कुरिलाको मूल्य डेढ सय रुपैयाँ बढ्दा च्याउ, ब्रोकाउली र बन्दाको भाउ स्वाट्टै घट्यो
काठमाडौं । बुधबार कुरिलाको मूल्य बढेको छ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार कुरिलाको मूल्य १५० रुपैयाँ बढेर ६५० रुपैयाँ पुगेको हो । यसअघि हिजो ५ सय रुपैयाँमा बिक्री भइरहेको थियो । तर, डल्ले च्याउको मूल्य १ सय रुपैयाँ घटेर ३२६.६७ रुपैयाँ, ब्रोकाउली ८१ रुपैयाँ घटेर ९५ रुपैयाँ, रातो बन्दा ८४ रुपैयाँ घटेर २२६ रुपैयाँमा झरेको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । भारतीय गोलभेडा प्रतिकेजी १२० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ८३.७५ रुपैयाँ पुगेको छ । रातो आलु ८२ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७२.६७ रुपैयाँ, भारतीय प्याज सुकेको १२७.६७ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, तराईको गाजर १२५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराईको बन्दा ६५ रुपैयाँ, स्थानिय काउली ७० रुपैयाँ कायम छ । रातो मूला, सेतो मूला (हाइब्रीड) ४५ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी १२५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२५ रुपैयाँ र तितो करेला आज ९५ रुपैयाँ छ । लौका ८५ रुपैयाँ, परवर ११० रुपैयाँ, चिचिण्डो ७५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=514159]
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न
काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ पाटन दरबार परिसरमा आयोजित भव्य समारोह बीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानिय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु राखिएका थिए । स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यत्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरुको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले लिएको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय श्री दामोदर भण्डारीले समुद्घाटन गर्नु भएको यस एक्सपोको समापन समारोहमा ¥याम्प वाल्कको प्रस्तुति रहेको थियो । साथै, कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो रोटरी क्लब अफ काठमार्डौ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको कार्यक्रम यहि असोज ११ गते शुरु भई असोज १४ गते सम्पन्न भएको थियो ।
डलरको मूल्य घट्दा रियालको भाउ बढ्यो, चिनियाँ युआन कति छ ?
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.१६ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.२३ रुपैयाँ र बिक्रीदर १७९.०३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.०४ रुपैयाँ र बिक्रीदर १५९.७५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.४० रुपैयाँ र बिक्रीदर ९२.८१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.९४ रुपैयाँ र बिक्रीदर ९९.३८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.९५ रुपैयाँ र बिक्रीदर १०४.४२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६७ रुपैयाँ र बिक्रीदर ३५.८३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६.६० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.१३ रुपैयाँ र बिक्रीदर ३२.२८ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.११ रुपैयाँ र बिक्रीदर १३.१७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२१ रुपैयाँ र बिक्रीदर १७.२९ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०९ रुपैयाँ र बिक्रीदर ४४०.०६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.९६ रुपैयाँ र बिक्रीदर ३५६.५५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
मौलिक रैथाने खाना र संस्कृतिलाई प्रवर्द्धन गर्न प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा ‘पक्कु’ फेस्टिबल आयोजना
काठमाडौं । नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न पक्कु फेस्टिबल २०८१ को आयोजना हुने भएको छ । प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज १७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा आयोजित पत्रकार सम्मेलनमा प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले हाम्रो परम्परा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पक्कु फेस्टिबल गर्न लागिएको जानकारी दिए । ‘पक्कु खानाको प्रवर्द्धन तथा संरक्षण गर्ने गरी बिजनेस ग्रुपले फेस्टिबलको आयोजना गर्न लागेको हो,’ अध्यक्ष भण्डारीले भने, ‘अहिलेको अवस्थामा व्यावसायिक लाभभन्दा पनि रैथाने परिकार पक्कुको विषयमा जानकारी दिने मुख्य उद्देश्य राखेका छौं ।’ उनले यसै फेस्टिबलमार्फत पक्कुलाई पर्यटन क्षेत्रमा नयाँ प्रडक्टको रूपमा ब्रान्डिङ गर्न लागेको पनि बताए । पक्कु खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि प्रचारप्रसार गर्न सकेमा नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उनको विश्वास छ। विजया दशमीको अवसर पारेर रैथाने खाना संस्कृतिको प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यो फेस्टिबलको आयोजना गर्न लागिएको भणडारीकाे भनाइ छ । यसबाट हाम्राे संस्कृति ,परम्परा ,पहिचान ,पाककला, पक्कु खाना संस्कृतिको संरक्षण र जगेर्ना हुने विश्वास व्यक्त गरिएको छ । स्वाद, स्वास्थ्य र आतित्थ्यता सँगसँगै भन्ने मुल मन्त्र र लक्ष्यसहित विसं. २०६२ देखि काठमाडौं सुन्धाराबाट सुरु भएको प्रेसिडेन्ट होटलले सुन्धारा, बालाजु, माछापोखरी, चितवन, पुरानो बानेश्वर बत्तिसपुतली, महाराजगञ्ज, रविभवन, एयरपोर्ट लगायतका स्थानबाट प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्टबाट सेवा दिइरहेको छ ।
तर्पण पिण्डदान गरी सोह्रश्राद्ध आज सकिदैँ, भोलिदेखि दसैँ सुरु
काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । यसअनुसार आज महोत्तरी जिल्लाका धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरुमा एकाबिहानै तर्पण दिनेहरु भरिभराउ छन् । पितृपक्ष सम्पन्न गर्न आज महोत्तरीका रातु, माण्डवीगङ्गा (मरहा) र बाँकेलगायतका नदी तट र धार्मिक महत्वका सरोवरहरुमा तर्पण गर्न पुगेका छन् । जलेश्वरका वरुण, पुरन्दर र भार्गव सरोवरमा तर्पण र महालय (पार्वण, पितृपक्षमा गरिने विशेष विधिको श्राद्ध) श्राद्ध गर्नेहरुलाई सङ्कल्प गराउन पुरोहितहरुलाई भ्याइनभ्याइ छ । यसैगरी धमौरास्थित ध्रुवकुण्ड , मटिहानीस्थित लक्ष्मीसागर, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथधाम र बर्दिबास–५ स्थित टुटेश्वरधाममा तर्पण दिने र श्राद्ध गर्ने पुगेका छन् । मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ । औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको बर्दिबास–२ का बासिन्दा पुरोहित ब्राह्मण महेशकुमार झा बताउँछन् । दसैंैं, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि अघि नान्दीमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होसभन्ने गरिने कामनाजस्तै दसैंं, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्डका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । पितृपक्षमा श्राद्ध गर्न नसक्नेले कात्तिक १ कार्तिककृष्ण औँसीमा श्राद्ध गर्नसक्ने धर्मसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, देह त्याग गरेको तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् । पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ । आज काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दसैँ सुरु हुँदैछ ।
बाढीपहिरामा परी २२८ जनाको निधन, २५ जना बेपत्ता
काठमाडौं । हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य १५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
वर्षाको सम्भावना कायमै, फेरी उच्च भारी वर्षा हुँदैछ ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ । मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । ‘कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधरणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन,’ उनले भने । महाशाखाले आजसाँझ जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यस अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाको अनुरोध छ ।
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने, अग्रिम टिकट बुकिङ के भयो ?
काठमाडौं । काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो । उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो । बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा बाढीपहिरोबाट ज्यान गुमाउने यात्रु तथा यातायात मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुर्याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ । वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिए । यस्तै अत्यधिक वर्षाका कारणले ‘रेड जोन’मा परेका सडकखण्ड तथा सडकमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने तथा वर्षातको कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धारमा सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।