विकासन्युज

पारिवारिक जमानीमा लघुवित्तबाट कर्जा पाइने, उच्च तहका कर्मचारीको छनोट र सरुवा-बढुवामा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले पारिवारिक जमानीमा पनि लघुवित्त संस्थाले कर्जा दिनसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ । विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँ सीमा कायम गरिएको छ,’ परिपत्रमा भनिएको छ । तर, प्रतिपरिवार २५ हजार रुपैयाँसम्मको कर्जा पारिवारिक जमानीमा मात्र  प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै, राष्ट्र बैंकले बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था पनि गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् । यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको एकिन गर्नुपर्ने परिपत्रमा उल्लेख छ । यस्तै, राष्ट्र बैंकले लघुवित्तका कर्मचारी छनाेट, सरुवा, बढुवा, पदस्थापन तथा मूल्यांकनमा कडाइ नीति अघि सारेको छ । संस्थाको शाखा व्यवस्थापक वा सोभन्दा माथिको कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेर मात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवं कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । संस्थाले नो युओर ईम्प्लाेईको प्रयोगसम्बन्धी व्यवस्था गर्नुपर्ने, कर्मचारीको छनाेट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिमलगायत सम्बन्धित सर्टिफिकेशन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारका रूपमा लिनुपर्ने र संस्थाले व्यवस्थापकीय तहका कर्मचारीहरूलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने र त्यसको मूल्यांकन समय-समयमा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तै, लघुवित्तले नाफाको निश्चित रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने छ । अब लघुवित्त कम्पनीहरूले २०८२ असारमा ग्राहक संरक्षण कोषमा नाफाको १.५ प्रतिशत, २०८३ असार हुने नाफापछि २ प्रतिशत र २०८४ मा नाफाको ३ प्रतिशत रकम राख्नुपर्ने छ। वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम यस्तो कोषमा राख्नुपर्ने हालको व्यवस्था कायमै छ।

काठमाडौंमा तीन जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौंमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । ‘तीन जनामा रोग पुष्टि भएको छ । हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ । अन्यत्र फैलिन नदिनका लागि सचेत छौं,’ डा. अर्जुन सापकोटाले भने । यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा. सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए । केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो । चिकित्सककानुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गरेको गर्दछ । सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्दछ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।

निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्न आदेश दिइएको छ । आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार धरौटी तारेखमा रिहा गर्न आदेश दिएको हो । मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको थियो ।

सिमलताल घटना : १६ दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु

चितवन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरु भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् । नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ । खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो । प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताए । त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उनले जानकारी दिए । भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताए । उनले भने, ‘बस नै हो भन्ने एकीन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ, त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ, भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ, नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ ।’ प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताए । भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उनको भनाइ छ । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए । बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य ६ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता भएका यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी कार्य जारी राखिने उनले बताए ।

राष्ट्र बैंकले जारी गर्याे स्वाप कारोबार विनियमावली, डलर कारोबारलाई मात्रै मान्यता

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्वाप कारोबार विनियमावली २०८१ जारी गरेको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले विभिन्न विनियमहरू तयार पारेको बताइएको छ । विनियमावली अनुसार अब राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले स्वाप कारोबार गर्न पाउने छन् । बैंकहरूले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणका कारोबारलाई ‘स्वाप कारोबार’ का रूपमा लिइएको छ । यस्ता कारोबारमा पहिलो र दोस्रो चरणका कारोबार मिति, रकम र विदेशी विनिमय दर लगायतका विषय स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गर्ने र तोकिए बमोजिम राफसाफ गरेको हुनुपर्छ । विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउण्टरपार्टी बीच ‘खरिद–बिक्री अमेरिकी डलर तथा नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । [pdf id=500336]

पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा ६९ लाख जरिवाना र ९ महिना कैद

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरेको हो । सर्वोच्चले ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको फैसला सुनाएको छ । विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए । अहिले सर्वोच्चबाट पनि उनी दोषी ठहर भएका छन् ।

