विकासन्युज

दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…

‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी… गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दशैं उमङ्ग लिएर भित्रिदैन । कसैका लागि दसैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ । गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दशैंगीत ‘रित्तो भकारी…’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने  देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ – ‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि दुई पैसा कहीँबाट छैन आम्दानी दशैं आइसक्यो रित्तो गोजी, रित्तै छ भकारी परान खाइसक्यो…’ गायक खत्रीलाई दशैंगीतका पर्याय भन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी…’ उनको सत्रौँ दशैंगीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा  दशैंगीत सार्वजनिक गर्दै आएकी छन् । उनको पहिलो दशैंगीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दशैंगीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, उनले भनिन् । सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दशैंगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दशैंगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन् । ‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भनिन्, ‘दशैंगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दशैं आउँछ भनेर रमाइलो ढंगले प्रेरित पनि गर्नुहुन्छ ।’ दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दशैं, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । गत वर्षको दशैंमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । त्यसअघि उहाँका ‘दशैं–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको…’, ‘दशैंमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । दशैंगीतमा उनले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आएका छन् । प्रायः सबै गीतमा शब्द र संगीत पनि गायक खत्रीकै रहेको छ । दशैंको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दशैंगीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दशैंगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दशैंले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दशैं आयो…’ गीतमा दशैंमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ । परदेशी भन्छन् – ‘मनमा खुसी उमंग छाउँदैछु पाँच वर्षपछि म नेपाल आउँदैछु आयो है दसैँ आयो नाच्न र गाउन रमाउन मन लाग्यो…’ घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् – ‘भित्ताको पात्रो फेरेको फेरै छु तिम्रै मूलबाटो हेरेको हेरै छु आयो है दशैं आयो नाच्न र गाउन रमाउन मन लाग्या…’ वर्षौँपछि दशैंमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दशैंमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैँगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दशैंमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ – ‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो यो साल पनि आइन घर यस्तै भो दशैँ आयो तिहारै आयो परदेशी हरायो…’ दशैंका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ – ‘प्यारा तिमी हङकङ मलाय यता घर जमारा पलाए दशैं आयो तिहारै आयो…” गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक/स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याएका छन् । गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दशैंगीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ – ‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड आइहाल्यो चाडबाडको लर्को आइहाल्यो सम्झना गाउँघरको…’

अध्यक्ष शाहको दावी- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक भित्रिन्छन्

काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य स्राेत पर्यटन क्षेत्र रहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघलगायत सम्बन्धित संघसंस्थाहरू टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए । उनले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरू तयार रहेको बताए । उनले सबै मिले मौ देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष शाहले नयाँ विमानस्थल भैरहवा र पोखरालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गरे । उनले भने, ‘दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य स्राेत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघलगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरू काँधमा काँध मिलाएर सहकार्य गर्नुपर्छ । नयाँ विमानस्थल भैरहवा र पोखरालाई पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुनसक्छन् ।’ अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढिकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको पनि बताए ।

चाडपर्वमा प्रहरीकाे सुरक्षा याेजना : बैंकहरूमा गस्ती, भीआईपीको सुरक्षामा कडाइ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ । त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ । पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरुमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरको सुरक्षा गर्ने बताए । त्यसैगरी धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि उनले जानकारी दिए । यस्तै, उनले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिए । त्यसैगरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उनको भनाई छ । त्यसैगरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरुीक्षक रजौरेले शक्तिपीठहरूमा विशिष्ट व्यक्ति (भीआईपी) हरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए । त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने उनले जानकारी दिए । टिकट काउन्टरहरुले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।

अब ‘सीपीए’ पढाइ नेपालमै, विद्यार्थी विदेश जानुपर्ने बाध्यताको अन्त्य : विगेन्द्रलाल श्रेष्ठ

प्राइम कलेजका कलेजका प्रिन्सिपल विगेन्द्रलाल श्रेष्ठ । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज काठमाडौं । काठमाडौंको नयाँ बजारमा रहेको प्राइम कलेजले अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतको केपीएमजी कम्पनीसँग सहकार्य गर्दै कलेजले सीपीए टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेको हो । विश्वव्यापी रूपमा मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्न विदेश जानुपर्ने नेपाली विद्यार्थीको बाध्यता अन्त्य गर्दै नेपालमै सुरु गर्न लागिएको सीपीए कार्यक्रम के हो ? विद्यार्थीले  सीपीए कसरी पढ्न सक्छन् ? हामीले कलेजका प्रिन्सिपल विगेन्द्रलाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश : प्राइम कलेजले नेपालमा पहिलो पटक सुरु गरेको सीपीए के हो ? सीपीए एक अन्तराष्ट्रिय रूपमा मान्यताप्राप्त प्रमाणपत्र हो । नेपालीमा यसलाई ‘प्रमाणित सार्वजनिक लेखापाल’ भनिन्छ । यो एक पेशागत प्रमाणपत्र हो, जसले वित्तीय रिपोर्टिङ, अडिट, कर व्यवस्थापन, र लेखापरीक्षणजस्ता विषयमा विशेषज्ञता जनाउँछ । सीपीए पास गरेपछि व्यक्ति वित्तीय तथा लेखा क्षेत्रमा व्यावसायिक सेवा प्रदान गर्न योग्य हुन्छ । यो कलेजले त्रिभुवन विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजर दिऊँ भन्ने उद्देश्यले यो वर्षदेखि सञ्चालन गरेको हो । सीपीए नेपालमा सञ्चालन गर्न किन आवश्यक छ ? नेपालमा अकाउन्टिङ, फाइनान्समा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अहिले नेपालमा पनि विभिन्न अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थासँगको साझेदारी बढ्दै गएको छ । विश्वका विभिन्न कम्पनीका कामहरू नेपालमै बसेर गर्नुपर्ने अवस्था आइरहेको छ । यस्तो अवस्थामा किन यसको फाइदा हामीले नलिने, नेपाली विद्यार्थीलाई नेपालमै बसेर यो कोर्स पढ्ने सुविधा किन नदिने भनेर नै हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं । याे कार्यक्रम कस्ता विद्यार्थीले पढ्न पाउँछन् ? याे कोर्स पढ्नका लागि विद्यार्थीका लागि केही शैक्षिक योग्यता र मापदण्ड छन् । कोर्सका लागि विद्यार्थीले लेखा, व्यापार प्रशासन, अर्थशास्त्र, वित्तलगायतका विषय लिएर ब्याचलर्स पास गरेको हुनुपर्छ । प्राइम कलेजले लेखा, व्यापार प्रशासन, अर्थशास्त्र, वित्त लगायतका विषयमा स्नातक तह उत्तीण गरी स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीका लागि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । कोर्स पढ्न कति समय लाग्छ ? सीपीए कोर्स सक्न कति समय लाग्छ भन्ने कुरा विद्यार्थीमा भर पर्छ । सामान्यतया सीपीएको चारवटा खण्ड एफएआर, एयुडी, आरइजी र बीइसीका लागि तयारी गर्न ६ महिना देखि २ वर्ष लाग्न सक्छ । विद्यार्थीले आफ्नो तालिकाअनुसार यी खण्डहरू पुरा गर्न छुट्टाछुट्टै समयमा परीक्षा दिन सक्छन् । जसले गर्दा तयारीको समय फरक पर्न जान्छ । नियमित परीक्षा दिने मिहिनेत गर्ने विद्यार्थीले करिब १ वर्षमा तयारी गर्न सक्छन् भने काम गरिरहेका व्यक्तिहरूले थप समय लिन सक्छन् । परीक्षाको तयारी गर्न सामान्यतया ६ महिना देखि २ वर्षसम्म लाग्न सक्छ । धेरै देशमा सीपीए प्रमाणपत्र पाउनका लागि परीक्षा उत्तीर्ण गर्नुको साथै १–२ वर्षको व्यावसायिक अनुभव पनि आवश्यक हुन्छ । जसले लेखापरीक्षण, वित्तीय रिपोर्टिङ वा सम्बन्धित क्षेत्रमा कामको अनुभव दिन्छ । समग्रमा, यदि सबै शर्तहरू पूरा गर्नु पर्छ भने सीपीए बन्न करिब ५–७ वर्ष लाग्न सक्छ । मास्टर्स र यो कोर्स एकै साथ पढ्न मिल्छ वा यो कोर्स छुट्टै गर्नुपर्छ, के हो ? दुईवटै मोडालिटी छ । विद्यार्थीहरू एमबीएस सुरु गर्ने बेलामा उहाँहरूको चार सेमेस्टर हुन्छ । सीपीएको तयारी जुन कलेजले सुरु गर्न लागेको छ यसमा पनि चारवटै सेमेस्टर पास गर्नुपर्ने हुन्छ । विद्यार्थीले एमबीएस पनि पढ्न र साथै तयारी कक्षा पनि लिन सक्छन् । तर अहिले भने जसले अगाडि नै मास्टर्स सकिसकेका छन् वा अरू कलेजमा पनि हुनुहुन्छ भने उहाँहरू पनि यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ । सीपीएकाे सुरुवात कहाँबाट भएकाे हाे ? यसले अकाउन्टिङ कसरी गर्ने, अडिटिङ कसरी गर्ने, फाइनान्सको रिपोर्ट कम्पनीले सार्वजनिक गर्छ, त्याे ठिक छ कि छैन भनेर भेरिफाइ गर्छ । यसको सुरुवात अमेरिकाबाटै भएको हो । तर अहिले सीपीएको एडप्सन धेरै देशमा भएको छ । यसमा कतिपय देशले केही कुरामा लोकलाइज पनि गरेको छ । नेपालको सन्दर्भमा कम्पनीहरूलाई अवश्यकता छ/छैन, आउँदो दिनमा यो कुरा पनि हेर्न सक्नुहुन्छ । केपीएमजी इन्डियाले पनि परीक्षा सुरु गरेको चार वर्ष जति भयो । चार वर्षमा उनीहरूकाे विकास देख्नुभयो नि । नेपालमा पनि धेरैजना विद्यार्थी यो क्षेत्रमा आउन खोजिरहनुभएको छ । यो कोर्सअन्तर्गत विभिन्न लेखा, वित्तीय र व्यवसायसम्बन्धी विषयहरूको अध्ययन गरिन्छ । यी विषयहरू लेखापालक क्षेत्रमा काम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्छन् । सामान्यतया सीपीए कोर्समा वित्तीय सिद्धान्त, लेखा नीति, खर्च व्यवस्थापन, आय व्यवस्थापन, लेखापरीक्षण प्रक्रिया र नियमनलगायतका विभिन्न कुरा अध्ययन गर्नुपर्ने हुन्छ । नेपालमै बसेर विश्वका कम्पनीका काम गर्न सकिन्छ । यही अवसरका लागि हामीले ठाउँ उपलब्ध गराएका हौं । यसको पढाइ अनलाइनमार्फत हुन्छ ? नेपालमा पहिलो पटक एकेडेमिक रूपमा यो कलेजले सीपीएको कोर्स सुरु गरेको हो । नेपालका विद्यार्थीले पहिलो पटक अध्ययन गर्न पाउने भएका छन् । याे पढाइ भर्चुअलरूपमै हुन्छ । केपीएमजीसँग यसको धेरै ज्ञान छ । विश्वका ठूलठूला कम्पनीमा उसँग काम गरेको अनुभव छ । भारतका विज्ञहरू हुनुहन्छ, उहाँहरूले अध्यापन गराउनुहुन्छ । समय समयमा प्रत्यक्ष विद्यार्थीसँग मिलेर पनि उहाँहरूले सिकाउने काम गर्नुहुन्छ । केही विद्यार्थीहरू भारतमै गएर अध्ययन गरेको पनि पाइन्छ । यसो गर्दा उहाँहरूले विभिन्न चुनौती पनि खेप्नुपर्‍याे । पहिलो पटक कति विद्यार्थी भर्ना गर्ने योजना छ ? अहिले यो कलेजले भखरै सम्झौता गरेको छ । अब हामी यो वर्षदेखि भर्ना सुरु गर्छाैं । सुरुमा हामीले यसको गुणस्तरलाई ध्यान दिँदै धेरै विद्यार्थीलाई भर्ना नगराएर ३० जना विद्यार्थी लिएर कोर्स सुरु गर्ने योजनामा छौं । तर पछि दिनमा राम्रो हुँदै गयो भने विद्यार्थीको संख्या थप्छौं । सीपीए पढेपछि विद्यार्थीकाे भविष्य ढुक्क हाे ? यो कोर्स केपीएमजी आफैले तयार पारेको हो । यो कार्यक्रमलाई कसरी अगाडि बढाउने, कसरी सुरुवात गर्ने भन्ने विषयमा उसले नै सहयोग गर्दै आइरहेको छ । विद्यार्थीलाई पास गराउने मात्र उद्देश्य होइन । यो क्षेत्रमै भविष्य निर्धारण गराउन के गर्ने भन्नेबारे हामीले सोचेका छौं । भर्चुअल कक्षालाई नै जाेड दिने विचारमा हाे ?  