विकासन्युज

कुमारी बैंकको ‘दशैं दक्षिणा अफर’, ट्रान्सफर रकमको २५ प्रतिशतसम्म पाउने

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामनास्वरूप दशैं दक्षिणा अफर ल्याएको छ । बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङ रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ । त्यसैगरी, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदवापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्ने जनाइएकाे छ । बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । ‍विगत २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरू रहेका छन् ।

पुस्तक पढ्ने बानी बसाउन राष्ट्रिय पुस्तक नीति बनाइँदै, १५ वर्षसम्म काम गरेन कार्यदलले

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । सो क्रममा सोमबार सो मन्त्रालयले मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गर्यो । कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् । पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने भट्टराईले बताइन् । मन्त्री भट्टराईले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्‌नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने र यसका लागि समुदाय स्तरमा प्रशस्त मात्रामा पुस्तकालयको आवश्यकता बोध गराउनुपर्ने बनाइन् । पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले छिटो यसलाइ लागू गरिने बताइन् । उनले प्रकाशक, लेखक पुस्तक व्यवसायी सहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताइन् । अन्तरक्रियामा प्रतिनिधि सभा सदस्य मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभई होटल , रेस्टुरेन्टमा समेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमा समेत पहुँच बढाएर गुणस्तरिय पुस्तक सबैलाई उपलब्ध गराउने सहज बाताबरण बनाउन केन्द्रीत हुनुपर्ने बताए । अन्तरक्रियामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, विभिन्न प्रकाशनहरू, काठमाडौं उपत्यका सार्वजानिक पुस्तकालय सहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल , डिल्लीरमण रेग्मी पुस्तकालय ,नेपाल राष्ट्रिय पुस्तक तथा बिक्रेता सङ्‌घ, नेपाल सामुदायिक पुस्तकालय संघ, त्रिवि केन्द्रीय पुस्त‌कालय, नेपाल पुस्तकालय सङ्‌घ, मन्त्रालयका कर्मचारी लगायतको संलग्नता थियो । अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षा सहित सुधारका लागि विभिन्न सुभाव प्राप्त भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । वि स २०६४ देखि विभिन्न कार्यदल गठन हुदै मस्यौदा तयार पारिएको भए पनि हाल सम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन ।

सिटिजन लाइफको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकाे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु थियो । यस क्षमता वृद्धि कार्यक्रम जोखिमाङन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्ड लगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरुको बारेमा मुख्य गरी नयाँ शाखा प्रमुखहरूलाई अवगत गराउनका लागि सञ्चालन गरिदै आएको छ । उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा ३ दिन सम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरूलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए । कम्पनीको सम्पुर्ण व्यवस्थापन टिम, डिर्पाटमेन्ट हेड, टिम हेड सहितको समुपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।

कृषि विकास बैंकको सञ्चालक बने सहसचिव डा. केसी

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा सहसचिव डा. हरी बहादुर केसी नियुक्त भएका छन् । असोज ११ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले असोज २० गते बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ ग्रहण गरेको कम्पनीका सचिव हिमलाल पौडेलले जानकारी दिए । डा. केसी हाल कृषि तथा पशुपंक्षी मन्त्रालयको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाको प्रमुखको जिम्मेवारीमा छन् । उनी मन्त्रालयको प्रवक्ता समेत हुन् ।

बाढीपछि सम्पत्ति बीमाको दाबी उच्च, बागमतीबाट ९५ प्रतिशत दाबी पर्ने आंकलन

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले बीमा कम्पनीमा ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बढीको बीमा दाबी पर्ने आंकलन गरिएको छ । जसमध्ये सम्पत्ति बीमाको दाबी उच्च रहने आंकलन बीमा कम्पनीहरूले गरेका छन् । कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई बुझाएको प्रारम्भिक तथ्यांकअनुसार सम्पत्ति बीमाको दाबी उच्च मात्रामा हुने आंकलन  छ । सम्पत्तितर्फ ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । सम्पत्तिअन्तर्गत हालसम्म २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँको बीमा दाबी पेस भइसकेको छ । त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गतको बीमा दाबी ७१ करोड ८९ लाख रुपैयाँ बढीको पर्ने प्रारम्भिक अनुमान छ । यस पोर्टफोलियोअन्तर्गत २८ करोड ४९ लाख रुपैयाँको दाबी पेश भइसकेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा पोर्टफोलियो भनेको कुनै पनि निर्माणाधीन भवन, पुललगायत भौतिक संरचनाको बीमा हो । गत साता आएको बाढीले धेरै जलविद्युतमा क्षति पुगेको थियो । ऊर्जा मन्त्रालयका अनुसार जलविद्युतमा ५ अर्ब बढीको क्षति भएको थियो । इन्जिनियरिङ तथा ठेकेदार जोखिम र सम्पत्ति बीमा जलविद्युतको बीमामा पर्ने गर्दछन् । अर्थात जलविद्युत निर्माणाधीन अवस्थामा इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गत पर्छ भने निर्माण भइसकेपछिको बीमा सम्पत्तिअन्तर्गत पर्छ । सोही कारण पनि यस पोर्टफोलियोमा दाबी उच्च भएको अनुमान गर्न सकिन्छ । यसैगरी, मोटर बीमा निजीतर्फ २७ करोड ३० लाख र सार्वजनिकतर्फ १५ करोड ४५ लाख रुपैयाँ बढीको दाबी पेस हुने अनुमान गरिएको छ । कुन प्रदेशमा कति दाबी ? सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको छ । कुल दाबी रकमको ९५ प्रतिशत बागमतीबाट पर्ने कम्पनीहरूकाे अनुमान छ । बागमतीबाट कुल ६ अर्ब ९३ करोड ८१ हजार रुपैयाँ बढीको दाबी पर्ने अनुमान गरिएको छ । सबैभन्दा कम दाबी कर्णाली प्रदेशबाट पर्ने अनुमान गरिएको छ । कर्णालीबाट जम्मा १ लाख रुपैयाँको मात्र दाबी पर्ने अनुमान कम्पनीहरूले गरेका छन् ।

७५.७४ प्रतिशत लाभांश बाँड्ने सानिमाको घोषणा

काठमाडौं । हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य सञ्चित नाफाबाट सेयरधनीहरूका नाममा कायम सेयरबापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी चुक्ता पुँजीको करसहित ७५.७४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित तीन जना सञ्चालकको नियुक्ति तथा निर्वाचन गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण कम्पनीको सभाले गर्नेछ । यस्तै, आईपीओ निष्काशन गर्ने र आईपीओबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

श्रीलङ्काको पर्यटन आयमा वृद्धि

काठमाडौं । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ । श्रीलङ्काले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर रहेको थियो । यस दक्षिण एसियाली देशले गत सेप्टेम्बरको महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्याङ्कमा उल्लेख भएको छ । यसैबीच, श्रीलङ्कामा गत सेप्टेम्बरमा एक लाख २२ हजार १४० जना पर्यटक भ्रमण गरेका थिए । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढी हो । श्रीलङ्कामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।