सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
कमलामाई (सिन्धुली) । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा साेमबार दुर्घटना भएको छ । आज अपरान्ह ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । अन्य विवरण आउन बाँकी नै रहेकाे उनले बताए ।
नीति बनाउँदा दीर्घकालीन फाइदा दिने हिसाबले बनाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तरपछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरू बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए । उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुनेमा जाेड दिए । उनले अनुगमनको हिसाबले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गरे । अध्यक्ष ढकालले भने, ‘हामीले नयाँ पोलिसीहरू बनाउने क्रममा कतिपय चिजमा नियम, कानुन परिवर्तन गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरू लहडमा भएका छन् । राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसाबले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिज अनुगमनको हिसावले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’ उनले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए । स्थिर नीति हुँदा व्यवसायहरू पनि फस्टाउने उनकाे भनाइ छ ।
मंगलदीप गुलाफ चन्दन अगरबत्ती नेपाली बजारमा
काठमाडौं । ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक भएको छ । सूर्य नेपाल भेन्चर्सले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार आकर्षक प्याकेजीङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याक को बिक्री मूल्य ५० रुपैँया कायम गरेको छ । यस अगरबत्तीमा हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पुजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।
तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टर निर्माण थाल्ने
काठमाडौं । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र सुविधासम्पन्न उपकरणसहितको भवन निर्माण थाल्न सम्झौता गर्ने प्रतिबद्धता जनाएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो । त्यसक्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाए । यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सघाउने प्रतिबद्धता जनाएका छन् । अब केही समयमा यसबारे दिव्पक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ,’ भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’ विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएकाे छ । आईपीओ निष्कासनसम्बन्धि कार्यका लागि गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ कराेड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
लुम्बिनी विकासले बेष्ट बैंक नेपालसहित ५ उपाधि जित्यो
काठमाडौं । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले ५ विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ । अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।
अनलाइन कारोबारलाई सुरक्षित बनाउन महालक्ष्मी बैंकले ल्यायो ‘भिसा ३ डी सेक्युअर्ड कार्ड’
काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा थप गरेकाे छ । डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई सुरक्षित बनाउन भिसा ३ डी सुविधा थप गरेकाे हाे । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्ने महालक्ष्मी पहिलाे विकास बैंक बनेकाे छ । भिसा ३ डी ले अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने र ग्राहकहरूको कार्डको विवरण अनाधिकृत रूपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएकाे छ । साथै प्रत्येक कारोबारसमेत प्रमाणीकरण हुने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्न इमेल वा मेसेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । ३ डी सुविधाका फाइदाहरू यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरू अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्ने ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सकिने रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने विश्वभर रहेका हजारौं इकमर्श वेभसाइटहरुले भिसा ३ डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरूले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्ने। यससम्बन्धी थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ ।
दशैंमा पनि वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । ‘यसपटक मनसुन बाहिरिने समय र दशैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’