विकासन्युज

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए । ‘नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ,’ उनले भने । केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए । ‘अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ,’ उनले भने ।

यस वर्षको विजयादशमीमा घटेन राजधानीको चहलपहल

काठमाडौं । विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो । घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो । राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ । राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए । विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए । बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन् । समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको बताउँछन् । राजधानी, ठूला शहर र सदरमुकाम केन्द्रित बसोवास गर्नेको सङ्ख्या बढिरहेको उनले सुनाए । यसैले गर्दा पनि यस वर्षको विजयाशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो ।

सरकारले दियो कैदीबन्दीलाई २८ सय रुपैयाँ दशैँ खर्च

काठमाडौं । बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । ‘२३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन्,’ उनले भने । विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे । कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए । सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदीबन्दी ३ सय रुपैयाँ र लत्ताकपडा बापत २ हजार ५ सय रुपैयाँ गरी कुल २ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको थियो । केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा ३३० कैदीबन्दी छन् । उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

दसैँमा पनि रोकिएन हवाईजहाज, ६३ हजारले गरे यात्रा

काठमाडौं । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर ३०१ उडानमार्फत १७ हजार ३२९ जना र असोज २५ गते २७८ उडानबाट १४ हजार ४३६ जना गरी कुल ३१ हजार ७६५ जनाले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् । यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी १०७ उडानमार्फत १६ हजार ५०९ जना र असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ जना गरी कुल ३१ हजार ४७७ जनाले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो । यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी गराउनुभयो । यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ । एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ । आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रही आएको छ ।

आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने, सोमबार कस्तो छ मौसम ?

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

नेपालबाट बाहिरियो पूर्णरूपमा मनसुन

काठमाडौं । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो । आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो । आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राष्ट्रपति पौडेलले लगाइदिए प्रधानमन्त्री ओलीलाई टीका र जमरा

काठमाडौं । विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा प्रदान गरेका हुन्। टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगादिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।