसार वाणिज्यतर्फ आठजना र उद्योगतर्फ आठजना सदस्यका लागि निर्वाचन भएको थियो । त्यही संख्याको उमेदवारी दर्ता हुन गई सोही उमेदवाहरू संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र सञ्जीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गरेको छ । साथै, संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मा मनोनीत भएका छन् ।
माउन्टेन इनर्जीले जित्यो प्राधिकरणविरुद्धको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपालविरुद्ध उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ । मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । आइतबार उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले विद्युत प्राधिकरणको दाबी नपुग्ने भन्दै प्राधिकरणको रिट खारेज गरेको हो। यस संगै यो मुद्दा माउन्टेन इनर्जीले जितेको छ । मुद्दा जितेसँगै कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट करिब आयोजनाको निर्माण सम्पन्न (सीओडी) भए देखि मध्येस्थता परिषदमा मुद्दा पेस हुँदा सम्मको २६ करोड ४१ लाख र त्यसपश्चात हालसम्म कट्टा गर्दै आएको रकम र त्यसमा लाग्ने ब्याज रकमसमेत पाउने बाटो खुलेको कम्पनीले जनाएको छ । के थियो विवाद ? प्राधिकरण र कम्पनीबीच पहिलो विवाद विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा रहेको विद्युत खरिद बिक्री दरको विषयमा थियो । कम्पनी र प्राधिकरणबीच २०६७ माग २० गते पीपीए भएको थियो, जुन २०७३ वैशाख १५ गते संशोधन भएको थियो । पीपीएअनुसार कम्पनीले २०७६ भदौ १५ गतेबाट मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिसक्नुपर्ने थियो । तर, प्राधिकरणले समयमै प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न नसकेकाले तोकिएको समयमा विद्युत उत्पादन हुन सकेन । त्यसपछि व्यापारिक उत्पादन सुरु गरेको मिति २०७८ असार ३ गते कायम गरिएको थियो । कम्पनीले हाल चौथो वर्षको विद्युत खरिद बिक्री दरअनुसारको रकम विद्युत प्राधिकरणबाट माग गरिरहेको थियो । तर, प्राधिकरणले भने पहिलो वर्षको पिपिए दरले मात्र पैसा भुक्तानी गर्दै आएको छ । साथै, प्राधिकरण र कम्पनीबीच भएको दोस्रो विवाद विद्युत खरिद बिक्री सम्झौता (पीपीए) धारा ३८.१८ अनुसार नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित तातो पानी साना जलविद्युत आयोजना (२ मेवा) मा यस आयोजनाको कारणले विद्युत उत्पादनमा भएको ह्रासबराबरको रकममात्र कट्टा गर्नुपर्नेमा जडित क्षमताबराबरकै रकम कट्टा गर्दै आएको छ । चौथो वर्षको पीपीए दरअनुसार पैसा पाउनुपर्ने तथा तातो पानी साना जलविद्युत केन्द्रको वास्तविक ह्रासअनुसार कट्टा गर्नुपर्ने भन्दै कम्पनीले मध्यस्थकर्ता समक्ष मुद्दा हालेको थियो । मध्यस्थकर्ताले सर्वसम्मत रूपमा कम्पनीकै पक्षमा फैसला गरेको थियो । त्यसविरुद्द्ध प्राधिकरणले मध्यस्थकर्ताको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट हालेको थियो । सोही रिटमा दाबी नपुग्ने फैसला भएपछि कम्पनीले मुद्दा जितेको हो ।
फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश
काठमाडौं । फोनपेले पे नेप प्राइभेट लिमिटेडमको मोरु डिजिटल वालेटलाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तर-आबद्ध भएकाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यूआर भुक्तानी कारोबारहरू गर्न सकिनेछ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेललेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अब मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झन्डै १४ लाख व्यवसायी स्टोरहरूमा सहजरूपमा सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मोरु डिजिटल वालेटलाई बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । साझेदारीले प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नका लागि सदैब तत्पर रहने पनि उनले बताए । समारोहमा मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत पौडेलले फोनपेसँग आबद्ध हुँदै फोनपे नेटवर्कमा आबद्ध भएका देशभरका १४ लाख व्यवसायीहरूमाझ मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुग्ने बताए । प्रयोगकर्ताले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्ने उनको भनाइ छ ।
नेपाल लाइफले सञ्चालन गर्यो दुई दिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट करिब ५ सय जनाभन्दा बढी लाभन्वित भएको कम्पनीले जनाएको छ । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइललगायतका विशिष्टीकृत जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी,अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समय–समयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेकाले शिविर सञ्चालन गरिएको जानकारी गराए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उनले हाल काठमाण्डौमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रूपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए । जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए ।