विकासन्युज

श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर : सेवामा ५० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ । केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । केन्द्रका अनुसार साउन महिनाभर ओपीडी सेवामा ५० प्रतिशत छुट, ट्रान्स भजाइनल अल्ट्रासाउण्ड (टिभीएस) मा २५ प्रतिशत,फार्मेसीमा ५ प्रतिशत र रगत परिक्षणमा १० प्रतिशत छुट प्रदान गरिने छ । त्यस्तै बजारमा उपलब्धताको हिसाबमा दुर्लभ मानिने सर्भिकल क्यान्सरको विरुद्दमा लगाईने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोपमा ५ प्रतिशत छुट हुने छ । केन्द्रमा आउनेहरुलाई थप सुविधा होस् र आउने दम्पतिहरुले निर्धक्क आफ्ना समस्या सुनाउन सकुन् भन्ने उदेश्यले छुट अफर ल्याईएको केन्द्रकी संचालक डा. दिपमाला कार्कीले बताईन् । केन्द्रका अनुसार यी अफर साउन महिनाभरको लागि लागु हुने छ र आवश्यकता अनुसार शनिबार पनि यी सेवा प्रदान गरिने छ। अफरपछि केन्द्रमा आउने सेवाग्राहीको संख्या बढेको डा. कार्कीको भनाई छ । श्रीद्धि आइभीएफ २०७९ भाद्रबाट सञ्चालनमा आएको हो। निसन्तान दम्पतिहरुलाई आइभीएफ विधिद्वारा सन्तान प्राप्ति गराउने उदेश्यले यो केन्द्र सुरु गरिएको केन्द्रकी सञ्चालक डा. दिपमाला कार्की बताउँछिन्। साथै, केन्द्रले ओपीडी सेवा पनि प्रदान गरिरहेको छ । उनका अनुसार विभिन्न उपायद्वारा पनि सन्तान भइरहेका छैनन भने महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई निकाली बाहिर ल्याबमा फर्टिलाइजेसन गरेर बच्चा जन्माउने प्रक्रिया नै आइभीएफ हो । कुनै दम्पति निसन्तानको समस्या लिएर केन्द्रमा आउँदा महिला र पुरुषको विस्तृत परिक्षण गरेर आवश्यकता अनुसार उपचार गरिने डा. कार्कीको भनाई छ । उनका अनुसार कुनै दम्पतिको चिकित्सकको सल्लाहपछि प्राकृतिक विधिबाट नै सन्तान जन्मिएको छ भने केहीको हकमा टेस्ट ट्युब बेबीको विधि नै अपनाउनु पर्ने हुन्छ । डा. कार्कीका अनुसार विश्वभर नै आइभीएफ विधिको औसत सफलता दर ५० देखि नै ६० प्रतिशत रहेको छ भने श्रीद्धि आइभीएफमा भने यो सफलता दर ७० देखि ८० प्रतिशतसम्म रहेको छ ।

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव संकलन अभियान सुरु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव संकलन गर्न १० दिने छलफल अभियान थालेका छन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रियाको आइतबार पहिलो दिन निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेका हुन् । मन्त्रालयमा नै सञ्चालन हुने १० दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने मन्त्री भण्डारीले जानकारी गराए । उनले कार्ययोजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने बताए । एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ । मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने आफूसमक्ष चुनौती रहेको बताए । उद्योगमन्त्री भण्डारीका अनुसार यही साउन १५ गतेसम्म सञ्चालन हुने अन्तरक्रियामा निजी क्षेत्रका छाता सङ्गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी संगठनका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, पेसागत संगठनका प्रतिनिधि, सम्बन्धित वस्तुगत महासंघ र प्रत्यक्ष बिक्री सम्बद्ध प्रतिनिधि सहभागी रहनेछन् । अन्तरक्रियामा संसदीय समिति, प्रमुख राजनीतिक दलका सम्बद्ध पदाधिकारी, राजनीतिक दलका उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध पदाधिकारी, प्रदेशका मुख्यमन्त्री एवं उद्योग तथा वाणिज्यमन्त्री, नगरपालिका र गाउँपालिका संघ, पूर्वमन्त्री, पूर्वसचिव तथा विषयविज्ञको सहभागिता रहने मन्त्री भण्डारीले बताए । सबै पक्षसँग छलफल सकेपछि पाँच दिनको समय लगाएर कार्ययोजना बनाइने छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीकर्तालाई बहुवर्षीय भिसा दिनुपर्ने, लगानीकर्तासँग समन्वय गर्ने संयन्त्र निर्माण गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, सय जनालाई रोजगारी दिने रोजगारदातालाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने, ‘स्टार्ट अप’लाई निरन्तरता दिनुपर्ने, हरेक प्रदेशमा ‘इन्क्युबेसन’ केन्द्र स्थापना र आयात प्रतिस्थापन गर्नुपर्नेलगायत सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक स्थायित्व हुनुपर्ने, लगानीकर्ताका लागि नीतिगत स्पष्टता हुनुपर्ने, औद्योगिकीकरणको सोचको विकास हुनुपर्ने, सरकार राजस्व संकलनमा मात्र सीमित हुन नहुने, उद्योग मन्त्रालय उद्योगी व्यवसायीको अभिभावकको भूमिकामा रहँदै मजबुत हुनुपर्नेलगायत सुझाव राखे । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघका तर्फबाट सूर्यबहादुर कँडेल, नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली, रबर उद्योगी उमेशलाल श्रेष्ठलगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले उद्यमीहरुलाई सीप विकासका लागि तालिम दिनुपर्ने, औद्योगिक नीतिमा समयसापेक्ष परिमार्जन गर्नुपर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्नुपर्ने जस्ता सुझाव मन्त्री भण्डारीसमक्ष राखे ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरे । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरे ।

