विकासन्युज

वीरगञ्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औं अधिवेशसनमा चालु आवको भन्दा ६२ करोड रुपैयाँ कम आकारको बजेट सार्वजनिक गरे । आगामी आवको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख ९ हजार अर्थात् ७०.७ प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै, वित्तीय व्यवस्थातर्फ ३ करोड ६४ लाख अर्थात् १.२ प्रतिशत विनियोजन गरिएको छ । उपप्रमुख आलमले आगामी आवमा आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख २७ हजार रुपैयाँ खर्च ब्यहोर्ने बताए । संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख ९ हजार, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख ८ हजार रुपैयाँ स्रोतका रूपमा प्राप्त हुनेछ । त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड २८ लाख, अन्य स्रोतबाट २ करोड ४० लाख र नगद मौज्दातबाट १० करोड रुपैयाँ ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ । आगामी आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ । उपप्रमुख आलमले महानगरले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवर्द्धन गर्नेतर्फ उन्मुख गरिएको बताए । ‘आन्तरिक राजस्वलाई नगरको भरपर्दो एवं दिगो वित्तीय स्रोतका रुपमा स्थापित गरी वित्तीय आत्मनिर्भरता कायम गर्नु राजस्व नीतिको प्रमुख उद्देश्यका रुपमा लिएको छु,’ उनले भने, ‘बजेटमा प्रस्तावित वित्तीय तथा राजस्व सुधारका नीतिबाट आन्तरिक राजस्वको कराधार फराकिलो हुने, प्रशासनिक खर्चमा मितव्ययिता कायम भई पुँजीगत खर्चको गुणस्तर एवं प्रभावकारिता बढ्ने अपेक्षा राखेको छु ।’ महानगरले बजेटमा स्थानीय प्रशासन तथा प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थामा सिसिटिभी क्यामरा जडान गर्ने योजना राखेको छ । साथै, ऐतिहासिक लालबङ्गला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण कार्यको प्रक्रिया अघि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । महानगरले नक्सापास गर्दा अनिवार्य दुईवटा बिरुवा रोप्ने नीति लागू गर्ने भएको छ । आगामी आवको बजेटमा लक्ष्मणवा पार्कलाई ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास गर्ने घोषणा गरिएको छ भने कृषि उत्पादन प्रवर्द्धनका लागि स्वरोजगारी कार्यक्रममार्फत बाँझो रहेको सार्वजनिक जमिन एवं बगरमा कृषक समूह गठन गरी खेती गर्न प्रोत्साहन गर्ने भएको छ । रासायनिक मलप्रतिको आकर्षण एवं निर्भरता पनि कम गर्दै लैजाने र सार्वजनिक पोखरी र सिर्सिया नदीको प्रदूषण न्यूनीकरणलाई पनि बजेटमा समावेश गरेको छ । नगरभित्रका सार्वजनिक जग्गा संरक्षणलाई पनि निरन्तरता दिएको छ । महानगरभित्र स्थापित उद्योगहरूले आफ्नो श्रमशक्तिको कम्तीमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिएमा त्यस्ता उद्योगको व्यवसाय कर र सम्पत्ति करमा समेत छुट दिने नीति अङ्गीकार गरिएको छ । संघीय सरकारको सहयोगमा महागरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई अघि बढानेछ बजेटमा उल्लेख छ । महानगरभित्रका मठमन्दिर, विहार र मस्जिदलगायतको संरक्षण र प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समावेश छ । महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रीकृत रुपबाट उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको छ । लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किेने अभियानलाई पनि बजेटमा समावेश गरिएको छ । महानगरको चालु आवको खर्चको अवस्था वीरगञ्ज महानगरले चालु आर्थिक वर्षमा ३ अर्ब ५१ करोड ८७ लाख ६८ हजार संशोधित बजेट विनियोजन गरेको थियो । उपप्रमुख आलमले चालु आवमा विनियोजित बजेटमध्ये ५४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए । चालुतर्फ १ अर्ब ४५ करोड अर्थात् ७६ प्रतिशत र पुँजीगततर्फ ४५ करोड अर्थात् २३ प्रतिशत मात्रै खर्च हुने संशोधित उनको अनुमान छ । ‘चालु आवमा समानीकरण अनुदान अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको । संघीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीका कारणबाट घरजग्गा रजिष्ट्रेसन आयस्रोत समेत घट्न गएको छ,’ उनले भने, ‘प्रदेश सरकारबाट ससर्त अनुदान र विशेष अनुदानका रूपमा थप अनुदान रकम प्राप्त हुन नसकेको हुँदा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरूप हुन सकेन । आन्तरिक राजस्व परिचालन रु ७० करोड हुने संशोधित अनुमान छ ।’

