कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कुल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए ।
सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभरका सबै पालिकामा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सुगम क्षेत्रमा नुनको सहज उपलब्धता भए पनि दुर्गममा नुनकै लागि सर्वसाधारण जनताले सास्ती खेप्नु परेको गुनासो सार्वजनिक भएसँगै समितिले उक्त निर्देशन दिएको हो । समितिले आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए/गरेको कामकारबाही तथा आगामी कार्ययोजनाबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरे र साल्ट्र ट्रेडिङका उच्च अधिकारीसँग छलफल गरेको थियो । समितिले नुन, चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै देशभर सहजै उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको छ । बैठकमा सहभागी सांसदले आम नागरिकको भान्छासँग जोडिएको नुन तथा सहजरुपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरुले मुख्यतः बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको यसअघिको उदाहरण प्रस्तुत गर्दै मलको अभाव नहुने गरी आपूर्ति सुनिश्चित गराउन जोड दिए । सांसद महेन्द्रबहादुर शाहीले दुर्गमका जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालयसम्म मात्रै आयोडिनयुक्त नुन उपलब्ध भएको तथ्य प्रस्तुत गर्दै अति दुर्गम क्षेत्रमा पनि नुनको सहज उपलब्धता गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद कान्तिका सेजुवालले जनताको मागअनुसार नुन आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे । उनले दुई÷तीन दिनको बाटो हिँडेर दुई केजी मात्रै नुन पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए । सांसद हेमराज राईले नुन, चिनी तथा रासायनिक मललगायत अत्यावश्यक वस्तु बिक्रीवितरणको जिम्मेवारी लिएको साल्ट ट्रेडिङले मागअनुसार आपूर्तिको सुनिश्चितता गर्नुपर्ने बताए । सांसद सूर्यमान दोङले रासायनिक मलको सहज आपूर्ति र वितरणको योजना के छ भनी प्रश्न गरे । सांसद गणेश पराजुली, सीता मिजार, शान्ति चौधरी र अमृतादेवी अग्रहरीले बर्खाको समयमा रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न तथा दुर्गममा नुनको ढुवानीको व्यवस्था मिलाउन आग्रह गरे । ‘अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध’ छलफलमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले नुन, चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताए । ‘अत्यावश्यक वस्तुको अभाव हुन दिइने छैन, आपूर्ति सहज बनाउन आवश्यक कार्ययोजना बनाउँदैछौँ’, उनले भने । मन्त्री भण्डारीले समयमै रासायनिक मलको आयातको व्यवस्था मिलाउन ठोस योजना बनाइएको बताए । मल आपूर्तिलाई सहज बनाउन मन्त्रलायले थप कूटनीतिक पहल गरिरहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले कृत्रिम अभाव, गुणस्तरहीन सामग्रीको बिक्रवितरण तथा कालोबजारी नियन्त्रण गर्न मातहतका निकायलाई व्यवस्थित ढङ्गबाट परिचालित गरिएको स्पष्ट पारे । साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाल सरकारको निर्देशनबमोजिम विभिन्न खाद्य तथा गैरखाद्य वस्तुको उत्पादन तथा बजारीकरणमा कम्पनी क्रियाशील रहेको बताए । उनले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गरिदिन आग्रह गरे ।
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाले गर्यो साढे ७ करोडको कारोबार
काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको जानकारी दिए । अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतिहरुका बीच पनि उपभोक्ताहरुको स्वदेशी उत्पादन प्रति अपार माया देखिएको बताए । प्रदर्शनीका सहभागीहरुको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उनले बताए । भुकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरु सताइएको भन्दै उनले साना उद्योगहरुको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए । समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै अर्थसचिव मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा बृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताए । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर मात्रै सम्भव भएको उनको भनाई थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवद्र्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्न सकिने बारे छलफल भइरहेको उनले बताए । नेपाल मौरी पालक महासंघका अध्यक्ष सुवास चन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए । उनले मौरी पाल्ने किसान विस्थापनको संघारमा पुगेको भन्दै यो व्यवसायलाई सरकारले सुक्ष्म ढंगले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा प्रा. लोककृष्ण भट्टराई, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मिनबहादुर कुँवर, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडकी अध्यक्ष जानुकादेवी थापा, नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष शोभा गुरुङलगायतले बोलेका थिए । लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको यो पटक १७औं श्रृंखला हो । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको थियो । यसैगरी नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको थियो । नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो । मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालय छन् । यस्तै प्रवद्र्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । अफिसियल बैंक कृषि विकास बैंक रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको थियो ।
सेयर बजारमा २४ अंकको वृद्धि, लगानीकर्ताको आकर्षण वाणिज्य बैंकमा
काठमाडौं । साेमबार सेयर बजार मा दाेहाेराे अंककाे वृद्धि भएकाे छ । सेयर बजार २४.३९ अंकले बढ्दा नेप्से परिसूचक १९९८.८९ बिन्दुमा पुगेको छ । आज ३१० स्टकको ९५ लाख ४१ हजार कित्ता सेयर ४५ हजार ८२८ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ उपसमूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ । १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । आज लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढी छ । विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन
काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई पुनःअध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् । इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघसंस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले हाले सर्वोच्चमा रिट
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले दलको न्यूनतम सर्त र प्रक्रिया पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा सात जना सांसदले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन निवेदन दिएका थिए । उक्त निवेदन आयोगले दर्ता गरेको थियो । आयोगले राई नेतृत्वको समूहलाई जनता समाजवादी पार्टीको नामसहित दलीय मान्यता दिएको छ । यादवको रिटमा सर्वोच्चले आगामी जेठ २ गते पेसी तोकेको छ । यादवले कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने दाबी सर्वोच्चमा गरेका छन् ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम
काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार आइतबार उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकल न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए । सुदुरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमति प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ । साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । साथै न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।