पर्यटन बोर्डको सीईओमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी । फाइल तस्बिर । काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रेग्मीले प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनले उक्त रिटमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले सर्टलिष्टमा दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ नियुक्त गरेको थियो । बोर्डको पूर्वसीईओसमेत रहेका रेग्मीले जोशी सीइओ नियुक्त भएपछि असन्तुष्टि जनाउँदै फेसबुकमा ६ जना पूर्वसचिवहरू संलग्न भई लिएको परीक्षामा आफू पहिलो नम्बरमा सिफारिस भएको तर बोर्ड सञ्चालक समितिले पूर्वाग्रही भएर दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ बनाएको दाबी गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको ठाडो निर्देशनमा दुई नम्बरमा सिफारिस भएका जोशीलाई नियुक्ति गरिएको आरोप रेग्मीको छ ।
उपसभामुख रानालाई पदबाट राजीनामा दिन एमालेले गर्यो आग्रह
नेकपा एमालेका सांसद गाेकुल बास्काेटा । फाइल तस्बिर । काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उनले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उनको सुझाव थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताए । उनले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने बताए । सांसद बास्काेटाले सदनमा पटकपटक कुरा उठिसकेकाले मार्गप्रशस्त गरे के बिग्रिन्छ भन्दै प्रश्नसमेत गरे । उनले आफ्नाे उदाहरण दिँदै प्रश्न उठेपछि राजीनामा दिएकाे पनि बताए । सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरूले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्नेमा जाेडसमेत दिए । याे पनि पढ्नूहाेस् : भिसा आवेदन प्रकरण: उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिए । आइएफसीले गत वर्ष नेपालमा सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरे ।
म खुला किताब हुँ, जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ: उपसभापति गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् । उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए । उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्याए । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग मागसमेत गरे । उनले आफू खुला किताब भएकाले जसले जताबाट अनुसन्धान थालेपनि हुने बतए । साथै उपसभापति गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए । याे पनि पढ्नूहाेस् : सञ्चारमाध्यममा कपाेलकल्पति समाचार सम्प्रेषण भए, यसमा कुनै सत्यता छैन: उपसभापति गुरुङ
भिसा आवेदन प्रकरण: उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी
काठमाडौं । उपसभामुख इन्दिरा रानालाई सत्तारूढ दलहरूले पदबाट हटाउने तयारी गरेका छन् । सत्तागठबन्धनले पदको दुरुपयाेग गरेकाले उनलाई उपसभामुख पदबाट हटाउने तयारी गरेकाे हाे । उपसभामुख रानामगरले पाँचजना असम्बन्धित व्यक्तिलाई अमेरिकामा लग्नेगरी पत्र लेखेको सार्वजनिक भएको थियो । अनधिकृत व्यक्तिको भिसा प्रक्रिया आफै अघि बढाएकाले उनी विवादमा तानिएकी हुन् । संयुक्त राष्ट्र संघको ‘संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र’ मा भाग लिन जान थालेकी सभामुख रानामगरले आफूसँग ४ पुरुष र एक महिलालाई लान प्रक्रिया अगाडि बढाएकी थिइन् । गत साउन ४ गते अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्बन्धमा संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी थिइन् । उपसभामुख रानामगरले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको पनि बताएकी थिइन् । उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद हुन् । सत्तागठबन्धनले संविधानको धारा ९१ मा टेकेर उपसभामुख रानाविरुद्ध प्रतिनिधिसभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन् । साेमबार बसेकाे सत्तारूढ दलकाे बैठकमा पनि उपसभामुखकाे बारेमा छलफल भएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरी मार्गप्रशस्त्र गर्न अनुराेध गरिसकेका छन् । राजीनामा नदिए सत्तारूढ दलहरूले उनीविरुद्ध महाभियाेग प्रस्ताव अगाडि बढाउने बताएकाे छ । यता प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिइ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाए सरकार र सत्तारूढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । प्रमुख सचेतक परियारले सत्तारूढ दलहरूले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताएका छन् । आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उनको भनाइ छ ।
प्राधिकरण मन्त्रालयको सानो निकाय हो, डेडिकेटेड विवाद चाँडै टुंगिन्छ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् । संखुवासभाको खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवादका विषयमा संसदको लेखा समितिमा छलफल भएकाले केही ढिला भएपनि चाँडै टुङ्गो लाग्ने बताए । मन्त्री खड्काले व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा जसरी पनि सरकार असुल गर्ने पक्षमा रहेको उल्लेख गरे । उनले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिको समस्या भएकाले समस्या समाधान गर्न धेरै जटिलताहरु रहेको बताए । उनले सरकार परिवर्तन हुने बित्तिकै उद्योगहरुमा लाइन काटिएको अनुभुतिका साथ उद्योगहरुमा लाइन काट्नु जायज नभएकाले जोड्न सरकारले निर्देशन दिएको बताए । एक्कासी उद्योगहरुमा लाइन काट्दा रोजगारी, मजदुर र उत्पादनमा समसइा हुने भएकाले सरकारले त्यो विषयमा खाल राख्न जरुरी रहेको उनको भनाइ छ । उनले विद्युत प्राधिकरण र मन्त्रालयबीचको सम्बन्धका विषयमा नराम्रो भास्य बनाउन हुने भन्दै प्राधिकरण मन्त्रालयको सानो निकाय भएको बताए । व्यवसायीहरुले प्रयोग गरेको विद्युतको यकिन गर्ने जिम्मा प्राधिरकणको भएको भन्दै त्यहाँबाट समाधान नभए नियमन आयोगले यकिन गर्ने उनको भनाइ छ । मन्त्री खड्काले वर्तमान सरकार बनेसँगै उद्योगको लाइन जोड्नुपर्छ भनेर प्रधानमन्त्रीलाई आफैँले भनेको भन्दै प्रधानमन्त्री माथि गरिएको प्रश्न गलत हुने बताए । ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद २०७२ साल देखिको समस्या हो, सरकार परिवर्तन हुने बित्तिकै उद्योगहरुमा लाइन काटिएको अनुभुतिका साथ उद्योगहरुमा लाइन काटिनु हुँदैन, त्यहाँ रोजगारी, मजदुर र उत्पादन नहुने भएकाले लाइन काट्नु हुँदैन,’ उनले भने, ‘विद्युत प्रयोग गरे बापत विलका आधारमा भुक्तानी लिनुपर्छ । जति प्रयोग गरेको हो त्यो छाड्नु हुँदैन भन्ने छ । विद्युत प्राधिकरणको सम्बन्धका विषयमा नराम्रो भास्य बनाउनु हुँदैन । प्राधिकरण मन्त्रालयको सानो निकाय हो । छुट्टै निकाय होइन । सरकारले आफ्ना संरचनाहरुलाई कसरी सञ्चालन गर्नुपर्छ । राम्रोसँग जान्दछ ।’ डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवाद समाधानको लागि लेखा समितिमा पुगेको हुनाले अलि दिन ढिला भएको उनले बताए ।
प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट हुने
काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवाहरुमा छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, भिलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् । एक समारोहबीच ब्लु क्रस हस्पिटलका तर्फबाट मेम्बर-सेक्रेटरी रजत श्रेष्ठ र प्रभु बैंकको तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आएको छ ।
चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
काठमाडौं । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उसु महासंघ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिए । छलफलमा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी थिए । छलफल पश्चात् नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासंघका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गरेका छन् । एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एशोसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान समेत सञ्चालन गर्ने सहमति भएको छ । यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताए । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गरेको संघले जनाएको छ । उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताएका थिए । ट्रेडिसनल आर्चरी एशोसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताए ।