विकासन्युज

एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८०को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ । साथै चालु आव २०८०/८१को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

यी हुन् नेपालबाट निर्यात हुने ‘टप टेन’ वस्तुहरू

काठमाडौं । चालु आर्थिक वर्षको ११ जेठसम्ममा अर्थात् ११ महिनासम्ममा नेपालले कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जसमध्ये सबैभन्दा धेरै उन र गलैंचाजन्य वस्तु सबैभन्दा धेरै निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । जेठसम्ममा गलैंचाजन्य वस्तु मात्रै ३ लाख ८५ हजार ५५ स्क्वायर मिटर निर्यात भएको छ । जसको कुल मूल्य ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको रहेको छ । नेपालको गलैंचा अमेरिका, युरोप, अष्ट्रेलिया र एसियाका विभिन्न ठूला मुलुकहरूमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित गलैंचा गुणस्तरीय भएकाले अमेरिकी बजारमा राम्रो प्रभाव छाड्न सफल भएको नेपाल कार्पेट उत्पादक तथा निर्यात संघले बताउँदै आएको छ । त्यस्तै, दोस्रोमा धेरै निर्यात हुने वस्तुमा अलैंची रहेको छ । जेठसम्ममा ७ अर्ब ४७ लाख रुपैयाँ बराबरको ४७ लाख १८ हजार ९४० केजी अलैंची निर्यात भएको छ ।  नेपालमा करिब साढे १३ हजार हेक्टर क्षेत्रफलमा छ हजार मेट्रिक टन अलैंची उत्पादन हुँदै आएको तथ्याङ्क यसअघि नै सार्वजनिक भइसकेको छ । पहाडी जिल्लामा लगाइँदै आएको अलैंची सबैभन्दा बढी क्षेत्रफलमा प्रदेश १ का जिल्लामा खेती हुँदै आएको छ । विदेश निर्यात हुने मुख्य नगदेबालीका रुपमा रहेको अलैंचीलाई प्रदेश सरकारले पनि बिस्तार र प्रोत्साहनका लागि विषेश महत्व दिएको छ । अलैंची मसलाको रुपमा सबैभन्दा बढी तेस्रो मुलक निर्यात हुने मुख्य नगदेवालीको रुपमा चिनिएको छ । त्यस्तै, तेस्रोमा धेरै निर्यात हुने वस्तु जस्ताको पाता र रोल्ड आइरन चौडाइ ६०० एमएम रहेको छ । जेठसम्ममा ४ करोड ८८ लाख ७२ हजार ९२२ केजी निर्यात भएको छ । जसको कुल मुल्य ६ अर्ब १६ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । नेपालबाट धेरै निर्यात हुने चौथो वस्तुको रुपमा जुस रहेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा ६ करोड २५ लाख १९ हजार ४ लिटर जुस निर्यात भएको छ । विभागको तथ्याङ्कअनुसार यसको मूल्य ५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । पाँचौंमा भने पाम तेल रहेको छ । विभागको तथ्याङ्कले ८३ करोड ७० लाख १४ हजार ६५७ लिटर निर्यात गरेको देखिन्छ । जसको कुल मूल्य ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । नेपालबाट धेरै निर्यात हुने वस्तु गर्भाधानका सामानहरू अर्थात् प्रिगनेन्सी किटहरू रहेका छन् ।  यो नेपालबाट निर्यात धेरै निर्यात हुने वस्तुको छैटौं नम्बरमा छ । चालु आर्थिक वर्षको जेठसम्ममा कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको १४ लाख ५८ हजार ९८४ केजि निर्यात भएको भन्सार विभागले बताएका छन् । साताैं नम्बरमा भने पेन्टेड वार्निस गरिएको वा प्लास्टिकले लेपित रोल्ड आइरन स्टील चौडाइ ६०० एमएम रहेको छ । जेठसम्ममा २ करोड ९३ लाख ६१ हजार ६१८ केजी निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसरा जसको मूल्य ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । निर्यात धेरै हुने वस्तुको आठाैं नम्बरमा भने