विकासन्युज

अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ‘आन्दोलनरत पक्षसँग छलफल थालेका छौँ । आज बेलुकासम्ममा केही निष्कर्ष आउला’, उनले भने । आयल निगममा लामो समयदेखि ट्याङ्कर चालक मजदुरहरु आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको पेट्रोलियम ट्याङ्कर चालक सङ्घले जनाएको छ । सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग संघले राखेको छ । त्यस्तै, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग संघको छ । संघले गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएको थियो । साथै सात बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरुपमा काम छोडेर गाडीको साँचो ट्याङ्कर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

अडानी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट निर्माण गर्ने

काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट निर्माण गर्ने भएको छ । अडानी ग्रुपका मालिक गौतम अडानीले यस विषयमा केन्द्रित रहेर आइतबार भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक तथा प्रधानमन्त्री दाशो शेरिंग तोबगेसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अडानीले भुटानको चुखा प्रान्तमा ५७० मेगावाटको हरित हाइड्रो प्लान्ट स्थापनाका लागि ड्रक ग्रीन पावर कर्पोरेशन लिमिटेडसँग सम्झौता गरेका छन् । अडानीले भेटघाटको फोटो एक्समा सेयर गर्दै भुटानका प्रधानमन्त्री र राजासँगको भेटघाट विशेष रहेको र भुटानको उर्जा क्षेत्रमा मिलेर काम गर्न उत्साहित रहेको बताएका छन् । यसअघि अडानी ग्रुपले श्रीलंकाको नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । एजेन्सी

बजेट जनता र राष्ट्रको पक्षमा छ : प्रधानमन्त्री 

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।’ सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । ‘यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु’, उनले भने । प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए । उनले भने ‘मैले अस्तिको दिन मात्रै तीनैजना  आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

ठग गिरोहको ‘टार्गेट’मा वैदेशिक रोजगारी बीमा, मृतकका आफन्तलाई झुक्याएर लाखौं रकम असुल्दै

