नेपालमा कोरोनाको नयाँ भरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि, यसरी बच्न सकिन्छ
काठमाडौं । कारोना भाइरसको नयाँ भेरियन्ट देखिन थालेका छन् । विश्वका केही देशमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । के हो ‘केपी.१ र केपी.२’ भरियन्ट ? यो भेरियन्ट यस भन्दा अघि देखिएको ओमीक्रोनको सवभेरियन्ट हो । ओमिक्रोनको मुयुट्रेशनबाट नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ भएको चिकित्सकहरूले बताएका छन् । नेपालमा पुष्टि भएकोहरूमा ठूलो असर भने देखिएको छैन । उनीहरूमा कुनै गम्भीर लक्षण देखा परेको छैन । सामान्य रुघाखोकी लक्षण देखापरेको छ । पुष्टि भएकाहरूमा गम्भीर समस्या नदेखिएपनि दीर्घरोगी, बालबालिका गर्भवती महिलाका लागि भने जोखिम हुन सक्ने संक्रामक रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताए । उनका अनुसार कुनै भेरियन्ट कडा र कुनै सामान्य हुने भएकाले कुन भेरियन्ट कति जोखिमपूर्ण छ भनेर भन्न नमिल्ने बताउँछन् । अन्य देशमा पनि छैन असर कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ सिंगापुर अमेरिका, चीन, भारत लगायत अफ्रिकी मुलुकमा देखिएको छ । अन्य देशमा पनि यो भेरियन्टले मृत्यु भने नगराएको पुनले बताए । डा. पुनले विकासन्युजसँग भने, ‘यो भेरियन्ट अन्य मुलकमा अलि पहिले नै देखिएको थियो । तर, मृत्यु भएको भन्ने खबर भने सुनेको छैन । ’ तथापि कतिपय व्यक्तिका लागि भने यो भेरियन्ट पनि कडा हुनसक्ने उनको चेतावनी छ । डर लाग्दो कडा नभएपनि यो भेरियन्ट तिब्र संक्रामक भने रहेको डा.पुनले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिनु अब नौले कुरा होइन । उनी भन्छन्, ‘अब हामीसँसँगै कोरोना रहन्छ, मात्र के हो भने यसको म्युट्रेशन हुने बित्तिकै कतै कडा भएर निस्कने त होईन भन्ने कुरामा हामी सजग रहनुपर्छ ।’ डा. पुन फेरि पनि यस्ता भेरियन्ट देख्न सकिने बताउँदै स्वास्थ्यका प्रोटोकाल अपनाउन आग्रह गर्छन् ।
सुनचाँदीको मुल्यले राख्यो रेकर्ड, सुन भण्डारण गर्ने रणनीतिको प्रभाव
काठमाडौं । यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मुल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुन भण्डारणमा लगानी बढाउने चिनको रणनीतिसँगै मुल्यमा चाप परेको विश्लेषकहरूले बताएका छन् । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार दुवै दिन मुल्यले एक पछि अर्को उचाई कायम गर्दै त्यस पछिका दिनमा भने मुल्य घटेको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन हालसम्मकै उचाईमा पुगेर प्रति १० ग्राम १ लाख २१ हजार ५ सय ७० मा नयाँ रेकर्ड राख्यो । त्यस पछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य १ लाख १७ हजार ३ सय ७० कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४ सय ३० बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय ३७ रुपैयाँ ५० पैस रहेको मुल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६ सय ६३ रुपैयाँ पुग्यो । जुन त्यस पछिका दिनमा भेन घटेर पछिल्लो दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९० रुपैयाँ कायम भयो ।
कच्चा पदार्थभन्दा तयारी वस्तु सस्तो, फोटोकपी पेपर र चिया कपमा दोब्बर कर गर्नुपर्ने
