विकासन्युज

१७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ बाट हुने

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ । सभापति न्यौपानेले भनिन्, ‘आज हामीले राजदुत नियुक्ति प्रक्रियाअन्तर्गत उजुरीकर्ताहरूको उजुरी खोलेका छौं, अब सुनुवाइको प्रक्रियामा अघि जाँदैछौं ।’ १७ जना प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेको छ । तीन वटा उजुरी समावेशी सिद्धान्त अनुसार नभएको भनेर परेका छन् छन् चार वटा उजुरी व्यक्ति केन्द्रित रहेका छन् । समितिको मंगलबारको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोलि समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।

सेबोनले अध्यक्ष नपाउँदा २२ पब्लिक कम्पनीको बिजनेस प्रभावित, साढे १४ अर्बको हकप्रद सेयर थन्कियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेतृत्व नपाउँदा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको बिजनेस प्रभावित भएको छ । हकप्रद सेयरमार्फत् पुँजी बढाएर बजारमा आक्रामक ढंगले अगाडि बढ्ने व्यावसायिक योजना बनाएका पब्लिक कम्पनीको रणनीतिमा सेबोनको नेतृत्व नहुँदा धक्का लागेको हो । सेबोनले समयमै अध्यक्ष नपाउँदा २२ पब्लिक कम्पनीको साढे १९ करोड ४० लाख कित्ता हकप्रद सेयर पाइपलाइनमै छ । हकप्रद सेयर निष्काशनका लागि २२ कम्पनीले सेबोनमा आवेदन दिएका छन् । विगत ८ महिनादेखि सार्वजनिक निष्काशनको स्वीकृति अघि बढ्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीहरूको व्यवसायमा परेको हाे । सेबोनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाइपलाइनमा रहेका २२ वटा कम्पनीहरूले १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएका हुन् । जसमध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको रहेको छ । यस कम्पनीको मात्रै २ करोड ३४ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि आवेदन परेको छ । कम्पनीले २०८० असोज २९ गते नै निवेदन पेश गरेको थियो । दोस्रो धेरै हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनी हो न्याग्दी ग्रुप पावर । कम्पनीको १ करोड ८५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएको छ । कम्पनीले २०८० भदौ २१ गते नै आवेदन पेश गरेको थियो । त्यस्तै, १ करोड भन्दा माथि हकप्रद सेयर निष्काशन गर्ने कम्पनी सात वटा रहेका छन् । बलेफी हाइड्रोपावरको १ करोड ८२ लाख कित्ता, शिव श्री हाइड्रोपावर लिमिटेडको १ करोड ४७ लाख कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख, दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख र एशिएन हाइड्रोपावरको १ करोड ४२ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि आवेदन परेको छ । हकप्रद सेयर निष्काशनका लागि आवेदन दिनेमा ८ वटा इन्स्योरेन्स र १४ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । गत पुस अन्तिम सातादेखि कार्यकारी अध्यक्षको पद रिक्त रहेकाले सेबोनले सार्वजनिक निष्काशन स्वीकृतिको प्रक्रिया अघि बढाउन सकेको छैन ।

नाडा अटो शोमा सार्वजनिक भयाे जोइलोङ्ग तथा एसआरएमका ८ मोडल, मूल्य ३६ देखि ७६ लाखसम्म

काठमाडौं । भीजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरूलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरूले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरूका माग पूरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । जोइलोङ्ग तथा एसआरएम चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा चिनिन्छ । हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएका हुँदा कालान्तरमा उपभोक्ताले बिक्री पश्चातको सर्भिस तथा पार्ट पुर्जा उपलब्धतामा दुःख पाउने सम्भावना अत्यधिक रहेको र यस सम्भावनालाई मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनी जोइलोङ्ग तथा एसआरएमका गाडी नेपालमा भित्रयाएको कम्पनीले जनाएको छ । यसले कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्ष सम्म यी कम्पनीहरूले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ । जोइलोङ्ग कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले भने, ‘जोइलोङ्गका ठूला माइक्रोबसहरू वर्षौंदेखि अध्ययन र अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।’ जस्तोसुकै बाटोमा चलाउन सकिने गरि यी गाडीहरू डिजाइन गरिएको कम्पनीको भनाइ छ । हाल जोइलोङ्गका गाडीहरू विकसित मुलुकहरू अस्ट्रेलिया, सिंगापुर, मलेसियाजस्ता देशमा अत्याधिक रूचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरूभन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङ्गले बताए । उक्त पत्रकार सम्मेलनमा भीजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी ५ वटा विभिन्न प्रकारका गाडीहरू पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरूमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदुषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले भने, ‘साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखिए पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएसजस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरेको छ ।’ भीजी मोटर्सका सीइओ विवेक बिजुक्छेले भने, ‘कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारको कुरा गर्ने हो भने हाल नेपालले विश्वका सबै देशहरूलाई पछाडि पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिंङ स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा भीजी मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ स्टेसन र नेपालभरि १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’ उनले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गरेका छन् । कार्यक्रममा विक्री सुरुवात गरिएको ओइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन् । जोइलोङ्ग इए ४, १५ सिटर (रु ६४ लाख, ८६ kwh) जोइलोङ्ग इए ५. १७ सिटर (रु ६० लाख, ६० kwh) जोइलीङ्ग  इए ६, २० सिटर (रु ७६ लाख, ८६ kwh) त्यसै गरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन् । एसआरएम टी-३ पिकअप (रु ३६ लाख, ४२ kwh) एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ kwh) एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ kwh) एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ kwh) एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ kwh)

विकासले विनाश निम्त्यायाे, कडा नीति बनाएर काम गरौँ

काठमाडौं । नेपालमा विकासले जलवायुको संकट ल्याइरहेको युवाहरूले बताएका छन् । सिविस नेपालले आयोजना गरेको ‘युवाहरूको वातावरणीय अधिकार र जलवायु संरक्षणसम्बन्धी सांसदहरूसँग नीति संवाद’ कार्यक्रममा बोल्दै युवाहरूले बलियो नीति नहुँदा विकासले विनाश निम्त्याएको बताएका छन् । उनीहरूले वातावरणलाई सरकारले प्राथमिकता नदिएको बताउँदै नेपालमा संकट बढिरहेकाले सांसदहरूको ध्यानाकर्षण गराएका छन् । रामेछापका मदन खड्काले वातावरणीय अधिकार जलवायु संरक्षणमा तीन वटै सरकारले बलियो नीति बनाउन नसक्दा नागरिकले समस्या झेलिरहेको बताए । ‘अहिले सडक सञ्जाल विस्तारका नाममा गाउँगाउँमा रुख काटिएका छन्, हरियाली जंगल सुख्खा बनेका छन्,’ उनी भन्छन्,‘यसले सुविधा हैन नागरिकको ज्यान नै जोखिममा परेको छ, विकासका काम गर्नुभन्दा पहिले त्यसले पार्ने विनाशबारे सबै निकाय चुकिरहेका छन् ।’ उनले सडक निर्माण गर्दा फडानिसँगै वृक्षारोपण गर्नुपर्ने बताए । चितवनका एक युवाले शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा बजेट छुट्याइए जस्तै वातावरण संरक्षणमा बजेट किन कम छुट्याइन्छ ? भन्दै प्रश्न गरे । उनले विकासको काम गर्दा तीनै तहको समन्वय जति हुनुपर्ने हो त्यति हुन नसकेको बताए । केन्द्रबाट बजेट पठाउँदा स्थानीय तहले गलत रूपमा प्रयोग गर्न खोज्दा युवाले आवाज उठाउँदा पनि स्थानीय तहले नसुनेको उनको भनाइ छ । ‘स्थानीयलाई सोध्दा प्रदेश देखाउँछ, प्रदेशले केन्द्रलाई देखाउँछ, केन्द्रले फेरि दोधारे कुरा गर्छ,’उनी भन्छन्,‘ यसो हुँदा देश चाँहि कसले चलाएको छ भन्ने थाहै पाउन सकिएन ।’ काठमाडौंको बुढानिलकण्ठकी नवीना पौडेलले जलवायु परिर्वतन बारे के कस्ता कार्यक्रम छन् र नीति नियम छन् भन्ने विषयमा धेरैजसो युवालाई थाहै नभएको बताएकी छन् । उनले यो विषयमा सवै युवालाई थाहा हुने गरी सम्बन्धित निकायले काम गर्नुपर्ने बताइन् । राष्टिय युवा परिषदका कार्यकारी अध्यक्ष सुरेन्द्र बस्नेतले अहिले भइरहेको जलवायु परिवर्तन रोक्ने युवाको महत्वपूर्ण भूमिका रहेको बताए । स्वस्थ भएर बाँच्न पाउनु सबैको अधिकार भएको बताउँदै यसका लागि आवश्यक नीति नियम हुनुपर्नेमा उनले जोड दिए । युवालाई चुनावमा परिचालन मात्र गरेको बताउँदै बस्नेतले महत्वपूर्ण नीति नियमका कार्यमा संलग्नाता नगराएको आरोप लगाए । युवाहरूले गुनासो गरेपछि कार्यक्रममा सहभागी सांसदहरू वातावरण संरक्षणको लागि आफूले गरिरहेको कामबारे जानकारी गराउँदै आवश्यक नीति बनाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति एंव सांसद अम्मर बहादुर थापाले नीति निर्माण तहमा रहेकाहरूलाई नीति बनाउन युवाहरूले झकझक्याउनुपर्ने बताए । राष्ट्रिय नीति निर्माताबाटै बिग्रएको बताउँदै जलवायु परिवर्तनले युवाको भविष्यका लागि आफूले गर्नुपर्ने काम गर्न तयार रहेको बताए । कानुन न्याय तथा मानव अधिकार समिति सदस्य प्रतिक्षा तिवारीले सदनमा जलवायु परिर्वतन र यसले नेपालमा पुर्याएको क्षतिका बारेमा पटक-पटक आवाज उठाइ राखेको बताइन् । कानुनमा मानव अधिकार र वातावरणका विषयमा थुप्रै कुरा समेटेको भन्दै उनले सुधार्नुपर्ने कुरामा बहस गर्न आफू तयार रहेको बताएकी छन् । ‘अहिले चुरे दहन भइरहेको छ, जसका कारण मधेशले विभिन्न समस्या झेलिरहनुपरेको छ,’ उनी भन्छिन्,‘ मानव र वातावरणमा ठूलो क्षति पर्याइरहेको यो विषयलाई गम्भीर रूपबाट हेरिनुपर्छ ।’ यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवं सांसद कुसुम थापाले यो विषय युवाको मात्र समस्या नभइ सबैको समस्या भएको बताइन् । जलवायु संकटमा नेपाल जोखिममा रहेको बताउँदै यो विषयमा समितिले आवाज उठाइरहेको बताइन् । टेक्नोलोजीका हिसाबले युवाहरू धेरै अगाडि रहेको बताउँदै उनले कस्तो नीति बनाउँदा फाइदा हुन्छ भन्ने विषयमा छलफल गर्न आफ्नै समितिमा आएर छलफल गर्न युवालाई आग्रह समेत गरेकी छिन् । कार्यक्रममा अधिवक्ता दीपक खड्काले नेपालमा कानुनी व्यवस्थाका विषयमा र जलवायु विज्ञ निराजन खड्काले नेपाललगायत विश्वमा भइरहेको जलवायुको असरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

