विकासन्युज

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चो बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार ८ सय ३० कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयमा आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

एलआईसी नेपालले बोलायो २२औं साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन । सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यस्तै विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् । बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ । केरा पकेट क्षेत्रको रूपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताए । उनका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ । केराको रेशाबाट पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रूपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताए । ‘हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ,’ उनले भने । तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गरेका थिए । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रूपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिए । केराको थामबाट बनेका सामग्री प्राकृतिकरूपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उनले बताए । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ ।

कोशी, मधेस, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौं । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरीको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

गभर्नरले मागे माफी, त्यसपछि दुख्यो चित्त

काठमाडौं । भुक्तानी सेवालाई विस्तार र प्रभावकारी बनाउन एक दशकअघि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) खुल्यो । बैंकिङ क्षेत्रका लागि आवश्यक सूचना प्रविधि पुर्वाधार उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको नेप्स एक दशकपछि विलय भयो । सानो पुँजी र सहकारी मोडलमा १२ वटा बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीको रूपमा सञ्चालित नेप्स भुक्तानी उद्योगमा बलियो र अब्बल कम्पनीका रूपमा उभिएको थियो । विभिन्न आरोह-अवरोहकाबीच नेप्सले इनोभेसन र विशिष्टीकृत सेवा प्रदान गर्दै भुक्तानी उद्योगमा विशेष र छुट्टै पहिचान बनाउन सफल थियो । तर, जेठ २१ गते (सोमबार)देखि भुक्तानी उद्योगका लागि नेप्स सम्झानामा मात्रै रह्यो । नेपालको डिजिटलाइजेशन यात्रामा अहम र परिवर्तनकारी भूमिका खेल्न सफल नेप्सले भुक्तानी प्रणालीलाई सुरक्षित, स्वस्थ, प्रभावकारी र डिजिटल साक्षरता बढाउन अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेको छ । आफ्नो एक दशक लामो इतिहासलाई बिट मार्दै नेप्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)मा विलय भएको छ । मुलुकभित्र अनलाइन भुक्तानी प्रणालीको पुर्वाधार निर्माण र सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको अगुवाईमा २३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीको संयुक्त लगानीमा वि.सं २०६५ पुस ८ गते एनसीएचएल सञ्चालनमा आएको थियो । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) अवधारणा अन्तर्गत ९ करोडको प्रारम्भिक लगानीमा खुलेको एनसीएचएल १५ वर्षमा नेप्सलाई प्राप्ति गर्न सफल भयो । एनसीएचएल स्थापनाकालमा सञ्चालक समितिमा रहेर भूमिका निर्वाह गरेका महाप्रसाद अधिकारी हाल नेपाल राष्ट्र बैंकका गभर्नर छन् । एनसीएचएल र नेप्सको एकीकृत कारोबारमा गभर्नर अधिकारीले विगतमा खेप्नु परेकाे चुनौति र जाेखिमहरूको अनुभव सुनाउँदै मर्जरपश्चात् कम्पनीले सिनर्जी ल्याउने विश्वास व्यक्त गरे ।  