काठमाडौं । सरकारी तथा निजी कार्यालयमा सबैभन्दा बढी प्रयोग हुने कागज हो फोटोकपी पेपर । अधिकांश कार्यालयको यो पेपरको प्रयो बढ्दै गइरहेको छ । सरकारी तथ्यांकले पनि वार्षिक १५ देखि २० हजार मेट्रिक टन फोटोकपी पेपर नेपालमा आयात हुने गरेको छ । कागज उद्योगीहरूले फोटोकपी पेपरलाई तयारी वस्तुका रूपमा परिभाषित गरे पनि सरकारले भने कच्चा पदार्थका रूपमा कर लगाएर आयात गरिरहेको उद्योगीहरू बताउँछन् । नेपाल कागज उत्पादक संघका अध्यक्ष सुनिल गोपाल श्रेष्ठ सरकारले यसलाई कच्चा पदार्थको रुपमा आयात गरिरहेको धारणा राख्छन् । उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा फोटोकपी पेपरमा ३० प्रतिशत कर लगाउनु पर्ने सुझाव सरकारलाई दिएको बताए । कर लगाउँदा फोटोकपी पेपर आयात घट्ने र स्वदेशी उद्योगबाट उत्पादन भएका पेपर प्रयोग हुने उनको भनाइ छ । ‘फोटोकपी पेपर कुनै पनि उद्योगका लागि कच्चा पदार्थ होइन, यो स्टेशनरी अन्तर्गतको तयारी वस्तु हो । तर, त्यसको भन्सार महसुल कच्चा पदार्थ कागज सरह १५ प्रतिशत छ,’ उनले भने, ‘त्यसैले कुनै पनि उद्योगले नेपालमा फोटोकपी पेपर बनाउन सकेका छैनन् । यदि फोटोकपी पेपरमा ३० प्रतिशत भन्सार लगाउने हो भने अर्काे वर्षदेखि ५० प्रतिशत कम आयात र २ वर्षभित्र २५ प्रतिशतमा सीमित हुन्छ ।’ नेपालमा वार्षिक करिब १५/२० हजार मेट्रिक टनसम्म फोटोकपी पेपर आयात हुने गरेको छ । चैतसम्मको तथ्याङ्क अनुसार ११ हजार मेट्रिक टन आयात भइसकेको छ । यस्तै, चिया पिउने पेपर कपहरू नेपालका उद्योगले बनाउँछन् । तर, त्यसको कच्चा पदार्थमा बढी भन्सार तिर्नु परेको उनले गुनासो गरे । यदि चिया पेपर कपमा कच्चा पदार्थमा भन्दा बढी भन्सार लगाइयो भने आयात घट्न गई स्वदेशी उद्योगलाई रात पुग्ने उनले बताए । ‘पेपरको चिया कप वार्षिक ८/१० हजारसम्म मेट्रिक टन खपत भइरहेको छ । यदि नेपालमै उत्पादन गर्न सकियो भने ५ हजारले रोजगारी पाउने छन्,’ उनले भने । उनका अनुसार भृकुटी कागज उद्योग बन्द भएपछि नेपालमा धेरै कागज उत्पादन उद्योगहरू स्थापना भएका छन् । तर, ती कागज उद्योगहरूले नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्याउन नसकेको उनको भनाइ छ । किनभने सरकार र कागज उद्यामीबीच सहकार्य हुन नसकेको उनले बताए । साथै, वर्षातको समयमा लोडेड ट्रकहरूले उद्योगसम्म आवात जावत गर्दा समस्या भोगिरहेकाले ग्रामीण क्षेत्रका उद्योगसम्मको सडक कालोपत्रे गर्नुपर्ने उनको माग छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट गीता अधिकारी सम्मानित
काठमाडौं । पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’बाट सम्मान गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गरेका थिए । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्ष समेत हुन् । गीतकारसमेत रहेकि अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि बजारमा आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहेकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छिन् । सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय हुन् । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेकि अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिव पनि हुन् । यस्तै, संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । सोही अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसा–पत्र प्रदान गरिएको छ । संघका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख आतिथ्यता थिए ।
युवामा आत्महत्याका घटना बढ्न थालेको छ, सरकार गम्भिर हुन जरुरी छ : आरजु राणा
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । सरकारले निःशुल्क रुपमा दिने सुरक्षित मातृत्व सेवालाई थप व्यवस्थित र सरकारी सबै अस्पतालहरुमा लागू गर्न आवश्यक रहेको जानकारी दिइन् । पछिल्लो समय सरकारी अस्पतालहरुमा समेत निःशुल्क सेवा भएकाले भीड लाग्ने गरेको भन्दै सुरक्षित मातृत्व सेवा दिन छोडेकोप्रति सरकारका ध्यानाकर्षण गराइन् । सरकारलाई आवश्यक परे महिला समितिबाट निर्देशन दिनुपर्ने समेत बताइन् । पछिल्लो समय युवाहरुमा आत्महत्याका घटनाहरु बढ्न थालेको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको बताइन् । सुरक्षित