भारतमा मात्र सीपीए पढाइ हुँदैन । अहिले साउथ एसियाबाटै धेरैजना भर्चुअल कक्षा लिन्छन् । अहिले हामी पनि त्यस्तै गर्ने छौं । बिस्तारै कक्षाकोठाभित्र शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने वातावरण सिर्जना गर्ने योजना छ । एउटा सेमिस्टरमा एउटा भिजिट गर्ने छन् । विद्यार्थीले परीक्षा कसरी दिन्छन् ? नेपालमा पढ्ने विद्यार्थीले परीक्षा दिन भारतमै जानुपर्ने बाध्यता छ । विद्यार्थीहरूले नजिकका अन्तर्राष्ट्रिय परीक्षा केन्द्रमा गएर परीक्षा दिनु पर्छ । नेपालबाट परीक्षा दिनु पर्ने देशहरूमा भारत, दुबई, सिंगापुर वा अन्य देशमा रहेका परीक्षा केन्द्र समावेश हुन्छन् । हाम्राे यहाँ पनि परीक्षा केन्द्र छ । वर्षमा एक पटक परीक्षा हुन्छ तर त्यसमा पनि कुन समयमा गर्ने भन्ने हुन्छ । त्यसका लागि हामीले सहयोग गर्छौं । चार्टर अकाउन्टेन्ट (सीए)मा कुनै एक विषय लाग्दा पूरै विषयको परीक्षा दिनुपर्छ, के सीपीएमा पनि त्यस्तै हो ? विद्यार्थीहरूले चारवटा फरक फरक भाग (खण्ड) मा परीक्षा दिनुपर्छ । यी चार परीक्षा एफएआर, एयुडी, आरइजी र बीइसी छुट्टाछुट्टै मितिमा परीक्षा दिन सकिन्छ । विद्यार्थीले आफ्नो समयअनुकूल परीक्षा मिति छनोट गर्न सक्छन् । प्रत्येक परीक्षा खण्डमा कम्तीमा ७५ प्रतिशत अंक प्राप्त गर्नुपर्छ । विद्यार्थीले एक पटक पास गरेको खण्डको १८ महिनाको समयावधि हुन्छ । जसको भित्र बाँकी खण्डहरू पनि पास गर्नुपर्छ । यदि समयभित्र सबै खण्ड पास भएन भने पास गरिएको खण्डको नतिजा समाप्त हुन्छ र फेरि परीक्षा दिनु पर्छ । असोसिएसन अफ चमर्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (सीसीए) चार्टर्ड एकाउन्टेन्ट् (सीए) र सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) मा के फरक छ ? असोसिएसन अफ चमर्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (सीसीए), चार्टर्ड एकाउन्टेन्ट् (सीए) नेपालमा सुनिरहने शब्द हो । धेरै विद्यार्थी यसमा अध्ययन पनि गरिरहेका छन् । तर सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) नेपालको हकमा केही नयाँ हो । यो अमेरिका, अस्ट्रेलियालगायतका कम्पनीमा काम गर्न चाहनेहरूका लागि फाइदाजनक छ । यसको मुख्य फाइदा भनेको छोटो समयमै कोर्स पुरा हुनु हाे । चार्टर्ड एकाउन्टेन्ट(सीए) यसको विपरीत छ । जुन नेपालमा भारतको आइक्यानद्वारा नियन्त्रित छ । यो पास गर्न लामो समय लाग्छ । त्यस्तै, असोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस् (सीसीए) जुन यूकेमा आधारित छ । यो कोर्स पुरा गर्न २ देखि ३ वर्ष लाग्छ । यो कलेजको काम पढाइदिने मात्र हो कि कुनै रोजगारको अवसर सिर्जना गराइदिने पनि हो ? हाम्रा काम शिक्षा दिनुसँगै हामीकहाँ रहेका क्षमतावान विद्यार्थीलाई अन्तराष्ट्रिय एक्सपोज उपलब्ध गराउनु पनि हो । यसमा हामीले केपिएमजीसँग सहकार्य गरिरहेका छौं । नेपालमा पनि विभिन्न कम्पनीहरू छन् । जसलाई दक्ष कामदार आवश्यक परेको हुन्छ । यस्तो अवस्थामा हाम्रा विद्यार्थीहरूलाई अवसर सिर्जना गराइदिन्छौं । यो विषय पढेका विद्यार्थीलाई कामको अवसर कति छ ? नेपालमा पनि होइन, विश्वस्तरमै यो विषय पढेका विद्यार्थीलाई कामको अवसर धेरै छ । अकाउन्टिङ फाइनान्समा भविष्य बनाउन चाहनेहरूलाई राम्रो छ । अहिले संसारमै कम्पनीहरू बढिरहेका छन् । यसलाई व्यवस्थापन गर्न, अडिट गर्न दक्ष कामदरको आवश्यकता पर्छ । हाम्रै नेपालको कम्पनीमा पनि सीपीए पढेको विद्यार्थी कोही छ भनेर सोधिरहेका हुन्छन । कतिपय कम्पनीलाई हामीले त्यस्ता व्यक्ति उपलब्ध पनि गराएका छौं । यसैको आवश्यकतालाई मध्यनजर गर्दे हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं । अहिले धेरैजसाे कलेजलाई विद्यार्थी पाउन गाह्रो भएको छ, तपाईंहरूले नयाँ कार्यक्रम थपिरहनुभएको छ, कस्तो छ कलेजमा विद्यार्थीको चाप ? हाम्रो कलेजमा अहिले ब्याचलर्स र मास्टर्स लेभलका कार्यक्रमहरू भइरहेका छन् । अहिले विद्यार्थी नपाउने समस्या छैन । कलेजलाई विद्यार्थी अनि अभिभावक दुइटैले विश्वास गर्छन् । तर पछिल्लो समय एउटा विद्यार्थीको समूह छ जसलाई बाहिर जान मन पर्छ । यसलाई राम्रो नराम्रो दुइटै रूपमा लिन सकिन्छ । मैले के पढ्ने ? कहाँ पढ्ने ? यो उनीहरूको अधिकार पनि हो । अहिले धेरै जस्तो कलेजलाई ब्याचलर्समा विद्यार्थी पाउन गाह्रो नै छ । तर हाम्रो कलेजमा सञ्चालन भइरहेका ७ वटा कार्यक्रममा आवश्यक सीट संख्या पुरा भइरहेको छ । हामीले कलेजमा आउने विद्यार्थीलाई पढाइमात्र विभिन्न कम्पनीसँग सहकार्य गरेर काम गर्ने अवसर पनि प्रदान गरिरहेका छौं । तपाईं एउटा कलेजको प्रिन्सिपल भएको नाताले अहिलेको नेपालको शैक्षिक अवस्था शिक्षा प्रणालीलाई कसरी हेर्नुभएको छ ? नेपालको शिक्षा प्रणाली राम्रो छ । बच्चालाई मिहिनेत गर्नुपर्छ भन्ने सिकाइन्छ यो राम्रो कुरा हो । अलिकति नयाँपुस्ता अहिले आइरहेका छन् । अहिलेका विद्यार्थीको विदेश मोह बढेको छ । तर, नेपालका शैक्षिक संस्थाले नयाँ कार्यक्रम ल्याउन सक्यो भने बाहिर जाने विद्यार्थीलाई हामीले यही रोक्न सक्छौं । अहिलेका विद्यार्थी निकै क्षमतावान छन् । शिक्षा भनेको पढ्ने मात्र होइन, यसले समाज कस्तो बनाउने, कस्ता व्यक्ति उत्पादन गर्ने भन्नेमा पनि भूमिका खेल्छ । विशेष गरी प्रविधिलाई जोड दिँदै यस्ता कुरामा ध्यान दिएर शिक्षा दिन सुरु गरियो भने नेपाली विद्यार्थी नेपालमै बस्छन् र पढ्छन् पनि । अन्त्यमा सीपीए कर्यक्रमबारे के भन्नुहुन्छ ? सीपीए हाम्रो इनिसिएटिभ पनि हो । विश्वस्तरमा पढाइ भइरहेको यो कोर्स पढ्ने अवसर नेपालमै दिन्छौं भनेर जुन हामीले आफ्नो विद्यार्थीलाई प्रमिस गरेको छौं, यो पुरा गर्छौं । जो नेपालमै हुनुहन्छ, जसलाई यो कोर्स गर्न मन छ, उहाँहरूका लागि हामीले एउटा प्लेटफर्म दिएका छौं । अब यो कोर्स गर्नकै लागि नेपालीहरूले बाहिर जान पर्दैन । हामीले नेपालमै कोर्स गर्न पाउने अवसर दिएका छौं ।

