डोङफेङको ‘नामी ०१’ नेपाल ल्याउँदै एमएडब्लू वृद्धि अटोकर्प, यस्ता छन् विशेषता
काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालि चिनियाँ सवारी उत्पादक समूह डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको छ । आधिकारिक वितरक बनेसँगै एमएडब्लूले कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन ‘नामी ०१’ विद्युतीय कार नेपाली बजारमा भित्र्याउने भएको छ । प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०र१८१०/१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ । यसमा भएका सेगमेन्ट फर्स्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्यभन्दा फरक देखाएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पाँच जना आरामले बस्न मिल्ने यो कार ७ रङमा उपलब्ध छ । जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको र त्यसमा मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट उपलब्ध छ । ४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक भएको नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धि एमएडब्लु ग्रुप अन्तर्गतको कम्पनी हो । एमएडब्लु ग्रुपअन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहा लगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दा बढी ब्रान्ड उपलब्ध छन् ।
थाइ एयरवेजले नेपालमा पुनः सुरु गर्यो उडान
काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै औपचारिकरूपमा सेवा सुरु गरेको जानकारी दिएको हो । थाई एयरवेजले सुन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ मा थाई एयरवेजकाे उडान रोकिएको थियो । थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्य हाे, यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ, हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’ उनले विगत ५६ वर्षदेखि नेपालमा सेवा दिएको बताए । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुसले औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।
चुरे संरक्षणको माग गर्दै माईतीघर मण्डलामा धर्ना (तस्बिरहरू)
काठमाडौं । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौंस्थित माईतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो । चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ । पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन् ।
भास्कर आई केयरमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा र प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा , औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश का प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बैकले जनाएको छ ।
सीएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ खुला
काठमाडौं । दुई पांग्रे ब्रान्ड सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको छ । सीएफ मोटाको एनके२५०, एसआर२५०, एनके४५० तथा जीहोको एई६एलआर (डबल ब्याट्री) र सिटी स्पोर्टस मोडलहरू सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको हो । सीएफ मोटोको उत्पादनलाई बिक्री, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछिको सेवा र ग्राहकलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप सीएफ मोटो तथा जीहोको नयाँ आधिकारिक विक्रेताका रूपमा छनोट भएको हो । यी उत्पादनहरूको टेस्ट ड्राइभ तथा बुकिङ कम्पनीको नक्साल, झम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरुममा गर्न सकिने कम्पनीले जनाएको छ ।
बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् । कोन्ज्योसोम गाउँपालिकाद्वारा बिहीबार आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे । सरकारले अघिल्लो महिनामात्रै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उक्त सम्मेलनमा ठोट्नेखोलाको पानी प्रयोग गरी उपत्यकावासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए । ‘मेरो विश्वास छ, उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ’, प्रधानमन्त्री दाहालले भने, ‘यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत् आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।’ कोन्ज्योसोम गाउँपालिकाका केही वडालाई नयाँ सहरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए । उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटीखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीनवटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे । काठमाडौं उपत्यकाबाट नजिकको दूरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए । उनले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे । यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताए । ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री दाहालले अग्र्यानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधन स्रोतको अधिकतम् उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यसबाट गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।’ प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।
पोर्चुगलमा नेपाली पिज्जा रेष्टुराँ युरोपको उत्कृष्ट १२ मा, पायो अवार्ड
लिस्बन । इटालियन सेफका रूपमा युरोपमा प्रख्यात बागलुङका टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औं मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । स्पेनको राजधानी म्याड्रिडमा फिफ्टी टप पिज्जाले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो । युरोपमा प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १२औं पिज्जेरिया’ र विश्वभरका नापोलितान पिज्जामध्ये ‘विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरिया’ मा पर्न सफल भई आफ्नो रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको रेष्टुराँका सञ्चालक सापकोटाले जानकारी दिए । ‘एउटा नेपालीले सञ्चालन गरेको रेष्टुराँले विदेशीसँगको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दा अत्यन्तै खुसी र गौरवान्वित भएको महसुस गरेको छु, यो सफलताले नेपाल र नेपालीको गौरव बढाएको अनुभूति गरेको छु,’ सापकोटाले भने । परिवारको साथ, सहयोग र रेष्टुराँमा कार्यरत सबै कर्मचारीको कडा मेहनत र परिश्रमले यो सफलता प्राप्त भएकोे सापकोटाले बताए । संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । त्यसमा सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ । करिब २७ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । उनी इटालियन खानामा प्रदर्शन गरेको कला, कौशल र प्रतिभाकै कारण दर्जनौँ पुरस्कारसमेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा पोर्चुगलमा उनी युवा सिर्जनशील व्यवसायी घोषित भएका थिए । सापकोटाको रेष्टुराँ सन् २०२३ मा समेत उत्कृष्ट १६औँ मा पर्न सफल भई ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ बाट पुरस्कृत भएको थियो । सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालाई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएका थिए ।
३ घण्टा हिँडेर खोलाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ । घर अगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन । वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकूल हुन्छन् । धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताइन् । उनका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ । धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुर्नुपर्ने अवस्था छ । सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ । ‘घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ’, उनले भनिन्, ‘तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइ नपु¥याउँदा त्यतिबेलासम्म खाना पाकेको हुँदैन ।’ गाउँका सबै मान्छे दुईतीन घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भनेपछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताइन् । ‘पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ’, उनले भनिन्, ‘पानी ल्याउनलाई राति उठ्नुपर्छ ।’ पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ नपाए भने १०/११ बज्ने गरेको उनीहरुको गुनासो छ । उनीहरुका अनुसार त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुई ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बास पानीका लागि पाइपबाट पठाउने गरिन्छ । त्यहाँ पानी नपाउने समस्याले वर्षौदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताए । अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्नैबित्तिकै जाने गर्छ । चार वर्षअघि त्यहाँ विद्युत् जडान गरिएको हो । उनका अनुसार बीचबीचमा विद्युत् जाने आउने समस्या भइरहने गर्छ । ‘एउटा रुख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन’, स्थानीय अगुवा लीलामणि बाँठाले भने, ‘सडक पनि वर्षात्मा त्यस्तै समस्या हुन्छ ।’ त्यहाँ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, सितधारालगायतका गाउँहरु छन् । त्यहाँ करिब तीन सय बढी घर रहेका छन् । रासस