काठमाडौं । घटना १, रौतहटकी दिलमाया यादव (नाम परिवर्तित) केही महिनाअघि रात्री बस चढेर काठमाडौंमा झरिन् । काठमाडौंको कलंकीमा उत्रिएकी उनलाई एक जना (अपरिचित) मान्छेले पिकअप गरे । दिलमायालाई ती व्यक्तिले (अपरिचित) दिनभर काठमाडौं घुमाए । २ बजेपछि उनलाई एउटा बीमा कम्पनीको केन्द्रीय कार्यालयमा पुर्याएर आफू चिया पिउँदै कार्यालय बाहिर बसे । दिलमायालाई बीमा कम्पनीमा पुर्याउनुअघि ती व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएका रहेछन् । बीमा कम्पनीका भुक्तानी विभाग प्रमुखले सबै डकुमेन्ट चेकजाँच गरे । सबै प्रक्रिया पुर्याएकी दिलमायाको चेकबुकबाट दुइटा चेक झिकिएको थियो । यसभित्रको चेक खोइ भनेर कम्पनीका भुक्तानी विभाग प्रमुखले सोध्दा उनले बैंकले नै यस्तै दिएको धारणा राखिन् । यस्ता केसमा फ्रड हुन्छ भन्ने अनुभव गरिसकेका ती अधिकारीले तत्कालै राष्ट्रिय वाणिज्य बैंकमा फोन गरेर सोधे । बैंकले सबै चेक दिएको बतायो । ‘…नाम गरेको वृद्ध आमाले तपाईको बैंकमा खाता खोल्नु भएको रहेछ, चेकको सिरियल नम्बर मिल्दैन, तीन वटा चेक छैनन्, यस्तो कसरी भयो भनेर सोधेँ,’ बैंकसँग भएको कुरा उधृत गर्दै ती विभागीय प्रमुखले भने, ‘बैंकले सबै चेक दिएको जवाफ दिएपछि मलाई थप आशंका लाग्यो ।’ ती अधिकारीमा थप आशंका उब्जियो । ती वृद्ध आमासँग उनले थप सोधपुछ गरे । काठमाडौं कसरी आएको ? कम्पनीमा कसले लिएर आएको ? बैंक खाता कसरी खोलेको भन्ने लगायतका जिज्ञासा उनीसँग राखे । पछि उनलाई थाहा भयो कि यो सबै काम ती अघिकै अपरिचित व्यक्तिले गर्न लगाएका रहेछन् । ‘एक जना बीमाको मान्छे हुँ भन्नुहुन्थ्यो, उहाँले नै बैंकमा खाता खोल्न लगाउनु भएको हो, मलाई लेख्नपढ्न आउँदैन, ल्याप्चे मात्रै गरेकी हुँ,’ दिलमायाले बीमा कम्पनीका विभागीय प्रमुखलाई सरल उत्तर दिइन् । अब भुक्तानी विभाग प्रमुखलाई पूर्ण रूपमा शंका लाग्यो कि दिलमायालाई कसैले ठग्दैछ । ती अपरिचित व्यक्तिले नै आफू बीमा कम्पनीको मान्छे भएको र बीमा बापतकाे पैसा आउने भन्दै काठमाडौं बोलाएको रहेछन् । त्यसपछि उनले सो खातामा बीमाको रकम भुक्तानी गरेनन् । उनीसँग सोधपुछ गर्दा दिलमायाको छोरी र ज्वाईं काठमाडौं रहेछन् । रोजगारीको लागि विदेश गएका दिलमायाका छोराको उतै मृत्यु भएको कारण उनकै बीमाको रकम पाउने आसले उनी काठमाडौं आएकी थिइन् । सुरुमा त उनलाई छोराले बीमा गरेको छ भन्ने पनि जानकारी थिएन । तर, काठमाडौंबाट अपरिचित मान्छेले तपाईंको छोराको बीमाको पैसा पाइन्छ काठमाडौं आउनु भनेपछि उनी आएकी थिइन् । उनले आफ्नो छोरीज्वाईंलाई पनि आफू काठमाडौं आएको जानकारी गराएकी थिइनन् । ती अपरिचित व्यक्तिले नै छोराको बीमा बापतको रकम उपलब्ध गराईदिने भन्दै रौतहटदेखि काठमाडौं बोलाएको थियो । पछि बीमा कम्पनीका भुक्तानी विभाग प्रमुखले नै उनका छोरी ज्वाईंलाई बोलाए । अर्को बैंकमा खाता खोल्न लगाए । तर, खाता खोल्नका लागि पनि दिलमायाको सक्कली कागजात