थामे बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत

सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन २६ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् । उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । ‘बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो,’ उनले भने । पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताए । गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुंगासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।

३४ तोला सुन र १० किलो चाँदीसहित चार जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ । ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

साधारण सदस्यसमेत नरहने गरी रास्वपाले मुकुललाई हटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप थियो । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । यसअघि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।

करोडौँको योजना र बजेट कार्यान्वयन हुन सकेन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणमा भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन संघीय सरकारले पठाएको १ करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुंगो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताए । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९/८० मा ८० लाख र २०८०/८१ मा प्राप्त भएको ५० लाख बजेट कार्यान्वयन नभएको हो । ‘यसअघिका दुई आर्थिक वर्षामा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कताबाट सडक बनाउने भन्ने टुंगाे नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन,’ उनले भने, ‘सडक आयोजनाले अहिले तातोपानी कुण्डमुनि कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्शांकन टुंगाे लगाएको छ ।’ तर, संघीय सरकारले यसपटक भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौती गरेको छ । जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन । खुला आकाशमुनि रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन । खुला रूपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न व्यवस्थित ठाउँ आवश्यक छ । सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकका लागि भुरुङ–तातोपानीलाई थकान मेटाउने विश्रामस्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएका तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्शांकन परिवर्तन गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डमुनिबाट सडकको नयाँ नक्शांकन गरिएको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले नयाँ नक्शांकनअनुसार भुरुङ–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताए । संघीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसके पनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उनले बताए । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वानको तयारी गरेको जनाएको छ ।