धागो रहेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा १ करोड ८६ लाख ७२ हजार ५१२ केजी धागो निर्यात भएको छ । सो अवधिमा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको विभागले जनाएको छ । नवौं नम्बरमा भने जुट रहेको छ । जेठसम्ममा ८ करोड २९ लाख ६३ हजार ४७९ स्क्वायर मिटर जुट निर्यात भएको छ । केही समय अघिसम्म नेपालबाट निर्यात हुने वस्तुहरूको शिर्ष स्थानमा जुट रहने गरेको थियो । त्यस्तै दशाैं स्थानमा प्लाइउड रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसरा ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको १० करोड ६ लाख ६१ हजार ७३१ केजी प्लाइउड निर्यात भएको छ ।

विद्युत वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टरको उद्घाटन गरेका छन् । भविष्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालित छ । उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए । मन्त्री बस्नेतले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन अर्को महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गरे । एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्वपूर्ण कोशेढुङ्गा हासिल भएको बताए । उनले ऊर्जाको लागत घटाउन तथा भरपर्दो सेवा प्रवाहका लागि संस्थाको डिजिटलाइजेसन आवश्यक रहेकोमा जोड दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाई विद्युत् प्रणाली सुधार्न ‘डिजिटल एनइए’अन्तर्गत धेरै कामहरु अगाडि बढाइएको उल्लेख गरे । उनले डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउने कामहरु भइरहेको बताए । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् । डाटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत भण्डार गरी क्रमश : राखिने छ । सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्याका रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्याक छन् । टियर ३ मापदण्डका लागि तोएिका सर्तहरु पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि वहुवैकल्पिक व्यवस्था गरिएको छ । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभिए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । युपिएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरणहरु प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन । ६ वटा फिडरबाट विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरु खटाइएको छ । डाटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ । केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनीसँग जुलाई २०२१मा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ ।

भुगर्भ सिमेन्टले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । भुगर्भ सिमेन्टले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्नेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली कम्पनीका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । सो सम्बन्धमा भुगर्भ सिमेन्ट र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच बिहीबार धितोपत्र निष्कास तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पत्रमा भुगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त गठन सिफारिस समितिले सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी गराएको हो । सर्टलिस्टमा परेका ५ जनामध्ये २ जनामात्र अन्तर्वार्ता दिन उपस्थित भएपछि अध्यक्ष सिफारित समितिले प्रक्रिया रद्द गरेको हो । यसअघि अन्तवार्तामा २ जना मात्रै उपस्थित भएपछि सिफारिस समितिले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले धेरै अंक हुने एक जना थप गर्ने वा समिति नयाँ प्रकृयामा जान सक्ने सुझाव दिएपछि प्रक्रिया नै रद्द गरेको हो । सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनामध्ये सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए भने बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका थिए । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको हो । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड विगत ६ महिनादेखि नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।

बाबुरामले प्रधानमन्त्री दाहाललाई बुझाए ज्ञापनपत्र, बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग

काठमाडौं । नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए । त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तिब्रताका साथ अगाडी बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशिघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले भने – ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन, त्यसलाई बल पुर्याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने, माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’ पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।

सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरूको माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न माग गरे । हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात ६० हजार डलरको सीमा रहेको जानकारी दिए । उनले सीमाका कारण नेपालको सुनचाँदी बजार नियन्त्रण भएको बताए । कुनै व्यवसायको उद्योगले दैनिक एक किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई पयन नम्बरको आधारमा एक किलो नै सुन पाउने र कसैले पाँच किलोको क्षमता राख्छ भने सोही बमोजिम र कसैलाई ५० ग्रामको आवश्यकता छ भने सोही बमोजिम सुन उपलब्ध हुनेगरी सुनको आपूर्ति खुला गर्नुपर्ने बताए । आयात खुला गर्दा बैंकका साथै व्यवसायहरुलाई पनि आयात गर्न दिइ प्रतिष्पर्धात्मक रुपमा बजार चल्न दिनुपर्ने बताए । आयात भएको सुन दुरुपयोग गर्न नदिनका लागि वितरण प्रणालीमा सहयोग गर्न महासंघ तयार रहेको बताए । सुनको भन्सार दरमा १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत गरिएपछि महंगो सुन झनै महंगो भएको बताए । साथै २ प्रतिशत बिलासी कर लगाउँदा सुन चाँदीका गरगहनाले नेपालको धर्मसंस्कृति, पहिचान र देशको समृद्धिको सम्पती र सुरक्षित वचतका रुपमा रहने क्षेत्रलाई विलासिताको क्षेत्रमा परिणत गर्दा झनै मार परेको जिकिर गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजेटमा सुन चाँदी व्यवसायीहरुलाई प्रोत्साहन गर्नेगरी नीति नआएको बताए । सुनचाँदी व्यवसायीहरु एक भएर अघि बढ्न जरुरी रहेको बताए । सुनको भन्सार पाँच प्रतिशत वृद्धि गरेकोप्रति आपत्ति जनाउँदै युवामात्रै नभइ व्यवसायीहरु पनि पलायन हुने स्थिति आएको जानकारी दिए । कार्यक्रममा बोल्दै नकेपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउनुपर्ने जति गरिमा र ओज नपाएको गुनासो गरे । सुनचाँदी व्यवसायीलाई, सुनचाँदी व्यवसायी संघ संस्थालाई हेर्ने दृष्टिकोणमै खोट रहेको बताए । ‘नेपाल सुनचाँदी व्यवसायी महासंघले जुन गरिमा पाउनुपर्दथ्यो, जुन ओजन पाउनुपर्दथ्यो, त्यमसा अलिकति छायाँ पर्यो । सुनचाँदी व्यवसायीलाई, सुनचाँदी व्यवसायी संघ संस्थालाई हेर्ने दृष्टिकोण नै चाहे राज्य होस्, चाहे राज्यका अन्य निकाय होस्, चाहे प्रशासन होस्’, उनले भने । सुनचाँदी व्यवसायीहरुले काँचो सुनको आायतमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गरगहना आयात गर्दा ९.५ प्रतिशत मात्रै भन्सार लाग्ने नीतिले नेपाली मौलिक गरगहना उत्पादनलाई बिस्थापित गरेको बताए । बजेटमा पुराना नीतिलाई निरन्तरता दिने क्रममा त्रुटीहरु सच्याउँदै लैजानुपर्नेमा त्यसलाई नै निरन्तरता दिँदा झनै समस्या सिर्जना भएको बताए ।

दुई भेट्रान उद्योगीले हाँकेको उद्योग : नाफा एक अर्ब नाघ्ने, नेटवर्थ ५२४ र ईपीएस ५३.९३ रुपैयाँ पुग्ने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुकमति पाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट बुकबिल्डिङ्ग विधिबाट सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन बोर्डले जानकारी दिएको छ । कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ खर्च गर्नु पर्ने छ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्ने बताइएको छ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । कम्पनीको बारेमा रिलायन्स स्पिनिङ मिल्सको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड (कर्पोरेट) कार्यालय काठमाडौं महानगरपालिका वडा न. २८ को गणेशस्थान कमलादीमा रहेको छ । यस कम्पनीको मुख्य उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२, खनार, सुनसरी र शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४, दुहाबि, सुनसरीमा रहेको छ । आधुनिक प्रविधिले सुसज्जित विभिन्न किसिमको धागोहरु बनाउने कारखानाको स्थापना गरी आवश्यकता अनुसार विभिन्न थरीका धागोहरु उत्पादन गर्ने तथा सो को बिक्री वितरण गर्ने मुख्य उद्देश्य यस कम्पनीको हो । यस कम्पनीले देशभित्र विभिन्न किसिमको कपडाहरु उत्पादन (तयार) गर्ने, कारखानाहरुको कच्चा पदार्थ धागोको आवश्यकतालाई ध्यानमा राखी विभिन्न थरीका धागोहरु उत्पादन गर्ने उद्देश्य अनुरुप उनि धागो, सुति धागो, पोलिष्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो तथा एक अर्को सँग मिश्रण गरी अन्य विभिन्न रङमा रंगाउने र त्यस सम्बन्धी आवश्यक थप गर्नु पर्ने अन्य सम्पूर्ण कार्य गर्ने गराउने गरेको छ । यस्तै, कम्पनीको उत्पादित धागोहरुको गुणस्तर कायम राख्न तथा अझ गुणस्तर बढाउन प्रयोगशालाको स्थापना गर्ने, विकास गर्ने, विस्तार गर्ने तथा तत्सम्बन्धी गर्नुपर्ने अन्य सम्पूर्ण कार्य गर्ने गराउने, कम्पनीको लागि आवश्यक कच्चा पदार्थहरु स्वदेश, भारत तथा तेश्रो मुलुकबाट आवश्यकता अनुसार खरीद गर्ने र आयात गर्ने वा गर्न लगाउने गरेको छ । उद्योगको बजार यस उद्योगले उत्पादन गरेको वस्तुमध्ये करीब २५ देखि ३० प्रतिशत हिस्सा मात्र राष्ट्रिय अर्थात स्थानीय बजारमा खपत हुन्छ । मुलुकमा कपडा उत्पादनका ठूला उद्योग नहुनुले पनि यसको बजार हिस्सा स्थानीय अर्थात राष्ट्रिय बजारमा कम मात्रामा खपत हुने गरेको सूचीपत्र (प्रोस्पेक्टस)मा उल्लेख गरेको छ । जस अनुसार यस उद्योगले उत्पादन गरेको विभिन्न प्रकारका धागोहरु मुलुक भित्रका किरण सुज मेनुफेक्चर्स, काठमाण्डौं, प्रगति टेक्सटायल ईण्डष्ट्रिज प्रा.