विकासन्युज

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत, साढे ७ अर्ब खर्च

कञ्चनपुर । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति १८ वर्षअघिमा २२ प्रतिशत मात्रै भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ । हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । अठ्ठाइस किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताए । ‘हामीले एनएचपिसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो’, सुवेदीले भने, ‘त्यो कुरा हामीले हाम्रो माथिल्लो निकायमा जानकारी गराएका छौँ ।’ डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । ‘अहिले पनि आयोजनाका लागि दुई अर्ब मात्र बजेट आएको छ यो अत्यन्त कम हो’, उनले भने, ‘मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ ।’ आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन । आर्थिक वर्ष २०६२/६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव नौ किमी मूल नहर निर्माण भएको छ । मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरको एक लाख ६१ हजार सात सय ४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार छ सय दुई हेक्टरमा मात्र खेती हुने गरेको छ । रासस

नाइजेरियाको केन्द्रिय बैंकले ब्याजदर बढाएर २६.७५ प्रतिशत पुर्यायो

काठमाडौं । नाइजेरियाको केन्द्रिय बैंकले मंगलबार सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पुर्याएको छ । ब्याजदर २६.२५ प्रतिशतमा पुर्याएको दुई महिनापछि आएको यो कदम घरपरिवार र स्थानीय व्यवसायमा बढ्दो मूल्यको प्रभावलाई ध्यानमा राखेर गरिएको र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउनका लागि आवश्यक उपायहरू मध्ये एक रहेको बताइएको छ । वर्षको सुरुवातदेखि, नाइजेरियाको शीर्ष बैंकले लगातार ब्याजदर बढाएको छ । जुन देशको निरन्तर मुद्रास्फीति दरलाई नियन्त्रण गर्ने उपायहरू मध्ये एक रहेको बताइएको छ ।

बानेश्‍वरबाट मोटरसाइकल चोरी गर्ने सुवाष र यम नारायण प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नयाँबानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कोहल्वी नगरपालिका २ ककडी घर भइ हाल काठमाडौंको किर्तीपुर बस्ने २३ वर्षीय सुवाष चौधरी र कोहल्वी नगरपालिका ५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यम नारायण चौधरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबार काठमाडौंको सिभिल अस्पतालमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२(०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको भनि भक्तपुरका मनिष बहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु २२ प ८५ २० नम्बरको मोटरसाइकल सहित सीसी फुटेजका आधारमा उनिहरु नियन्त्रणमा आएका हुन् । उनिहरुको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारहरु समेत प्रहरीले बरामद गरेको छ । चोरी गरेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए । नियन्त्रणमा आएका उनिहरुलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ । आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

