नाट्टाको अध्यक्षका लागि थपलियाको उम्मेद्वारी घोषणा, अघि सारे महत्वपूर्ण २० प्रतिवद्धता
काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षका लागि कुमारमणी थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । जेठ २५ गते हुने नाट्टाको निर्वाचनका लागि थपलियाले उम्मेदवारी घोषणा गरेका हुन् । उनले २० बुँदे प्रतिवद्धताहरू सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी हालका महासचिव हुन् । त्यसअघि उनी कोषाध्यक्ष थिए । थपलिया प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जिस्वान तुलाधर श्रेष्ठ, उपाध्यक्षमा धनश्याम घिमिरे, महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको उम्मेदवारी परेको छ । यस्तै, सदस्यहरुमा स्भोवित नायक, श्रदा जोशी, कृष्णप्रसाद ढकाल, विदुर प्रसाद खतिवडा, सुदर्शन पौडेल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलले उम्मेदवारी दिएका छन् । पर्यटन क्षेत्रमा लामो समयदेखि त्रियाशिल थपलियाले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्दनका लागि महत्वपूर्ण २० वटा प्रतिवद्धताहरू अघि सारेका छन् । यस्ता छन् प्रतिवद्धताहरू : १. नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधीन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गरिनेछ । २. विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई टुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरूलाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिनेछ । ३. हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्वन्धमा यस एशोशियसनले विगत देखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने छ । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइनेछ । ४. पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने छ । ५. यात्रा गन्तब्यको लागि नेपालबाट उडान गर्ने यात्रुहरूको हवाई टिकट धेरै विदेशी मुलुकबाट जारी हुने हुँदा नेपालको टिकेटिङ्ग व्यापार धरासायी भइरहेको अवस्थामा सोको सम्बोधन हुने गरी आवश्यक पहल गरिनेछ । ६. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तर्राष्ट्रिय उडानसहितको कनेक्टिभिटी बढाउनको लागि पहल गरिनेछ । ७. राजधानी लगायत अन्य मूख्य पर्यटकीय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिनेछ । ८. अन्तर्राष्ट्रिय हवाई टिकेटिङ्गमा देखा परेका समस्याहरू जस्तै भोइड चार्ज र नन रिफण्डेवल टिकट जस्ता विषयमा देखिएका समस्या समाधानको लागि पहल गरिने छ । साथै सबै अन्तराष्ट्रिय टिकटलाई कमिसनयोग्य बनाउन हर सम्भव प्रयास गरिनेछ । ९. विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा जारी भइसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरुद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि, हवाई संचालन अनुमतिकै समयमा सम्वन्धित हवाई कम्पनीले सेक्युरिटी फण्डको व्यवस्था गरेको हुनुपर्ने सम्बन्धमा नेपाल सरकारले पहल गर्नु पर्ने बारे आवश्यक पहल गरिनेछ । १०. अन्तर्राष्ट्रिय रूपमा नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा यस संघले आफ्ना सदस्य कम्पनीहरूको सहभागिता सहित भारत, चीन तथा यूरोप लगायत विश्यका अन्य शहरहरूमा आयोजना गर्ने गरेको सेल्स मिसन, रोड शो, बिटुबी लगायतका प्रवद्र्धन तथा बजारीकरणका कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा आयोजना गर्ने र देश भित्रै यस संघले शुरू गरेको अन्तर्राष्टि बुद्धिष्ट पर्यटनलाई समेत निरन्तरता दिँदै संचालन गरिनेछ । ११. आउटबण्ड टुरमा संलग्न हुने नेपाली यात्रुहरूले राज्यबाट प्राप्त गर्ने विदेशी मुद्राको सीमा सुविधा कतिपय गन्तब्य भ्रमणको लागि प्रयाप्त छैन । यसर्थ तुलनात्मक रूपमा बढी खर्चालु भ्रमण गन्तब्यको हकमा नेपाली यात्रुहरूले पाइरहेको विदेशी मुद्राको वर्तमान सीमा सुविधामा वृद्धि गर्नका लागि पहल गरिनेछ । १२. सरकारी तथा गैर सरकारी निकायहरूको सहकार्यमा संघका सदस्यहरूका लागि सीपमूलक प्रविधिमैत्री तालिमहरू संचालन गरिनेछ । १३. गन्तब्य मूलुकहरूमा यात्रा गर्ने नेपाली यात्रुहरूको पासपोर्ट, भिसा लगायत अन्य कागजातहरूमा देखा पर्ने कैफियतका कारण विमानस्थलबाट डिपोर्ट भएको अवस्थामा अन्तर्राष्ट्रिय हवाई टिकट काटेको कारणले मात्र ट्राभल एजेन्सीहरूलाई आई पर्ने विभिन्न कानूनी समस्याहरूलाई समाधान गर्न नेपाल सरकार तथा हवाई कम्पनीसँग आवश्यक समन्वय गरिनेछ । १४. नाट्टा सचिवालयको वर्तमान क्षमता र प्रभावकारितालाई समयको माग सँगै थप सुदृढ र व्यवस्थित गरि संघ र सदस्यहरूको बिचमा समन्वय र सूचना प्रवाह गरिनेछ । १५. टुर प्याकेज बिक्री तथा खरिद गर्दा भारत, बंगलादेश, भियतनाम जस्ता देशहरूसँगको भुक्तानी कारोबारमा देखिएको असहज अवस्थाको दिर्घकालीन समाधानको लागि पहल गरिनेछ । १६. नेपाल स्थित विदेशी कुटनितिक नियोगहरू र विदेशमा रहेका नेपाली कुटनितिक नियोगहरूसँग सम्वन्य गरी विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गरिने छ । १७. एपीजेसी कमिटीलाई सक्रिय बनाई आईएटीएसँग समन्यव गरी समस्याहरूको समाधान गर्न पहल गरिनेछ । १८. आईएटीएमा बैक जमानत राखी अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीको टिकेटिङ्ग कारोबार गर्न भुक्तानी लिएका सबै ट्राभल कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीको अनिवार्य क्यापिङ सुविधा दिने वातावरण निर्माण गर्न पहल गरिने छ । १९. नेपालको पर्यटन क्षेत्रले छिमेकी राष्ट्रहरू सँग प्रतिस्पर्धा गरिरहनु परेको, हाम्रोभन्दा छिमेकी देशका ट्राभल टुर कम्पनीहरूले सस्तो प्याकेज बिक्री गरिरहेको सन्दर्भमा हाम्रा छिमेकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरी धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ । यसर्थ भन्सार छुट सुविधासहित हाल आयात गरिने पर्यटक सवारी साधनहरूमा सम्बन्धित कम्पनीहरूले आर्जन गरेको विदेशी मुद्राको सीमा घटाई थप व्यवसायमैत्री प्रावधानको व्यवस्थाका लागि पहल गरिने छ । २०. पर्यटन सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरूको नाममा दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनहरूलाई बिना अवरोध पर्यटक सेवामा प्रयोग गर्न पाउने र इम्बोस्ट नम्बर प्लेट जडान गर्दा पर्यटक सवारी साधनका लागि हाल उपलब्ध गराउने गरिएको हरियो रंगको प्लेट हुनुपर्ने ।
लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंककाे हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी
काठमाडौं । साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहराले न्याय पाएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक विरूद्धको मुद्दामा बोहराले न्याय पाएका हुन् । राष्ट्र बैंकले लघुवित्त संस्थाको सञ्चालक समेत बन्न नपाउने गरी बोहरालाई कारवाही गरेको थियो । राष्ट्र बैंकको सो कदम विरूद्ध बोहराले वि.सं २०८० भदौ २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधिश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजालशले राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे हो । राष्ट्र बैंकले वि.सं २०८० असार ४ गते साविक मिर्मिरे लघुवित्तका अध्यक्ष हुँदा बोहरालाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षका लागि सञ्चालक बन्न नपाउने गरी कारबाही गरेको भन्दै पत्र काटेकाे थियाे । त्यसपछि उनी पदमुक्त भएका थिए । राष्ट्र बैंकको सो कदमप्रति असन्तुष्टि जनाउँदै उनी अदालत पुगेका थिए । अदालतको निर्णयपछि बोहराले नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णय भएको र ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिए । ‘नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णयलाई उच्च अदालत पाटनको आदेशबाट बदर भई ढिलै भएपनि न्याय पाएकोमा न्यायलयप्रति उच्च सम्मान छ,’ उनले भने, ‘अब क्षतिपूर्तिका लागि लड्नेछु ।’ राष्ट्र बैंकले यसअघि लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवति प्रसाद नेपाललाई इन्टर्नल अडिट डिपार्टमेन्टमा सरुवा गरिसकेको छ भने कार्यकारी निर्देशक बिमल राज खनाललाइ लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेजारी दिएको छ । सम्बन्धित सामग्री : राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !
रास्वपाका सांसदलाई अर्थमन्त्रीको इग्नोर, बजेटमा उठाएका प्रश्नको दिएनन् जवाफ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई इग्नोर गरेका छन् । अहिले आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुँदा (रास्वपा)का नेताहरूले उठान गरेको प्रश्नको अर्थमन्त्री पुनले अवज्ञा गरेका हुन् । अर्थात् रास्वपाका अधिकांश सांसदहरूले राखेका प्रश्नको उनले जवाफ नदिएर टारेका हुन् । पछिल्ल्लो दुई/तीन दिनदेखि प्रतिनिधि सभा बैठक र राष्ट्रिय सभाको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भइरहेको छ । छलफलमा राजनीतिक दलका अधिकांश सांसदहरूले सहभागिता जनाइरहेका छन् । छलफलमा भाग लिएका अधिकांश सांसदहरूको लिखित तथा मौखिक रूपमै जवाफ दिँदा अर्थमन्त्रीले रास्वपाका अधिकांश सांसदको जवाफ दिएका छैनन् । जेठ २२ गते रास्वपाका दुई सांसदले जवाफको विषयमा धारणा राखेका थिए । अर्थमन्त्री पुनले औपचारिक रुपमा सार्वजनिक गरेको वक्तव्यपमा पनि सांसल स्वर्णिम वाग्ले र तोसिमा कार्कीले २२ गते राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै अर्थमन्त्रीलाई प्रश्न गरेका थिए । सांसद तोसिमा कार्कीको जिज्ञासा । कार्कीले छलफलमा भाग लिँदै चालु खर्च बढ्दै गएको र पुँजीगत खर्चको ट्रेण्डमा सरकारको प्राथमिकता, निःशुल्क ईन्टरनेट सेवा पुर्र्याउन सके मात्र सुचना प्रविधि दशकको लक्ष्य संभव होला ? स्वास्थ्य क्षेत्रमा बजेट कम भएको, स्वास्थ्य बीमा, स्वास्थ्य सेवा शुल्क निर्धारण हुनुपर्ने लगायतका जिज्ञासा राखेकी थिइन् । तर, अर्थमन्त्री पुनले यस विषयमा कुनै पनि जवाफ दिएका छैनन् । अन्य पार्टीका सांसदको जवाफ दिँदा अर्थमन्त्रीले रास्वपाकी सांसद डाँगीको प्रश्नमा भने जवाफ दिएका छैनन् । यस्तै, जेठ २० गते २० वटा सांसदले छलफलमा भाग लिएका थिए । त्यो छलफलमा रास्वपाकी सांसद निशा डाँगीले पनि सहभागिता जनाएकी थिइन् । डाँगीले कर विश्लेषणमा एआईको प्रयोग र सडक दुर्घटना न्युनीकरणभन्दा सरकार क्षतिपुर्तिमा केन्द्रित भएको विषयमा प्रश्न राखेकी थिइन् । छलफलमा सहभागी सबै सांसदको जिज्ञासाको जवाफ दिँदा अर्थमन्त्री पुनले डाँगीको जिज्ञासाको भने जवाफ दिएका छैनन् । जेठ २० गते पनि संसदमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको थियो । सो छलफलमा कुल २७ जना सांसदले सहभागिता जनाएका थिए । जसमा रास्वपाका दुई जना सांसदले आफ्नो धारणा राखेका थिए । सांसद मनिष झा र गणेश पराजुलीले संसदमा आफ्नो जिज्ञासा राखेका थिए । अर्थमन्त्रीले पराजुलीको जिज्ञासाको जवाफ दिएका छन् भने झाको प्रश्नको जवाफ दिएका छैनन् । सांसद झाले बजेटमा संलग्न निकायबिच समन्वयको कमी छ सुधार गर्नुपर्ने, संस्थागत संयन्त्रको क्षमता अभिवृद्धिको लागि बजेट छुट्याईएको नपाइएको, स्पन्ज र बिलेटमा गरिएको कर हेरफेरले ३७ अर्ब लगानी जोखिममा परेको र स्थानीय बजारमा रहेको श्रोत सरकारले आन्तरिक ऋणको रुपमा लिँदा शेयर मार्केटमा परिसकेको निजी क्षेत्रको मनोबलमा असर परेकोले पुनर्विचार गर्नुपर्ने जिज्ञासा राखेका थिए । तर, यी कुनै पनि जिज्ञासाको जवाफ अर्थमन्त्रीले दिएका छैनन् । उनले ती दिनको अवधिमा रास्वपाका ६जना सांसदले छलफल मा भाग लिँदै जवाफ माग गरेका थिए । तर, अर्थमन्त्रीले दुई जनाको मात्रै जवाफ दिएको देखिन्छ ।
स्वाथ्य मन्त्रालयले गर्यो मातहतका विभागमा कर्मचारी हेरफेर
काठमाडौं । स्वास्थ्यका केही अस्पताल र विभागमा प्रमुखको जिम्मेवारी फेरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बुधबार प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको हो । मन्त्रालयको निर्णय अनुसार आयुर्वेद विभागको निर्देशकको जिम्मेवारी डा .प्रदीप केसीलाई दिएको छ । उनी यस अघि सिंहदरवार आयुर्वेद औषधालयको प्रमुख थिए । यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी यदुचन्द्र घिमिरेलाई दिएको छ भने, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ । यो भन्दा पहिले भरतपुर अस्पतालमा डा श्रीराम तिवारी प्रमुख थिए।
प्रतिनिधिसभा बैठक : तीन विधेयक पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।
ओलीलाई अर्थमन्त्रीको जवाफ : बजेट माओवादीतिर नभई जनतातिर ढल्केको छ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् । बुधबार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेको थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए । उनले नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आएपनि यथार्थमा त्यस्तो नभएको बताए । आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी गरे । हरेक तीन वर्षमा कर्मचारीहरुको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताए । मजदुरहरुको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको जानकारी दिए । ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन । समग्रमा सरकारले रोजगारी सिर्जना गर्ने,अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएका छौं । त्यसैले बजेट पनि श्रमिकमैत्री छ । सबैको सहयोग आवश्यक छ । सरकारले बजेट कार्यान्वयन गर्छ र वस्तुगत रुपमा रिजल्ट पनि दिन्छौ’, उनले भने । उहाँले सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको बताए । सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने प्रतिवद्धता जनाए ।
कल्चरल शो हेर्न सकिने नेपालकै पहिलो भिगन रेस्टुराँ ठमेलमा, चार जनाको लगानी
काठमाडौं । ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष सङ्घर्ष बिष्ट र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ गीतकार तथा पर्यटन व्यवसायी देवेन गिरीले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । बिहान १० बजेदेखी राती १० बजेसम्म खुल्ला रहने यस रेस्टुराँमा सेटन बि¥यानी, मिन्ची बि¥यानी, स्टिक बि¥यानी, छोयला, मम, भिगन सिजलर, थाली,लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै, हर्बल टि, सोया टि, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ । द भिगन किचेनको सजावट विशेष र आकर्षक छ । गोबरले लिपिएका यहाका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । यहा“ गाउको झझल्को दिने पारिवारिक वातावरण छ । ‘माछा, मासु र दुधमा जति प्रोटिन पाईन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाईन्छ ।’ सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठले भनिन्, ‘नेपालमा बिस्तारै मानिसहरु भिगनप्रति आकर्षित हुँदैछन् ।’ रेस्टुरा“को मेनु त्यति महँगो छैन । भिगनका विभिन्न परिकारहरुका साथै यहाँ नेपालको संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिनेछ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् । प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई गरेर चार जना सञ्चालक रहेको द भिगन किचेन रेस्टुराँले हाल १२ जनालाई रोजगारी दिएको छ ।
अस्तित्व जोगाउने संघर्षमा अमृत क्याम्पस
काठमाडौं । भित्ताभरि चिरा परेका जीर्ण भवन, प्रांगणमा पलाएका झारपात । त्यही प्रांगणमा जताततै जमेको फोहोर पानी । झट्ट हेर्दा वर्षौंदेखि मान्छेहरू बस्न छाडेको बाँझो घरजस्तो देखिन्छ अमृत साइन्स कलेज (अस्कल) । काठमाडौंको लैनचौरमा अवस्थित अस्कल कलेज नचिन्ने सायदै होलान् । कुनै बेला काठमाडौंको एक प्रतिष्ठित शैक्षिक धरोहरका रूपमा परिचित अस्कल कलेज अहिले वेवारिसे बंगलाजस्तो बनेको छ । न कक्षा कोठामा चुकुल, न विद्यार्थीका लागि खेल्ने खेल मैदान नत कलेजमा विद्यार्थीको आकर्षण । यो साताको पहिलो दिन अस्कल कलेजमा पुग्दा यस्तै हालत देखियो । अस्कल कलेका प्रमुख डा. लोक बहादुर बराल इन्जिनियरसँग भत्केको पुस्ताकालय कसरी मर्मत गर्ने भन्ने छलफलमा थिए । अन्य कर्मचारी काममा व्यस्त थिए । पहिलो पटक अस्कल कलेज पुग्ने मान्छेहरू एक पटक पक्कै सोच्छन् होला, ‘के यो साँच्चिकै अस्कल कलेज हो ?’ कुनै बेला देशका मेधावी विद्यार्थीहरूको शैक्षिक प्रतिस्पर्धाको स्थल बनेको अस्कल कलेज अहिले राजनीति गर्न चाहनेहरूको रणभूमि बनिरहेको छ । प्रतिष्ठित अस्कल कलेजको हालत र दूर्दशा अहिले कसरी यस्तो भयो ? सुरुमा हामीले क्याम्पस प्रमुख बराललाई यही जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘काम गर्ने वातावरण छैन, न विद्यार्थी संगठनले काम गर्न दिन्छन् नत प्रयाप्त बजेट नै छ, पुराना जेजस्तो संरचनाहरू छन्, त्यसमै बसेर काम चलाउनु पर्ने बाध्यता छ ।’ क्याम्पस प्रमुख डा. लोकबहादुर बराल । उनले आफ्नो कार्यकालमा केही गर्ने प्रयास गरेको भए पनि सफलता नमिलेको तर्क दिए । अझै पनि काम गर्ने प्रयास जारी रहेको उनको भनाइ छ । तर, उनी कामका लागि साथ खोजिरहेका छन् । भौति संरचना निर्माणका लागि बजेट खोजिरहेका छन् । २०७८ सालदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका बरालले आफ्नो कार्यकालमा न कुनै नयाँ संरचना बनाउन सके, न कुनै राम्रो काम गरेर देखाउन सके । यो कुरालाई उनी आफै पनि स्वीकार गर्छन् । अस्कलमा ६० वर्ष पुराना संरचनाहरू छन् । तिनै पुराना संरचनालाई २०७२ सालमा गएको भूकम्पले थप जोखिममा पार्याे । यही जोखिममा परेका भवनहरूमा थप जोखिम लिएर विद्यार्थी अध्ययन गरिरहेका छन् शिक्षकहरूले पढाइरहेका छन् । वर्षामा कक्षा कोठा भत्रै पानी पर्छ । अब वर्षायाम सुरु भयो । यो बेला कसरी पठनपाठन गर्ने भन्ने चिन्ता प्रमुख बराललाई छ । बेलाबखत मर्मतसम्भारको काम गर्ने गरेको भएपनि त्यो पनि बजेट अभावका कारण सफल नभएको उनी तर्क राख्छन् । ठाउँठाउँमा चिरा परेको भवनलाई इन्जिनियरले मर्मतभन्दा भत्काएर नयाँ संरचना निर्माण गर्न सल्लाह दिरहेका छन् । तर, क्याम्पस प्रमुख बराल पुर्नसंरचनाका लागि प्रयाप्त बजेट नभएको धारणा राख्छन् । ‘आर्थिक अभावका कारण पुर्नसंरचना गर्न सकेका छैनौैं, पुस्तकालय रेडजोनमा छ, टेका ल्याएर अड्याइरहेका छौं, ल्यावको अवस्था पनि उस्तै छ, चाहेर पनि काम गर्न सकिरहेको छैनौं,’ प्रमुख बरालले भने । अमृत साइन्स नेपालको पहिलो विज्ञान