सेयर बजारमात्रै नभइ पुरै बजार चलायमान गर्ने दाबी, अर्थतन्त्र सुधारको कार्यक्रम के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभइ देशको पूरै बजार चलायमान हुने धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले आफू पछि नहट्ने प्रवृतिको व्यक्ति नभएको बताएका छन् । उनले आफू देश विकासका लागि काम गरिरहेको बताउँदै आफूमा ब्याक गियर नरहेको धारणा राखे । ‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन,’ ओलीले भने । उनले विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि बताए । [pdf id=498620]

सेबोन प्रकरण सुनाउँदै पुनकाे प्रश्न : यो देश राजनीतिज्ञले चलाउँछ कि बिचौलियाले ?

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा बिचौलियाले खेलेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलियाको प्रवेश भएको धारणा राखेका हुन् । ‘म भन्दा अगाडिका अर्थमन्त्रीले पनि अध्यक्ष नियुक्त गर्न सक्नु भएन, मैले पनि नियुक्त गर्न सकिनँ, अहिलेका अर्थमन्त्रीले नियुक्त गर्न सकुन् । तर, यो देशलाई राजनीतिज्ञले चलाउँछ वा बिचौलियाले ?,’ उनले प्रश्न गरे ।

प्रोमोकोड ‘फोनपे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

काठमाडौं । फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्टः पैसा पठाओं ठाउँको ठाउँ’ घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य कम्पनीले राखेको छ । अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीले जनाएको छ । यो अभियान २ महिनासम्म चल्नेछ अर्थात् भदौ ३१ मा समाप्त हुनेछ । अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई मेगा उपहार ‘आइफोन-१५ प्रो’ दिने कम्पनीले जनाएको छ । यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपेबाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड फोनपे डाइरेक्ट राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैंकिङ एप प्रयोग गरेर फोनपे डाइरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नुपर्नेछ । बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने कम्पनीले जनाएको छ।

‘ओली तीन वर्ष प्रधानमन्त्री हुँदा ऋण ह्वात्तै बढेको थियो, गलत तथ्यांक राख्ने सल्लाहकार को हो ?’

काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ओली यसअघि तीन वर्ष प्रधानमन्त्री बन्दा राष्ट्रको ऋण बढेको बताएका छन् । पुनले केपी शर्मा ओलीले आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म प्रधानमन्त्री बन्दा कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २६ प्रतिशत रहेकोमा प्रधानमन्त्री छोड्दै गर्दा आव २०७७/७८ मा राष्ट्रको ऋण जीडीपीमा ४० प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेका हुन् । विगतको तुलनामा अर्थतन्त्र सुधार गएको उनको भनाइ छ । उनी प्रधानमन्त्रीका रुपमा छोड्दै गर्दा विदेशी मुद्राको बचत १२३ करोड थियो, अहिले ४२५२७ करोड पुगेको छ, तथ्य कोकि होइन ?, यो भाषण लेखिदिने सल्लाहकार को हो ? अहिले देशको विदेशी मुद्रा १३ महिनाको वस्तु तथा सेवा सेवा धान्ने छ । व्यापार घाटामा पनि सुधार आएको छ,’ उनले भने । उनले भावनाका आधारमा देश नचल्ने धारणा राखे । उनले समानमा विज्ञहरु पनि रहेकोले गलत तथ्यांक सार्वजनिक नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले विगतमा प्रधानमन्त्रीका रूपमा सरकार छोड्दा पुँजीगत खर्च ५७ प्रतिशत थियो रहेकोमा अहिले यो अवस्थामा पनि पुँजीगत खर्च ६० प्रतिशत रहेको धारणा राखे । उनले आफू केन्द्रित बनाएर तथ्यांक प्रस्तुत गर्न नहुने पनि धारणा राखे । त्यसले आफैंलाई ब्याकफायर गर्ने उनको भनाइ छ ।

देशभर डेंगु सङ्क्रमण एक हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौं । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौं जिल्लामा एक सय ९६ जनामा डेंगु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताए । वर्षाकाबेला पानी संकलन गरेर राख्ने, संकलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको उनले उल्लेख गरे । उपत्यकामा २५५ जनामा सङ्क्रमण उपत्यकामा दुई सय ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । काठमाडौंमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा २४ जनामा देखिएको हो । ‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ’, रोग शाखाका प्रमुख डा दाहालले भने । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे । डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकैबेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्दछ । सङ्क्रमितलाई कसरी हेरचाह गर्ने सङ्क्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, सङ्क्रमितको हेरचाहमा खटिँदा पूराबाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला व लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकाम जाली लगाउने र घर वरपर पानी जम्न नदिनेजस्ता उपाय अपनाउनु डा दाहालले जानकारी दिए । लक्षणहरु उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्दछन् । एक्कासी उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिँजाबाट रगत, रक्तश्राव धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ ।