निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएको हो । बैंकले उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँ तोकेको छ । यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक सेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।
सागसब्जी बेचेर शालिजावासीले भित्र्याए ५ करोड
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक ५ करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो । व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान वुद्धि सुवेदीले जानकारी दिए । माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ । मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ । शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड रुपैयाँ भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए । यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए । शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर २ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौं, कुश्मा, बागलुङबाट माग आउने बताए । घरबाटै बीउ आलुलाई २ सयदेखि २ सय ५० पाथीमा बिक्री गर्न सकिने उनले जानकारी दिए । ‘शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ,’ उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए । जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।
पहिराले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध
लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई
काठमाडौं । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।
विजय लघुवित्तले बोलायो १५औं वार्षिक साधारण सभा, एफपीओ निष्कासन गर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५औं वार्षिक साधारण सभा असार ३० गतेका लागि बोलाएको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समिति बैठकले काभ्रेपलाञ्चोक धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा बिहान ११ बजे सभा बस्ने गरी सभा बालाएको हो । कम्पनीले यसअघिनै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आइतबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले विभागले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।
कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ । देशभरिका कार्यालयहरूबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ । विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाएका महानिर्देशक डा. जोशी वैद्यले बताइन् । उनले भनिन्, ‘डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ ।’ खाद्य तथा पेयपदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भइरहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्रीवितरण निषेध गरिएको कार्वाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डा. जोशी वैद्यको भनाइ छ ।
वीरगञ्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औं अधिवेशसनमा चालु आवको भन्दा ६२ करोड रुपैयाँ कम आकारको बजेट सार्वजनिक गरे । आगामी आवको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख ९ हजार अर्थात् ७०.७ प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै, वित्तीय व्यवस्थातर्फ ३ करोड ६४ लाख अर्थात् १.२ प्रतिशत विनियोजन गरिएको छ । उपप्रमुख आलमले आगामी आवमा आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख २७ हजार रुपैयाँ खर्च ब्यहोर्ने बताए । संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख ९ हजार, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख ८ हजार रुपैयाँ स्रोतका रूपमा प्राप्त हुनेछ । त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड २८ लाख, अन्य स्रोतबाट २ करोड ४० लाख र नगद मौज्दातबाट १० करोड रुपैयाँ ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ । आगामी आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ । उपप्रमुख आलमले महानगरले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवर्द्धन गर्नेतर्फ उन्मुख गरिएको बताए । ‘आन्तरिक राजस्वलाई नगरको भरपर्दो एवं दिगो वित्तीय स्रोतका रुपमा स्थापित गरी वित्तीय आत्मनिर्भरता कायम गर्नु राजस्व नीतिको प्रमुख उद्देश्यका रुपमा लिएको छु,’ उनले भने, ‘बजेटमा प्रस्तावित वित्तीय तथा राजस्व सुधारका नीतिबाट आन्तरिक राजस्वको कराधार फराकिलो हुने, प्रशासनिक खर्चमा मितव्ययिता कायम भई पुँजीगत खर्चको गुणस्तर एवं प्रभावकारिता बढ्ने अपेक्षा राखेको छु ।’ महानगरले बजेटमा स्थानीय प्रशासन तथा प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थामा सिसिटिभी क्यामरा जडान गर्ने योजना राखेको छ । साथै, ऐतिहासिक लालबङ्गला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण कार्यको प्रक्रिया अघि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । महानगरले नक्सापास गर्दा अनिवार्य दुईवटा बिरुवा रोप्ने नीति लागू गर्ने भएको छ । आगामी आवको बजेटमा लक्ष्मणवा पार्कलाई ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास गर्ने घोषणा गरिएको छ भने कृषि उत्पादन प्रवर्द्धनका लागि स्वरोजगारी कार्यक्रममार्फत बाँझो रहेको सार्वजनिक जमिन एवं बगरमा कृषक समूह गठन गरी खेती गर्न प्रोत्साहन गर्ने भएको छ । रासायनिक मलप्रतिको आकर्षण एवं निर्भरता पनि कम गर्दै लैजाने र सार्वजनिक पोखरी र सिर्सिया नदीको प्रदूषण न्यूनीकरणलाई पनि बजेटमा समावेश गरेको छ । नगरभित्रका सार्वजनिक जग्गा संरक्षणलाई पनि निरन्तरता दिएको छ । महानगरभित्र स्थापित उद्योगहरूले आफ्नो श्रमशक्तिको कम्तीमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिएमा त्यस्ता उद्योगको व्यवसाय कर र सम्पत्ति करमा समेत छुट दिने नीति अङ्गीकार गरिएको छ । संघीय सरकारको सहयोगमा महागरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई अघि बढानेछ बजेटमा उल्लेख छ । महानगरभित्रका मठमन्दिर, विहार र मस्जिदलगायतको संरक्षण र प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समावेश छ । महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रीकृत रुपबाट उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको छ । लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किेने अभियानलाई पनि बजेटमा समावेश गरिएको छ । महानगरको चालु आवको खर्चको अवस्था वीरगञ्ज महानगरले चालु आर्थिक वर्षमा ३ अर्ब ५१ करोड ८७ लाख ६८ हजार संशोधित बजेट विनियोजन गरेको थियो । उपप्रमुख आलमले चालु आवमा विनियोजित बजेटमध्ये ५४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए । चालुतर्फ १ अर्ब ४५ करोड अर्थात् ७६ प्रतिशत र पुँजीगततर्फ ४५ करोड अर्थात् २३ प्रतिशत मात्रै खर्च हुने संशोधित उनको अनुमान छ । ‘चालु आवमा समानीकरण अनुदान अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको । संघीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीका कारणबाट घरजग्गा रजिष्ट्रेसन आयस्रोत समेत घट्न गएको छ,’ उनले भने, ‘प्रदेश सरकारबाट ससर्त अनुदान र विशेष अनुदानका रूपमा थप अनुदान रकम प्राप्त हुन नसकेको हुँदा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरूप हुन सकेन । आन्तरिक राजस्व परिचालन रु ७० करोड हुने संशोधित अनुमान छ ।’