थिएनन् । सक्कली कागजात पनि ती अपरिचि व्यक्तिले बोकेर हिँडेका थिए । बीमा कम्पनीका अधिकारीले ती अपरिचित व्यक्तिको फोन नम्बर दिलमायाको मोवाइलमा हेरेर फोन गरे । ती व्यक्तिले आफू काभ्रेको मालपोत कार्यालयमा कामको शिलशिलामा गएको झुट बोले । पछि प्रहरी लगाउने चेतावनी दिएपछि उनले आधा घण्टामै पठाओमार्फत् सबै डकुमेन्ट पठाइ दिए । कागजप्रमाण सबै आएपनि चेक ती व्यक्तिसँग नै थियो । त्यससपछि दिलमाया र उनका ज्वाईं मिलेर नजिकैकाे एनआईसी एशिया बैंकमा अर्को खाता खोले । नयाँ खाता खोलेपछि बीमा कम्पनीले १३ लाख रुपैयाँ भुक्तानी गर्यो । सो बीमा कम्पनीका भुक्तानी प्रमुखले विकासन्युजसँग सो घटना सुनाउँदै भने, ‘त्यो दिन धेरै खोजतलास नगरेको भए सबै रकम ठगको हातमा जान्थ्यो, दिलमायालाई उनले एक लाख रुपैयाँ आउँछ भनेर ल्याएका रहेछन्, आफूले पैसा निकाल्नको लागि नै खाली चेक बोकेर हिँडेछन् ।’ घटना २, वैदेशिक रोजगारीमा मलेसिया गएका सर्लाहीका सिता क्षेत्री (नाम परिवर्तित) का श्रीमानको विदेशमै मृत्यु भयो । वैदेशिक रोजगारीमा गएका श्रीमानको मृत्युपछि बीमा दाबी भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै रिताले (नाम परिवर्तित)ले सितालाई काठमाडौं बोलाइन् । सिता र रिता दुबै बीमा दाबी भुक्तानीका लागि बीमा कम्पनीको केन्द्रीय कार्यालयमा पुगिन् । दुवै जना मिलेर कागजात पेस गरिन् । सिताले कम्पनीसँग रिता आफ्नो दिदी (जेठानी) भनेकी थिइन् । सबै कागजात मिलेको देखेपछि उनले बीमा रकम भुक्तानी गर्ने निर्णय गरे । ‘मैले उनीहरूप्रति शंका लागेर धेरै कुरा सोधेँ, उनीहरुले आफूहरू देउरानी जेठानी भएको सुनाए, कागजात पनि मिलेको थियो, पछि भुक्तानी गर्यौं,’ ती अधिकारीले विकासन्युजसँग भने । तर, ६ महिनापछि सिताले कम्पनीमा ७ लाख कहिले आउँछ भनेर फोन गरिन् । कम्पनीले सबै रकम एकै पटक सुरुमै भुक्तानी भइसकेको जवाफ दियो । तर, आफूले ६ लाख मात्रै पाएको जवाफ उनले दिइन् । जेठानी भनेकी रिता पनि ठगीमा संलग्न व्यक्ति रहेको पछि खुलिन् । उनले सितालाई बीमाको रकम पाइन्छ भनेर काठमाडौं बोलाएकी रहिछिन् । सबै कुरा सिकाएर आफू जेठानी भएको भन्न लगाएकी थिइन् । बैंकको खाता खोलेर चेक आफैंले राखेकी रहिछिन् । यो सबै कुरा पछि रिताले कम्पनीसँग खोलिन् । रिताले ७ लाख रुपैयाँ ६ महिनापछि आउँछ भनेको भएर उनले कम्पनीमा फोन गरेकी रहिछिन् । सुरुमा भुक्तानी विभागीय प्रमुखले सितालाई आफ्नो बैंक खाता चेक गर्न सुझाए । बैंक खाता चेक गर्दा बीमा कम्पनीले १३ लाख रुपैयाँ पठाएको प्रमाण देखियो । सिताका अनुसार दिदिले (रिता)ले चेक लिएको थियो । आधा पैसा उनले नै निकालेर लगिछन् । बीमाको रकम पाइन्छ भनेर ठगहरूको उक्साहटमा काठमाडौं आएकी रिता अहिले पश्चातापमा छन् । बीमा दाबी भुक्तानीका लागि काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्था कम्पनीहरूले गरेका छैनन् । नजिकैको शाखा कार्यालयबाट पनि दाबी भुक्तानी प्राप्त