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरुका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन् । सो बैठकमा उनले भनिन्, ‘हामीहरु अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरु पग्लिनेक्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।’ यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरु, भूपरिवेष्टित राष्ट्रहरु तथा विश्वका अतिकम विकसित राष्ट्रहरु बढी मारमा परिरहेका मन्त्री डा राणाको भनाइ थियो । त्यसैले यी देशहरुलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उनले बताइन् । यस्तो समस्यामा परेका देशहरुलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा राणाले आग्रह गरिन् । उनले भनिन्, ‘एकातर्फ प्राकृतिक बिपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मानवसिर्जित हिंसा र द्वन्द्वको सिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा तथा द्वन्द्वले सिंगो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरुप देशहरु र मानिसबीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।’ यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उनले बताइन् । मन्त्री डा राणाले एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबै किसिमका समस्याको सामना गर्ने भन्नेबारेमा सोच्नुपर्नेमा पनि जोड दिइन् । ‘हामी एशियालीहरुको दृष्टिकोण, प्रयास र प्रतिबद्धता एशिया र विश्वका चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस् । हामी जसरी प्राचीन सभ्यताका धनी छौँ, त्यसैगरी समग्र वैश्विक समस्याको समाधानमा पनि हाम्रो अग्रसरता अर्थपूर्ण बन्न सकोस् ।’ उनले एशिया बहुसंस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको संकटको निकासका लागि पनि एशियाले भूमिका निर्वाह गर्नसक्ने बताइन् । त्यसैगरी बिहीबार नै परराष्ट्रमन्त्री डा राणाले राष्ट्रसंघीय शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गरिन् । त्यस क्रममा उनले नेपालले द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको कामलाई निष्कर्षमा पु¥याउने अन्तिम तयारी गरिरहेको जानकारी दिइन् । नेपालको संसद्ले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेको र सो कानुन पीडितमैत्री रहेको जानकारी दिँदै उनले अब नेपालले शान्ति स्थापनाका बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताइन् । मन्त्री डा राणाले भनिन्, ‘हुन त वर्तमान विश्वमा शान्ति स्थापनाको काम जटिल बन्दै गएको छ, तर पनि हामीले आन्तरिक रुपमा गरेको शान्ति स्थापनाको काम विश्वका लागि उदाहरण बन्न सक्दछ । किनभने हामीले समयमै यो जटिल कामलाई सम्पन्न गर्न सकेका छौँ ।’ मन्त्री डा राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोसजस्ता निकायसँग साझेदारी गरेर अगाडि बढ्नुपर्ने सुझाव बैठकमा दिइन् । नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री डा राणाले सकारात्मक सोच र व्यवहार तथा सांस्कृतिक मूल्यमान्यताहरुको सम्मान र पालनाबाट नै शान्तिपूर्ण र हिंसारहित समाज निर्माण गर्न सकिन्छ भनेर सबै लाग्नुपर्ने बताइन् । बिहीबार नै परराष्ट्रमन्त्री डा राणाले अतिकम विकसित देश (एलडिसी) का विदेशमन्त्रीहरूको वार्षिक बैठकको अध्यक्षता गरिन् । नेपाल हाल एलडिसीको अध्यक्ष छ । न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गर्दै उनले एलडिसी देशहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयोजनार्थ थप र अतिरिक्त सहयोगको खाँचो औँल्याइन् । विश्वका यी देशहरुले पछिल्लो समय धेरै समस्या झेलिरहेका दृष्टान्त मन्त्री डा राणाले पेस गरिन् । उनले भनिन्, ‘नेपालसहितका यी देशहरुले महामारी, भू–राजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारण बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको छ । साथै दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्न विविध अवरोधको सामना गर्नु परिरहेको छ ।’ बैठकमा मन्त्री डा राणाले ग्लोबल समन्वय ब्युरोको नेतृत्व नेपाललाई दिएकामा विश्व समुदायलाई धन्यवाद दिँदै यी अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमताको वृद्धि गरी क्षेत्रीय र विश्वबजारमा पहुँचका लागि सहयोग गर्न आग्रह गरिन् । रासस