लि., विराटनगर, नेपाली सेना बहुव्यवसाय उद्योग, काठमाण्डौं, निप्पो ईण्डष्ट्रिज प्रा.लि., भक्तपुर र एभरेष्ट टेक्सटायल ईण्डष्ट्रिज प्रा.लि., विराटनगर लगायतका घरेलु उद्योगहरुले खरीद गर्ने गरेका छन । कम्पनील उद्योगबाट उत्पादित धागोको ७० देखि ७५ प्रतिशत सम्म विदेशमा निर्यात गर्दे आएको उल्लेख गरेको छ । यस उद्योगका प्रतिस्पर्धी उद्योगहरुले अर्थात मुलुकको कुल निर्यातको आर्थिक वर्ष २०७७/७८ मा ६२ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा ५३ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा ५३ प्रतिशत बरावरको हिस्सा यस कम्पनीको रहेको छ । मुलुकले निर्यात गर्ने कुल निर्यातको आर्थिक वर्ष २०७७/७८ मा यस कम्पनीको ४ प्रतिशत, आव २०७८/७९ मा ३.६५ प्रतिशत र आव २०७९/८० मा ४.६१ प्रतिशत बरावरको योगदान रहेको छ । यो कम्पनी तुलनात्मक रुपमा विदेशी मुद्रा आर्जन गर्ने ठुलो कम्पनीमध्ये एक पर्दछ । कम्पनीले आफ्नाे  उत्पादनको अधिकांश हिस्सा भारत तथा तेश्रो मुलुकमा निर्यात गर्दै आएको छ । स्वदेशी तथा विदेशी अन्र्तराष्ट्रिय कम्पनीहरुसँगको व्यापार विस्तार गर्ने सिलसिलामा उद्योगको क्षमता सन् १९९६ मा ९ हजार स्पिन्डल्स रहेकोमा अहिले ७९ हजार ८२४ रिङ्ग स्पिन्डिल्स र ९६० वोरटेक्स स्पिन्डल्स रहेको उद्योगले उल्लेख गरेको छ । जसबाट वार्षिक ४० हजार ६८० मेट्रिक टन धागोको र्यानहरु उत्पादन गर्न उद्योग सफल भएको सूचीपत्रमा उल्लेख छ । उद्योगको क्षमता वृद्धि पश्चात वार्षिक १ लाख २७ हजार ८२४ स्पिन्डल्स कायम हुन गई उद्योगले वार्षिक ४८ हजार ९६० मेट्रिक टन धागो उत्पादन गरेको बताएको छ । साथै वार्षिक क्षमता १६ हजार ५६० मेट्रिक टन थप हुन गई उद्योगको क्षमता प्रतिदिन १८२ मेट्रिक टन तथा वार्षिक ६५ हजार ५२० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । यस कम्पनीले निकट भविष्यमा विभिन्न प्रकारको कटन र पोलिस्टर कटनको धागो उत्पादन गर्ने योजना लिएको छ । पौने १० अर्बको सम्पत्ति यस उद्योगसँग सम्पत्ति पनि धेरै छ । संगठित संस्थाको उद्योगमा रहेको उपकरण (प्लान्ट) तथा अन्य सम्पत्ति सुनसरी जिल्लामा अवस्थित रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (मुल उद्योग ‘ए’, खनार र शाखा उद्योग ‘बि’, दुहाबि) को नाममा सृजना भैसकेको चल अचल सम्पत्ति लगायतको गणना गर्दा उद्योगसँग कुल ९ अर्ब ६९ करोड १७ लाख ८० हजार रुपैयाँबराबरको सम्पत्ति देखिएको छ । यस उद्योगसँग २ अर्ब ८७ करोड रुपैयाँको जग्गा, २ अर्ब ६९ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको भवन, ३ अर्ब ८५ करोड ९९ लाख ८३ हजार रुपैयाँबराबरको प्लान्ट तथा मेशिन, २६लाख बढीका कार्यालय र विद्युतीय सामग्री, १ करोड २३ लाख बराबरका फर्निचर र १ करोड ९९ लाख रुपैयाँ बराबरका सवारी साधन रहेका छन् । यस्तै, १९ लाख बढीका कम्युटर, १ लाख ७९ हजार बराबरको सफ्टवेर र २२ करोड बढीका निर्माणाधीन संरचना रहेको उल्लेख छ । यस्ता छन् कम्पनीका योजना यस कम्पनीले उत्पादन विविधिकरण गर्ने, उद्योगसँग सम्बन्धित अनुसन्धान तथा विकास गर्ने, थप उत्पादन विविधिकरण गर्दै विभिन्न ब्राण्डका कपडाका लागि आयात गरिने विभिन्न धागो र धागो जन्य वस्तुलाई मुलुकभित्र नै उत्पादनका लागि आवश्यक अनुसन्धान, नीति तथा नियमका लागि नेपाल सरकार, निजी क्षेत्रसँग हातेमालो गर्दै दीर्घकालिन रुपमा प्रबन्ध गर्ने, उद्योगको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा उद्योग खोली सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीले निष्काशन गर्ने धितोपत्र बिक्रीबाट प्राप्त हुने रकमले आगामी तीन वर्षभित्र अर्थात आर्थिक वर्ष २०८२/८३ भित्रमा उद्योगको प्रस्तावित परियोजना (युनिट सी) को क्षमता विस्तार गर्ने लक्ष्य लिएको छ । सो नयाँ परियोजनाका लागि कम्पनीले जग्गा जमीन खरीदको प्रक्रिया समाप्त गरिसकेको हुँदा आगामी तीन वर्षमा उद्योगको क्षमता विस्तार भई उद्योग सुचारु हुने उल्लेख छ । कम्पनीको मुख्य उद्देश्य नेपालको धागो उद्योग विकासमा यस उद्योगलाई अग्रणी रुपमा विस्तार गरी मुलुककै विशिष्ट उद्योगको रुपमा स्थापित गर्नु र धागो जन्य वस्तुको उत्पादन, बजार व्यवस्थापनको अन्वेषण तथा विकास र योजना बनाई कार्य गर्ने योजना रहेको छ । उत्पादित वस्तुलाई विश्व बजारमा पु¥याई बजारलाई ब्यापक रुपमा विस्तार गरी गुणस्तरिय उत्पादनको बिक्री वितरण गर्ने, परनिर्भरमूखी अर्थतन्त्रलाई केहि हदसम्म भए पनि न्यून गरी निर्यात प्रर्वद्धन गर्ने जसका कारण मुलुकको व्यापार घाटा केही हदसम्म न्यून गर्न सकियोस भन्ने योजना कम्पनीको रहेको छ । यस्तै, एसिया, यूरोप तथा अफ्रिका लगायतका मुलुकमा बजारको सम्भावना पहिचान गर्न र त्यसका लागि कम्पनीले अवलोकन भ्रमण, समन्वय तथा अन्तरक्रिया गरी सम्भाव्यता अध्ययन गरिरहेको पनि कम्पनीले बताएको छ । सञ्चालक र सेयर स्वामित्व यस कम्पनीको सञ्चालकका हाल तीन जनाको सञ्चालक समिति छ । कम्पीको अध्यक्ष पवन गोल्याण रहेका छन् भने सञ्चालक समितिको सदस्यमा शशिकान्त अग्रवाल र अक्षय गोल्याण रहेका छन् । यस उद्योगमा पवनको सेयर स्वामित्व २१.९५ प्रतिशत, शशिकान्तको ४४.९३ प्रतिशत र प्रबन्ध सञ्चालक अक्षयको २२.९८ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ५ (पाँच) जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति गठन हुने व्यवस्था छ । सर्वसाधारण सेयरको प्रक्रिया पुरा भएपछि पाँच जनाको कार्यसमिति बनाउने सूचीपत्र (प्रस्पेक्टस) मा उल्लेख छ । सञ्चालकहरू क्रमशः पवन, शशिकान्त र अक्षय । गोल्याण सूमह नेपाली उद्योग व्यवसायमा नाम चलेको व्यावसायिक घराना हो । पवन आफैंले पनि विभिन्न उद्योग व्यसाय गर्दै आएका छन् । यसअघि उनी एनएमबि बैंकको अध्यक्ष थिए भने नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको नेतृत्व पनि हाँकिसकेका छन् । शशिकान्त पनि नेपाली उद्योग व्यवसाय क्षेत्रमा परिचित नाम हो । उनी पछिल्लो समय होटल मेरियटबाट परिचित छन् । शशिकान्त एमएस ग्रुपका प्रबन्ध निर्देशक हुन् । यस कम्पनीमा कुल ३ हजार ८२८ जना कर्मचारी कार्यरत छन् । जसमा १ हजार ९५० जना स्थायी, ७४१ जना अस्थायी र १ हजार १३७ जना ज्यालादारी छन् । कम्पनीबाट प्रबन्ध सञ्चालक अक्षयले वार्षिक करिब ५० लाख तलब बुझ्छन् भने उपाध्यक्ष तथा लेखा तथा वित्त प्रमुख अनिल कुमार सोमानी र महाप्रबन्धक मनिशले वार्षिक साढे २५ लाख रुपैयाँ तलब बुझ्ने गरेका छन् । कस्ता छन् जोखिम ? कम्पनीले उद्योगका जोखिम पनि सूचीपत्रमा उल्लेख गरेको छ । यस उद्योगमा