गभर्नरले आफूलाई सफल प्रमाणित गर्ने अन्तिम अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति पास गर्नका लागि राष्ट्र बैंकमै सञ्चालक समितिको बैठक बसिरहेको छ । राष्ट्र बैंकले बिहान ८ बजेका लागि डाकेको बैठक निर्धारित समयभन्दा केही अबेर सञ्चालन भएको थियो । अहिले पनि बैठक जारी नै छ । बैठक सकिएपछि सबै सञ्चालकले राष्ट्र बैंकमै दिवाभोज गर्ने कार्यक्रम छ । त्यसपछि मौद्रिक नीति सार्वजनिक हुनेछ । गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने भनिएपनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको कारण सार्वजनिक हुन सकेन । त्यसैले आज मौद्रिक नीति सार्वजनिक हुँदैछ । यो मौद्रिक नीति यस्तो हो जुन गभर्नर महाप्रसाद अधिकारीको जीवनसँग ठोक्किदैछ । उनले वाहीवाही पाउने वा आलोचित बन्ने भन्ने विषय गभर्नर अधिकारीमै निहित छ । त्यसको पुष्टि र प्रमाणित उनले आजको मौद्रिक नीमिार्फत् गर्दैछन् । त्यसैले पनि यस पटकको मौद्रिक नीतिलाई धेरैले चासोका साथ हेरेका छन् । गभर्नर अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति भएकोले पनि उनले आफू आलोचित र विवादित बन्ने मौद्रिक नीति ल्याउने छैनन् भन्ने विश्वास धेरैको छ । उनले सकेसम्म सबैलाई रिझाउने प्रयत्न मौद्रिक नीतिमार्फत् गर्नेछन् । आफ्नो कार्यकाल सफल भएको प्रमाणित पनि यही मौद्रिक नीतिबाट देखाउनु पर्ने भएकोले पनि यो मौद्रिक नीतिले बजार चलायमान बनाउनु पर्ने दबाब उनीमाथि छ । विगतमा मौद्रिक नीतिमा मान्छेहरुको खासै चासो हुन्थेन । जब कोरोनाकालमा सुस्त बनेको बजार चलायमान बनाउन बजेटले कुनै अपेक्षाकृत नीति तथा कार्यक्रम ल्याएन । र, त्यो आँट मौद्रिक नीतिमार्फत् गभर्नरले गरे । त्यसपछि सबैको ध्यान बजेटभन्दा मौद्रिक नीतिमा केन्द्रीत हुन थाल्यो । काबुल भनेर चिनिएका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई फ्लप गर्दै गभर्नर अधिकारीले आफ्नो अब्बलता मौद्रिक नीतिमार्फत् प्रर्दशन गरेका थिए । अधिकारीले कार्यकालको पहिलो मौद्रिक नीति खुकुलो र बजार रिझाउने किसिमको ल्याएपछि धेरैको आस, अपेक्षा र निर्भरता राष्ट्र बैंकमाथि नै हुन थालेको छ । गभर्नर अधिकारी सेयरधितो कर्जामा तोकिएको सीमाले मात्रै अहिलेसम्म आलोचित बन्दै आएका छन् । त्यो पनि लगानीकर्ताबाट उनी आलोचित बने । सेयरधितो कर्जामा लगाएको सीमा उनले अहिलेसम्म हटाएका छैनन् । उनले आफूलाई सही सावित मात्रै बनाउन खोजका छैनन्, आफ्नो नीति सही थियो भन्ने प्रमाणित पनि यो मौद्रिक नीतिमार्फत् गराउनु पर्नेछ । त्यसैले पनि उनी अहिलेसम्म सो नीतिबाट पछि हटेका छैनन् । अन्य नीतिगत व्यवस्थामा भने उनले सन्तोषजनक ‘रेस्पोन्स’ पाएका छन् । व्यवसायीबाट केही आलोचित भने उनी चालु पुँजी कर्जा मार्गदर्शनबाट बने । तर, त्यसलार्ई पनि संशोधन गरेपछि व्यवसायीको आवाज पनि बन्द भएको छ । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएर विवादित बने, राम्रो काम गर्न सकेनन् भन्ने भाष्य उनले सिर्जना गरेनन् । बरु अब्बल गभर्नरको छवि उनले निर्माण गरेका छन् । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन, बजार चलायमान र वाह्य क्षेत्रको सुधारमा उनले प्रशंसनीय काम गरेका छन् । यसको थप पुष्टि उनले आजको मौद्रिक नीति मार्फत् गर्नु पर्नेछ । उनले आफ्नो कार्यकालमा गरेको राम्रो काम भनेको राष्ट्र बैंकको स्वायत्ता हनन् हुन नदिनु हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अधिकारीलाई निलम्बन गरेपनि उनी अदालत पुगे । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको व्यक्तिगत इगोको कारण निलम्बनमा पर्नु परेपछि उनी अदालत पुगेका थिए । पछि अदालतले उनलाई राष्ट्र बैंकमै फर्कायो । गभर्नर अधिकारीको यो आँटलाई धेरैले प्रशंसा पनि गर्ने गरेका छन् । गभर्नर अधिकारीको कार्यकाल आगामी चैतमा सकिँदैछ । उसो त उनले दोहोरिने इच्छा देखाएका छन् । तर, कार्यकाल दोहोर्याउनका लागि पनि उनले यस मौद्रिक नीतिबाट आफू सफल भएको प्रमाणित गर्नु पर्नेछ । बजार र सरकारलाई पनि विश्वास दिलाउन सक्नु पर्नेछ । त्यसैले आफूलाई सफल बनाउने वा असफल, विवादित बनाउने वा वाहीवाहीको पात्र बन्ने यसको सतप्रतिशत हात उनै गभर्नर अधिकारीमा छ ।

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

झापा । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो । विसं १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाएका थिए । पूर्वेली लोकभाका गीत गाएका थिए । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो । उनी चित्रकार र अभिनेता पनि हुन् । चलचित्र ‘हिजो आज भोलि’मा उनले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गरेका थिए । उनले नौवटा चलचित्रमा अभिनय गरेका थिए । सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए । ‘उहाँ घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्नुहुन्थ्यो’, खरेलले शोक वक्तव्य जारी गरेर भनेका छन् । विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुमेका र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याएका उनलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उनको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।

लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, टिकट दर ५ सय मात्र

बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ । ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्’– अपरेसन म्यानेजर कायस्थले भने । सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर प्रज्वल घिमिरेले बताए । टप स्टेसनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ । लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय र आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार र व्यवसाय थप चलायमान भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् ।  

यामाहा परिवार निर्माणको पहल गर्न यामाहाले ल्यायो ‘ब्लु स्ट्रिक्स’

काठमाडौं । यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न यो डिजाइन गरिएको हो । ‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्सु ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । ‘ब्लु स्ट्रिक्स’ आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान-मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले बताएको छ । ‘ब्लु स्ट्रिक्सुको सुरुवात यामाहाका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो,’ माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।