विकासन्युज

बाढीबाट १७ अर्ब बढीको क्षति, कुन क्षेत्रमा कति ?

काठमाडौं । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, ‘विपत्ति बाजा बजाएर आउँदैन ।’ तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ । राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् । जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौँ नागरिकले अकालमा ज्यान गुमाएका छन् । काठमाडौँको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ । सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए । पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै २ अर्ब ५२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ । पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म दुई सय २४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् । १५८ जना घाइते छन् । उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ । कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ । कूल ५८ हजार ४७६ हेक्टरमा लगाइएको ३ अर्ब ५० करोड रुपैयाँ बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार २०५ वटा पशुपन्छीमा क्षति पुगेको छ । भौतिक क्षतितर्फ खानेपानी संरचनामा ३ अर्ब ५५ करोड रुपैयाँ, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड रुपैयाँ, ऊर्जातर्फ ४ अर्ब रुपैयाँ र जलस्रोत तथा सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा ९ वटा सञ्चालन आइसकेका छन् । त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड रुपैयाँ र बेलीब्रिजतर्फ २० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ । बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ । अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ । नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए । यस्तै, खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ । कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ । सरकारले खोज तथा उद्धारमा ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ । बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ । विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ ।रासस

जलविद्युत् आयोजनासँगै बाढीमा मिसिए कामदार, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्याे । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ । सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गरेकि थिइन् ।  आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भूल्दै फेरि निर्माणमा जुटनुभएका लामालाई यस वर्षपनि गत वर्षकै पीडा दोहोरियो । गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो । उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरुलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन । ‘म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ,’ उनले भने । बीमालगायत प्रत्येक मजदुरका परिवारलाई ८ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र ? निमा भन्छिन्, ‘आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्योहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।’ गत वर्ष जनधन दुवैको क्षति भएको भएपनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ । नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उहाँको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पु¥यायो । बिजुली बाल्ने सपना पर धकेलियो । निमाले भनिन्, ‘प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो ।’ कुल ६ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठूलो दुःखका साथ लागिपरेको भएपनि प्रकृतिसँग केही नलागेपछि उनी दुःखी देखिन्छिन् । सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उनी सुनाउँछिन् । । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत् गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको उनको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा छिन् उनी । गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ वटा परियोजनामा क्षति पुगेको थियो । त्यसबाट मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण नदीहरुमा आएको बाढीका कारण ३६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ । यसपटकको बाढीले २ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । क्षतिको विवरण सङ्कलन काम भइरहेकाले केही बढ्न सक्ने देखिन्छ । गत वर्षको बाढीले १० अर्ब बराबरको क्षति भएको इप्पानले दाबी गरेको थियो । गत वर्ष पूर्वी नेपालमा मात्रै क्षति भएको भएपनि यस वर्ष धेरैतिर भएको अनुमान छ । इप्पानका अनुसार यस वर्षको बाढीबाट ३६ वटा आयोजना प्रभावित भएका छन् । त्यसमा सबैभन्दा बढी क्षति बाग्मती साना जलविद्युत् आयोजनाको भएको छ । सो आयोजनाको १ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सो आयोजना २२ मेगावाट क्षमताको हो । यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धिधत २२.