गर्न सकिने ती भुक्तानी प्रमुखको भनाइ छ । तर, कमिसन खान नपाउने र शाखाका कर्मचारीले अधिकांशलाई चिन्ने भएकाले ठगहरूले सोझासाझालाई काठमाडौं बोलाएर बीमा भुक्तानी गरेर ठग्ने गरेको बताए । वैदेशीक रोजगारी बीमामा ठगी धन्दा वैदेशीक रोजगारी बीमा ठगी गर्ने गिरोहको जालोमा परेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बताए । उनका अनुसार विदेशमा मृत्युपश्चात् दाबी भुक्तानीमा कागजहरू ‘डेथ सर्टिफिकेट’, स्थानीय तह, अध्यागमन विभाग लगायत सरकारी कार्यालयबाट जारी हुने प्रमाणमा सबैभन्दा धेरै ‘म्यानुपुलेट’ हुने गरेको छ । जस्तो सरकारी निकायले कुनै राम भन्ने व्यक्तिको विवरण दियो भने फोटोसप गरेर रामको ठाउँमा श्याम राखिन्छ । जबकी दाबी दिने कम्पनीलाई थाहा हुँदैन । ‘तराईतिर नेपाली नबुझ्ने व्यक्तिलाई ठगी समूहले खोजीखोजी उनीहरुसँग भएको डकुमेन्ट लिएर सबै कागजात हामी मिलाइ दिन्छौं । दुई÷चार लाख आउँछ । फलानो फलानो व्यक्तिलाई खुवाउनुपर्छ भनेर फकाउँछन्,’ एक बीमा कम्पनीका सीईओले भने, ‘मृत्यु दर्ताको प्रमाण, नागरिकता, पासपोर्ट लगायत सबै सक्कली कागजात ठगी समूहको हातमा पुग्छ । त्यसपछि बीमा कम्पनीमा आएर दाबी भुक्तानी लिइरहेका छन् ।’ उनका अनुसार ठगी समूहले बीमा पोलिसीको विवरण वैदेशिक रोजगार विभाग (डोफे)बाट ट्रयाक गर्छन् । ठगी समूहले बीमा पोलिसी एक्सपायर भएपनि फोटोसपबाट जस्ताको त्यस्तै बनाएर दाबी लिइरहेको उनले बताए । ‘ठगी समूहले मेनपावर कम्पनीसँग राम्रो सम्बन्ध बनाउँछन् । को विदेश गयो ? कुन मान्छेको मृत्यु भएको छ भनेर मेनपावर कम्पनीबाट विवरण मागेका हुन्छन् । कतिपय ठगी समूह फोन गर्दा मोबाइल ट्रयाक हुन्छ भनेर घरमै गएर डकुमेन्ट लिने गरेका छन्,’ ती कम्पनीका सीईओले भने । पछिल्लो समय बीमालाई कमाइ खाने भाँडो बनाइएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा ठगी समूहको बिगबिगी रहेकाले प्रमाणका लागि कम्पनीले अहिले फोटो खिचेर राख्ने गरेको अभ्यास सुनाए । ‘तराई मूलका मान्छेहरूमा भाषाको समस्या छ, घरमा कोही पनि हुँदैनन्, कसैले दुई/चार लाख रुपैयाँ भनेपछि ठूलो रकम सोच्नुहुन्छ, त्यसको फाइदा उठाउँदै ठगी समूह बढेका छन्,’ एक कम्पनीका भुक्तानी विभाग प्रमुखले भने । वैदेशिक रोजगारी बीमा अनिवार्य वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी वैदेशिक रोजगारमा गएका सबै व्यक्तिले अनिवार्य बीमा गर्नु पर्ने बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म ६ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने सबैको बीमा र सामाजिक सुरक्षा अनिवार्य रहेको उनको भनाइ छ । गत चैतदेखि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गरेसँगै न्यूनतम २ हजार ३०८ रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म तिर्नुपर्ने उनले बताए । विभागको तथ्याङ्क अनुसार आर्थिक २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार र आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार भन्दा बढीले श्रम स्वीकृति लिएर विदेश गएका थिए । वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टिकाराम ढकालका अनुसार विगत १५ वर्षमा साढे १३ हजारले आर्थिक सहायता दाबी गरेका छन् । विगतमा डेढ लाख, ३ लाख हुँदै अहिले मृतकका परिवारले ७ लाख रुपैयाँ आर्थिक सहायता पाइरहेको उनले बताए । ‘मृत्युको संख्या बढी भएको हुनसक्छ । तर, मृत्यु भएका सबै व्यक्तिको रकेर्ड बोर्डमा आउँदैन । कतिपय आर्थिक सहायता दाबी गर्नुहुन्न । तर, २०६५ सालदेखि हालसम्म १३ हजार ४ सय बढीले बोर्डमा आर्थिक सहायता दाबी गर्नु भएको छ,’ उनले भने । बीमा दाबी भुक्तानीका लागि जुन कम्पनीमा गरेको हो सोही कम्पनीमा जानु पर्ने उनको भनाइ छ । बीमा दाबी रकमका लागि बीमा गर्दाका कागजातहरू आवश्यक पर्ने उनले बताए । ‘बीमा दाबी भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीमा जानुपर्छ । बीमा गर्दा दिइएका डकुमेन्ट नै दाबी भुक्तानीका लागि पेस गर्नुपर्छ । यदि मेनपावरले गरेको छ भने सम्बन्धित मेनपावरलाई लिएर जानुपर्छ । यदि व्यक्तिगत रूपमा गरिएको छ भने बीमाका कागजहरू लिनुपर्छ,’ उनले भने । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म जीवन बीमा कम्पनीहरूले २० लाख ७० हजार २६२ वटा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गरेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्म १५ लाख २३ हजार २६८ वटा बीमालेख जारी गरेका थिए । कामदारको उमेरका आधारमा बीमाशुल्क भुक्तानी तोकिएको छ । जसमा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका श्रमिकले ३ हजार ७०८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्ष उमेर समूहका श्रमिकले ४ हजार ९३१ रुपैयाँ, ५० वर्षदेखि ६० वर्ष उमेर समूहका श्रमिकले ९ हजार ४६३ रुपैयाँ बीमाशुल्क बीमा कम्पनीमा भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ र सामाजिक सुरक्षा कोषमा अनिवार्य गरेसँगै न्यूनतम २ हजार ३०८ रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ दाबी भुक्तानी प्रक्रिया वैदेशिक रोजगारी म्यादी बीमा गरेका व्यक्तिको मृत्यु भएमा परिवारले सम्बन्धित बीमा कम्पनीमा दाबी भुक्तानीका लागि निवेदन दिनुपर्छ । दाबी भुक्तानीका लागि वडा कार्यालयबाट मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र, विदेशमा मृत्यु भएमा राजदूतावासले जारी गर्ने पत्र, अस्पतालमा मृत्यु भएमा अस्पतालले दिने प्रमाणपत्र, शव फिर्ताको प्रमाण, र बीमा गर्दा कम्पनीले दिएका कागजात पेस गर्नुपर्ने हुन्छ । मृतकका परिवारले सबै प्रक्रिया पुर्याएपछि किरिया खर्च, शव फिर्ता वापतको लागतसहित कुल १४ लाख रुपैयाँ कम्पनीबाट पाउने व्यवस्था छ । निवेदन दिएको १५ दिनभित्र सम्बन्धित बीमा कम्पनीले दाबी भुक्तानी रकम मृतकका आफन्त वा परिवारको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

