बनेपामा टीभीएसको नयाँ शोरूम
बनेपा । निर्वेद मोटर्स प्रालिले बनेपामा नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । साउन ६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए । निर्वेद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । बनेपामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता निर्वेद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले जनाए । जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।
नेपाल लाइफले ग्लोबल कलेजमा सवा अर्ब लगानी गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरे । नेपाल लाइफले प्रोफेसनल एडुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६०० लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए । कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरु जस्तैः जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउँदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको कुरा बताए । कम्पनीका सीईओ पराजुलीले जीवन बिमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा बताए । प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । यस सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्यातिप्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्नुहुने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । साथै उनले जीवन बीमा र शिक्षा को उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने कुरा बताए ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंहले दाबी पेस गर्दै
बागमती । बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । ‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,’ नेता लामाले भने, ‘नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले आज बिहान १० बजे बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।’ नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने
काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने भएको छ । देशकै अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सम्झौतामा हस्ताक्षर गरेको हो । एनआईबीएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटलको एकाइ हो । लगानीसम्बन्धि यस सम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको बताइको छ । एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको प्रेस विज्ञप्तिमा भनिएको छ । ‘डेलिस’ ब्रान्डको ग्रीक दहीले नवीनताको पहिचान दिएको छ भने ‘पञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको दाबी कम्पनीकाो छ । एनआईबीएल इक्विटी पार्टनर्सको यस लगानीले नेपाली बजारमा डेलिस ब्रान्डको स्थानलाई झनै मजबुत बनाउने भएको दाबी गरिएको छ । लगानी सम्झौताअनुसार डेलिस डेरिज उत्पादन क्षमतामा वृद्धि हुनेछ । चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १० हजार लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ । यसैगरी कम्पनीको उत्पादनमा नवीनता छाउने, बजारको पहुँचमा विस्तार हुने, इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माणमार्फत् देशकै अग्रणी चीज उत्पादक बन्ने र आईपीओ निष्काशन गर्ने तयारीमा सघाउ पुग्नेछ । एनआईएमबी एस क्यापिटलका सीईओ शिवान्त बहादुर पाँडेले लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरे । यसैगरी डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउने बताए ।
एनएमबि बैंकले ८.९२ प्रतिशतमा घर कर्जा दिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा गरेको छ । बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको हो । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सकिने बैंकले जनाएको छ । ‘घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो, यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सर्टिफिकेट अफ मेरिट अवार्डबाट एनसीएचएल सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेश्नल वेस्ट प्रिजेन्टेड अवार्ड’ पाएको छ । आईक्यानले आयोजना गरेको वार्षिक कार्यक्रममा एनसीएचएलले सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ पाएको हो । एनसीएचएलले आर्थिक वर्ष २०७९–८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले आईक्यान तथा दक्षिण एसियन फेडेरेसन अफ अकाउन्ट्स (साफा) बाट वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्टस अवार्ड पुरस्कार पुरस्कार प्राप्त गरेको थियो । एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको छ ।
नबिल बैंकले एकैपटक पायो ४ वटा अवार्ड
काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको छ । बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’ ४० औँ वार्षिकोत्सवको अवधिमा बैंकले पाएका अवार्डहरू नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३ नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ। यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२/२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो। बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो। काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड हस्तान्तरण गरे। नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरे। वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ नबिल बैंकले संयुक्त अधिराज्य (युके)को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ। ग्लोबल ब्राण्ड्स म्यागेजिन ठुलो प्रकाशन गृहमध्येको एक हो । यसले हरेक वर्ष बैंकिङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्ने बैंकहरूका लागि अवार्ड आयोजना गर्दै आइरहेको छ । यस सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको छ। अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिसका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो । नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) प्राप्त गरेको छ । सामाजिक उतरदायित्व अन्तर्गत देशमा पु¥याएको योगदानको कदर स्वरुप यो अवार्ड बैंकले हासिल गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित गर्दै समाजको सकारात्मक परिवर्तनका लागि बैंकले स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जर्गेना तथा प्रवद्र्धन, सूचना प्रविधि आदि कार्यक्रमहरु सञ्चालन गर्दै समाजमा टेवा पु¥याउँदै आएको छ । बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसइ) कार्यक्रम २०७८ मंसिर देखि सुरु गर्दै सामाजिक उद्यमशीलतालाई देशव्यापीरुपमा सञ्चालन गर्दै आएको छ । नेपालको वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ । ‘बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्व अन्तर्गत पुर्याएको योगदान, गुणस्तरीय ब्राण्डिङ र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको उत्कृष्ट प्रदर्शनले यी अन्तराष्ट्रिय अवार्डहरु पाएकोमा हामीलाई थप उर्जा मिलेको छ,’ ढुंगानाले बताए ।
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी
गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्यो । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए । तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मिटरमा ट्याक्सी गुड्न छाडिसकेका छन् । यातायात मन्त्रालयसँग भएको सहमतिलाई वेवास्ता गर्दै ट्याक्सी चालकले सर्वसाधारण यात्रुबाट मनोमानी रूपमा भाडा असुलिरहेका छन् । गण्डकी प्रदेश सरकारले तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटर चलाउन तयार भएका चालक अहिले सोही भाडादरलाई देखाएर मिटरमा हिँड्न अस्वीकार गरिरहेका छन् । विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो बढ्न थालेपछि मन्त्रालयले मिटर प्रणालीमा ट्याक्सी सञ्चालनका लागि पहल लिएको थियो । मन्त्रालय र यातायात व्यवस्था कार्यालयका पदाधिकारी, ट्राफिक प्रहरीलगायतले केही समय ट्याक्सीको अनुगमन पनि गरे । केही समय ट्याक्सी चालक मिटरमा पनि हिँडे । मिटर गुड्न अटेर गर्नेहरू कारबाहीमा पनि परे । अहिले न अनुगमन छ, न त मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही नै हुन्छ । ट्याक्सी चालक छिरिङ शेर्पाले नयाँ भाडादर समायोजन नभएका कारण मिटरमा चलाउन सक्ने अवस्था नरहेको बताए । ‘इन्धनको मूल्य बढेको बढ्यै छ, भाडादर भने पहिलैके छ’, उनले भने, ‘बढ्दो महँगीलगायत अहिलेको अवस्थाअनुसार भाडादर समायोजन भए मात्र ट्याक्सी मिटरमा गुड्न सक्छन्, नत्र गाह्रो छ ।’ ट्याक्सी व्यवसायीले स्वचालित भाडादर कायम हुनुपर्ने माग गर्दै आएका छन् । इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीजस्ता कारणले मिटर प्रणालीमा समस्या आउने गरेको पोखरेली ट्याक्सी व्यवसायी समितिका महासचिव युवराज भट्टराईले बताए । ‘इन्धन मात्र नभएर, गाडी पार्टस्लगायत सामान महँगो हुँदै गएको छ, यसलाई पनि विचार गरेर भाडादर समायोजन गर्नुपर्छ’, उनले भने, ‘मिटर प्रणालीमा पनि केही जटिलता छन्, मिटर जडान महँगो छ, पोखराका ट्याक्सीमा एकपटक मिटर बढाउँदा दुई–तीन महिना लाग्छ ।’ नयाँ भाडादर समायोजनलगायत माग पूरा भए व्यवसायीहरू मिटरमा ट्याक्सी सञ्चालन गर्न तयार रहेको महासचिव भट्टराईले बताए । तीन वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका पदाधिकारी भने विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउँछन् । ट्याक्सी मिटरमा नगुड्दा यात्रु ठगिइरहेको गुनासो मन्त्रालयसम्म पुग्ने गरेको छ । पोखराका ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गर्ने सम्बन्धित निकायहरूको प्रतिबद्धता भने पूरा हुनसकेको छैन । प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी कार्यान्वयनमा नआई अलपत्र परेका छन् । उक्त सहमतिपत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत विषय उल्लेख थियो । पोखराका ट्याक्सी चालककले मनलाग्दी रूपमा यात्रुबाट भाडा लिने गरेको विषय केही महिनाअघि गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिमा समेत पुगेको थियो । समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति भोजराज अर्यालले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न उक्त मन्त्रालयलाई निर्देशन दिएको थियो । ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रालयका मन्त्रीलगायत पदाधिकारीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताए । रासस