गभर्नर अधिकारीले एनसीएचएल र नेप्स एकआपमा गाभ्ने र गाभिने सम्बन्धि आफूले निरन्तर दबाब दिएको कारण नतिजा आएको जानकारी दिए । ‘मैले कतिपय साथीभाईहरूसँग क्षमा माग्नुपर्छ,  किनभने डेपुटी गभर्नरहरू, मेरै टिमका साथीहरू, निलेशजी, पूर्व अध्यक्षलाई सुरु गरेको काम समयमै टुङ्ग्याउनुपर्छ है भनेर पटक-पटक छलफल र फ्लोअप गर्दा दबाब दिएको थिएँ,’ क्षमा माग्दै गभर्नर अधिकारीले भने, ‘यहाँहरू सबैसँग क्षमा माग्छु, हाम्रो कल्चरमा अलिकति दबाब नदिइ रिजल्ट नआउने रहेछ, त्यसकारण धेरै दबाब दिएँ हुँला। त्यसलाई रिजल्ट निकाल्न दबाब दिइएको थियो भन्ने हिसाबले बुझिदिनुहोला ।’ उनका अनुसार दबाब दिएकाले समयमा एकीकृत कारोबार र इएफटी कार्ड प्रडक्ट लन्च भयो । एनसीएचएल र नेप्सबीचको मर्जर केबल मर्जरको लागि नभई सिनर्जी ल्याउनका लागि भएको उनको भनाइ छ । सीमित संख्याका संस्थाहरू मात्रै टिक्ने अवस्थामा रहेकाले मर्जर गर्नु परेको उनले बताए । ‘राष्ट्र बैंकले ल्याएको नीति यत्तिकै ल्याउँदैन । १० वटा पीएसओ र २७ वटा पीएसपी छन् । तर, ती संस्थाहरू सस्टेन हुन धेरै गाह्रो छ । सीमित संस्थाहरू मात्रै टिक्ने अवस्थामा छन् । संस्था टिक्न, स्वस्थ प्रतिस्पर्धा गर्न र पुर्वाधारमा अनावश्यक स्रोत साधन छर्नबाट जोगाउन एकीकृत हुनु परेको हो,’ उनले भने । अन्य देशको तुलनामा नेपालको फिनटेक उद्योग बलियो रहेको उनले बताए । क्रस बोर्डर लगायतको काम समेत सुरु भइसकेको हुँदा राष्ट्र बैंकले काम गर्ने वातावारण बनाइरहेको उनको भनाइ छ । साथै, डिजिटलको विकाससँगै जोखिम पनि बढेकाले त्यसतर्फ काम गरिरहेको उनले बताए । एनसीएचएलका अध्यक्ष रामु पौडेल नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको पुँजी वृद्धिका साथै पहुँच, अनुभव र क्षमताको आधारमा सरकार र राष्ट्र बैंकको दीर्घकालीन उद्देश्य प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् । एनसीएचएललाई कार्ड र गैर-कार्ड भुक्तानी पुर्वाधारमा पहुँच पुग्ने उनको भनाइ छ । साथै, नेप्सले प्रदान गर्दै आएको कार्ड सम्बन्धि सेवा यथावत रहने उनले बताए । प्राप्तिपश्चात् कम्पनीको पुँजी १ अर्ब ६ करोड र रिजर्भ १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म एकीकृत कारोबार संख्या १३ करोड छ भने कुल कारोबार रकम ११३ खर्बभन्दा बढी पुगेको छ । प्राप्तिपश्चात् कम्पनीमा १३२ जना कर्मचारी रहनेछन् । ‘कर्मचारीहरूको अनुभव र विशेषज्ञताले व्यवसायमा थप गुणस्तर, भुक्तानी क्षेत्र विस्तार तथा सुदृढ हुने र नेपालमै कार्ड कार्यान्वयन नेप्स प्राप्तिले उल्लेखनीय भूमिका खेल्नेछ,’ उनले भने, ‘पुँजी र रिजर्भ वृद्धिले पुर्वाधार, जोखिम नियन्त्रण, सुरक्षामा जोड र नवीनतम अनुसन्धानमा लगानी गर्न र सेवाको गुणस्तरमा सुधार गर्न मद्दत पुग्नेछ ।’ उनका अनुसार नेपालको आफ्नै कार्ड नेपाल पे कार्ड र नेशनल कार्ड स्वीच कार्यान्वयनको चरणमा छन् । सीमापार वित्तीय भूक्तानीको कारोबार भारतबाट सुरू भइसकेको छ भने अन्य देशहरूसँग पनि छलफल भइरहेको उनको भनाइ छ । एनसीएचलका सञ्चालक महेश शर्मा ढकालका अनुसार एनसीएचएल र नेप्सको मर्जर प्रक्रिया भुक्तानी क्षेत्रको पहिलो भएको बताए । नेप्स प्राप्तिबाट भुक्तानीको पुर्वाधार विकास, समग्र प्रणाली प्रतिस्पर्धात्मक, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास रहेको उनको भनाइ छ । ६ महिनामा मर्जर सम्पन्न एनसीएचएल र नेप्सबीच वि.सं २०८० पुस ६ गते प्रारम्भिक सम्झौतापत्र (एमओयू) भएको थियो । एमओयूपश्चात् दुवै संस्थाको प्रतिनिधित्व रहने गरी सञ्चालक ढकालको संयोजकत्वमा संयुक्त मर्जर कमिटि गठन भयो र डीडीए प्रतिवेदनका लागि जोशी एण्ड भण्डारीलाई छनोट गरी जिम्मेवारी दिइयो । दुवै कम्पनीको २०८० असार मसान्तको लेखापरीक्षण सम्पन्न वित्तीय विवरणको आधारमा वित्त, सञ्चालन, कानुनी, प्राविधिक र नियामक विषय समेतलाई मध्येनजर गर्दै सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन गरी डीडीए रिपोर्ट तयार भयो । विगतका वर्षहरूमा भएको वित्तीय विवरण अर्थात् कार्यसम्पादन, व्यवसायीक अवस्था र पाइपलाइनमा रहेका नयाँ परियोजना, राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्ति सम्बन्धी विनियमावली, प्राविधिक विषयमा यस क्षेत्रका विज्ञहरूले दिएको सुझावलाई आधार मानि मूल्याङ्कन गरिएको थियो । साथै, व्यवस्थापन तहमा एचआर, फाइनान्सतर्फ एकाउन्ट, आईटी एण्ड सिस्टम र पोलिसी एण्ड स्ट्राटेजी लगायतका विषयत तथा उपसमिति गठन गरी विस्तृत अध्ययन प्रतिवेदन, एमओयूमा उल्लेखित शर्तमा रही संयुक्त मर्जर तथा प्राप्ति समितिले स्वाप रेसियो १ः०.