विकासन्युज

१९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वाटरको निर्देशन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कार्यरत प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । सूचनामा आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । अन्यथा सेवाबाट हटाउने कारवाही गरिने सूचनामा उल्लेख छ । गैर हाजिर हुनेमा प्रहरी नायब निरीक्षक, सहायक निरीक्षक, हवल्दार, सहायक हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

संसद बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

फाइल फाेटाे काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि पारित गर्ने सभामुखको तयारी छ ।

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर १ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ । महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा २५ करोड थपेर ३ अर्ब ४६ करोड पुर्‍याएको थियो । गत असारमा महानगरले चालु आवको लागि ३ अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ २ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ १ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने ८८ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा ३९ करोड २२ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । ‘महानगरको गत पुसमा भएको नगरसभाले २५ करोड बजेट थप गर्ने निर्णय गर्‍यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व संकलन हुन सकेन,’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने, ‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि, पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।’ यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार १ सय १९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात

काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ । यसै कारण स्मार्टफोन अब भारतको चौथो ठूलो निर्यात वस्तु भएको छ । भारतीय स्मार्टफोन निर्यात आर्थिक वर्ष २०२४ मा वार्षिक ४२ प्रतिशतले बढेर १५ अर्ब ६० करोड अमेरिकी डलर बराबर पुगेको छ । भारतले अप्रिल २०२२ देखि स्मार्टफोनका लागि छुट्टै डाटा संकलन गर्न थालेको थियो । पेट्रोलियम उत्पादनहरू भारतका शीर्ष निर्यात गरिएका वस्तुहरूमा पहिलो स्थानमा रहँदा स्मार्टफोनले मोटर पेट्रोललाई विस्थापित गरी वित्त वर्ष २०२४ मा चौथो ठूलो निर्यात गरिएको वस्तु बनेको छ । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार भारतले आर्थिक वर्ष २०२४ मा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), नेदरल्यान्ड्स र इङ्ल्यान्डमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गरेको छ । अमेरिकामा स्मार्टफोन निर्यात १ सय ५८ प्रतिशतले बढेको छ । भारतबाट अमेरिकामा जम्मा ५ अर्ब ६० करोड डलर बराबरका स्मार्टफोन पठाइएको छ । त्यसपछि भारतबाट यूएई २ अर्ब ६ करोड डलर, नेदरल्यान्ड्स १ अर्ब २० करोड डलर र बेलायतमा १ अर्ब १० करोड डलर बराबर स्मार्टफोन निर्यात भएको छ । सेलुलर एन्ड इलेक्ट्रोनिक्स एसोसिएसन अफ इन्डिया (आईसीईए) को अनुमान अनुसार आर्थिक वर्ष २०२४ मा निर्यात र घरेलु बजार दुवैका लागि भारतमा उत्पादन हुने मोबाइल उपकरणहरूको मूल्य बढेर ४१ खर्ब हुने अपेक्षा गरिएको छ । वार्षिक आधारमा १७ प्रतिशतले उत्पादन बढेको छ । आईसीईएले देशका अधिकांश मोबाइल प्लेयरहरूको प्रतिनिधित्व गर्दछ । चीनसँग प्रतिस्पर्धा सरकारद्वारा सञ्चालित उत्पादन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनाले भारतमा स्मार्टफोन उत्पादन बजारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यसले भारतलाई चीनपछि दोस्रो ठूलो मोबाइल फोन उत्पादन गर्ने देश बन्न मद्दत गरेको छ । यो चीनमा उत्पादन गर्ने कम्पनीहरूलाई आकर्षित गर्न र उनीहरूलाई आफ्नो व्यवसाय भारतमा सार्नका लागि मनाउन चीन-प्लस-वान रणनीतिको एक महत्त्वपूर्ण उपकरण पनि भएको छ । पीएलआई योजनाका प्रमुख कम्पनीहरूमा एप्पलका तीन विक्रेताहरू फक्सन, विस्ट्रोन इन्डिया (अहिले टाटा इलेक्ट्रोनिक्स), पेगाट्रोन र सामसङ समावेश छन् । एप्पलको भारतमा कीर्तिमानी कमाइ एप्पलले भारतमा मार्च २०२४ मा समाप्त भएको त्रैमासिकमा रेकर्ड आम्दानी गरेको छ । एप्पलका सीईओ टिम कुकले गत वर्ष सोही अवधिको तुलनामा आइफोनको बिक्रीमा १० प्रतिशतले कमी आएका कारण आम्दानीमा समग्र चार प्रतिशतले कमी आएको भए पनि अहिले भने रेकर्ड हासिल गरेको बताएका छन् । एजेन्सी

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

चीन । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ । जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक बर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो । विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो बर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ । रासस

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् । काठमाडौंको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि जलवायु वित्तीय व्यवस्थापन महत्वपूर्ण रहेकामा जोड दिए । उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरूका बारेमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए । विशेष गरी ग्लोबल आइएमई बैंक र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन अमेरिकी डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनालाई वित्तीय सहायता प्रदान गर्ने अध्यक्ष ढकालले जानकारी दिए । यसबाट नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनालाई बलियो बनाउनुका साथै लघु, साना तथा मझौला उद्योगलाई लाभ पुर्याइ नेपालको जलवायु प्रतिरोध क्षमता बढाउने उनले स्पष्ट पारे । अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको तथा जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी पनि सो अवसरमा दिए । उनले भने– ‘जलविद्युतमा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन् र यसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदैछ ।’ विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेको र विद्युतीय सवारी प्रवर्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । पर्यावरणमैत्री पर्यटन र केबलकार परियोजनाहरूको प्रवद्र्धनले पनि कार्बन उत्सर्जन घटाउन र दिगो विकासलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । अध्यक्ष ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार तथा सशक्त सार्वजनिक–निजी साझेदारीका लागि पनि आह्वान गरे । यस किसिमको साझेदारीले नेपालको सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य पूरा गर्न सहयोग पुग्ने उनले बताए ।