मातृत्व सेवा दिनको लागि सरकारका विभिन्न स्वास्थ्य निकायहरुले अनुदान लिने गरे पनि व्यवस्थित रुपमा काम हुन नसकेको बताइन् । सरकारबाट अनुदान लिने तर सेवा नदिने संस्थाहरुलाई तत्काल सेवा दिन निर्देशनको आवश्यकता रहेको बताइन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको लक्ष्य हासिल गर्न सबै मिलेर काम गर्नपर्ने उल्लेख गरिन् । ‘पछिल्लो समय युवाहरु सुसाइटका घटनाहरु बढ्दै गएका छन् । अझ आर्थिक शिथिलताले थप घटनाहरु वृद्धि भएको देखिन्छ । यो घटनालाई गम्भिर रुपमा लिएर हेर्नु जरुरी छ । यस्ता घटनाले आगामी आउने पुस्तालाई नराम्रो असर बनाउने देखिएको छ । त्यसको लागि महिला तथा सामाजिक मामिला समितिले सरकारलाई निर्देशन दिनुपर्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको लक्ष्य हासिल गर्न सबै मिलेर अझै प्रयास गर्नुपर्ने देखिएको छ’, उनले भनिन् । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले सुरक्षित मातृत्व स्वास्थ्य समस्या मात्रै नभएको भन्दै मौलिक मानव अधिकारको प्रश्न भएको बताए । अहिले पनि नेपालमा धेरै महिलाहरु सुरक्षित मातृत्व सेवाबाट वञ्चित रहेको बताए । सभापति साहले सुरक्षित मातृत्व सेवा दिएर आमा र बच्चालाई सुरक्षित गर्न राज्यको दायित्व भएको जानकारी दिए । सरकारले मातृत्व र नवजात शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण कदम चालेको बताए । स्वास्थ्य सेवामा सरकारले पुहँच बढाए पनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले सिमान्तकृत महिलाहरुको मातृृत्व अधिकारमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ केन्द्रित रहेको भन्दै कार्यान्वयनको लागि सबै निकायको प्रयास आवश्यक रहेको बताए ।
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धन गर्दै भोजपुरका रञ्जित गिरी
भोजपुर । टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय छन् । ‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु’, रञ्जित गिरीले भने, ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।’ करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख रुपैयाँ लगानी गरेका छन । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ । विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब रु दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए । ‘अर्ग्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन’, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । उनले हाल अर्ग्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय रुपैयाँ, कालो चिया एक हजार दुई सय र सिल्भर चिया ३० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् । ‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।’ हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् । बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफैं गर्दै आएका छन् । साथै उनले किसानलाई आवश्यक परामर्श पनि दिँदै आएका छन् । व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख रुपैयाँ उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । रासस
विमानस्थलको धावनमार्गमा समस्या देखिँदा विमानहरू आकाशमै होल्ड
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि शुक्रबार दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए । ‘धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो’, उनले भने, ‘पहिले पनि बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।’ उनका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नु परेको थियो ।
मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव
मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन सक्ने प्रकृतिको हुन्छ । यो दहीजस्तो जमेको स्थितिमा हुन्छ । जब मस्तिष्कमा रक्तश्राव हुन्छ, तब त्यसले मस्तिष्कलाई खुम्चिन र फैलन दिँदैन । रगत तरल अवस्थामा भए पनि बाहिर बगेपछि यो ठोस हुन्छ । यसले मस्तिष्कलाई दबाब दिन थाल्छ । जति धेरै रक्तश्राव हुन्छ, उत्ति नै बढी जोखिम हुन्छ । कतिपय अवस्थामा मस्तिष्क रक्तश्रावले तुरुन्तै मान्छेको मृत्यु हुन सक्छ । मस्तिष्कका विभिन्न समस्यामध्ये मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) लाई एक प्रमुख जटिल समस्याका रुपमा लिने गरिन्छ । यो एक प्रकारको मस्तिष्कघात (स्ट्रोक) नै हो । मस्तिष्क रक्तश्राव भन्नाले मस्तिष्कभित्रको सानो या ठूलो रक्तनली फुटी मस्तिष्कभित्र रगत जम्नुलाई बुझिन्छ । मस्तिष्कमा रक्तसञ्चार ज्यादा भएर रक्तनली फुटी रक्तश्राव हुनु नै मस्तिष्क रक्तश्राव हो । यसले गर्दा मस्तिष्कघात, पक्षघात वा प्यारालाइसिसजस्ता समस्याहरु निम्त्याउँछ । मस्तिष्कघात मृत्युको चौथो वा पाँचौँ नम्बरमा पर्दछ । मस्तिष्क रक्तश्रावले मानव शरीरलाई क्षति पुर्याइ ज्यानसम्म जाने हुन्छ तर समयमै सही उपचार गर्न सकियो भने ज्यान बचाउन सकिन्छ । एकचोटी मस्तिष्कमा असर परिसकेपछि कसैकसैमा शारीरिक दुर्बलता अर्थात् पक्षघात पनि हुनसक्छ । तथापि उपचारपछि बिरामी राम्रो भई पूर्वअवस्थामा फर्केका उदाहरण पनि प्रशस्त छन् । मस्तिष्क रक्तश्रावको प्रमुख कारण उच्च रक्तचाप नै हो । त्यसबाहेक एभिएम, ट्युमर रक्तश्राव र रगत पातलो हुने औषधिको सेवनजस्ता कारणले पनि मस्तिष्क रक्तश्राव हुने गर्दछ । मुटुको रोगमा प्रयोग हुने मस्तिष्कमा रक्तश्राव हुनासाथ सास फेर्न कठिन हुने र पक्षघात हुनसक्ने अवस्था रहन्छ । मस्तिष्क रक्तश्राव भएका १० प्रतिशत बिरामीको मृत्यु हुनसक्छ भने पक्षघात हुने जोखिम ७० प्रतिशतमा हुनसक्छ । मस्तिष्क रक्तश्राव कति भएको छ त्यहीअनुरुप उपचार कति सम्भव छ वा छैन भन्न सकिन्छ । पाँच एमएल मात्र रक्तश्राव भएको छ भने उपचारपछि त्यसको नतिजा सकारात्मक हुन्छ । यदि सय एमएल रक्तश्राव भएको छ भने उनीहरुको दुई घण्टामै मृत्यु हुनसक्ने जोखिम उच्च रहन्छ । मस्तिष्कघात हुने अवस्था दुई किसिमको हुन्छ, मस्तिष्क रक्तश्राव भएर हुने र मस्तिष्कमा रगत आपूर्ति नभएर हुने । यी दुईमध्ये दिमागको नसा सुक्ने समस्या ८५ प्रतिशतमा छ भने १५ प्रतिशतमा मस्तिष्क रक्तश्राव रहेको अनुसन्धानले देखाएको छ । ब्रेन ह्यामरेज वा नसा सुकेमा त्यसले आँखा, कान, घाँटीमा समस्या आउनुको साथै शरीरका कुनै अङ्गमा प्यारालाइसिस हुने, छारेरोग हुनेजस्ता प्रत्यक्ष समस्या देखिन सक्छ । मस्तिष्कमा रगत जाने नली सुक्यो वा बन्द भयो भने यस्तो समस्या हुन्छ । जुन किसिमले यसको समस्या बढ्दैछ आगामी पाँच/सात वर्षमा एक नम्बरमा पर्ने देखिन्छ । किनकी मानिसहरुको बदलिँदो जीवनशैली, खानपिन, तजावले गर्दा स्ट्रोकको जोखिम उच्च दरमा बढिरहेको छ । जे कारणले मस्तिष्कघात भएको छ, त्यसमा ध्यान दिएमा सजिलै बचाउन पनि सकिन्छ । तर धेरै मानिसमा समस्या थाहा पाएपछि पनि वास्ता नगर्ने प्रवृत्ति छ । उमेर अनुसार स्वास्थ्य जाँच नगर्ने, औषधि सेवन नगर्ने, व्यायाम नगर्ने, खानामा लापरवाही गर्ने, आराम नगर्ने, निन्द्रा नपुर्याउने, तनाव लिनेजस्ता कारणले पनि पछिल्लो समय स्ट्रोकको समस्या बढ्दो छ । मस्तिष्क रक्तश्राबको मुख्य कारण उच्च रक्तचाप नै हो । उच्च रक्तचापको समस्या धेरै छ । रक्तचापको बिमारी जति पुरानो हुँदै गयो, रक्तचाप जति बढ्दै गयो रक्तनलीहरु त्यतिनै पातलो हुँदै खिइँदै जाने हुँदा रक्तनलीमा प्वाल परी फुट्ने र रक्तश्राब हुने जोखिम रहन्छ । कतिपय व्यक्तिले रक्तचाप नियन्त्रण भयो भनेर औषधि छोड्ने गर्दछन् । यस्तो अवस्थामा रक्तचाप