नेपाल बैंकका ग्राहकले समाज डेण्टल अस्पतालमा छुट पाउने
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा छुट दिने उद्देश्यले उक्त छुट सम्झौता भएको हो । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई १० प्रतिशतले छुट हुने भएको छ ।
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
काठमाडौं । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख रुपैयाँ तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाख रुपैयाँको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख रुपैयाँ, बारामा आठ करोड ५० लाख रुपैयाँ, सिरहामा सात करोड ९० लाख रुपैयाँ, महोत्तरीमा सात करोड ५० लाख रुपैयाँ र पर्सामा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड रुपैयाँ निकासा गरेको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै
काठमाडौं । काठमाडौं उपत्यकाबाट बडादशैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, ‘आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।’ दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दशैंमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
सानिमा बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, सूची सार्वजनिक
काठमाडौं । सानिमा बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो । बैंकका अनुसार असोज २४ गते २९ वटा शाखा, असोज २५ गतेका दिन नक्साल शाखा, असोज २७ गतेका दिन २५ वटा शाखा र असोज २८ गतेका दिन ३० वटा शाखाबाट सेवा दिने बै.कले जनाएको छ । यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । असोज २६ गते दशैँका दिन भने सबै शाखा कार्यालय बन्द रहने बैंकले जनाएको छ ।
बेष्ट फाइनान्स मर्जरमा जाने, सेयरधनीलाई बोलायो कात्तिक १४ गते
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न बेष्ट फाइनान्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको हो । कम्पनीको २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बिहान ११ बजे नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्ने लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन आर्थिक २०८०/८१ को वाह्य लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने, संचालक समितिबाट रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि गरिएको २ जना संचालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।
सिटिजन्स र यूनिलिभरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स बैंक र यूनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज २३ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिटिजन्सले असोज २९ गते र युनिलिभरले असोज २८ गते बुकक्लोज गर्दैछन् । भोली (असोज २४ गतेदेखि) असोज २८ गतेसम्म दशैँ बिदा भएका कारण सेयर कारोबार नहुने भएकाले यी दुई कम्पनीको सेयर आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ । यस्तै युनिलिभर नेपालले १ हजार ७१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले काठमाडौंमा ३१ औँ वार्षिक साधारण सभा कात्तिक १२ गते दिउँसो साढे ४ बजे बोलाएको छ ।
घट्यो विदेशी मुद्राको भाउ, यूरो १४७.२१ रुपैयाँमा झर्याे
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.२१ रुपैयाँ र बिक्रीदर १४७.८७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.२७ रुपैयाँ र बिक्रीदर १५७.२७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.२८ रुपैयाँ र बिक्रीदर ९०.६८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.२७ रुपैयाँ र बिक्रीदर ९८.७१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८९ रुपैयाँ र बिक्रीदर १०३.३५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०६ रुपैयाँ र बिक्रीदर ९.१० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२७ रुपैयाँ र बिक्रीदर ३१.४१ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर १०.०० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९७ रुपैयाँ र बिक्रीदर १३.०३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२४ रुपैयाँ र बिक्रीदर १७.३२ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३६ रुपैयाँ र बिक्रीदर ४३९.३१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५५ रुपैयाँ र बिक्रीदर ३५७.१४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरको माइकिङ
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच मंगलबार गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । काठमाडौं जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो । फैसलापछि कोष सञ्चालक परिषद् बैठकले गौशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले दिने निर्णय असोज २० गते आइतबार गरेको हो । परिषद्को निर्णयबमोजिम आज सहमति भएपछि महानगरपालिकाले मंगलबार पशुपति क्षेत्रमा अनधिकृत संरचना बुधबार हटाउन माइकिङ गरेको छ । गौशाला धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । गौशाला धर्मशालाका सबै सेवा निःशुल्क दिइने व्यवस्थापन समितिको संयोजकसमेत रहनुभएका वडाअध्यक्ष सङ्गतले सुनाए । निःशुल्क सेवा दिएबापत खर्च सबै महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख गरिएको जनाइएको छ । दाताले दिन चाहेमा भने दान दिन सक्नेछन् । दाताले दिएको दानलाई पनि व्यवस्थापन समितिले पारदर्शी रुपमा राख्नेछ । गौशाला व्यवस्थापन समितिले सहयोग भने नखोज्ने जनाइएको छ । व्यवस्थापन समितिमा कोषका तर्फबाट पनि सदस्य राखिनेछ । भगवान् पशुपतिनाथको सम्पत्तिका रुपमा रहेको पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको हो । २१ वर्षसम्म मारवाडी सेवा समितिले गौशाला धर्मशाला कब्जामा लिएको थियो । काठमाडौं जिल्ला अदालतले २०६० मा पशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको हो । कोष मातहत आएलगत्तै यसको सञ्चालन महानगरपालिकाले गर्नेगरी मंगलबार कोषका कार्यकारी निर्देशक सुभासचन्द्र झा र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेपछि नै महानगरपालिका यसको कार्यान्वयनमा सक्रिय रुपमा जुटेको छ । व्यवस्थापन समितिले जनगुनासो नआउने गरी यसको सञ्चालन गर्ने महानगरपालिकाको भनाइ छ ।