बागमतीकाे शङ्खमूल क्षेत्रको साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं । वाग्मती नदीको शङ्खमूल क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको पाँच सय ८०औँ हप्तामा शङ्खमूल क्षेत्रमा गरिएको सफाइमा युवा एवं विद्यार्थीको उल्लेख्य सहभागिता रहेको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् । महाअभियानबाट आज उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको थियो । सफाइमा महिलाको सहभागिता पनि उल्लेख्य थियो । त्यस अवसरमा ललितपुर महानगरपालिका–१० का अध्यक्ष रविन व्यञ्जनकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो । आगामी शनिबार पाँच सय ८१औँ हप्ताको वाग्मती सफाइ तीनकुने सुविधानगरस्थित वाग्मती किनारमा गरिने तय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । माथिल्लो वाग्मती सफाइको पाँच सय ४०औँ हप्तामा गुह्येश्वरीभन्दा माथिको क्षेत्रमा सफाइ गरिएको छ । सीमित अभियानकर्मीले सफाइ गरे पनि धेरैले नदीमा फोहर फाल्ने क्रम नरोकिएकाले सफा गर्न नसकिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान १२ वर्ष प्रवेश गरे पनि नदी सफा हुन नसकेको भनी आलोचना हुने गरेको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीका साथै देशभर एक सयभन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको छ ।

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ’, उनले भने । महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताए। उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । ‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ’, उनले भने । उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो । महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । ‘कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो’, उनले भने । उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ’, महामन्त्री थापाले बताए । उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे । पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंको संगठन बलियो हुँदा देशभरको पार्टी संगठन बलियो हुने बताए। ‘काठमाडौंको संगठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ’, उनले भने । भ्रष्टाचारविरुद्ध कांग्रेस शसक्त भएर उभिनुपर्ने उनको भनाइ छ । नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बता ए। ‘एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ’, नेता पौडेलले भने । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । नेता पौडेलले कलंकी–चाबाहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए । कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताइन् । ‘लोकतन्त्रलाई ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौंबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ’, उनले भनिन् । कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौंलाई प्रयोगशाला बनाएको बताए । ‘नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौंमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो’, उनले भने । कांग्रेस काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताए । उनले पार्टीभित्र एउटै व्यक्तिले पटक–पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिए । ‘सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ’, उनले भने । कार्यक्रममा बागमती प्रदेशका सहमहामन्त्री जीवन डंगोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौं महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौं क्षेत्र नं ६ का पूर्वसभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौं महानगरपालिका–२८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेण्डा खोजेको बताए । कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौं महानगरपालिका–२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

चीन । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–द्दसी रकेटबाट अन्तरिक्षमा आधारित मल्टि–ब्यान्ड भेरिएबल ओब्जेक्ट मोनिटर ९एसभिओएम० नामक उपग्रह प्रक्षेपण गरिएको थियो । “ब्रह्माण्ड भएका प्रारम्भिक गामा–रे विस्फोटहरू जस्ता खोजहरूको लागि तयार पारिएको यस उपग्रहले ब्रह्माण्डको विकासको अध्ययन गर्न मद्दत गर्नेछ । एसभिओएमका चिनियाँ प्रमुख अन्वेषक र चिनियाँ एकेडेमी अफ साइन्सेजको नेसनल एस्ट्रोनोमिकल अब्जर्वेटरीमा काम गर्ने वेई जियान्यानले बताए । गामा–रे फटहरू, सामान्यतया अवधिमा धेरै छोटो, बिग ब्यांग पछि ब्रह्माण्डमा सबैभन्दा हिंस्रक विस्फोटक घटना हो, भने तिनीहरू विशाल ताराहरूको पतन तथा बाइनरी कम्प्याक्ट ताराको विलयको समयमा हुन्छन् । गामा–रे फटहरूमा गहिरो अवलोकन र अनुसन्धानले विज्ञानका केही आधारभूत प्रश्नहरू बुझ्न मद्दत गर्ने उनले बताए । एसभिओएमको मुख्य वैज्ञानिक उद्देश्यहरूमा विभिन्न गामा–रे फटहरूको खोजी गरी पत्ता लगाउनु, फटको विद्युत चुम्बकीय विकिरण मापन तथा अध्ययन गर्नु, अन्धकार ऊर्जा र फटहरू मार्फत ब्रह्माण्डको विकासको अध्ययन गर्नु, र गुरुत्वाकर्षण तरंगहरूसँग सम्बन्धित विद्युत चुम्बकीय सङ्केत अवलोकन गर्नु आदी रहेका छन् । फ्रान्सेली वैकल्पिक ऊर्जा र आणविक ऊर्जा कमिसनमा काम गर्ने एसभिओएमका फ्रान्सेली प्रमुख अन्वेषक बर्ट्रान्ड कोर्डियरले प्रारम्भिक ब्रह्माण्ड अवलोकन गर्न उपकरणको रूपमा गामा–रे फट प्रयोग गरेर, पहिलो ताराहरू अवलोकन गर्न सक्ने बताए । यो धेरै रोचक भएको बताउदै उनले वर्तमान युगमा ब्रह्माण्डको बारेमा जानकारी प्राप्त गर्ने यो एक मात्र तरिका भएको उल्लेख गरे । उपग्रहमा चारवटा वैज्ञानिक उपकरणहरू स्थापित छन्, जसमध्ये दुईवटा चीनले र दुईवटा फ्रान्सले विकास गरेको हो । चारवटा उपकरणहरूले दृश्यको ठुलो क्षेत्र र उच्च–परिशुद्धता अवलोकन गर्न सक्छन् । रासस