साइपालमा एभरेष्टको शाखा, ७५३ पालिकामै पुग्यो बैंककाे पहुँच

काठमाडौं । बझाङकाे साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ काराेबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाकाे अन्त्य भएकाे छ । साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाकाे अन्त्य भएकाे हाे । साइपाल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंकको शाखा बिस्तार भएको हाे। यसभन्दा पहिला साइपालका स्थानीय तीन दिन हिँडेर चैनपुर गरी बैंकिङ काराेबार गर्दै आएका थिए । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बैंककाे शाखा खुलेसँगै अब स्थानीयले काराेबारका लागि सदरमुकाम धाउन नपर्ने बताइन् । साथै उनले बैंक स्थापनाका लागि विभिन्न निकाय धाएकाे पनि बताइन् । गाउँपालिकामा बैंकिङ काराेबार नहुँदा साइपाल गाउँपालिकाले सात वर्षदेखि जिल्ला सदरमुकाम चैनपुरको एक घर भाडामा लिएर चलिरहेको छ । २०७४ सालमा राष्ट्र बैंकले साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएकाे भए पनि बैंकले सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार उपलब्ध नभएकाे भन्दै शाखा खाेल्न मानेकाे थिएन। गाउँपालिकाले बैंकका लागि सहज वातावरण तयार पारिदिने भनेपछि शाखा खुलेकाे हाे । गत वर्षकाे चैतमा राष्ट्र बैंकको टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको थियो  ।

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूर दराजमा रहेका ग्राहकहरूले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर (नियो रेमिट) तथा युनाईटेड रेमिटबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर (नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

२ महिनामा जीवन बीमाको व्यापार ३० अर्ब : शीर्षस्थानमा नेपाल लाइफ (सूचीसहित)

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा जीवन बीमा कम्पनीहरूले ३० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीले साउन र भदौमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यो अवधिमा ९ वटा कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । अर्थात ९ कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका हुन् । बीमाशुल्क संकलनमा नेपाल लाइफ अग्रस्थानमा रहेको देखिन्छ । नेपाल लाइफले दुई महिनाकाे अविधमा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकाे छ । साथै नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ३ अर्ब ३० करोड ७५ लाख र हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यसैगरी, सूर्यज्योति लाइफले १ अर्ब ८४ करोड ५७ लाख, एशियन लाइफले १ अर्ब ४७ करोड २० लाख, सिटिजनल लाइफले १ अर्ब १२ करोड ७८ लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख र राष्ट्रिय जीवन बीम कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?