प्रभु बैंकका ग्राहकलाई मुस्ताङका होटल तथा रेष्टुरेन्टमा छुट
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टा-छुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्वारा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरी अन्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौेलागिरी र निलगिरी दुई अग्ला हिमशिखर को बिचमा अवस्थित छ । प्राकृतिक,साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण मुस्ताङ जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ । अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा अलि भिन्न किसिमको छ । मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल,लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ स्याऊ,आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ । विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारि को ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा,थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ ।विभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । विश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौरि गाई ,घोडा जस्ता जनावरहरु देख्न सकिन्छ भने विभिन्न जातिका भेषभुषा सजिएर तस्विर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो । सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ : Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha.
बाढीले विराटनगर विमानस्थल बन्द
काठमाडौं । बास्ता खोलामा आएको बाढी विराटनगर विमानस्थल पसेपछि विमानस्थल बन्द गरिएको छ । बुधबार बिहान बास्ता खोलामा आएको बाढी विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा पसेको हो । विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनः सुरु हुने जानकारी दिए । बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो । अविरल वर्षाका कारण विराटनगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् । सअघि २०७४/२०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो ।
कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् । बुधबार लागुऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए । नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरे । उनले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए । कसैको सहयोगको आश गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिए । मन्त्री यादवले लागुऔषध दुव्र्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकवद्ध भएर लाग्ने बताए ।
अविरल वर्षाका कारण विराटनगर जलमग्न (तस्बिरहरू)
काठमाडौं । अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् । हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगर र कोशी प्रदेश सरकारले बाढी रेस्पोन्स टिम गठन गरेर राहत, पुनःस्थापनाको काम सुरु गरेको थियो । अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा सुुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरु प्रभावित हुने गरेका छन् ।
मन्त्रीले सिंहदरबारबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले मन्त्रीहरूले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीलाई उत्साह जगाउन आवश्यक रहेको बताएका हुन् । उनले एक घन्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । ‘एक घन्टामा श्रम स्वीकृत गर्ने काम धेरै मेहनतपछि कार्यान्वयनमा ल्याएका छौं, त्यसको प्रभाकारी कार्यान्वयन भएको छ कि छैन भन्ने अनुगमन थियो,’ उनले भने,‘कर्मचारीले अत्यन्तै शान्तरूपमा काम गर्नुभएको छ, श्रम विभागबाट हुने सेवामा सुधार भएको छ ।’ उनले एक घन्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिका लागि आउनेकाे कमी देखिएको बताए । ‘त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन, ठगिनु भएन, मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेशमात्रै दिने होइन, कार्यस्थलमा कर्मचारीको अवस्था र उहाँहरूलाई उत्साह जगाउन जरुरी छ,’ मन्त्री अर्यालले भने ।
बीआरआई परियोजनामा जुटेन सहमति, चिनियाँ उपविदेशमन्त्री स्वदेश फिर्ता
काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा आएका बेला हस्ताक्षर हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विषयमा सहमति हुन नसकेपछि थाँती रहेको छ। बीआरआईमा हस्ताक्षर नगरिकनै उपविदेशमन्त्री वेइडोङ स्वदेश फर्किएका छन् । सोमबार नेपाल आएका उनी स्वदेश फर्किनुअघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन् । बीआरआईका कतिपय विषयमा थप छलफल गर्नुपर्ने देखिएकाले दस्तावेजले अन्तिम रूप पाउन नसकेको बताइएको छ। नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै परियोजना अघि बढेको छैन ।
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताएकी छन् । बुधबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरुमा समावेश नभएको भन्दै मन्त्रालयले समाजसँग पाठ्यक्रम भनेर सो अभियान शुरु गरेको बताइन् । पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको बताइन् । उनले डिग्नेफाइट अफ मेन्सुरेशन र मेन्टल हेल्थमा पनि काम गर्न आवश्यक रहेको बताइन् । लागुऔषध दुरुपयोगमा फसेकाहरुको अभिमुखिकरण गर्ने थेरापिष्टहरुलाई लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेपालमा अहिले थेरापिष्ट (काउन्सिलरहरु) को लागि लाइसेन्सको प्रावधान नभएको जानकारी दिइन् । लाइसेन्सको लागि नेपाल हेल्थ प्रोफेसनल काउन्सिलसँग मिलेर काम गरिरहेको पनि बताइन् । लागुऔषध दुव्र्यसनिमा फसेकाहरुलाई सहयोग चाहिने भएपनि अहिलेसम्म लाइसेन्सको व्यवस्था नभएको बताइन् । लाइसेन्सको व्यवस्था भए सहयोगी सेन्टरहरु धेरै हुनसक्ने जानकारी दिइन् । ‘नेपालमा अहिले थेरापिष्टहरुको लागि काउन्सिलरहरुको लागि लाइसेन्सको प्रावधान छैन । त्यसमा हामी नेपाल हेल्प प्रोफेसनल काउन्सिलसँग मिलेर काम गर्दैछौं । कसैलाई सहयोग चाहियो भने लाइसेन्स छैन । लाइसेन्स भयो भने सहयोगी सेन्टरहरु धेरै हुन्छ । हामीले प्रिभेन्सलमा कुरा गर्दा विद्यालयका पाठ्यक्रमहरुमा यस्ता कुराहरु समावेश नगरेको रहेछ’, उनले भनिन् । उनले लागुपदार्थ दुर्व्यसनीमा लाग्नबाट बालबालिका तथा युवाहरुलाई बचाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताइन् ।
विद्यालय वरीपरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लागुऔषधमुक्त समाज निर्माणका लागि तीनै तहको सरकारले जनचेतना फैलाउनुपर्ने बताएका छन् । बुधबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लागुऔषधमुक्त परिवार र समाज बनाउनुपर्ने बताएका हुन् । उनले लागुऔषध मुक्त परिवार र समाज निर्माणका लागि परिवार र समाज नै सबैभन्दा जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । उनले लागुऔषध मुक्त समाज बनाउनका लागि तीनै तहको सरकारले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्थानीय तहले अझ बढी जिम्मेवारीपूर्वक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको पनि जानकारी दिए । मन्त्री श्रेष्ठले विद्यालयको पाठ्यक्रममा नै समावेश गरी लागुऔषध प्रयोगबाट हुने असरको बारेमा विद्यार्थीहरुलाई शिक्षा दिनुपर्ने बताए । उनले विद्यालय वरिपरि मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्ने बताए । उनले लागुऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउनुपर्नेमा पनि जोड दिए । त्यस्तै, लागुऔषध उत्पादन, बिक्री वितरण तथा सेवनको दृष्टिकोणले उच्च जोखिममा रहेका स्थानको पहिचानको लागि नक्साङ्कन गर्नुपर्ने उनको भनाई छ । मन्त्री श्रेष्ठले लागुऔषध ओसारपसारलाई रोक्न सीमानामा सघन रूपमा चेकजाँच, निगरानी र अपरेसनलाई तीव्रता दिनुपर्ने बताए । उनले लागुऔषधको दुव्र्यसनीलाई अपराधीको रूपमा नहेरी उनीहरूको उपचार गर्नुपर्ने बताए । उनले पुनस्र्थापना केन्द्रलाई व्यवस्थित गरी दुव्र्यसनीहरूलाई पुनर्जीवन दिनुपर्ने बताए ।