विषय पढाउने केलज हो । एकताका यो कलेजमा अध्ययन गर्नका लागि ठूलो तछाडमछाड हुन्थ्यो । हानथाप हुन्थ्यो । कलेजमा विद्यार्थीको भीड हुन्थ्यो । अस्कल कलेजमा पढ्नु विद्यार्थीका लागि पनि एक किसिमको ‘प्राउड’ हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । न विद्यार्थीको आकर्षण छ नत विगतको जस्तो व्यवस्थापन । अहिले छ त केबल राजनीतिक हानथाप । यस्तो अवस्था देख्दा धेरैको मन दुख्छ । एउटा शैक्षिक धरोहरको उधोगति भएको देख्नु धेरैका लागि दुःखद हो । त्यो दुःख सोही अस्कल कलेजका पूर्व विद्यार्थी प्राध्यापक डा.प्रचण्डमान प्रधानलाई पनि लागेको छ । प्राध्यापक प्रधान अहिले मनमोहन प्राविधिक विश्वविद्यालयका डिन हुन् । कलेजको विगतको जस्तो शाख र प्रतिष्ठा नहुँदा उनी दुःख व्यक्त गर्छन् । विगतमा अस्कलको पृथक किसिमको पहिचान थियो, भवनहरू आकर्षक थिए, विद्यार्थीहरूको भीड हुन्थ्यो, कलेजको वातावरण पनि रमाइलो हुन्थ्यो, अहिले र विगतमा आकाश पातल फरक छ,’ पूर्व विद्यार्थी प्रधानले विगत र वर्तमानको अनुभव सुनाउँदै भने । आफ्नै परीक्षणको पर्खाइमा ‘ल्याब’ अस्कल कलेजको ल्याब । अस्कल कलेजका भवनहरू मात्रै पुराना र भत्केका छैनन् । क्याम्पसभित्र रहेको ल्याबको हालत पनि बताइनसक्नु छ । २०१३ सालमा अमृतप्रसाद प्रधानले क्याम्पस स्थापना गर्दा राखेका सामग्रीहरू अहिले प्रयोग गर्नु पर्ने बाध्यता कलेजलाई छ । ल्याबको मर्मतको लागि विभिन्न समयमा कलेजले बजेट माग गरेपनि हालसम्म बजेट नपाएको गुनासो प्रमुख बरालले गरे । अहिले ल्याबका लागि सामाग्री खरिद प्रक्रियामा रहेको उनको भनाइ छ । ‘हामी क्याम्पसको विदा परेको बेला सामान किन्ने, मर्मत गर्ने सोच गरेका हुन्छौं त्यहीबेला विद्यार्थीले ताला लगाउँछन्,’ जुनबेला क्याम्पसमा मज्जाले काम गर्ने भनेका हुन्छौं, त्यही बेला विद्यार्थीले काम गर्न दिँदैनन्, गएको दशैँमा काम गर्ने योजना थियो विद्यार्थीले ताला लगाइदिए,’ प्रमुख बराल निराश हुँदै प्रश्न गर्छन्, ‘यस्तो वातावरणमा कसरी काम गर्नु ? वेवारिसे जस्तै छ छात्रवास अस्कल कलेजमा एउटा छात्रवास पनि छ । केही विद्यार्थी र शिक्षक अहिले सोही छात्रावासमा बसिरहेका छन् । तर, उनीहरूले पनि चुनौति र जोखिम मोलेर बस्नु पर्ने बाध्यता छ । वि.सं २०२० सालमा छात्रावासका लागि बनेको भवन अहिले जीर्ण बनिसकेको छ । २०७२ को भूकम्पाले सो छात्रावासमा पनि क्षती पु¥याएको थियो । तर, तयसपछि पनि सो भवको पुर्नर्निमाण हुन सकेन । बाहिरबाट चर्केको ठाउँमा टालटुल पारे पनि झ्याल ढोकाको अवस्था अहिले पनि बिजोग । सो छात्रावासमा दुर्गमबाट आएको विद्यार्थीलाई पहिलो प्राथमिकता हुन्छ । क्याम्पस प्रमुख बराल छात्रावासमा पनि राजनीति भएको गुनासो गर्छन् । अस्कल कलेजकाे छात्रवास । ‘विद्यार्थीलाई कर्तव्य बुझाउन सकिएन अथवा बुझेनन् या बढी बुझे,’ उनी भन्छन्, ‘हामीले त विद्यार्थीलाई अनुशासित हुनुपर्छ, क्यापस ज्ञानको मन्दिर हो, वाह्य गतिविधमा केन्द्रीत नहुनु भनेर सिकाएका हौं । तर, विद्यार्थी राजनीतिबाट प्रभावित भएर त्यसको सम्पूर्ण असर कलेजलाई परिरहेको छ ।’ गुठीको जग्गामा भवन बनाउन समस्या अस्कलसँग सडक वारिपारी गरे करिब २१ रोपनी जग्गा छ । अहिले कलेजको भवन रहेको जग्गा गुठीको हो । गुठीको जग्गा भएकाले पनि नयाँ भवन निर्माण गर्न समस्या भएको क्याम्पस प्रमुख बराल बताउँछन् । क्याम्पसमा समस्या हुँदा हारगुहार गर्नुपर्ने ठाउँ त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, मन्त्रालयसँग हो, त्यहाँ गुहार गर्दा आएको केही रकमले पनि भवन निर्माण गर्न सकेनौं, नयाँ भवन बनाउने विषयमा हामीले गुठीसँग कुरा गर्दा तीन महिना बढी भयो जवाफ आएको छैन,’ गुनासो गर्दै उनी भन्छन्, ‘ अब जसरी भएपनि भवन बनाउने योजना छ ।’ राजनीतिले गिजोलिएको क्याम्पस नेपालका हरेक क्याम्पसमा पढाइ भन्दा बढी राजनीति हुन्छ । विश्वविद्यालयदेखि क्याम्पस वा विद्यालयमा समेत गलत राजनीतिको असर परिरहेको छ । कतिपय क्याम्पसमा राजनीति यति हुन्छ कि जहाँ पढ्ने विद्यार्थीहरू नै प्रत्यक्ष मारमा हुन्छन् । त्यो राजनीतिबाट अस्कल क्याम्पस पनि अछुतो छैन । अरु क्यापस जस्तो अस्कलमा पनि विद्यार्थी संघ संगठनको राज चल्छ । हरेक बाहनामा तालाबन्दी र आन्दोलन हुनु अस्कलका लागि सामान्य बनिसकेको छ । यो वर्षमात्रै विद्यार्थी संगठनले पाँच पटक क्याम्पसमा तालाबन्दी गरेको बराल सुनाउँछन् । विद्यार्थीले मलाई केही काम गरेन भन्छन् । तर, काम गर्नका लागि वातावरण हुनुपर्छ, केही विद्यार्थीको कारण साँच्चिकै पढ्छु भनेर आएका विद्यार्थीको पढाइमा असर गरिरहेको छ,’ उनले भने । स्ववियू सचिव रुद्रहरी पोख्रेल । क्याम्पस प्रमुखले विद्यार्थीका कारण काम गर्न समस्या भएको बताइरहेका बेला विद्यार्थी संघ संगठन भने क्याम्पस प्रमुखलाई नै दोष लगाउँछन् । स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पसका सचिव रुद्रहरी पोख्रेल विद्यार्थी संगठनको उदेश्य क्याम्पस प्रमुखको काममा अवरोध गर्नुभन्दा पनि क्याम्पसलाई पुरानो बिरासतमा फर्काएर सेवा सुविधासहित गुणस्तरीय शिक्षाका लागि दबाब दिनु रहेको बताउँछन् । ‘हामीले राजनीति गर्नुपर्छ भनेर तालाबन्दी गरेको होइनौं, शैक्षिक भवन बन्नुपर्छ, ल्याव प्रयाप्त हुनुपर्छ, क्याम्पसमा नयाँ-नयाँ विषय पढाइहुनुपर्छ भनेर प्रशासन नेतृत्वलाई दबाब दिएका हौं,’ उनी भन्छन्, ‘यसलाई गलत राजनीतिका रुपमा बुझ्नु भएन ।’ विद्यार्थी संगठनले पटक–पटक यस्ता विषयको माग गर्दा सहमति हुने तर कार्यान्वयन नहुने प्रवृति रहेको सुनाए । क्याम्पस प्रमुख बजेट अभावको बाहना बनाएर पन्छिने गरेको आरोप लगाए । भूकम्पपछि भवन पुर्ननिर्माणको लागि त्रिविले २ करोड रुपैयाँ बढी बजेट दिएको भएपनि त्यो रकम प्रयोग नगरेको उनको धारणा छ । विद्यार्थीको संख्या पनि घट्दै कुनै बेला पढ्नका लागि हानथाप हुने अस्कल कलेजमा अहिले विद्यार्थी नपाउने स्थिति बनेको छ । केही वर्षयता अस्कलमा विद्यार्थीको संख्या पनि घट्दै गएको छ । कलेजले उपलब्ध गराएको तथ्यांकअनुसार वर्सेनि विद्यार्थीको संख्या घटिरहेको छ । २०७५ सालमा स्नातक र स्नातकोत्तरमा कल ५ सय ६० विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा ६ सय ६९, २०७७ सालमा ५ सय ८० जना विद्यार्थी भर्ना भएका थिए । यस्तै, अस्कलमा २०७८ सालमा विद्यार्थीको संख्या घटेर ४ सय ४ जनामा सीमित भयो । २०७९ सालमा ४ सय ८८ र २०८० सालमा ४ सय ९७ जना विद्यार्थी भर्ना भए । यसरी वर्सेनि विद्यार्थीको संख्या घट्दा अब अस्कलले विद्यार्थी पाउन पनि ठूलो संघर्ष गर्नु पर्ने स्थिति देखिएको छ । क्याम्पसका सहायक प्रमुख गोपाल न्यौपाने कुनै विषयमा आवश्यक सिट संख्याभन्दा न्यून