विकासन्युज

कालिका लघुवित्तका तीन संस्थापकले बिक्रीमा राखे सेयर

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तका विभिन्न तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्पमा रहेको सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार संस्थापक सेयरधनी डोलराज ढुंगानाको नाममा रहेको १५ हजार कित्ता, माया बस्नेत केसीको ५ हजार कित्ता र पदमपानी काफ्लेको १ हजार ५ सय कित्ता गरी कुल २१ हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

नेशनल लाइफबाट बाहिरिँदै स्वदेशी सेक्युरिटिज, सेयर मूल्य १८५ रुपैयाँ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थागत संस्थापक सेयरधनी स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो । कम्पनीले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सेयरको मूल्य १८५ रुपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १३ गतेदेखि असोज २० गतेम्मि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतमा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

तथ्याङ्कमा अर्थतन्त्र सुधार, लगानीकर्ताको मनोविज्ञान कमजोर

अर्थतन्त्रमा मुख्य परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.२० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ । यी सबै परिसूचकले अर्थतन्त्रका मुख्य सूचकहरु सकारात्मक रहेका संकेत गरेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । साउनमा खुद सेवा आय रु.१५ अर्ब २६ करोडले घाटामा रहेको छ । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई रु.४ अर्ब ७६ करोड पुगेको छ । सेवा खाता अन्तर्गत भ्रमण व्यय ३०.४ प्रतिशतले वृद्धि भई रु.२२ अर्ब ५० करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१४ अर्ब ९२ करोड रहेको छ । नेपालीको विदेश भ्रमण खर्चमा उच्च वृद्धि भएकोले यसको नियन्त्रणमा बल गर्नुपर्छ भने पुँजीगत आयातलाई प्रोत्साहित गर्ने नीति नेपाल सरकारले लिनु पर्ने देखिन्छ । साउनमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भई रु.१३६ अर्ब ९३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । गत वर्षभन्दा कम संंख्यामा नेपाली विदेश जान स्वीकृति पाएका तथ्याङ्कले देखाउँछ । यस परिवेशमा सरकारले नेपालभित्र रोजगारी कसरी सिर्जना गर्ने भन्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा रु.२०९२ अर्ब २२ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी मुद्रा संचिति राम्रो अवस्थामा भएकाले विश्व बैंक, एसियाली विकास बैंक जस्ता संस्थाले पनि नेपालको अर्थतन्त्र राम्रो भएको टिप्पणी गरेका छन् । रेमिट्यान्सले विदेशी मुद्रा संचितमा ठूला टेवा दिए पनि बैदेशिक व्यापार घाटा उच्च रहेकोले सरकारले देश भित्र उत्पादन वृद्धिमा जोड दिनुपर्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपाल सरकारको कुल खर्च रु.४० अर्ब २१ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.१२ अर्ब ३८ करोड, पँुजीगत खर्च रु.८ अर्ब ५५ करोड र वित्तीय व्यवस्था खर्च रु.१९ अर्ब २७ करोड रहेको छ । सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.९४ अर्ब ७४ करोड पुगेकोछ । यस अन्तर्गत कर राजस्व रु.७७ अर्ब ४१ करोड र गैर कर राजस्व रु.१७ अर्ब ३३ करोड परिचालन भएको छ । वृहत अर्थतन्त्रका मुख्य परिसूचक राम्रा हुँदा हुँदै पनि सरकारको आम्दानी र खर्चको दुबै अवस्था राम्रो छैन । साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४३ अर्ब ४५ करोड (०.७ प्रतिशत) ले घटेको छ । यद्यपी वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । बैंकहरुले निक्षेपमा व्याज धेरै घटाएकोले त्यसको असर देखिन थालेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । कर्जाको व्याज दर निकै कम भएकोले पनि कर्जाको माग बढाउन मद्दत मिलेको छ । यसले बैकिङ क्षेत्रमा कर्जाको माग बढेको देखाउँछ । यो पनि अर्थतन्त्रको लागि सकारात्मक पाटो हो । तथ्याङ्कमा सुधारका संकेत देखिए पनि व्यवसायीको मनाेबल वृद्धि भएको छैन । सार्वजनिक मञ्चमा, सञ्चार माध्यममा, व्यक्तिगत कुराकानीमा व्यवसायीहरुबाट निराशाका कुरा मात्र सुनिएका छन् । मुलतः सरकारको ध्यान राजश्व वृद्धिमा मात्र केन्द्रीत भएको र तर व्यवसायिक वातावरण बनाउने दिशामा सरकारले काम नगरेको व्यवसायीहरुको गुनासो रहेको छ । सरकारले त्यसतर्फ ध्यान दिन जरूरी छ ।

दोब्बरले बढ्यो तरकारीको भाउ, ३०.६७ रुपैयाँको गोलभेडा ७५ पुग्यो, घिरौला १३५ रुपैयाँ

काठमाडौं । बाढी पहिरोका कारण सवारी आवागमनमा समस्या भएपछि तरकारीको भाउ बढेको छ । काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएपछि त्यसको प्रभाव तरकारीको मूल्यमा परेको हो । उपत्यका भित्रिने सडक सञ्जाल बाढी पहिरोले क्षति पुर्याउँदा तरकारीहरू पनि आउन पाएका छैनन् भने उपत्यकाभित्रै उत्पादन हुने तरकारीमा पनि बाढीले क्षति पुर्याएको छ । त्यसको प्रत्यक्ष असर तरकारीको मूल्यमा परेको हो । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी ११० रुपैयाँ, लोकल सानो गोलभेडा ७५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ९० रुपैयाँ पुगेको छ । जबकि हिजो भारतीय गोलभेडा १०५ रुपैयाँ, लोकल सानो गोलभेडा ३०.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ६१.६७ रुपैयाँ थियो । तरकारी बजारका अनुसार रातो आलु ७८.३३ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७४ रुपैयाँ, भारतीय प्याज सुकेको ११८.३३ रुपैयाँ, लोकल गाजर १९० रुपैयाँ, तराईको गाजर १६० रुपैयाँ, लोकल बन्दा ८५ रुपैयाँ, तराईको बन्दा ७० रुपैयाँ, स्थानिय काउली १४५ रुपैयाँ पुगेको छ । हिजो रातो आलु ७७.६७ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ, भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, तराईको गाजर १०५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ६५ रुपैयाँ थियो । रातो मूला २७.६७ रुपैयाँ र सेतो मूला (हाइब्रीड) २२.३३ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी ११० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ र तितो करेला आज ११० रुपैयाँ पुगेको छ । हिजो तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ४५ रुपैयाँ र तितो करेला आज ५५ रुपैयाँ थियो । लौका ९५ रुपैयाँ, घिरौला १३५ रुपैयाँ, रायो साग १४५ रुपैयाँ, पालूगो साग १९० रुपैयाँ, तोरीको साग ९५ रुपैयाँ, प्याज हरियो २७६ रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=513297]

बहराइनको दिनार ३५६.०७ रुपैयाँ पुग्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.२८ रुपैयाँ र बिक्रीदर १५८.९९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.०५ रुपैयाँ र बिक्रीदर ९२.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.२२ रुपैयाँ र बिक्रीदर १०४.६९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२२ रुपैयाँ र बिक्रीदर १३.२८ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०० रुपैयाँ र बिक्रीदर २०.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०२ रुपैयाँ र बिक्रीदर ४३९.९८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४८ रुपैयाँ र बिक्रीदर ३५६.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाढी पहिरोमा परी निधन हुनेको संख्या १ सय पुग्यो

  काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १ सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

आजदेखि सुकिला नोट वितरण गरिने, कुन ठाउँबाट कति पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।