११ महिनामा साढे २७ करोडकाे सामान बरामद

वीरगञ्ज  । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा करिब साढे २७ करोड मूल्य पर्ने बिलबिजक नभएका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियताले पछिल्लो समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री तथा उपकरण नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले आव २०७९र८० को तुलनामा चालु आवको ११ महिनाकै अवधिमा अवैध चोरी, निकासी, पैठारीबाट ३ करोड ७ लाख ३५ हजार ९ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको बताए । ‘भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेलाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाउँदै आइरहेका छौँ,’ उनले भने, ‘चोरी–तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबिजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।’ सशस्त्र प्रहरीले गत आवभरिमा भने २४ करोड ३८ लाख ४० हजार ९ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै चिसो पेयपदार्थ, लत्ताकपडा र प्याज र मेसिनरी पार्टपुजा धेरै तस्करी हुने गरेको देखाउँछ । गणपति धिमालले पर्सा जिल्लामा नेपाल भारत खुला सीमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्नका लागि अधिकत्तम प्रयास भने जारी राखेको बताए । ‘हामीले आफूसँग भएको जनशक्तिलाई सीमा सुरक्षाको साथसाथै चोरी/तस्करी नियन्त्रणका लागि खटाउँदै आइरहेका छौँ । जसको परिणामस्वरुप पनि गत आवको तुलनामा चालु आवको ११ महिनामा अवैध बरामद भएको सामान तथा उपकरणको रेकर्डले पनि देखाउँछ,’ उनले भने । सशस्त्र प्रहरी बलले चालु आवको ११ महिनाको अवधिमा बिलबिजक अनुसार नभएको १५ करोड ४० लाख ४५ हजार दुई सय ६२ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । सोही अवधिमा भन्सार छली गरेर भित्रिएका १२ करोड ५ लाख ३१ हजार छ सय १० मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । सशस्त्र प्रहरी बलले गत आवभरिमा भने बिलबिजक अनुसार नभएको १२ करोड ९५ लाख ६६ हजार ३ सय १६ मूल्य पर्ने सामान तथा उपकरण पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । त्यस्तै सोही वर्ष ११ करोड ४२ लाख ७४ हजार ६ सय १५ मूल्य भन्सार छलीका सामान तथा उपकरण जफत गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ । गणपति धिमालले चोरी तस्करी नियन्त्रण गर्नका लागि सक्रियतापूर्वक काम गर्दै आइरहेको बताए । ‘पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सीमित स्रोतसाधनको बाबजुत पनि हामीले चोरी तस्करी नियन्त्रणको प्रयास गर्दै आइरहेका छौँ,’ उनले भने । सशस्त्र प्रहरी सीमानाकामा सिसी क्यामेरालगायतका उपकरण जडान गरेर तस्करी नियन्त्रणको लागि प्रयास गर्दै पनि आइरहेको जनाएको छ । त्यस्तै गरी सीमानाका क्षेत्रमा दुई पटक स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको छ ।

जेठमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब ३३ करोड राजस्व संकलन

काठमाडौं । जेठ महिनामा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि, व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ । जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएका थिए । कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । जेठ महिनामा देशभरिका मालपोत कार्यालयबाट ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । वैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यो राजस्व वैशाखको तुलनामा ४७ करोड ५४ लाख रुपैयाँले बढी हो । जेठ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले सबैभन्दा धेरै कारोबार गरेको छ । यस कार्यालयले २ हजार ३ सय ७५ वटा लिखत पारित गरेको छ । यस्तै भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले २ हजार ३ सय ४८, झापाले १ हजार ९ सय ८१, मोरङले १ हजार ९ सय ५८, राजविराज सप्तरीले १ हजार ७ सय २९ वटा लिखत पारित गरेको विभागको तथ्यांकले देखाएको छ । काठमाडौंमा डिल्लीबजार कार्यालयले २ सय ५४, चाबहिल कार्यालयले ५ सय ३२, कलकींले ७ सय ६३, मनमैजुले ३ सय १७, साँखुले ५ सय २९, टोखाले १ सय ५९ वटा लिखत पारित गरेका छन् । जेठ महिनामा २ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ रजिस्ट्रेसन दस्तुर संकलन भएको छ ।

एक्सपेरियन्स टोयोटा असार ५ गतेदेखि सुरु हुने, १२ वर्ष सम्मको फाईनान्सिङ सुविधा पाइने

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्म ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको छ । काठमाडौंको आनन्दनगर, धुम्बाराहीस्थित टोयोटा शोरुममा सो इभेन्ट आयोजना गरिने छ । कम्पनीका अनुसार २०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको सो इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्रि इन्स्योरेन्स, १२ वर्ष सम्मको बैंकिङ सुविधा, रोड कर छुट तथा विभिन्न उपहारहरु समेत पाउने छन् । टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई प्रदान गरिने विभिन्न सुबिधाको बारेमा जानकारी गराइने छ । नेपाली बजारका लागि टोयोटा नेपाल (युनाइटेड ट्रेडर्स सिन्डिकेट – यूटीएस) सँग विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध गरिएको छ । सो उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ फाइनान्सको पनि व्यवस्था गरिएको कम्पनीले बताएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’ लाई सहयोग गर्दै यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सवमार्फत ल्याएको कम्पनीले जनाएको छ ।