गण्डकीमा एक हजार ५ सय किलोमिटर सडक स्तरोन्नति
म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९औ०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो । ‘प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ’, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, ‘सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।’ बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् । निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए । रासस
प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पुनः पठायो पत्र
काठमाडौं । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक पत्र लेख्दै टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेका हुन् । यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको टिकटकले फेरि पत्र लेख्दै उक्त विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । टिकटकले नेपालमा बन्द गरिएको आठ महिनाको अवधिमा आफूहरूले सरकारलाई ७ पटक पत्र लेख्दै प्रतिबन्ध फुकुवा गराउन अनुरोध गरेको पनि पत्रमा उल्लेख गरेको छ। पत्रमा भनिएको छ, ‘हाम्रो धेरै पत्राचार, अझ बढी केन्द्रीकृत र बजार प्रतिबद्धता प्रस्ताव गर्ने प्रयासहरूको बाबजुद पनि नेपाल सरकारले टिकटकलाई बन्द गर्नु र अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिनुले हामी अत्यन्त दुखी भएका छौं ।’ टिकटकले पत्रमा टिकटक बन्दबाट नेपालको राजस्वमा पनि ठूलो नोक्सानी पुर्याएको उल्लेख गरेकाे छ ।
काठमाडौं महानगरका ४७३ विद्यालयले बुझाए छात्रवृत्ति विवरण, नबुझाउनेलाई कारबाहीको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयनका लागि महानगरले छात्रवृत्ति विवरण पटक–पटक बुझाउन अनुरोध गरेकाे थियाे । बुधबारसम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएको महानगरले जनाएको छ । बिहीबार एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र छात्रवृत्ति विवरण बुझाउन अनुरोध गरेको छ । यस अवधिभित्र पनि माग भएको विवरण नबुझाउने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखिकरण गरिने र त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई महानगरले सूचित गर्ने सूचनामा उल्लेख छ । साथै, रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही हुने पनि महानगरले जनाएको छ ।
एनआरएन इन्फ्रास्टक्चरकाे केन्द्रीय कार्यालय स्थानान्तरण हुने
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण हुने भएको छ । हाल काठमाडौं महानगरपालिका-७ स्थित चावहिल कम्प्लेक्स भवनको तेस्रो तल्लामा रहेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो । उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाडौं कमलादी-२८ मा रहेको कमलादी कम्प्लेक्स भवनको पहिलो तलामा स्थानान्तरण हुन लागेको हो ।
सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्रआवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधाम, ८० करोडको बृहत् गुरुयोजना तयार
नारायणगढ । भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपुरको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा भरतपुरको पर्यटन उकास्न यस क्षेत्रको प्रवर्द्धनले थप टेवा पुर्याएको छ । नेपाल एकीकरणका क्रममा चितवनवाट पश्चिमतर्फ एकीकरण अभियान सुरु गर्दा तत्कालीन नायब राजकुमार बहादुर शाह तथा गोरखाली सेनाले यहाँ पूजाअर्चना गर्दै अगाडि बढेको इतिहास रहेको गणेशधाम संरक्षण सम्वर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुके बताउँछन्। चुकेका अनुसार तत्कालीन पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनले विसं १५४१ तिर देवघाट धाममा तपस्या गरी बस्न आएको र देवघाटमै आफ्नो जीवनका १२ वर्ष व्यतीत गरेका थिए । त्यस क्रममा देवघाटमा केही देवस्थल थप्नुका साथै भरतपुरको बागीश्वरी, गणेशस्थान, कैलाशनाथ महादेव, जखडीमाई देवीस्थान आदिमा पूजाअर्चना गरी गणेशस्थानमा ऐतिहासिक इनार निर्माण गरेको र गैँडाकोटमा मौलाकालिका माताको मूर्ति स्थापना गरेको किंवदन्ती छ । यहाँ रहेको सिद्धिविनायकको शिला पौराणिक रहेको र राजामणि मुकुन्द सेनले पूजा आराधना गरेको गणेश पुराण तथा पद्म पुराणमा उल्लेख छ । चुकेले भने, ‘पहिले चितवनमा अहिले जस्तो बस्ती विकास भएको थिएन पछि बाहिरबाट आएका व्यक्तिहरुलाई यसबारे थाहा हुने कुरा भएन यसको संरक्षणमा चुनौती भएको हुनाले हाल समितिमार्फत संरक्षणमा हामी जुटेका हौँ ।’ उनले यहाँ भाकल गरेको पुग्ने, विवाह, व्रतबन्ध, सवारीसाधनको पूजा गर्दा शुभ हुने अटल विश्वास रहेकाले अन्य जिल्लाबाट पनि भक्तजनको बाक्लो उपस्थिति हुने गरेको बताए । उनले भने, ‘विगतमा यहाँ लगनका बेला ५०–६० वटासम्म विवाह, व्रतबन्ध हुन्थ्यो तर आजकाल पार्टीप्यालेसमा विवाह व्रतबन्ध गर्ने प्रचलनले यहाँ कम हुने गरेको छ ।’ समितिका कोषाध्यक्ष रेशमलाल सापकोटाले विगतमा देवघाट क्षेत्र विकास समिति र गणेशस्थान टोलविकास संस्थाले यस क्षेत्रको संरक्षण र विकास गर्दै आएको जानकारी दिए । विसं २०६६ मा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वर्द्धन समितिका नामबाट विधिवत् दर्ता गरी विसं २०६७ मा जिल्ला वनकार्यालय चितवनबाट दुई दशमलव ४३ हेक्टर जमिन धार्मिक वनका नाममा दर्ता भएको र विसं २०७५ देखि गणेशधाम संरक्षण सम्वर्द्धन समितिले सरकार तथा दाताहरुको सहयोगमा यस क्षेत्रको निरन्तर विकास र प्रवर्द्धन गरिरहेको उनले बतए । ऐतिहासिक गणेशस्थानलाई गणेशधामका रूपमा विकास गर्न नवजागृति सामुदायिक वन उपभोक्ता समूह र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसगँको समन्वय र समितिका संरक्षक तथा बागमती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीको पहलमा २९ दशमलव ४७ हेक्टर जमिनमा ८० करोड रुपैयाँकाे बृहत गुरुयोजना तयार गरिएको छ । गणेशधाममा कमलेश्वर महादेव, पशुपतिनाथ, चण्डेश्वरी, सरस्वती, मनकामना, सन्तोषीमाता, विश्वकर्मालगायतका मन्दिर छन् । धामको तलतिर पुण्यवती जलाशय क्षेत्र रहेको छ । २२ बिघा क्षेत्रफलमा रहेको जलाशयको बाँधका लागि वाग्मती प्रदेश सरकारबाट ४ करोड १६ लाख रुपैयाँको लागतमा चार मिटर अग्लो र ३० मिटर लामो बाँध र ४० मिटर पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । जलाशयको शिरमा कैलाश पर्वत निर्माणधीन अवस्थामा छ । जलाशयबीचमा पर्ने सौन्दर्यकरणका लागि भरतपुर महानगरपालिकाबाट पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । अध्यक्ष चुकेले गणेशधामलाई गणेश अनुसन्धान केन्द्र तथा गणेश सङ्ग्रहालयका रूपमा विकास गर्ने बताए ।
विद्यार्थी संख्या घटेपछि कालीकोटका १७ विद्यालय समायोजन
मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ । विद्यालयमा विद्यार्थीको संख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो । विसं २०७४ देखि स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन हाल आएर कार्यान्वयन भएको हो । गाउँ शिक्षा समितिको जेठ १७ गतेको निर्णय र गाउँ कार्यपालिकाको १८ गतेको निर्णयअनुसार १७ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दुर्गलाल न्यौपानेले बताए । ‘तीन वटा बालविकास केन्द्रसहित १७ विद्यालय समायोजन गर्ने निर्णय भएको थियो,’ उनले भने, ‘११ विद्यालयको हकमा बालविकास केन्द्र मात्र राखेर अरु कक्षा समायोजन गरिएको छ ।’ तीन वटा बालविकास केन्द्र नजिकको विद्यालयमा समायोजन गरिएको र कक्षा ८ सम्म सञ्चालन भएका तीन वटा विद्यालय कक्षा ६ देखि ८ सम्म समायोजन गरिएको र बाँकी पाँच कक्षामुनिकालाई यथावत राखिएको न्यौपानेले जानकारी दिए । ‘विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि विद्यालय तथा कक्षाकोठा समायोजन गर्नुपरेको हो,’ उनले भने, ‘गाउँपालिकाका–१ देखि ९ सम्मकै विद्यालय समायोजन गरिएको छ ।’ लामो समयको छलफलपछि विद्यालय समायोजनको योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । ‘सरकारी विद्यालयमा पढ्ने विद्यार्थी विस्तारै संस्थागत विद्यालय पढ्नका लागि सहर जान थालेपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ,’ उनले भने, ‘विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका कारण विद्यालयका साथै कक्षाकोठा समायोजन गर्नु परेको हो ।’ ्विद्यालय र कक्षाकोठा समायोजन भए पनि शिक्षकको दरबन्दी यथावत रहने र समायोजन भएकै विद्यालयमा सरुवा हुने व्यवस्था मिलाएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए ।
स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ
भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् । बुधबार सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नंको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँसहित पक्राउ गरिएकाे हाे । उनीहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।