अचानक उच्च हुन पुगी नशा फुटी मस्तिष्क रक्तश्राब हुन्छ । त्यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न नियमित औषधि खानु पर्दछ । स्ट्रोक भएको साढे चार घण्टामा अस्पताल पु¥याउन सके बिरामीलाई बचाउन सकिन्छ । धेरैले स्ट्रोक भएमा घरमै आराम गराएर राख्ने गर्छन् । नसा फुटेको अवस्थामा पनि शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । मस्तिष्क रक्तश्रावका लक्षण र उपचार मस्तिष्क रक्तश्राव एक आकस्मिक अवस्था हो । यो समस्या अचानक आउँदछ र यसले क्षणभरमै गम्भिर अवस्था ल्याउन सक्छ । टाउको दुख्नेक्रम नियमितरुपमा बढ्दैछ, निद्रा लाग्दैन, बिहान उठ्नेबित्तिकै वान्ता हुन्छ, आँखा हेर्न गाह्रो पर्छ भने स्ट्रोकको लक्षण हो । अचानक टाउको दुख्नु, बेहोस हुनु, बान्ता हुनु, शरीरको एक पाखा नचली पक्षघात हुनु आदि यसका लक्षणहरु हुन् । साथै क्षारेरोगको कम्पन हुनु, बोली नखोल्नु, आँखा, मुख टेँडो हुनुजस्ता समस्याहरु पनि हुन सक्छ । यस्ता लक्षणहरु देखिनासाथ तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । रक्तश्रावको अवस्थाअनुसार बिरामीलाई औषधि खुवाउने वा शल्यक्रिया गर्ने भन्न सकिन्छ । रक्तश्रावको मात्रा ३० मिलीभन्दा कम छ भने औषधि सेवनबाट पनि ठीक हुन्छ । यदि रक्तश्राव धेरै ठूलो छ र यसको मात्रा ३० मिलीभन्दा धेरै छ र बिरामीको अवस्था पनि नाजुक अवस्थामा छ भने औषधि उपचारले मात्रै ठीक नभई शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट जमेको रगत निकालिन्छ । अभ्यासमा सयमा ८० जनालाई यसरी औषधिबाटै निको भएको छ भने बाँकी २० जनालाई मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ । नतिजा सन्तोषजनक छैन नेपालमा न्युरो रोगको उपचारको अवस्था राम्रो छ । यहाँ जस्तोसुकै शल्यक्रिया पनि गर्न सम्भव छ । शल्यक्रिया मस्तिष्क रक्तश्रावको एक राम्रो उपचार विधि हो । सही समयमा उपचार गरेर यस रोग लागी गम्भिर अवस्थामा पुगेको बिरामीलाई बचाउन सकिन्छ । तर सही समयमा सही शल्यक्रिया नगर्ने हो भने बिरामीको ज्यान उच्च जोखिममा पर्न सक्दछ । शल्यक्रिया हामी सबैको लागि एक आवश्यकता तथा बाध्यता हो रहर होइन । रक्तश्राबको शल्यक्रिया भन्नाले अपरेशन गरेर मस्तिष्कभित्र रहेको रगतको ढिक्कालाई निकालिन्छ । बिरामीको ज्यान बचाउन र शरीरिक क्षतिलाई कम गरी दुर्बल र अपाङ्ग हुनबाट बचाउन शल्यक्रिया गरिन्छ । शल्यक्रियाबाट त्रसित नभई समयमा सही उपचार गरी ज्यान बचाउनका लागि अनिवार्यका रुपमा लिनु पर्दछ । नेपालको उपचार अवस्थालाई विकसित देशहरुको तुलनामा नराम्रो भन्न मिल्दैन तर नतिजा भने सन्तोषजनक छैन । मस्तिष्क रक्तश्राबको समस्या हाम्रोजस्तो विकासोन्मुख मुलुकहरुमा मात्र नभएर अमेरिकाजस्ता विकसित देशमा पनि बढ्दै गएको छ । तर त्यहाँ रोगको लक्षण देख्नासाथ चिकित्सकसँग परीक्षण गरी उनीहरुको सल्लाहअनुसार उपचार गराउँछन् भने हाम्रो जस्तो देशका नागरिकमा रोगलाई महत्व नदिने वा त्यसअनुसार नसासम्बन्धी पालना गर्नुपर्ने अनुशासनतर्फ वास्ता नगर्ने प्रवृत्ति निकै छ । अधिकांश बिरामीहरुको सफल उपचारपछि पनि सामान्य अवस्थामा आउन सकेका छैनन् । अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनीहरुलाई पुनःस्थापना केन्द्रमा राखेर हेर्नुपर्ने हुन्छ । देशमा सरकारीस्तरमा यस्ता पुर्नस्थापना केन्द्रहरु छैनन्, निजी क्षेत्रबाट स्थापना भएका केन्द्रहरु आर्थिक हिसाबले महङ्गो मात्र होइन, कतिपयले व्यापारिक हिसाबले मात्र सञ्चालन गर्न खोज्दा स्तरीय पनि छैनन् । यस्ता विरामीलाई घरमा लैजाँदा आवश्यक हेरविचार पुग्न सक्दैन । यसले गर्दा बिरामीको छ महिना पनि नपुग्दै मृत्यु हुने गर्दछ । रासस (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. झासँग गरिएको कुराकानीम आधारित)