वित्तीय साधनको अभावबाट हुने जोखिम पनि देखिएको छ । कम्पनी सञ्चालनमा आइसकेको साथै संस्थामा आवद्ध शेयरधनीहरुले कबुल गरेको सम्पूर्ण रकम प्राप्त भै सकेको र बैकबाट समेत ऋण प्राप्त भैरहेकोले वित्तीय साधनको अभावबाट हुने जोखिम कम रहेको उल्लेख गरेको छ । उद्योगमा कच्चा पदार्थको अभावबाट हुने जोखिम, उत्पादन तथा सेवाको बजार स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिम, आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धिको जोखिम, विदेशी विनिमयको जोखिम, क्षेत्रीयकरण र विश्वव्यापीकरणका कारणबाट उत्पन्न हुन सक्ने जोखिम र सरकारी नीति तथा नियमहरुमा हुने परिवर्तन तथा विश्वब्यापी रुपमा हुने नीतिगत परिवर्तनबाट उत्पन्न हुने जोखिम रहेको उल्लेख गरेको छ । कम्पनीले प्रविधिको परिवर्तनबाट हुने सक्ने जोखिम उच्च रहे पनि विश्वव्यापी रुपमा नै नयाँ प्रविधिहरुको विकास भई नयांँ प्रविधि अनुसार उत्पादन गर्नुपर्ने अवस्था रहेमा कम्पनी समय सापेक्ष प्रविधिको अवलम्बन गर्न सक्षम रहेको उल्लेख गरेको छ । यस्तै, कम्पनीले दैवी प्रकोप, महामारी तथा काबु बाहिरको परिस्थिति उत्पन्न भई हुन सक्ने जोखिम पनि रहेको उल्लेख गरेको छ । देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरु तथा विश्वव्यापी रुपमा आउन सक्ने आर्थिक मन्दीको जोखिम र पुँजीबजारको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरुको विषयमा पनि उल्लेख गरेको छ । तर, यी यी विभिन्न जोखिम न्यूनीकरणका लागि कम्पनी सक्षम भएको र ती जोखिम व्यवस्थापनका लागि विभिन्न उपाय अवलम्बन गरिरहेको पनि जानकारी दिएको छ ।  नेटवर्थ ५२४.३२ र ईपीएस ५३.९३ रुपैयाँ  यस कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल नाफा १ अर्ब ७६ करोड ८६ लाख ९९ हजार रुपैयाँ गरेकोमा खुद नाफा भने ९९ करोड १३ लाख ३७ हजार रुपैयाँ गरेको छ । कम्पनीले आगामी तीन वर्षको प्रक्षेपित वासलात, नाफा नोक्सानको हिसाब किताब पनि गणना गरेको छ । कम्पनीले सूचीपत्रमा उल्लेख गरेअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६२ करोड ५१ लाख, आव २०८१/८२ मा ६२ करोड ४८ लाख र आव २०८२/८३ मा १ अर्ब २ करोड ४५ लाख रुपयाँ नाफा हुने उल्लेख गरेको छ । कर अघि भने कम्पनीको नाफा केही बढी हुने सूचीपत्रमा उल्लेख छ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी २०८०/८१ मा ३२.९० रुपैयाँ, आव २०८१/८२ मा ३२.८९ रुपैयाँ र आव २०८२/८३ मा ५३.९३ रुपैयाँ कायम हुने उल्लेख छ । कम्पनीले तीन वर्षको अवधिमा लाभांश भने वितरण गर्ने छैन । यद्यपि, पुँजीमा प्रतिफल क्षमता भने आव २०८०/८१ मा ७.७८ प्रतिशत, २०८१/८२ मा ८९.०८ प्रतिशत र आव २०८२/८३ मा ९.४१ प्रतिशत रहने उल्लेख छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०८०/८१ मा २५०. ५१ रुपैयाँ, २०८१/८२ मा २६५.३८ रुपैयाँ र आव २०८२/८३ मा ३०१.२९ रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ । जगेडा कोषसहित कम्पनीको प्रतिसेयर नेटवर्थ भने बढी देखिएको छ । कोषसहितको कम्पनीको प्रतिसेयर नेटवर्थ २०८०/८१ मा ४७७.५१ रुपैयाँ, २०८१/८२ मा ४९०.४० रुपैयाँ र र आव २०८२/८३ मा ५२४.३२ रुपैयाँ पुग्ने अनुमान छ । प्रत्येक वर्ष कम्पनीको चुक्ता पुँजी पनि बढ्दै जाने सूचीपत्रमा उल्लेख छ । सम्बन्धित सामग्री : व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’