दिल्लीमा पानीको अभाव, भोक हड्तालमा बसिन् जलमन्त्री

नयाँदिल्ली । गर्मीको समयमा शहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ । बढ्दो तापक्रमको बीचमा यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् । यसैबीच पानी सङ्कटमा राजनीतिक खिचातानीको बीचमा दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हड्तालमा बसेकी छन् । त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताइन् । उनले भनेकी छन्, ‘केजरीवाल टीभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफूलाई दुःख लागेको भावना सम्प्रेषण गरिदिनु भयो । केजरीवालले आतिशीको ‘तपस्या’ सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशासहित अतिशीलाई शुभकामना दिनुभयो ।’ यद्यपि भारतीय जनता पार्टीले भने पानी सङ्टलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ । भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न’ संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाए । पानीको सङ्कट प्राकृतिक सङ्कट नभई केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको स्वराजले उल्लेख गरे । उनले शहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुँदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनसनको धम्की दिइरहेको बताए । रासस

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, पूरै अवधि काम गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि दोहोर्याए । ‘अब हामी छिट्टै केन्द्रिय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, उनले भने । प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताए । सात प्रदेशका सात वटा विशेषता छुट्याएको जानकारी दिए । उनले सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए । सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको बताए । मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको जानकारी दिए । ‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको छ । कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमुलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छाैँ’, उनले भने । उनले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

५ हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे

पाँचथर । याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मीनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष पूरा भयो । तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले तालिम दिएपछि नियमित रुपमा ऊनका सामग्री निर्माण गर्दै आएकी उनलाई अहिले माग पूरा गर्न कठिन परेको छ । गुरुङले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ । २०५१ मा यहाँको चरिभञ्ज्याङमा घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएपछि मीनाकुमारीले ऊनका सामग्री निर्माण गर्न थालेकी थिइन् । ‘पहिले मैले केही पनि जानेको थिइनँ । म त भारत मै जन्मे हुर्केको हुँ । विवाह गरेर यहाँ आएपछि के चाँही गरौं भनेर खोज्दा यहाँ बावु बाजेले गरिराखेको काम गर्नु ठीक लाग्यो’, उनले भनिन, ‘तर मलाई सीप केही नआउने । तालिम लिने अवसर पाएपछि मैले नियमित रुपमा सामग्री उत्पादन गर्दै आएकी छु ।’ विवाह गरेर घरमा आउँदा उनको २८ जनाको परिवार थियो । घरमा भेडापालन पनि भएकाले यो व्यवसाय गर्न उनलाई सबैतिरबाट सहज भयो । तालिम लिएपछि नै उनले आफ्नो कामलाई व्यवसायको रुप दिन सोही कार्यालयबाट पाँच हजार रुपैयाँ ऋण पाएकी थिइन् । ‘त्यही ऋणबाट व्यवसाय सुरु गरेँ । ऋणबाट व्यवसाय थाल्दाको चिनो मसँग अझै छ तिनपाटे राडी’, उद्यमी गुरुङले भनिन, ‘त्यसयता यही व्यवसायले घर परिवार चलाउँदै आएका छौँ ।’ घरेलुको ऋण चुक्ता गरेपछि उनले कृषि विकास बैंकबाट २० हजार ऋण लिएर किस्ता तिर्न थालेकी थिइन । तत्कालीन सशस्त्र द्वन्द्वका समयमा उक्त ऋण पनि तिर्न जान बन्देज भयो । उनको व्यवसाय पनि धराशायी भयो । उत्पादित सामग्री सहजै बजार पुग्न कठिन भयो । सङ्कटकालमा रोकिएको उनको ब्यवसाय पुनः पुरानै स्थितिमा पुग्यो । उनको व्यवसायले उचाइ लिन घरेलु कार्यालयबाट आएको एउटा फोन निकै महत्वपूर्ण भयो । ‘गाउँघरको घरपाला (गाउँकै भेडाको) ऊनबाट सामग्री निर्माण गरिरहेकी थिएँ । पछि घरेलु कार्यालयबाट मलाई फोन आयो’, उनले भनिन, ‘परम्परागत पेशालाई ब्यवसाय बनाउनेहरुलाई तालिम दिने कार्यक्रम रहेछ । त्यसपछि मैले व्यवसायीक रुपमा काम गर्ने तालिम लिने अवसर पाएँ ।’ उनले आफ्नो व्यवसायलाई बढाएपछि भेडाको ऊनको खाँचो पनि भएन । भेडापालकले घरमै ऊन पठाइदिन थाले । ‘पहिले त २० जनासम्म दिदीबहिनीले मेरोमा काम गर्नुहुन्थ्यो । अहिले चाही उनीहरुले ऊन जोखेर आफ्नै घरमा खोसलेर धागो बनाएर ल्याइदिन्छन’, गुरुङले भनिन, ‘धेरै माग आउँदा दिदीबहिनीहरुलाई भेला पारेर बुन्छौँ । माग आएपछि सबैलाई बोलाउँछु । अहिले गाउँका धेरै जना ऊनका सामग्री बुन्न सक्षम भइसकेका छन् ।’ गुरुङको उद्योगमा अहिले चेयर म्याट, सोफा सेट, बुर्कासन, दुई र तीन पाटे राडी, लुकुनी, स्टकोट, कोट, झोला, पर्स, गमलामा राख्ने फूललगायत सामग्री निर्माण हुने गरेका छन् । उनका अनुसार ऊनका २०८ प्रकारका सामग्री निर्माण गर्न सकिन्छ । यद्यपि यहाँ ती सबै सामग्री उत्पादन हुँदैनन् । उद्योगमा प्रयोग हुने ऊन भने जिल्लाकै फालेलुङमा रहेको भेडी गोठसहित ताप्लेजुङका विभिन्न स्थानबाट आपूर्ति गर्ने गरिएको छ । गुरुङले सामग्री निर्माणका लागि विभिन्न प्रकारका ऊन काठमाडौँबाट ल्याउने गरेकी छन् । विदेश पुग्छन् अधिकांश सामग्री उद्यमी गुरुङका अनुसार उत्पादित सामग्रीका आधारमा फाइदा हुने गर्छ । ‘सानो सामग्रीमा एक सय रुपैयाँको हाराहारी नाफा हुने गरेको छ, ठूलो सामग्रीमा दुई हजारसम्म फाइदा राखेर बिक्री गर्छौ’, उनले भनिन, ‘धेरै मूल्य राखौँ बिक्री हुन गाह्रो हुन्छ, कम मूल्य राख्दा फाइदा हुँदैन ।’ यद्यपि आफैँ बजार गएर बिक्री गर्दा भने आकर्षक मूल्य प्राप्त गर्न सकिने गुरुङको भनाई छ । यहाँ उत्पादित ऊनका सामग्री देशका विभिन्न स्थान सहित छिमेकी मुलुक भारत र अन्य देशमा समेत विक्री हुने गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा बस्ने नेपालीले घरमा सजावटका लागि यहाँका सामग्री माग गर्ने गर्दछन् । पछिल्ला दिनमा लुकुनी मृत्यु कार्यमा प्रयोग गर्न थालिएको छ । जसकारण यसको माग क्रमश बढिरहेको मीनाकुमारीको भनाइ छ । उनको उद्योगमा केन्द्रित भई अहिले ऊन खोस्रिने, धागो तान्ने, तान बुन्नेलगायत काममा औषत १० महिलाले रोजगारी प्राप्त गरेका छन् । अब प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाउन मीनाकुमारीसहितका महिलाले चासो राखेका छन् । ‘अहिले हामीलाई ऊन फड्किने सामग्री चाहिएको छ । ऊन फड्कार्न धेरै गाह्रो छ । त्यही कारण आउने माग समयमा पूरा गर्न सकिरहेका छैनौँ’, उनले भनिन्,’तान जसले पनि बुन्छ । ठूलो समस्या भनेको पिउरी बनाउन गाह्रो छ । त्यही गर्न मेसिन पाए हुन्थ्यो भन्ने आशा छ ।’ केही समयअघि घरेलु तथा साना उद्योग कार्यालय पाँचथरबाट मीनाकुमारीको उद्योगमा प्रविधि विस्तार गर्न बजेट विनियोजन पनि भएको थियो । तर कार्यालयबाट विनियोजित एक लाख रुपैयाँमा मेसिन नआउने भएपछि बजेट प्रयोग नै हुन सकेन । भेडाको ऊनबाट धागो कात्न उनमा रहेको लट्टा फुटाउनुपर्छ । लट्टा फुटाउन प्रयोग हुने को¥यासो भाँचिएर डालोभरि रहेको मीनाकुमारीको गुनासो छ । राष्ट्रिय औद्योगिक प्रदर्शनीलगायत स्थानसम्म पुगेकी मीनाकुमारी गुरुङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न सरकारी निकायले उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत गरिसकेका छन् । प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाइ दीर्घकालीन आम्दानीको स्रोत बनाउने अभिलाषा मीनाकुमारीजस्तै यहाँका अधिकांश महिलाले राखेका छन् । यसका लागि सरकारी निकायले प्रविधि र उपकरण हस्तान्तरण गर्नुपर्ने उनिहरुको माग छ । शिक्षकसमेत रहेका मीनाकुमारीका श्रीमान पूर्णकुमार गुरुङ पनि प्रविधि हस्तान्तरण गरी सरकारले मद्दत गर्नुपर्ने बताए । राडीपाखी बुन्ने चलन क्रमश घट्दै गएकाले उत्पादन हुने उद्योगी व्यवसायीलाई सहयोग भए मात्रै परम्परागत पेशा जीवन्त रहने उनको भनाइ छ । उक्त स्थानमा मीनाकुमारीले मात्रै उद्योग दर्ता गरेकी छन् । तर ऊनका सामग्री बनाउने काम उनका गुरुङ समुदायका अधिकांश महिला र अन्य समुदायका केही महिलाले गर्दै आएका छन् । यहाँकी माया गुरुङ कहिले आफ्नै घरमा त कहिले मीनाकुमारीको उद्योगमा गएर ऊनका सामग्री बनाउने काम गर्दै आएकी छन् । ‘घरमा फुर्सदको समयमा ऊनकै काम गरिरहन्छौँ । अलिअलि आम्दानी हुन्छ । नानीहरुलाई खर्च पुर्याउन सकिन्छ’, आफ्नो अनुभव सुनाउँदै मायाले भनिन् । वर्षमा ३० धार्नीसम्म ऊनबाट सामग्री बनाउन सके अलिअलि बचत गर्न सकिने उनको अनुभव छ । ऊनका सामग्री निर्माण गर्ने काम सहज भने पक्कै छैन् । ‘नगर्ने मानिसले जीउभरि ऊन लाग्छ के गरेको भन्नुहुन्छ रु त्यही आम्दानी हुने भएरै हामी यो काम गरिरहेका छौँ । हामीलाई राम्रै लाग्छ’, मायाले भनिन् । ६५ वर्षकी मैना गुरुङ पनि यही व्यवसायबाट घरको खर्च जुटाउने गरेको बताउँछिन् । ‘६५ वर्षको भएँ । उनको काम गरेर ठीकै आम्दानी गरिरहेकी छु । भ्याएको बेला काम गरौँ–गरौँ लाग्छ’, मैनाले भनिन्, ‘बिक्री पनि भइरहेकै छ । म अरुले जस्तो सबै सामग्री बनाउन त जान्दिनँ । आफूले जानेअनुसारका राडीसहितका सामग्री बनाइरहेकी छु ।’ यो पेशालाई छोरी बुहारीले अङ्गाल्ने अपेक्षामा मैना छिन् । ‘हामीले त उमेरका कारण काम गर्न सक्न छाड्यौँ । हाम्रो छोरी बुहारीहरुले सीप सिकेर कहिलेकाही बुन्ने गरेका छन्’, उनले भनिन्, ‘बावु बाजेको पेशालाई निरन्तरता दिन्छन् भन्ने आशा छ ।’ रासस