कलाकार पौडेलले बनाए ‘आवरण यूनिकोड’
काठमाडौं । लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गरेका छन् । पौडेलले आफूले यसअघि प्रचलनमा ल्याएका फन्टलाई समेटेर नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने गरी फन्ट विकास गरेको जानकारी दिए । यसरी विकास गरेका फन्टलाई ‘आवरण यूनिकोड’ को नाम दिएको उनको भनाइ छ । ‘मैले डिजाइन गरेका फन्ट नेपाल प्रज्ञा–प्रतिष्ठान र रेडियो नेपालले प्रचलनमा ल्याइसकेका छन् । हालसम्म दर्जनौँ फन्ट बनाइसकेको छु । यिनै फन्टको प्रयोग गरेर सात सयभन्दा बढी साहित्यिक कृतिको आवरणसमेत डिजाइन गरिसकेँ,’ उनले भने, ‘लिपि पारखीहरूले मेरा फन्टलाई रुचाएर त्यही फन्टमा कृति प्रकाशन गर्ने माग बढ्दै गएकाले सिपलाई प्रविधिसँग जोड्ने सोचका साथ नेपाली यूनिकोड बनाएको हुँ ।’ पौडेलले यो कार्य निकै चुनौतीपूर्ण रहेको सुनाए । उनले अगाडि भने, ‘नेपाली फन्ट डेढ दुई सय क्यारेक्टर बनाउँदा हुन्थ्यो भने यूनिकोडहजारौँ क्यारेक्टरको हाराहारीमा । फन्ट बनाउनेहरू हत्तपत्त यूनिकोड बनाउने आँट गर्दैनन् तर मैले जोखिम मोलेरै आफ्नै हस्तलिपिको नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने आवरण यूनिकोडफन्ट बनाएको छु ।’ पौडेलले मौलिक हस्तलिपि फन्टलाई थप प्रविधिमैत्री बनाउँदै विश्वव्यापी बनाउने सोचमा रहेको बताए । यसका साथै नेपालका अन्य भाषाका लागि पनि खोज र डिजाइन कार्य भइरहेको उनले जानकारी दिए । ‘सानैदेखि किताबकाभन्दा राम्रा अक्षर लेख्न सकिन्छ भन्ने विश्वास बोकको थिए । प्रकाशनमा कतिपय क्यरेक्टर अभाव हुने भएकाले तिनलाई ध्यानमा राखेर आवरण फन्टको सिरिज नै बनाए । फलतः यो प्रयासलाई संस्थागत रूप दिएर ‘आवरण प्रकाशन’को स्थापना गरेको छु । प्रकाशनले मौलिक कपिराइट फन्टमा दर्जनौँ कृतिसमेत प्रकाशित गरिसकेको छ,’ उनले भने । करिव ४ दशकेखि सिर्जना साधनामा लागेका पौडेल, कलाकार, कवि, गीतकार र रेडियो प्रसारकसमेत हुन् । उनले केही वर्षअघि रेडियो नेपालबाट अवकाश लिएका थिए ।
काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन
काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ । सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ‘आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतपावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ।’ उनले भने । एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ । यस्तै, अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिए ।
…जब टीकाको अघिल्लो दिन छोराको शव आयो
काठमाडौं । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । ८ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए । नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला १ अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।’ छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए । ‘आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्,’ उनले भने ।
सन नेपालको दशैँ फोटो प्रतियोगिताः टिकाको फोटो पोष्ट गरी १० हजार रुपैयाँ जित्ने मौका
काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ’हाम्रो परिवार हाम्रो दशैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी माझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । यस प्रतियोगितामा भाग लिनको लागि सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फलो गरि आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टिकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरि क्याप्सनमा दशैँको मिठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नु पर्नेछ । फोटो पोष्ट गर्दा ह्याश ट्याग हाम्रो दशैँको टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेहरू मध्ये एक भावशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले जनाएको छ । दशैँको टिकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अधिकांश देशको मुद्राको भाउ बढ्यो
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत भदौमा डलरको मूल्य १३४.६८ रुपैयाँमा कारोबार भएको थियो । युरोपियन यूरोको एकको खरिदर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.४७ रुपैयाँ र बिक्रीदर १५७.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.३० रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४२ रुपैयाँ र बिक्रीदर ९७.८५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.७२ रुपैयाँ र बिक्रीदर १०३.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९३ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९१ रुपैयाँ र बिक्रीदर १२.९७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६६ रुपैयाँ र बिक्रीदर १९.७४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७० रुपैयाँ र बिक्रीदर ४३९.६६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९६ रुपैयाँ र बिक्रीदर ३५७.५५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
दशैंमा यसरी गरौं खानपान
ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठी । काठमाडौं । दशैंलाई खानपानको चाड पनि भनिन्छ । यो बेला नहुनेहरूले पनि ऋण काढेर अघिपछिको भन्दा मीठोमसिनो खाने गर्छन् । दशैंको बेलामा प्राय: सबैको घरमा अघिपछि खानेभन्दा अलि फरक पकवान पाक्छ । अझ चिल्लो गुलियो भएको खानेकुरा धेरै पाक्ने गर्छ । यो बेला मासु, मिठाइँलगायत धेरै खाने गरिन्छ । त्यसैले विचार पुर्याएर मात्र चाडपर्व मनाउनुपर्छ । पहिलो कुरा चाडबाडको समयमा मासु कम चिल्लो गरेर पकाउनुपर्छ । दोस्रो गुलियो चिनीबाट बनेको कुरा खाँदा ध्यान दिनुपर्छ । गुलियो खानेकुरालाई अहिले विभिन्न अध्ययनले अत्यधिक हानिकार भनेको छ । चिनीको कम प्रयोग गर्ने बानी बसालौं । यही बेला रमाइलो गर्न अत्यधिक मात्रामा धुम्रपान, मद्यपान गर्ने चलन पनि बढ्दै गएको छ । आजभोलि नेपालमा रिफाइन्ड खानेकुरा खाने चलन बढ्दो छ । पहिले घट्ट मिलमा पिनेको पिठो खाइन्थ्यो भने अहिले मैदाको चलन आएको छ । पहिलो शख्खर, गुड खाने चलन थियो भने अहिले चिनीको चलन । रिफाइन्ड खानेकुरा हानिकारक छ । अर्को कुरा- मासु खाने चलन पहिलेको भन्दा अहिले बढेको छ । पहिले मासु खान दशैं कुर्नुपर्थ्यो, अहिले त्यस्तो छैन । कतियले दिउँसोको खाजामा पनि मासु खाने गर्छन् । मासुमा बढी मात्रामा तेल, मरमसला हाल्ने, मासु खाँदा पनि अत्यधिक मात्रामा खाने चलन अहिले बढेको छ । मासु ठीक्क मात्रामा कसरी खाने? मासु खाँदा आफ्नो शरीरलाई अप्ठ्यारो नपर्ने गरी ठीक्क मात्रामा मिलाएर खानुपर्छ । सामान्य मान्छेले ०.५२१ मिलीग्राम परकेजी बोडीको हिसाबले प्रोटिन खाँदा राम्रो भनिन्छ । तर, यो हामीले भनेर हुँदैन । व्यक्ति आफैले आफ्नो शरीरलाई हेरी त्यसमा चिल्लो कम गरेर, स्वास्थ्यवर्धक तरिकाले पकाएर खान सकिन्छ । मासु भनेको मानव शरीरको लागि एउटा प्रोटिनको राम्रो स्रोत हो । त्यसबाहेक अन्य भिटामिन पनि पाइन्छ । मासु खाँदा विचार पुर्याउनुपर्ने कुरा भनेको बोसो धेरै भएको खान हुँदैन । अर्को सकेसम्म छाला नखाएकै बेस । किनकि छालामुनि बोसोको लेयर हुन्छ । अर्को आजभोलि पशुपालन गर्दा पनि पशुहरूलाई चाँडो बढाउन एन्टिबायोटिकदेखि लिएर हर्मोनको औषधि प्रयोग गर्ने गरेको सुनिन्छ । यसले स्वास्थ्यमा झन् समस्या बढाउँछ । यो बेला घरमै खसी काट्दा एकैचोटि धेरै मासु हुन्छ । जसलाई धेरै दिनसम्म खाने गरिन्छ । मासु कति दिनसम्म राख्न सकिन्छ त? मासु डीपफ्रीजमा राखेको कुरा खासै फरक पर्दैन । विदेशबाट पनि डीपफ्रीज भएर मासु आइरहेको हुन्छ । मासु कति दिनसम्म खान मिल्छ भन्ने कुरा वातावरणले पनि फरक पार्छ । अलिकति गर्मी ठाउँ छ भने बाहिर राख्दा मासु चाँडै बिग्रिन्छ । जाडो ठाउँमा अलि लामो समयसम्म पनि खान मिल्ला । सबैकुरा हेरेर भन्न सकिन्छ । अर्को कुरा सुकुटी बनाएर पनि मासु राख्न सकिन्छ । राताे मासुको जोखिम रातो मासु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सेतो मासुमा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । रातो मासुमा बोसो, आइरन र प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ । सेतो मासुका स्रोत कुखुरा, हाँस, टर्की र माछा हुन् । हानिकारक पेयपदार्थ दशैंकाे बेला नेपालीहरूले धेरै अल्कोहल खाने गरेको पनि पाइन्छ । तर यसो गर्नु स्वास्थ्यका हिसाबले खतरा हो । धेरैमात्रामा खाँदा पेट गडबड हुने, अपच हुने, वाकवाक लाग्ने समस्या देखा पर्न सक्छ । कसैलाई कोलेस्ट्रोल, सुगर, प्रेसर हुन सक्छ । दीर्घरोगीहरूले झन् बढी सतर्कता अपनाउनुपर्छ । अल्कोहल नखानेहरूले पनि कोकाकाेला, माउन्टेन ड्यू लगायतका काेल्डड्रिङ्स खाने गरेको पाइन्छ । यसले पनि शरीरलाई राम्रो गर्दैन । मासुको सट्टा फलफुल र सलाद धेरै मासुको सट्टा हरियो साग, फलफुल र सलादको प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रसिलो खानेकुरा खान मन लाग्दा फलफुलको जुस बनाएर खान सकिन्छ । सहजै पाइने दूध, दही र मोही खान सकिन्छ । अर्को कुरा मिठाइँ पनि धेरै मात्रामा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश मिठाइँमा धेरै चिनी हुन्छ, जसले रगतमा चिनीको स्तर बढाउँछ । यसले मधुमेह (डायबीटीज), मोटोपन र मुटुरोगको खतरा हुन्छ । धेरै मिठाइँहरूमा कृत्रिम रंग र स्वाद दिने पदार्थहरू हुन्छन्, जसले शरीरमा एलर्जी, पाचन समस्या र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । शारीरिक कसरत