विद्यार्थी रहेको सुनाउँछन् । विगतमा कोटाभन्दा बढी विद्यार्थी हुने भए पनि यस वर्ष कोटाभन्दा न्यून विद्यार्थी रहेको बताउँछन् । अस्कलमा १० वटा विभाग छन् । फिजिक्स, क्यामेस्ट्री, जिओलोजी, बायोलोजी, माइक्रोबायोलोजी, म्याथम्याटिक्स, सीएसआईटी लगायतका विषयहरू यस कलेजमा पढाइ हुन्छ । स्नातकोत्तरमा क्यामेस्ट्री, मास्टर अफ बिजेनस टेक्नोलोजी (एमआईटी) लगायतका विषयहरू पढाइ हुन्छ । कलेजमा विषयअनुसार विद्यार्थीको सिट संख्या पनि फरक-फरक छ । स्नातकोत्तरमा फिजिक्समा ६०, क्यामेस्ट्रिमा ४५, जिओलोजीमा ३० जनाको सिट संख्या हो । तर, सिट संख्या पुरा भएको छैन । बीएसीमै विद्यार्थीको संख्या कम हुँदा स्नातकोत्तरमा पनि यसको असर परेको न्यौपाने बताउँछन् । अहिले स्नातकर र स्नातकोत्तरमा करिब १८ सय विद्यार्थी छन् । ‘यहाँ राजनीति बढी हुन थाल्यो त्यसैले पनि आकर्षण घटेको हुन सक्छ, दुरदराजका विद्यार्थी पढ्नको लागि क्याम्पस आउँछन् । तर, पढ्नभन्दा बढी विद्यार्थी राजनीतिको पछाडि लाग्छन्, अनि कसरी विद्यार्थीको आकर्षण बढ्छ,’ क्याम्पस प्रमुख बराल भन्छन्, ‘विद्यार्थीको संख्या घटेपनि रिजल्टमा भने अझै राम्रो छ ।’ कलेजमा रहेको वर्तमान समस्याले पनि विद्यार्थी बाहिर गएको हुन सकने अनुमान उनको छ । अस्कलमै पढेका क्याम्पस प्रमुख अहिले क्याम्पसको नेतृत्व गरिरहेका लोकबहादुर बरालको घर पाल्पा हो । उनी यही क्याम्पसको प्रडक्ट हुन् । उनले यही क्याम्पसबाट आईएसी र बीएसी गरेका थिए । वि.सं २०४४ सालबाट अस्कल क्याम्पसमा पढाउन सुरु गरेका उनी २०७८ साल भदौ १० गतेदेखि क्याम्पस प्रमुखको रुपमा काम गरिरहेका छन् । उनी आफ्नो कार्यकालमा एउटा भएपनि फरक र नयाँ काम गर्ने सोचमा छन् । स्वर्गीय प्रधानको सालिक । अमृत साइन्स क्यापस अमृतप्रसाद प्रधानले स्थापना गरेका हुन् । पब्लिक क्याम्पसको रूपमा स्थापना गरिएकाे याे कलेज वि.सं. २०३० सालपछि नेपाल सरकारको स्वामित्वमा आएर त्रिभुवन विश्वविद्यालयमा गाभियाे । प्रधान नेपालमा विज्ञान शिक्षाका अगुवा थिए । १९७५ सालमा काठमाडौँको ठमेलमा जन्मेका प्रधानले विज्ञान र प्रविधिको माध्यमबाट मुलुकको विकास गर्ने अभिप्रायले निजी क्षेत्रबाट पहिलो साइन्स कलेज स्थापना गरेका थिए । संस्थापक प्रधानको वि.सं २०५३ सालमा हवाइ दुर्घटनामा निधन भएपछि उनको नामबाटै क्याम्पसको नाम राखिएको हो । यही क्याम्पसमा पढेका विद्यार्थीले देशको नेतृत्व गरिसकेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, पूर्व राष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेस नेता प्रकाशमान सिंह, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र झलनाथ खनाल लगायत नेताहरूले यही कलेजमा अध्ययन गरेका हुन् । बरालको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । उनी आफ्नो कार्यकालमा काम गर्न धेरै प्रयास गरे पनि सफल नभएको बताउँछन् । उनले आफ्नो कार्यकालमा एमआईटी कार्यक्रम ल्याएको छन् भने पीएचडीका विद्यार्थीलाई अध्ययनको लागि काम सुरु गरेको बताए । उनले कलेजमा सीसीटीभी राख्नेदेखि बिलुलीको समस्या समाधान गरेको दाबी गर्छन् । उनले अब आफ्नो कार्यकालसम्म व्यवहारिक विज्ञान सिकाउन ‘व्यवहारिक विज्ञान तथा नवपर्वतन कार्यक्रम केन्द्र’ स्थापना गर्ने लक्ष्य राखेको बताउँछन् । तस्बिर: साैगात पुडासैनी