०१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । पाँचथर पावरद्वारा प्रवर्द्धिधत १४.०९ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो । साहस ऊर्जाद्वारा प्रवर्द्धिधत ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ । कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ । सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला ‘सी’ जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ । बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज र खन्ने क्रममा रहेको पावर हाउस पुरिएको छ । तामाकोशीको क्षति ठूलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको क्षति यकिन हुन बाँकी छ । हाल प्राविधिकहरु आयोजना स्थल पुगेर मूल्याङ्कन गरिरहेको जनाइएको छ । बाँधस्थलमा अवस्थित ‘कन्ट्रोल रुम’मा पूर्ण रुपमा क्षति भएको छ । ‘सेटलिङ बेसिन’, ‘बक्स बेसिन’, ‘बक्स कल्भर्ट’मा बालुवा र ग्रेगान थुप्रिएको छ । बाढीका कारण दुई सुरक्षाकर्मी र दुई कर्मचारीलाई तामाकोशी नदीले बगाएको थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा बिजुली व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको छ । सो आयोजनाको बिजुली आन्तरिक रुपमा खपत गरेर अन्य आयोजनाको बिजुली भारत निकासी हुँदै आएको थियो । क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो समयसम्म आयोजना बन्द हुने अवस्था आए हिउँदमा बिजुली व्यवस्थापन गर्न गाह्रो हुने बताए । इप्पानका अनुसार, गत वर्षको बाढीले सुपर हेवा खोला (६ मेवा) पिलुवा खोला (४मेवा), सवा खोला ‘बी’ (२१.५ मेवा), सवा खोला ‘सी’ (६.३ मेवा), इन्ग्वा खोला (९.७ मेवा), सुपर काबेली ‘ए’ (१३.५ मेवा), सुपर काबेली खोला क्यासकेड (१२ मेवा), काबेली (२१.९३ मेवा), काबेली ‘ए’ (३७.६ मेवा), हेवा खोला ‘ए’ (७.५ मेवा), इसुवा खोला (९७.५ मेवा), इसुवा क्यासमेड (४० मेवा), तल्लो इर्खुवा (१४.१ मेवा), माथिल्लो इर्खवा (१४.५ मेवा), सवा खोला ‘ए’ (१०.४ मेवा), माया खोला (१४.९ मेवा)मा समस्या पारेको थियो । ती सबै आयोजना निर्माधिन अवस्थामा थिए । बाढीका कारणले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा रहेका २३ वटा जलविद्युत् आयोजना प्रभावित भएका थिए । उक्त वर्ष हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला तथा नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । निजी क्षेत्रका ऊर्जा उत्पादकले निर्माण अवधिको ब्याज छुटदेखि पुनःनिर्माणमा प्रयोग हुने स्पेयर्स पार्टसको भन्सार दर एक प्रतिशत नै कायम गर्न माग गरेको भएपनि हालसम्म पूरा नभएको जनाइएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भन्सार महसुल वृद्धि हुँदा मर्मतको उपकरण ल्याउन समस्या भएको गुनासो गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यही असोज १३ गते आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्कीले ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पठाउने काम मात्रै भएको र गत वर्षको बाढीका कारण समस्यामा परेका आयोजनाको हालसम्म सम्बोधन हुन नसकेको बताउनुभएको थियो । गत वर्षको बाढीले ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै संरचना बगाएको थियो । अघिल्ला वर्षहरुको बाढीले क्षति पु¥याएर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका आयोजना समेत प्रभावित भएका थिए । निजी क्षेत्रको माग निजी क्षेत्रले आयोजनाको अनुमतिपत्रको म्याद थप, पुनरकर्जाको माग गर्दै आएका छन् । इप्पान अध्यक्ष कार्कीले यस वर्षपनि आफूहरुको माग पुरानै रहेको बताए । जलविद्युत् आयोजनाका प्रवर्द्धकले बीमा गरेको भएपनि बीमाको दाबी भुक्तानीका लागि समस्या भइरहेको बताएका छन् । ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरण गरे जस्तै बीमामा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गत वर्षको जस्तो जलविद्युत् आयोजनामा मानवीय क्षति नभएपनि अन्य संरचनामा पुगेको क्षतिले समग्र अर्थतन्त्रमा समस्या ल्याउन सक्ने देखिन्छ । पूर्वानुमानका कारण क्षति कम यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाउँदा गत वर्षको तुलनामा मानवीय क्षति नभएको देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकाका अनुसार घनघोर वर्षा र बाढीको पूर्वानुमान जलविद्युत् आयोजनालाई जानकारी गराउँदा गराउँदै पनि क्षति भएको छ । पूर्वानुमान नगराएको भए यसपटक पनि गत वर्षको जस्तै ठूलो जनधनको क्षति हुने उनको दाबी छ । जलविद्युत् आयोजनामा रातको समयमा नबस्न, यातायातका सवारी साधन नचलाउन सरकारको तर्फबाट निर्देशन दिइएको थियो । त्यसकारण पनि आयोजनमा अन्य क्षति भएपनि मानवीय क्षति रोक्न सकिएको हो । ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर यसवर्षको बाढीले एक हजार एक सय मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ । जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको छ । उत्पादन रोकिएका आयोजनाको क्षमता ६५० मेगावाट बराबर छ । आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृह बन्द हुन जाँदा प्राधिकरणलाई माग धान्न समेत कठिनाई भएको थियो । बाढी र अविरल वर्षाका कारण १ हजार १ सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति भएको ऊर्जामन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । बाढीका कारण पूर्वी नेपालको माग धान्ने काबेली करिडोरका आयोजनामा क्षति पुगेको छ । सो प्रसारण लाइनको तीन वटा टावरमा क्षति पुग्दा झण्डै दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर रहेको छ । यस्तै, तामाकोशी करिडोरको बिजुली काठमाडौँ ल्याउने खिम्ती लामोसाँघु प्रसारण लाइनको एउटा टावर तामाकोशी नदीले बगाएको छ । सो प्रसारण लाइनमा समस्या आउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर छ । खिम्ती ढल्केबर २२० केभी क्षमताको एउटा टावरमा समस्या भएको छ । यस्तै, अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको प्राधिकरणले जनाएको छ । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ । एउटा आयोजना बन्द हुँदा त्यसको असर अन्यत्र पर्दैन, तर एउटा टावरमा समस्या आउँदा ठूलो प्रभाव पर्न जान्छ । धेरै जलविद्युत् आयोजनाको बिजुली प्रवाह हुन नसक्दा माग व्यवस्थापन गर्न समस्या हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गत वर्ष र यसपटकको बाढीको प्रकृति फरक भएपनि जलविद्युत् आयोजनामा क्षति पुगेको छ । पुनःर्निाण र मर्मत गर्ने उपकरणको आयात र भन्सार शुल्क र मूल्य अभिवृद्धि करलगायतका विषयमा निजी क्षेत्र र सरकारी निकायबीच मतैक्य हुन सकेको छैन । खासगरी पहुँचमार्गमा पुगेको क्षतिका कारण निर्माण सामग्री लैजान समस्या पर्ने भएको छ । सडक र पुलमा यस वर्षको बाढीको क्षति बढी छ । त्यसबाट पनि आयोजनाको मर्मत सम्भार र निर्माणमा रहेका आयोजनाको समय लम्बिन जान्छ । त्यसबाट प्राधिकरणसँग भएको सम्झौताअनुसार तोकिएको समयमा बिजुली उपलब्ध हुन सक्दैन । ऊर्जामन्त्री खड्का पुनःनिर्माण, पहुँचमार्ग निर्माण र बीमालगायतका विषयमा अर्थमन्त्रालयसग छलफल गरेर आवश्यक निर्णय गरिने बताउँछन् । मुलुकको ऊर्जा क्षेत्रले बाढीपहिरो र वर्षाका कारण पछिल्ला केही वर्षदेखि क्षति भाग्नु परेको छ । विसं २०७४ साउनमा आएको अविरल वर्षाले प्राधिकरणको एक दर्जनभन्दा बढी सवस्टेशन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो । यस्तै, २०७८ सालको असारमा आएको बाढी तथा पहिरोले डेढ दर्जन आयोजनामा क्षति पुगेको थियो । कास्कीमा निर्माणका क्रममा रहेको ४४ मेगावाट क्षमताको सुपर मादीमा झण्डै १ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको थियो । मोदी नदीको बाढीका कारण बाँधस्थल, विद्युत्गृह, कामदार आवास गृह, लोडर एक्साभेटर, पेनस्टक पाइप, ककर्सर प्लान्टलगायतका उपकरण बगाएको थियो । त्यस वर्षको बाढीले सुपर दोर्दी, दोर्दी–१ मा समस्या पारेको थियो । रसुवागढीको टेलरेसबाट बाढी पसेको थियो । सोही बर्ष नै मेलम्चीमा आएको बाढीले तवाह नै मच्चाएको थियो । बीमा कम्पनीले जलविद्युत् आयोजनाको बीमा गरेको भएपनि भुक्तानी पाउन समस्या पर्दै आएको छ । गत वर्षको मात्रै दाबी भुक्तानी रु सात अर्ब बराबर छ । यस वर्षको समेत दायित्व थप भएको छ । भुक्तानी नहुँदा मर्मत सामग्री र उपकरण ल्याउन समस्या पर्दै आएको छ । आयोजना प्रवर्द्धकले हरेक वर्ष कूल लागतको दुई प्रतिशत रकम प्रिमियम वापत तिर्दै आएको आएको भएपनि दाबी भुक्तानीका लागि बीमा कम्पनीले अटेर गर्दै आएको गुनासो गर्दै आएका छन् । मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रमा बाढी तथा पहिरोले पु¥याएको समस्या समाधानका लागि आयोजनाको अध्ययन, डिजाइन र निर्माण पूर्व नै पूर्वानुमान गर्ने प्रणाली र कार्यशैलीमा सुधार गर्नु जरुरी रहेको विज्ञहरु बताउँछन् । ठूलो लगानीका आयोजना अगाडि बढाउँदा वैज्ञानिक तथ्य र पूर्वानुमानलाई तथ्यमा आधारित हुनुपर्छ । जोखिम व्यवस्थापनको पूर्वतयारी पनि उत्तिकै महत्वपूर्ण हुने उनीहरुको भनाइ छ । जलवायु र वातावरणका जानकार डा. पपुलर जेन्टल विकास र वातावरणबीचको सन्तुलनको अभावमा समस्या पैदा भएको बताउँछन् । विकास निर्माण र वातावरणबीच सन्तुलन कायम गरेर अगाडि बढ्दा मात्रै बाढीपहिराबाट जोगाउन सकिने उनको भनाइ छ । ‘हाम्रा भौतिक पूर्वाधार निर्माण नदी केन्द्रित भएको छ । एकापसमा सन्तुलनको अभाव छ । पूर्वानुमान र पूर्वतयारीको काम समेत प्रभावकारी हुन सकेको छैन’, उनले भने ।रासस

