अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव
काठमाडौं । अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताए । शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका लागि एयू आयुक्त मोहम्मद बेल्होसिनले घानाको राजधानी अक्रामा एयूको कार्यकारी परिषद्को चलिरहेको ४५ औं साधारण सत्रमा पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । उनले यो घाटाले महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक असर पर्ने चेतावनी दिए । त्यसैले आयुक्तले संयुक्त राष्ट्र संघले तय गरेको सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्यहरू हासिल गर्न महादेशलाई आह्वान गरे । शैक्षिक प्रणालीमा पहिले नै लगानी गरिसकेको भएपनि बलियो प्रयास हुन नसकेको बताए । अफ्रिकालाई करिब ९० अर्ब अमेरिकीको लगानी आवश्यक रहेको बताइएको छ । थप दक्ष व्यक्तिलाई पेशा अंगाल्न उत्प्रेरित गर्न शिक्षण पेशालाई पुनः ब्राण्डिङ गर्न आग्रह गरे । उनले अफ्रिकामा शिक्षा प्रणाली सुधार गर्नका लागि विश्वव्यापी सहयोगको लागि पनि आह्वान गरे । विश्वका अन्य भागहरूमा कम जनसंख्या वृद्धिका कारण आगामी २० वर्षमा सम्पूर्ण विश्वले अफ्रिकी युवाहरूमा निर्भर रहनुपर्ने हुनसक्छ ।
सबैभन्दा ठूलो दुर्लभ सियामी गोहीको गुँड कम्बोडियामा भेटियो
काठमाडौं । कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो संख्या हो । एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ । यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ । विश्वभर करिब १ हजार सियामी गोहीहरू छन् । जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन् ।
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो । काठमाण्डौंको द एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ः२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक समेत हो । हाल बैंकले देशैभरका आफ्ना शाखा संजालहरु मार्फत् आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दैै आएको छ ।
एनआईसी एशिया बैंक २७औँ वर्षमा प्रवेश, सरकारलाई तिर्याे साढे २६ अर्ब राजस्व
काठमाडौं । एनआईसी एशिया बैंक २७औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै दिन सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको एनआईसी एशिया बैंक आजदेखि २७औं वर्षमा प्रवेश गरेको हो । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकले बैंकिङ क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । डिजिटल फष्र्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेको एनआईसी एशियाले भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै आएको छ । बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी गरेको छ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्याउन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियालृ बताए । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । साथै गत अर्थिक वर्ष २०८०÷८१ मा मात्रै २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई तिरेको बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १७ अर्ब ४५ करोड रुपैयाँ छ ।
भाडाका भवनमा करोड खर्च गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंकले भाडाका भवनमा करोडौं रकम खर्च गर्ने भएको छ । बैंकले शाखा कार्यालय सञ्चालनका लागि भाडामा लिएका भवनको पुर्वाधार निर्माणमा करिब १ करोड रुपैयाँ खर्च गर्न लागेको हो । बैंकले सल्यान शाखा, कोटेश्वर शाखा र त्रिशुली शाखामा भौतिक पुर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । बैंकका अनुसार सल्यान शाखा स्थानान्तरणका लागि नयाँ भाडाको भवन, कोटेश्वर शाखा भवनमा लेआउट मोडिफिकेसन र त्रिशूली शाखा भवनमा रिनोभेसन अन्तर्गत भौतिक पूर्वाधार निर्माण कार्य गरिनेछ । उक्त तीनवटै शाखा कार्यालयमा बैंकले ९९ लाख रुपैयाँ खर्च गर्न लागेको हो । जसमध्ये सल्यान शाखा स्थानान्तरणका लागि नयाँ भाडाको भवनमा भौतिक पूर्वाधार निर्माणका लागि भ्याटसहित २७ लाख २३ हजार १७४ रुपैयाँमा कबोल गरिएको छ । यस्तै बैंकको कोटेश्वर शाखा लेआउट मोडिफिकेसन अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न १८ लाख ८८ हजार ३२ रुपैयाँमा ठेक्का स्वीकृत भएको छ । त्रिशूली शाखा भवनमा रिनोभेसन अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नका लागि ५२ लाख ९० हजार ८३९ रुपैयाँमा ठेक्का लगाइएको छ । कोहलपुर बाँकेको जेएम निर्माण सेवाले सल्यान शाखा, जनशक्ति अटो मजदूर सेवा प्रालिले कोटेश्वर शाखा र राम कस्न्ट्रक्सन ललितपुरले त्रिशुली शाखाको भौतिक पुर्वाधार निर्माणका लागि छनोट भएका हुन् । बैंकले यी शाखाका लागि विभिन्न समयमा बोलपत्र आह्वान गरेको थियो । जसमा रीतपूर्वक न्यूनतम मूल्यमा आवेदन दिएका यी निर्माण कम्पनीलाई छनोट गरिएको बैंकले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । नेपाली कांग्रेससमेतको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । त्यसको भोलिपल्ट ३१ गते सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । आज प्रधानमन्त्री ओलीले संसद बैठकबाट देशबासीको नाममा सम्बोधन गर्ने छन् ।
डलर साँट्दै हुनुहुन्छ ? यस्तो छ आइतबार विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ६ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.४७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.१२ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.४४ रुपैयाँ र बिक्रीदर ९७.८७ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ तोकिएको छ ।
बैंकको ऋण तिर्न हिमालय उर्जाले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १ सेयर (१:१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत असार २० गते बुकक्लोज गरेको थियो । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन् ।