विकासन्युज

जापानको नेपाली विद्यालयबाट जाम्बियाका छात्रले गरे एसईई पास

काठमाडौं । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले जानकारी दिए । सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका उनले जानकारी दिए । ‘शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्’, प्राचार्य भट्टले भने । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसईई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरुपमा हेरिएको छ । सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी चार सय ५० विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा छ जना जापानी विद्यार्थी पनि अध्ययनरत छन् । नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रुपमा मान्यता प्रदान गरेको छ । त्यस विद्यालयमा सञ्चालित एसइई परीक्षाको अनुगमन टोकियोस्थित नेपाली दूतावासले गर्दै आएको छ । सो विद्यालयमा नेपाल, जापान, भारत, फिलिपिन्स, अमेरिकालगायत मुलुकका ६२ शिक्षक प्राध्यापनरत छन् । उक्त विद्यालय नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एक मात्र माध्यामिक विद्यालय भएको प्रधानाध्यापक भट्ट बताउँछन् । प्रश्न पत्रको ढाँचा परिवर्तन भएका कारण पनि एसइई परीक्षाको समग्र नतिजा केही फरकपन देखिएको प्रतिक्रिया दिँदै उनी भन्छन्, ‘पहिलो घोकन्ते खालको थियो, यसपटक विद्यार्थीले पाठ्यक्रमलाई बुझेर उत्तर दिनुपर्ने खालका प्रश्न आएका छन्, यो राम्रो पक्ष हो ।’ प्रश्नको ढाँचा परिवर्तन भएसँगै शिक्षकलाई पनि सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको उनको भनाइ छ । पूर्वाधार तयार नहुँदासम्म पुराना र नयाँको बीचको प्रश्नपत्रबाट सुरु गरेर विस्तारै आधुनिकीकरणतर्फ लैजान उनी सुझाव दिन्छन् । विश्वव्यापीरुपमा विद्यार्थीलाई परीक्षामा अनुत्तीर्ण गर्ने अभ्यास नरहेको दृष्टान्त दिँदै प्रधानाध्यापक भट्टले माध्यामिक परीक्षामा उत्तीर्ण सङ्ख्या बढाएर लैजानुपर्ने सुझाव दिए । सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा वेषभूषा, रहनसहन, गीतरसङ्गीत जापानलगायत अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने काम गर्दै आएको टोकियोस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी बताउँछन् । बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेसा व्यवसायसँग जोडिएर पुग्नेक्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छाड्न नपरोस् भनी गैरनाफामूलक संस्थाका रुपमा त्यहाँको नेपाली समाजको अगुवाइमा उक्त विद्यालय स्थापना गरिएको हो । अध्ययनसहित विभिन्न पेसा व्यवसाय गरी हाल जापानमा एक लाख ७५ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् ।  रासस

राजमार्गले खायो यी चार विमानस्थलको व्यवसाय

गण्डकी । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा दश करोड रुपैयाँ, पालुङटारमा सात करोड रुपैयाँ, बलेवामा १२ करोड रुपैयाँ र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले विसं २०६९ मा नौ करोड रुपैयाँ खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो । धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् । लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे । ‘विसं २०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि’, उनले भने । मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताउनुभयो । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि आठ करोड २४ लाख रुपैयाँ खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको यो विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । छब्बिस वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन, केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो । त्योबेला नेपाल र तारा एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौंको भाडादर ६५ सय तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन । प्राधिकरणले धावनमार्गको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले दुई वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो । धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको निचोड निकालेको थियो । परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताएका थिए । उनले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिएका थिए । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकको पहुँच स्तरीय हुनसकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् । बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले पनि कच्ची छ । सरकारले यसखण्डमा कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु गरे पनि कामले गति लिन सकेको छैन । बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडक स्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाई हुने बताए । ‘भर्खरै विमानस्थल सञ्चालन गरौँ भन्ने अवस्था छैन, पहिले त्यहाँ पुग्ने सडकलगायत अरु पूर्वाधार बनेपछि नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई पनि भन्न सजिलो हुन्छ’, उनले भने । यो खण्डमा दश किमि कालोपत्र भएमा विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । वडाध्यक्ष खत्रीले पहुँचमार्ग निर्माण र विमानस्थल सञ्चालनका लागि नगरमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको बताए । बलेवा विमानस्थल चलेमा यस क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । सरकारले भने आगामी आवको नीति तथा कार्यक्रममार्फत बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताए । ‘पालुङटार विमानस्थलाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न’, उनले भने, ‘काठमाडौं र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ ।’ मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइरहेको छ । काठमाडौं–मुग्लिन सडक पनि स्तरोन्नतिको चरणमा छ । सडक सुविधा नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल हाल प्रयोगविहीन छन् । विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द अवस्थामा रहेको प्रमुख चिन्तनले जानकारी दिए । काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन । देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ । बर्सेनि वन्यजन्तु सिकारका लागि विदेशी हेलिकप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन् । सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ । रासस

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

पेरू । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी ९१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर० मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ । ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ । भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठूलो धक्का महशुस गरिएकाले केन्द्रविन्दू आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरूका सरकारी अधिकारीहरूले जनाएका छन् । रासस

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवसको मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहहरुलाई लेखा, वित्त, मार्केटिङ, डिजिटलाईजेशन जस्ता विषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । यस कार्यक्रमा उपस्थित ग्राहकहरु बिच एक आपसमा सम्बन्ध जोड्न र उनिहरुको व्यवसाय प्रवर्दन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनिहरुको व्यवसायमा आईपरेको विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिईएको थियो भने उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएका थिए । एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आईरहेको छ । यस्ता कार्यक्रमा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो ब्यापार ब्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

काठमाडौं । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहारिने गरेका छन् । उत्तरबाट–दक्षिणतर्फ बहने अधिकांश नदी, खोलानाला र खहरेले नेपालमा बर्षायाममा निम्त्याउने बाढी पहिरोबाट बर्सेनि ठूलो जनधनको क्षति पुर्याउँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले पनि बाढी र पहिरोको जोखिमलाई थप मलजल गरेको छ । विपद्बाट कूल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको अवस्था छ । पछिल्ला १० वर्षमा मौमसजन्य विपद् ९बाढी पहिरो, भारी वर्षा र चट्याङ० बाट तीन हजार ५२ को मृत्यु, सात सय ९१ बेपत्ता तथा चार हजार एक सय ७६ जना घाइते भएका प्राधिरकणको तथ्याङ्क छ । यसअवधिमा आठ हजार चार सय ४१ विपद्का घटना भएकामा ८५ हजार छ सय ४६ परिवार प्रभावित भएका थिए । गतवर्ष सात सय ६९ विपद्का घटनाबाट ६३ जनाको मृत्यु, ६९ घाइते तथा ३० जना बेपत्ता भएका थिए । जल तथा मौसम विज्ञान विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम, बागमतीको दक्षिण पूर्वी, मधेसको मध्यभाग र कोशीको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा ३५ देखि ४५ प्रतिशतले बढी वर्षा हुने अनुमान छ । मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान छ । विपद्बाट करिब ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने आँकलन गरिएको छ । यस वर्ष कोशीमा चार लाख ९५ हजार तीन सय ५२, मधेसमा चार लाख २९ हजार चार सय चार, बागमतीमा एक लाख ४५ हजार आठ सय ८३, गण्डकीमा एक लाख १० हजार पाँच सय ५४, लुम्बिनीमा तीन लाख ३६ हजार पाँच सय ५८, कर्णालीमा ५० हजार चार सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ३३ हजार एक सय ९० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान छ । पहाडमा पहिरो तथा तराईमा बाढीबाट जनधनको क्षति हुनसक्ने प्राधिकरणले जनाएको छ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । यस अवधिमा कूल एक सय ४७ विपद्का घटना भएका र ती घटनामा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको तथ्याङ्क गृह मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यसबीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घरमा पूर्ण क्षति पुगेको छ । दश वटा घरमा आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक नाक्सानी भएको छ । मनसुनका समयमा बाढीबाट एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । विपद्को पूर्वअनुमान गर्दै पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी रुपमा अघि बढाइएको प्राधिरकणले जनाएको छ । गृह मन्त्रालय, प्राधिकरण र सम्बन्धित सरोकार भएकाहरुको सहभागितामा उच्च जोखिममा रहेका स्थलका लागि ‘फ्लाइङ स्क्वार्ड’ तयारी अवस्थामा राखिएको, खोज, उद्धार र राहतका निम्ति अपुग स्रोतसाधनको व्यवस्थापनका लागि समन्वय गरिएको छ । सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान गरिएका तथा चितवन, सिन्धुपाल्चोक, महोत्तरी, झापा, सुर्खेत, बर्दिया र सर्लाहीका १५ स्थानमा साइरन जडानको तयारी भइरहेको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । सुरक्षा निकायले विपद्का समयमा खोज तथा उद्धारमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखेका छन् । यसवर्ष नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिका छन् । नेपाली सेनाले आफूसँग रहेका हवाई साधनलाई मनसुनजन्य विपद्को अवस्थामा यथाशीध्र परिचालन गर्न कोसी र मधेस प्रदेशका लागि पूर्वी पृतना इटहरी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको लागि पश्चिम एयर वेस सुर्खेतमा र बागमती, गण्डकी, मधेस र कोशी प्रदेशको लागि मध्य एयर बेस काठमाडौँमा एक/एकवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ । यसबाहेक आवश्यक परेको खण्डमा थप परिचालनका लागि सातै प्रदेशमा परिचालित हुनसक्ने गरी पाँचवटा हवाई साधन काठमाडौँमा तैनाथ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बाढी तथा पहिरोको कारण अवरुद्ध भएको राजमार्ग तत्काल खुलाउन आवश्यक बेलिब्रिज धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक/एक सेट राखिएका छन् । सैनिक इन्जिनियरिङ विभागबाट तुरुन्त परिचालन गर्न सक्नेगरी अपरेटरसहितको हेभी इक्युप्मेन्ट र सवारी साधन पनि तयारी हालतमा राखिएको सेनाले जनाएको छ । यसैगरी सशस्त्र प्रहरीले सबै कार्यालयमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा राखेको छ । विपद्मा परेका नागरिकको उद्धारका लागि ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा एक सय २० मोटरबोट तथा र्याफ्टबोटहरु तयारी अवस्थामा राखिएका सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । ९१ गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामङ्गल, नं २४ कालिका गण कास्की र सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएका छन् । विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौवटा विपद् व्यवस्थापन बेस स्थापना गरिएका छन् । तालिमप्राप्त जनशक्तिलाई सातैवटा प्रदेशस्थित बाहिनी मुख्यालय, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा एक/एक प्लाटुन र गुल्म वा सोभन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएका उनले जानकारी दिए । विपद्पछिका खोजी तथा उद्धार र राहत वितरणका लागि नेतृत्व, समन्वय र राष्ट्रिय क्षमता वृद्धि, नागरिक— सुरक्षाकर्मीबीच समन्वय र सहकार्य, वित्तीय व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, विपद् व्यवस्थापनका लागि तीन तहमा समिति र संरचना गठन तथा परिचालित हुने व्यवस्था गरिएको छ । विपद्का समयमा खासगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानी तहबाट असरदार विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन् । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन गर्न विभिन्न संयन्त्र निर्माण गरिएका छन् । सङ्घीय सरकारका मन्त्रालय, विभाग, सुरक्षा निकायको सहभागितामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ । विपद्मा प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति क्रियाशील रहने छन् । व्यवस्थित विपद् पूर्वतयारीका लागि बहुप्रकोप पूर्वसूचना प्रणाली विकास, सञ्चार समन्वय, समुदायमा आधारित तालिम प्रशिक्षण, राम्रो र बलियो पुनःनिमाण आवश्यक हुने विपद् क्षेत्रका जानकारहरु बताउँछन् । रासस

फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । लि–डिभाइनले बिहीबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई हस्तान्तरण गरेका हुन् । जया प्रदा भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । लि–डिभाइनले ‘इन्डो–नेपाल ह्वेयर कल्चर कम्स एलाइभ’ नाराका साथ ‘कल्चरल फेस्टा’ नाम दिएर छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।

८ अर्ब लागतको कर्णाली करिडोर प्रसारण लाइनको काम सुरु, तीन हजार मेगावाट विद्युत जोडिने

काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरे । कर्णाली करिडोर (फुकोट-बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार फुकोट-कर्णाली, बेतन-कर्णाली, तिला एक र दुईलगायतका आयोजनाबाट उत्पादित करिब तीन हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ । मुलुकको विद्युत मागलाई सम्बोधन गर्ने र विद्युत् निर्यात गर्ने लक्ष्यसहित सरकारी स्वामित्वको उक्त कम्पनीबाट निर्माण हुन लागेको डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजनाका रुपमा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘प्रसारण हाइवे’का रुपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको विद्युत् विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । कूल १२५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेशनमा जोडिनेछ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । त्यसमा दुई सय ५६ वटा टावर रहने छन् । उक्त प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामोमध्येको करिब एक हजार तीन सय ५० मिटर लामो नदी पार गराउनुपर्ने छ । त्यसमा करिब एक सय २० मिटर अग्ला दुई वटा टावर निर्माण गर्नुपर्ने छ । आयोजना प्रबन्धक बिकेन बज्राचार्यका अनुसार प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी कलपत्रु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग गत वर्ष ठेक्का सम्झौता भएको हो । आयोजनाको कूल लागत आठ अर्ब रुपैयाँ बराबर छ । आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इञ्जिनियरिङलगायत टावर परीक्षणका काम सम्पन्न भइसकेका छन् । आयोजना निर्माण सुपरीवेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीलाई नियुक्त गरिएको छ । टावर निर्माणका लागि कालीकोट, सुर्खेत, अछाम र कैलालीमा जग्गा अधिग्रहणको काम भइरहेको आयोजना प्रबन्धक बज्राचार्यले जानकारी दिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत् जम्मा गरी स्वदेश तथा विदेशी बजारमा पुर्याउने लक्ष्यका साथ आयोजना सुरु गरिएको बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासको मुख्य सम्वाहक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाले ह्विलिङ चार्ज (प्रसारण शुल्क) मार्फत आफ्नो आयसमेत पहिचान गरेको उल्लेख गरे । कम्पनीको आयमा आत्मनिर्भर हुनेगरी तयार गरिएको मोडालिटीको ऊर्जामन्त्री बस्नेतले सराहना गरे । भेरी र सेती करिडोर चार सय केभी प्रसारण लाइन आयोजनासमेत निकट भविष्यमा निर्माण थालनी गर्न लागिएको जानकारी दिँदै मन्त्री बस्नेतले सकेसम्म कम वातावरणीय क्षति हुने सरकारको उद्देश्यअनुसार कार्य अगाडि बढाइने बताए । ‘सरकारले साझा प्रसारण लाइन निर्माण गर्न सहजीकरणका लागि नीतिगत सुधार गरिरहेको र प्रसारण लाइनको क्षेत्राधिकारभित्र पर्ने जग्गाहरुको क्षतिपूर्ति निर्धारण गर्दा स्थानीयलाई उत्प्रेरित गर्नेगरी निर्धारण गरिने छ’, उनले भने, ‘सामाजिक सुरक्षा र उत्तरदायित्वअन्तर्गतका कार्यक्रमसमेतले स्थानीयलाई आयोजनाको अपनत्व लिन टेवा पुर्याउने छ ।’ ऊर्जामन्त्री बस्नेतले सरकार सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेकाले समयमा नै आयोजना निर्माण सम्पन्न गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्रालयका सहसचिव, कैलालीका जनप्रतिनिधिलगायत स्थानीय निकायका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ : सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् । उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको जानकारी दिए । आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए । आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने जानकारी दिए । ‘नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला नेपालमा भएको छ, २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजस्व जोगाउने मन्त्र हो’, उनले भने । सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।