भोलिदेखि इक्यानको शैक्षिक मेला सुरु

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भाेलि (असाेज १६) शैक्षिक मेलाको आयाेजना गर्दैछ । असोज १३ गते (आइतबार) आयोजना गर्ने भनिएको शैक्षिक मेला भाेलिका लागि सरेकाे हाे । देशैभरि परेको अविरल वर्षाका कारण मेला सरेकाे हाे । यस अगाडि पत्रकार सम्मेलन गर्दै इक्यानले काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्ने जनाएको थियो । अभिभावक र विद्यार्थीलाई शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न देश तथा स्वदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।

एनसेल फाउन्डेशनले गर्यो कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ४ सयभन्दा धेरै लाभान्वित

काठमाडौं । एनसेल फाउन्डेशनले कपिलवस्तु जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका- ९, निग्लिहवामा शिविरकाे आयाेजना गरिएकाे हाे । यस शिविरमा ४०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा शिविरकाे आयोजना गरिएको हाे । शिविरमा स्थानीयले मुटुरोग तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । साथै आवश्यकताअनुसार निःशुल्क औषधी पनि शिविरमा वितरण गरिएकाे थियाे । एनसेल फाउन्डेशनले कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने पनि जनाएकाे छ । एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू योजना बनाएको छ ।

पाँच अर्ब डिल विवादले सेबोन अध्यक्ष नियुक्तिमा ढिलाइ-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिको क्रममा पाँच अर्ब रुपैयाँको डिल भएको भन्ने विषयमा उत्पन्न विवादकै कारण उक्त पदमा नियुक्तिमा ढिलाइ भएको बताएका छन् । उक्त डिलमा आफ्नो संलग्नता नभएको समेत उनले सार्वजनिक रूपमा प्रष्टिकरण दिएका छन् । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पाँच अर्ब रुपैयाँ’ एउटा पत्रिकाले समाचार छाप्यो । जुन पत्रिका त्यतिबेलाका प्रधानमन्त्री (पुष्पकमल दाहाल-प्रचण्ड) र अर्थमन्त्री (वर्षामान पुन) नजिकको हो । पत्रिकाको नाम मैले भन्नु परेन । लेख्ने साथीहरू सायद यही हुनुहुन्छ होला, ’ मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने,  ‘हाम्रो पार्टी त्यतिबेला सरकारमा भए पनि निणर्य गर्ने ठाउँमा थिएन ।’ उनले हरेक निर्णयमा कमिशन खोज्ने, हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा नलिन आग्रह गरेकाे बताए । प्रधानमन्त्री ओलीले भने, ‘मैले हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा प्रयोग नगरौं । देशको अवस्था नाजुक छ । हरेक निर्णयमा कमिशन खोज्ने, पैसा लिएर नियुक्ति गर्ने, पैसा लिएर सरुवा गर्ने, पैसा लिएर बढुवा गर्ने, कमिशन लिएर ठेक्का दिने, कमिशनका भरमा खेलबाड गर्ने काम नगरौं भनेको थिएँ ।  त्यो भनेपछि उहाँहरू किन झस्किनु भयो? भोलिपल्ट पाँच अर्ब खाने भयो भनेर समाचार छापियो । पाँच अर्ब मलाई कसले ल्याएर दिन्छ ? किन दिन्छ ?’ उनले आफू कमिशनकाे लागि काम गर्ने व्यक्ति नभएकाे पनि बताए । ‘म कमिशनको लागि काम गर्ने होइन । कमिशन रोक्ने मान्छे हुँ । भ्रष्टाचार गर्ने मान्छे होइन, रोक्ने मान्छे हुँ । तपाईंहरूले के छपाउनु भयो ? उहाँहरू (प्रचण्ड-पुन)ले छपाएको होइन भन्नु भयो, ’ अध्यक्ष ओलीले भने । उनले थपे,  ‘यसमा पाँच अर्बको डिल होलाजस्तो पनि लाग्दैन । अर्को कुरा कर्मचारीले नियुक्ति खान पाँच अर्ब कहाँबाट ल्याएर देओस् ?’ नेपाल धितोपत्र बोर्डका अध्यक्षका आकांक्षीमध्ये एक सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन लबिङ गर्दै नेपालको ठूलो व्यावसायिक घराना शंकर ग्रुपले केपी शर्मा ओलीलाई मोटो रकम बुझाएको आरोप लाग्दै आएको छ । आफूमाथि लागेको आरोपको विरोध गरेपछि उहाँहरू (प्रचण्ड र पुन) छट्टाउन थालेको ओलीले बताए । मूलतः यही विषयमा विवाद चुलिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दालाल (प्रचण्ड)ले नेतृत्वको सरकारसँगको सहकार्य छोडेर नेकपा एमालेले नेपाली कांग्रेससँगको सहकार्यमा नयाँ सरकार बनाएको विश्लेषण त्यतिबेला नै भएकाे बताएका थिए । सर्वोच्च अदालतले नै पुरानै प्रक्रिया अगाडि बढाउनु भनेकोले वर्तमान सरकारले सोही प्रक्रियालाई अगाडि बढाएको पनि प्रधानमन्त्री ओलीले बताए । धितोपत्र बोर्डको अध्यक्ष पद विगत ९ महिनादेखि रिक्त रहेको छ । सेबोन अध्यक्षको छनाेट प्रक्रियामा चलखेलको आशंका !

क्षतिको विवरण हरेक साता पेस गर्न प्राधिकरणको निर्देशन, आवद्ध नभएका सर्भेयरले पनि काम पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीबाट भएको धनसम्पत्तिको क्षतिको विवरण हरेक साता पेश गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै प्राधिकरणले क्षति भएको विवरण हरेक साता प्राधिकरणमा पेश गर्न निर्देशन दिएकाे हाे । यसरी विवरण प्राधिकरणमा पठाउनका लागि निश्चित ढाँचा तय गरिएको छ । प्राधिकरणले तय गरेको ढाँचाअनुसार विवरण पेश गर्नुपर्ने हुन्छ । हरेक साताको बुधबार कम्पनीहरूले प्राधिकरणमा विवरण पेश गर्नुपर्ने छ । यसका साथै कम्पनीहरूको सूचीमा आवद्ध नभएका सर्भेयरलाई समेत सर्भेमा खटाउन प्राधिकरणले निर्देशन दिएका छ । हालको बाढी-पहिरोबाट भएको क्षतिको दाबी भुक्तानीका लागि बीमकले पुनर्बीमा कम्पनीहरूलाई पनि पत्राचार गर्न प्राधिकरणले भनेको छ ।

सहकारी प्रकरण : कारागार चलान भए ढोरपाटनका मेयर देवकुमार

काठमाडौं । ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, बागलुङले आदेश दिएको हाे । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । इमेज बचत तथा ऋण सहकारी संस्थाकाे रकम अपचलन गरेकाे आराेपमा नेपाली शुक्रबार भारतकाे दिल्लीमा पक्राउ परेका थिए । उक्त सहकारीकाे उनी अध्यक्षसमेत हुन् । लामो समयदेखि फरार रहेका उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतबाट नेपाल ल्याई जिल्ला अदालतमा सोमबार बुझाएको थियो । नेपालीकाे बयान साेमबार नै सकिएकाे अदालतले जनाएकाे छ । मंगलबारकाे थुनछेक बहसपछि नेपालीलाई कारागार चलान गरिएकाे हाे । यस्तै, उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीविरुद्ध १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। अहिलेसम्म मेयर देवकुमार र उनकी पत्नी छेलाविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको जनाइएकाे छ । देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय, बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले मेयर देवकुमार र उनकी पत्नीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।

उद्धारमा केही कमजोरी भएकाे बताउँदै ओलीले भने- विपद राज्यको मात्रै नभई सिंगो समाजको विषय हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् । मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताए । पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरू गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्नेमा जाेड दिए । उनले भने, ‘यो बेलामा हामी नेपालीहरू एक हुनुपर्दछ । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । सरकारका केही कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनमा गम्भीरताका साथ लिनुपर्दछ । यो खाली राज्यको मात्रै विषय पनि होइन । यो सिंगो समाजको विषय हो । सिंगो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । लापरबाही गर्ने कुरा त कसरी भयो होला र?’ प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको हुनसक्ने स्वीकार गर्दै अब तीव्रताका साथ अघि बढ्ने पनि बताए ।