२८ अनुपात अर्थात् नेप्सको १ सय कित्ता बराबर एनसीएचएलको २८ कित्ता कायम हुने निर्णय भएको ढकाल बताउँछन् । साथै, दुवै कम्पनीको वि.सं २०८० चैत २२ गते अन्तिम सम्झौता, वि.सं २०८१ बैशाख १३ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभाले स्वाप रेसियो पारित गरेको थियो । जेठ २ गते राष्ट्र बैंक र जेठ १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न भएको उनको भनाइ छ । एकीकृत कारोबारपश्चात् नेप्सको कार्ड प्रोसेसिङ सिस्टम लगायतका सेवाहरू एनसीएचएलमार्फत् इफटी कार्ड सेवाको नामबाट कुनै अवरोध नहुने गरी यथावत सञ्चालनमा हुनेछन् । साथै, कर्मचारीहरूको तह मिलान र सेवा सुविधालगायत खाइपाइ आएको तलबभत्ता नघट्ने कर्मचारी व्यवस्थापन गरिएको उनले बताए । साविक नेप्सका अध्यक्ष विश्वम्भर न्यौपाने विभिन्न आरोहअवरोह खेप्दै आएको नेप्स एनसीएचएलमा विलय भएपछि बलियो बनेको बताउँछन् । वार्षिक २०/२५ प्रतिशत प्रतिफल दिन सक्ने नेप्सको योगदानलाई भुक्तानी उद्योगले सम्झिरहने उनको भनाइ छ । नेप्सका भावी योजनालाई एनसीएचएलले अझै शसक्त रुपमा अगाडि बढाउने उनले बताए । ‘ऐतिहासिक मर्जरपछि नेप्स एनसीएचएलमा विलय भएको छ । अब हामी दुवै संस्थालाई एनसीएचएलले प्रतिनिधित्व गर्नेछ । नेप्स विलय भएतापन हामी सबैको मानसपटलमा नेप्सको योगदान, इनोभेसन, सेवा सदैब स्मरणीय छन्,’ उनले भने, ‘दुइटा पीएसओको एकीकरणले सिनर्जी ल्याउनेछ । डिजिटल पेमेन्ट सर्भिस डोमेस्टिक बाउन्ड्रिमा मात्रै सीमित रहने छैन । अब दायरा बढ्नेछ ।’ साविक नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्जिब सुब्बा प्राविधिक कारणले प्राप्ति भएपनि एनसीएचएल र नेप्सको मर्जर भएको बताउँछन् । बैंकिङ क्षेत्रलाई प्रविधिले डोर्याउँदा नेप्सको भूमिका उल्लेखनीय रहेको उनको भनाइ छ । नेपालका फिनटेक कम्पनीहरूका काम र प्रडक्टहरू विश्वस्तरीय रहेको उनले बताए । ‘वान प्लस वान २ होइन, ११ हुनुपर्छ । ४ वर्ष अगाडि नेप्सको जिम्मेवारी सम्हाल्दा चुनौति थिए । ती सबै चुनौती पार गरी कम्पनीलाई सफल बनाइयो । वित्तीय क्षेत्रमा अब्बल र सम्भावना बोकेको नेप्सलाई एनसीएचएलमा हस्तान्तरण गर्न सफल भयौं ।’ एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुभारम्भ, १ अर्ब ७ करोड पुग्यो चुक्ता पुँजी नेप्सलाई २८ रुपैयाँमा किन्दै एनसीएचएल एनसीएचएलले नेप्सलाई १ः०.२८ को स्वाप रेसियोमा प्राप्ति गर्ने

काठमाडौंदेखि सगरमाथा चुचुरोसम्म पैदलयात्रा

काठमाडौं । आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा सुरु गरेकाे ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् । गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा सुरु गरेकाा उनले चार सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ संकल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए । इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौंदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले उल्लेख गरे । आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ । काठमाडौं सानेपाबाट सगरमाथा यात्रा सुरु गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थियो । पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शक हुन् । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको उल्लेख गरे । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखे । ‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।