नेपालका अस्पतालमा रोबाेटिक सर्जरी, यसरी भयो सम्भव

काठमाडौं । विगतमा नेपालको स्वास्थ्य क्षेत्र विविध कारण धेरै नै पछाडि परेको थियो । कहिले शल्यक्रियामा आवश्यक औजार नहुँदा समस्या हुन्थ्यो त कहिले रोग पत्ता लाग्दा पनि शल्यक्रिया असफल हुन्थ्यो । यही मेसोमा पछिल्लो पटक नेपालको स्वास्थ्य क्षेत्रले प्रविधिमा यति धेरै फड्को मारेको छ कि एकदमै जटिल शल्यक्रिया पनि सजिलै सफल हुन थालेका छन् । विशेषज्ञ डाक्टरहरू मुटु, कलेजो, किड्नी जस्ता अंगको शल्यक्रिया दिनहुँ गरिरहेका हुन्छन् । यसमा कहिले सफल, कहिले असफल हुन अस्वाभाविक पनि होइन । शल्यक्रियाका औजार पर्याप्त नहुँदा र सही औषधोपचार नहुँदा नेपालीहरू भारत जान बाध्य थिए । नेपालको स्वास्थ्य क्षेत्रले प्रविधिमा मारेको ठूलो फड्कोकै कारण अधिकांश रोगको शल्यक्रिया र उपचार अब देशमै सम्भव हुन थालेको छ । विशेषज्ञता अनुसार डाक्टरले नेपालमै कैयौँ जटिल केशको सफल उपचार गरेका छन् । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणदेखि विभिन्न अस्पतालले हरेक अंगको राम्रो उपचार गरिरहेका छन् । अहिले हरेक अस्पतालमा गुणस्तरीय उपचारमा निजी अस्पतालले प्रतिस्पर्धा नै गरिरहेका छन् । यसैको होडमा धेरैजसो निजी अस्पतालमा आधुनिक किसिमका प्रविधि पनि भित्र्याइएका छन् । नयाँ-नयाँ प्रविधि र विशेषज्ञताले नेपाल स्वास्थ्य क्षेत्रमा अब्बल हुँदै गइरहेको कतिपयको तर्क छ । डा. नुतन शर्मा महिलाको पाठेघरसँग नजिक भएको १२ वर्ष बढी भयो । उनलाई पाठेघरको हरेक पार्टपुर्जाबारे थाहा छ । धेरैका काम नलाग्ने पाटपुर्जा आफ्नै हातले चिरेर फालेकी छन् । बच्चा हुन नसक्ने भन्दै आश मारेका दम्पतीलाई आमाबुबाकाे खुसी दिएकी छिन् । यतिसम्म कि ५८ वर्ष पुगेका, महिनावारी रोकिइसकेका महिलाको काखमा सन्तान र ओठमा हाँसो दिने काम पनि गरेकी छिन् । विभिन्न औजारबाट १२ वर्षसम्म हातले पाठेघरको काम अथवा शल्यक्रिया गर्दे आएकी नुतन अहिले रोबोटबाट सर्जरी गर्छिन । उनी कार्यरत बि एण्ड बी अस्पतालले रोबोट ल्याएपछि अहिले रोबोटिक सर्जरी उनकाे दैनिकी बनेकाे छ । गएको असारमा एक जना महिलाको ओभरीको सिस्ट र अर्की महिलाको पाठेघरको ट्युमर रोबोटबाट निकालेकी डाक्टर नुतन अहिले दैनिक दुई/तीन जना महिलाको सर्जरी गर्छिन् । डा. नुतन रोबोटमार्फत सर्जरी गर्न पाउनु आफ्नो करियरकै महत्वपूर्ण क्षण भएको बताउँछिन् । ‘मेरा लागि त महत्वूर्ण हो नै, यो देशको स्वास्थ्य क्षेत्रका लागि पनि कोशेढुंगा हो,’ उनी भन्छिन्, ‘नेपालमै पहिलो पटक त्यो पनि हाम्रो अस्पतालमा मैले नै सर्जरी गर्न पाउनु खुसीको कुरा हो, शल्यक्रियामा ठूलो घाउ नपारी नै अप्रेसन गर्न मिल्छ, यसो गर्दा जोखिम धेरै हुँदैन र परिणाम पनि राम्रो आउँछ ।’ अन्नपूर्ण न्यूरो अस्पतालमा पनि रोबोटिक सर्जरी माइतीघरमा रहेको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलायन्स साइन्सेज (अन्नपूर्ण न्युरो अस्पताल) ले पनि रोबोटिक सर्जरी सुरु गरेको छ । ‘कम्प्लिट न्यूरो रोबोटिक सेट- रेमोबोट’ को माध्यमबाट रोबोटिक सर्जरी सेवा सुरु गरेको अस्पतालले जनाएको छ । विज्ञान र प्रविधिको प्रयोग गरी सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउन रोबोटिक सर्जरीले सहज बनाउने अस्पतालका अध्यक्ष एवं वरिष्ट न्यूरो सर्जन डा. बसन्त पन्तले बताए । ‘विश्वमा आएका नयाँ प्रविधिबाट नेपालमा पनि सेवा दिनुपर्छ भनेर हामीले रोबोट भित्र्याएका हौँ,’ उनी भन्छन्, ‘यसले योभन्दा अगाडि गर्दै आएको सर्जरीभन्दा सहज बनाउँछ, जटिल शल्यक्रियामा रोबोटको सहायता लिदाँ सहज हुन्छ ।’ यो अस्पतालमा न्यूरो र स्पाइन सर्जरीमा रोबोटको सहयता लिइन्छ । अन्नपूर्ण न्यूरोले ब्रेन ट्युमर, डिस्टोनिया र छारे रोगका बिरामीमा रोमोबोटको प्रयोग गरेकाे छ । बि एण्ड बी अस्पताल र अन्नपूर्ण न्यूरोभन्दा पहिले काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्काेप प्रयोगमा ल्याएको थियो । बिरामीको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि केएमसीले अत्याधुनिक ‘जैस किनोभो ९००’ माइक्रोस्कोप ल्याएको जनाएको छ । पहिलो पटक रोबोटिक सर्जरी थालेको केएमसीले नेपालमै पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको छ । महँगो रोबाेटिक सर्जरी  नेपालमा भित्र्याइएका अत्याधुनिक उपकरण र रोबोटले न्यून वर्गलाई भने छोएको छैन । उनीहरू अहिले पनि सरकारी अस्पतालको लाइनमै भेटिन्छन् । वीर अस्पताल, टिचिङ अस्पतालमा वर्षौदेखि पालो कुरेर बसेका सयौं बिरामीहरू छन् । निजी अस्पताल सरकारी अस्पतालभन्दा त्यसै पनि महंगा । त्यसैमा यस्ता अत्याधुनिक सामाग्रीले दिने सेवा अझ महंगो रहेको अस्पतालकै सञ्चालकहरू बताउँछन् । बिरामीलाई गुणस्तरीय सेवा दिने भन्दै ल्याइएका रोबोटबाट दिइने सेवा निकै महंगो छ । निजी अस्पताल सरकारी अस्पतालभन्दा त्यत्तिकै महंगा हुन्छन् । अझ यस्ता उच्च प्रविधि अथवा रोबोटबाट दिइने सेवाको खर्च न्यून आयस्तर भएकालाई तिर्नै मुस्किल पर्छ । अघिपछि आफूले गर्दै आएको सर्जरीभन्दा छिटो र सहज हुने भएकाले रोबोटिक सर्जरी महंगो पर्ने डा. नुतनको भनाइ छ । अन्य सर्जरीभन्दा सहज र भरपर्दो भए पनि बिरामीलाई भने महंगो पर्ने उनी बताउँछिन् । रोबोटिक सर्जरीमा लाग्ने खर्च २० देखि २५ प्रतिशतले बढी लाग्ने उनले बताइन् । कसरी गरिन्छ सर्जरी ? रोबोटिक सर्जरी भन्नेबित्तिकै धेरैलाई लाग्छ रोबाेटले गर्ने अप्रेसन हो । हामीले अहिलेसम्म देख्दै आएको रोबाेट भनेको मान्छे जस्तै बोल्न सक्ने, काम गर्न सक्ने । हामीले यस्ता राेबाेट प्रत्येक होटेल वा विभिन्न ठाउँमा काम गरिरहेको देख्न सक्छाैं । तर, अस्पतालमा सर्जरी गर्न प्रयोग गरिने रोबोट त्यस्तो भने होइन । धेरैजसाे व्यक्ति रोबाेटले सर्जरी गर्दा कतै बिर्गाछ कि भन्ने शंका पनि गर्छन् । तर, डा. नुतन हामीले सोच्दै आएको भन्दा ठ्याक्कै विपरीत तरिकाले रोबोटिक सर्जरी हुने बताउँछिन् । ‘जस्तै, हामी दुरबिनले ल्याप्राेस्कोपी गर्छौं, त्यसमा पेटमा दुई तीन वटा प्वाल बनाउछौँ, उपकरण छिराउँछौँ र अप्रेसन गर्छौं,’ उनी भन्छिन्,‘रोबोटिक सर्जरीमा पनि यस्तै दुई तीन वटा प्वाल बनाउँछौ, यसमा उपकरणको सट्टा रोबोटको अंश छिर्छ, यो अंश त्यसमा छिर्ने बित्तिकै फिक्स भइहाल्छ ।’ यस्तो अवस्थामा बिरामी एक ठाउँमा हुन्छ, अनि सर्जन र अप्रेसन गर्ने व्यक्ति एक ठाउँमा बस्छन् । अगाडि टिभीको स्क्रीन हुन्छ, थ्रीडिबीयु हुन्छ र उसँग एउटा सर्जिकल कन्सोल हुन्छ अनि गेम खेल्ने जस्तै एउटा माउस हुने उनी बताउँछिन् । जुन मेभुमेन्ट डाक्टरले आफ्नो हातले गर्छ, उता रोबाेटले बिरामीकाे अप्रेसन गर्ने भागमा गर्छ । ‘अप्रेसन मान्छेले गर्ने हो, मैले सर्जरी गर्दा मेरो हात कति घुम्छ, तर रोबोट ३६० डिग्रीमा घुम्छ, त्यसैले हातले गरेको सर्जरीभन्दा रोबोटले गरेको सर्जरी राम्रो हुन्छ,’ डा. नुतन भन्छिन्,‘ मैले हेर्ने बेलामा एक लेबलसम्मको मात्र म्याग्नेफिकेसन हेर्न सक्छु, रोबोर्टले एकदमै म्यानेफाइट थ्रीडिबीयु हेर्न सक्छ, हामीले हातले गर्दा असिस्टेन्टले क्यामेरा देखाउँछ, कहिलेकाहीँ राम्ररी नदेखाउन सक्छ, सर्जनको हात काप्न सक्छ, तर रोबोटले सर्जरी गर्दा यस्तो केही समस्या हुँदैन । रोबोर्टले त्यति राम्रो काम गर्न सक्छ, जति हाम्रो हातले गर्न सक्दैन, तर उसलाई कन्ट्रोल गर्ने भने हाम्रै हात हो ।’ एक समय थियो, मान्छे औषधी उपचार नपाएर ज्यान गुमाउँथ्याे । समस्या अहिले पनि उस्तै छ । तर, फरक यत्ति छ , पहिले कुन रोग लाग्यो ? किन लाग्यो ? यसको उपचार कसरी गर्ने थाहा नपाइ ज्यान गुमाउँथ्याे भने अहिले रोग के हो थाहा भएर पनि आर्थिक अभाव, समयमै उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्छ । जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी नेपाली स्वास्थयले प्रविधिमा फड्को मारेजस्तै दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताउँछन् । ‘सरकारी अस्पतालमा अझै प्रविधिमा जनशक्ति दक्ष भएको मैले देखेको छैन,’ उनी भन्छन्, ‘विश्व पहिले नै प्रविधिमा रमिसकेको छ, तर हामीले दक्ष जनशक्ति उत्पादन गर्न सकेका छैनौँ । ’ निजी अस्पताल केहीले प्रविधिमा फड्को मारिसकेको बताउँदै यसको निरन्तरताका लागि लाग्नुपर्ने उनको भनाइ छ । अहिले संसार कृत्रिम बुद्धिमता (एआई) मा प्रवेश गरिसकेको छ । विश्वका कतिपय मुलुकमा मान्छेले कामै गर्न छोडिसके । प्रविधिले यस्तो मोडमा पुर्यायो कि अब मान्छे स्वास्थ्य उपचारका लागि पनि एआइसँग सल्लाह लिन थालिसकेका छन् । रोग पत्ता लगाउनेदेखि, अप्रेसन गर्ने र कुन औषधी सेवन गर्ने भन्ने सल्लाह पनि प्रविधिले गरिरहेको खबरहरू सुन्न र पढ्न पाइन्छ । विश्वमा स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेका बेला नेपाली स्वास्थ्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । अहिले नेपालमा सरकारी अस्पतालदेखि लिएर निजी महंगा अस्पतालका विभिन्न सेवाहरू प्रविधिबाटै भइरहेका छन् । सामान्य चेकजाँचदेखि लिएर अप्रेसन समेत प्रविधिबाटै गरिन्छ ।

