यामाहा एरोक्स १५५ ले सम्पन्न गर्यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा
काठमाडौं । अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौं देखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५ हजार किलोमिटरभन्दा बढी यात्रा गरेका थिए । एमएडब्लू राइदकी सीएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले ओझाको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ।’ यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाई छ । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको कम्पनीले बताएको हो ।
मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण
काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै यस्तो सहयोग गरेको हो । यस डिजाइन गरिएको प्लेस्केपले सिकाइसँग खेल मिलाउदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक वातावरण हुने कम्पनीको विश्वास छ । यसले सबै बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिंग स्ट्रकचर , संवेदी खेल क्षेत्रहरू, र शैक्षिक खेलहरू जस्ता विभिन्न अन्तरक्रियात्मक तत्वहरू समावेश गर्दछ । यो पहल मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा हो जसले नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गरेको छ । यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था, कर्मयोग फाउन्डेशनलाई रु ७००,००० को सहयोग उपलब्ध गराएको छ । यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्न कम्पनीले सहयोग गरेको छ ।
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका कर्मचारीको आन्दोलनले उग्ररूप लिएको छ । लघुवित्तको सञ्चालक समिति र उच्च व्यवस्थापकले कर्मचारीहरूको आन्दोलनलाई बेवास्ता गर्दा थप उग्ररूप लिएको हो । कर्मचारीहरूले शाखा कार्यालय बन्द गरेर सुरूवात गरेको आन्दोनल यतिबेला केन्द्रीय कार्यालय बनेपा काभ्रे पुगेको छ । मिर्मिरे लघुवित्त कर्मचारी संगठनको ऐक्यबद्धतासहित कर्मचारीहरूले नेरूडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा बुधबार बिहानै तालाबन्दी गरेका हुन् । साथै देशभरिका शाखा कार्यालयमा पनि तालाबन्दी यथावत राखेका छन् । फिल्ड कर्मचारीहरूले आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेको आज साउन ९ गते तेस्रो दिन हो । उनीहरूको आन्दोलनमा मिर्मिरे लघुवित्त कर्मचारी संगठनले समेत ऐक्यबद्धता जनाएको छ । संगठनका अध्यक्ष रोशन बुढाथोकीले कर्मचारीहरूको मागलाई बेवास्ता गरेको भन्दै अबको आन्दोलनको अग्रपंक्तीमा कर्मचारी संगठन रहेको बताएका छन् । केन्द्र व्यवस्थापक पदमा कार्यरत कर्मचारीहरूले साउन ६ गते केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको थियो । केन्द्रीय कार्यालयले उक्त पत्रको सुनुवाई नगरेपछि साउन ७ गतेदेखि देशभरिका कार्यालयहरू बन्द राखेका छन् । मनोबल खस्किने गरी पद घटुवा गरेपछि लघुवित्तमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ । साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूले बताएका छन् । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् । आन्दोलित कर्मचारीहरूले लघुवित्तका सञ्चालक समिति अध्यक्ष सन्तोष फुयालको राजीनामा समेत माग गरेका छन् ।
आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १.५ सेयर (१ः१.५) को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकको धादिङ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
कामना सेवा विकास बैंकको नाफामा ६३ प्रतिशत छलाङ, लाभांश क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ६३ प्रतिशत बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको नेट फि एण्ड कमिसन आम्दानी २६ करोड ९२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, सञ्चालन नाफा ९७ करोड ८४ लाख रुपैयाँ गरेको छ । साथै बैंकका वितरणयोग्य नाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत वर्षको नाफाबाट बैंकले १०.९१ प्रतिशत नाफा (लाभांश) वितरण गर्ने क्षमता राख्छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ । साथै बैंकले गत वर्ष ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी बढेर १८.३८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११.०१ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ । तर, यस अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ३.०९ प्रतिशत खराब कर्जा रहेकोमा गत वर्ष बढेर ३.२१ प्रतिशत पुगेको हो ।
डलरको मूल्य हालसम्मकै उच्च, अन्य देशको पनि बढ्यो
काठमाडौं । डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि सबै मूल्यको रकेर्ड तोड्दै बुधबार हालसम्मकै उच्च १३४.२१ रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले बुधबार (साउन ९ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२१ रुपैयाँ तोकेको छ । यसअघि गत शनिबार डलरको बिक्रीदर १३४.१७ रुपैयाँ थियो । आज युरोपियन युरो एकको खरिददर १४५.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.८४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.४८ रुपैयाँ र बिक्रीदर १७३.२५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.५१ रुपैयाँ र बिक्रीदर ८८.९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.१२ रुपैयाँ र बिक्रीदर ९७.५६ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६० रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ तोकिएको छ ।
ओटीसी बजारमा ९९ कम्पनीको ५ अर्ब बढी कारोबार, वर्ल्डलिंकको सेयर मूल्य ९ हजार ३७५ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ९९ कम्पनीको ५ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेप्सेले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षमा ओटीसी मार्केटमा ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । ती कम्पनीको कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर कारोबार ओटीसी बजारमा हुने गरेको छ । गत वर्ष सबैभन्दा महँगो मूल्यमा वर्ल्डलिंक कम्युनिकेसनको सेयर कारोबार भएको छ । गत वर्ष यस कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा १३ हजार ३ सय ९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै गत वर्ष लर्ड बुद्ध एजुकेसन एकेडेमीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १२ लाख ४ हजार ५८३ कित्ता सेयर प्रतिकित्ता ५४० रुपैयाँमा खरिदबिक्री हुँदा ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको नेप्सेको भनाइ छ । यस्तै गत वर्ष ओटीसी बजारमा आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ३९ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १३६ रुपैयाँमा ४० करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेले वि.सं २०६४ सालदेखि ओटीसी मार्केट सञ्चालनमा गरिरहेको छ । वि.सं २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरू पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार हुने गर्छ । हालसम्म ओटीसी मार्केटमा २४४ वटा कम्पनी दर्ता भई कारोबार भइरहेका छन् । [pdf id=499267]