विकासन्युज

चुनावी मैदान छाड्ने बाईडेनको घोषणा, कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका हुन् । ८१ वर्षिय बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका हुन् । उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र ज्यानुअरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । रिपब्लिकन पार्टीबाट भने उम्मेद्वारका रूपमा डोनाल्ड ट्रम्प चुनावी मैदानमा उत्रिएका छन् । गत साता उनीमाथि हत्या प्रयास भएको थियो । त्यसको एक सातापछि बाईडेनको चुनावी मैदान छाड्ने घोषणा गरेका हुन् ।

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

काठमाडौं । मधेश प्रदेशको सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा रायको हत्या भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको प्रहरीको भनाइ छ । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए ।

नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित)

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका कर्मचारीहरू आन्दोलित बनेका छन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरू आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । आफूहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पूर्याएर बलियो बनाएका छन् । तर, आफूहरूले गरेको योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको भनाइ छ । साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको महसुस भएको उनीहरूले बताएका छन् र त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

सीआईटीको सेयर बेच्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी) को सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर आज साउन ७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको नागरिक लगानीको कोषको उक्त सेयरको मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १४ गतेसम्म आवेदन दिनुपर्नेछ । बैंकको स्वामित्वको कोषको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

साउने सोमबारको व्रत आजदेखि सुरु, पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आज साउन ७ गते सोमबारदेखि सुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यसदिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । पशुपति क्षेत्रमा साउने सोमबारका लागि सबै तयारी गरिएको र पशुपतिनाथमा आउने भक्तजनका लागि ३ वटा लामको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे ३ बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् । साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।

कर्जा चुक्ता गर्न समस्याग्रस्त घोषित सिभिल सहकारीको ताकेता, नतिरे कारबाही गर्ने

काठमाडौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ऋण तिर्न ताकेता गरेको छ । सहकारी संस्थाले ऋणीहरूलाई ३५ दिनभित्र ऋण तिर्ने ताकेता गरेको हो । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सूचना प्रकाशन गरी सावाँ ब्याज तिर्न भनेको हो । ‘प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ ब्याज सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र यस संस्थाको बैंक खातामा जम्मा गरी सोको भौचर यस समितिको कार्यालयमा पेस गरी कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । साथै समयभित्र ऋण कर्जाको दायित्व राफसाफ नगरेमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल लाइफ क्यापिटलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं । नेपाल लाइफ क्यापिटलले सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले साउन ८ गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले ४ लाख ३८९ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिनुपर्नेछ । क्यापिटलको १०औं बार्षिक साधारण सभाले चुक्ता पुँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले अंकित मूल्य १ सय रुपैया दरको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो । तर, कूल १० करोड ९९ लाख १२९ कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । र, बाँकी रहेको ४ लाख ३८९ कित्ता हकप्रद सेयर संस्थापक सेयरधनीहरूलाई बिक्रीमा राखेको हो ।

यूरो, अष्ट्रेलियन, क्यानेडियन डलरको मूल्य घट्यो, कुन देशको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (साउन ७ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ तोकेको छ । अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.३१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.९६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५९ रुपैयाँ र बिक्रीदर १७३.३६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.२६ रुपैयाँ र बिक्रीदर ८९.६७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६९ रुपैयाँ तोकिएको छ । आइतबारको तुलनामा डलरको मूल्य घटेको छ । यसअघि हिजो आइतबार युरोपियन युरो एकको खरिददर १४५.४७ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.४४ रुपैयाँ र बिक्रीदर ९७.८७ रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ तोकिएको छ ।