जरुरी मान्छेले जति मात्रामा खानेकुरा लिन्छ त्यहीअनुसार शरीरले पचाउनु पनि पर्छ । खानेकुरालाई पचाउन व्यायामले महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायाम गर्दा शरीरको रक्त सञ्चार बढ्छ, जसले पाचन प्रणालीमा पर्याप्त अक्सिजन र पोषण पुर्याउँछ । यसले पाचन प्रक्रियालाई द्रुत र प्रभावकारी बनाउँछ । व्यायामले शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ, जसले रगतमा चिनीको स्तर सन्तुलित राख्छ । यसले बोसोको पाचन र चिनीको प्रशोधनमा मद्दत गर्छ भने खानेकुराबाट प्राप्त क्यालोरीलाई ऊर्जा उत्पादनमा परिवर्तन गर्न मद्दत गर्छ । जसले मोटोपन नियन्त्रणमा राख्न मद्दत पुर्याउँछ । दशैंको समयमा प्राय: सबैजना गाउँ फर्कने गर्छन् । गाउँमा गएर बारीमा पसेर अलिकति काम गर्दा पनि व्यायाम गरेजत्तिकै फाइदा हुन्छ । गाउँ जाँदा केमा ध्यान दिने? कुनै पनि औषधी चिकित्सकको सल्लाह बिना खान हुँदैन । कसैलाई लामो समयसम्म हुने दीर्घरोग (प्रेसर, सुँगर, थाइराइड) छ भने गाउँ फर्किँदा आफ्नो औषधि लिएर जानुपर्छ । त्योबाहेक पेनकिलर, सिटामोलदेखि लिएर ग्यास्ट्रिकको औषधि, जीवनजलजस्ता औषधिहरू पनि बोकिराख्नुपर्छ । औषधि खाएर पनि निकाे भएन भने नजिकैको स्वास्थ्य केन्द्रमा जानुपर्छ । ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीमा आधारित
दसैँमा बाध्यताले मुलुक छाड्नेहरू भन्छन्- अरु घर आउँछन्, हामी छाड्नु परेको छ
देशभित्र बडादसैँको रौनक चलिरहँदा रोजगारी, अध्ययनलगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनीहरुलाई विदाइ गर्नेहरुको घुइँचो । काठमाडौं । ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो,’ सर्लाहीका अजय मेहताले भने । दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए । मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । ‘दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो,’ उनले भने । वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो । तर, दुई महिनाको लामो छुट्टीमा पनि दसैँ एक दिनले अट्न सकेन । ‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दसैँको महत्व थाहा नभएर पनि हुनसक्छ,’ उनले भने । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा शुक्रबार विदेश जान आएका यात्रु । दसैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए । विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन् । महान पर्व दसैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ । ‘अरु दसैँमा घर आउँछन्, हामी दसैँमा छाड्नु परेको छ । यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु,’ उनले भने । उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए । वैदेशिक रोजगारीका लागि दसैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन । प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन् । बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए । आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए । रम्तेलले भने, ‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दसैँका लागि कुर्न सकिएन ।’ त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिए । केही समयअघि बिदा लिएर घर आएका चौबेले दसैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै थिए । अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन् । नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दसैँको अघिल्लो दिन नै परेछ । नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन् । देशभित्र बडादसैँको रौनक चलिरहँदा रोजगारी, अध्ययनलगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनीहरुलाई विदाइ गर्नेहरुको घुइँचो । ‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन । अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु,’ उनले भनिन् । जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौं तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दसैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे । ‘परिवारका सबै सदस्य सँगै बसेर दसैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन,’ उनले भने । महानवमीको दिन गाउँ तथा सहरमा दसैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे । उनीहरुलाई बिदाइ गर्र्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो ।
राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । राष्ट्रपतिले दाइका हातबाट टीका लाउने राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नेछन् ।सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।