बागमती प्रोस्कूनले मनायो चौंथो वार्षिकोत्सव, १४ विधामा पुरस्कार तथा सम्मान घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा मन्तव्य राख्दै बडालले सहकारी अभियान सक्षम नभई समानताको आधार नबन्ने बताए । उनले सहकारी क्षेत्रले बहुआयमिक गरिबीलाई कम गर्न खेलको भूमिका महत्वपूर्ण रहेको जनाए । मुलुकमा १४ हजार बचत तथा सहकारी संस्था रहेको भन्दै उनले बचत ऋण सहकारी अभियान ठीक ढंगले अघि बढे त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने उनको भनाई छ । बचत ऋण अभियान ठीक हुने बित्तिक्कै अन्य क्षेत्रलाई ठुलो भरथेग हुने बडालले जनाए । जापान, कोरिया लगायतका राष्ट्रले भूमिसुधार र सहकारीलाई सँगसँगै लगेकाले आर्थिक रुपमा ठुलो फड्को मार्न सकेको उनको भनाई छ । सहकारीको बोर्ड झुन्डाएर मनपरी गर्ने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्ने सहकारीबीच कित्ताकाट हुनुपर्ने उनको धारणा छ । सहकारीले कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशतको योगदान गरेको भन्दै १ लाखले प्रत्यक्ष रोजगार पाएको बडालले बताए । देशभर ३० हजार सहकारी रहेको भन्दै उनले ५ सय सहकारी संस्थामा मात्रै समस्या आएको उल्लेख गरे । वार्षिकोत्सवको अवसरमा विभिन्न १४ विद्यामा पुरस्कार तथा सम्मान समेत घोषणा गरिएको छ । संघका सञ्चालक एंव सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तेजेन्द्र खड्काले पुरस्कार तथा सम्मान घोषणा गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाललाई दिने भएको छ । त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण सहकारी, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान सहकारी र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई दिने घोषणा त्यस अवसरमा गरिएको छ । त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तान र उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवा घोषित भएकी छिन् । साकोस पदाधिकारी सम्मान भरत प्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोेग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था, अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखालाई दिइने भएको छ । त्यसैगरी प्रोस्कुन पूर्व सञ्चालक सम्मान संघकी पूर्व अध्यक्ष राधा सुङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान गर्ने सो अवसरमा जानकारी दिइयो । संघको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार वितरण गरिने संयोजक खड्काले जानकारी दिए । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, नेफस्कूनका कार्यवाहक अध्यक्ष दामोदार अधिकारी, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।