आजपनि टीका र जमरा लगाइदै, कहिले सकिन्छ दशैँ ?
काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेको देखिन्छ । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भएपनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसै समापन हुन्छ ।
सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज गर्दैछ । दशैँ बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपश्चात् बैंकको सेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । असोज २३ गते बैंकको सेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ ।
डिजिटल ठगीका नयाँ स्वरूप बढे, यस्तो छ राष्ट्र बैंकको सन्देश
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङको विकाससँगै ठगीका नयाँ स्वरूप पनि बढिरहेको जनाएको छ । वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै ठगीका नयाँ स्वरूपहरू बढिरहेकाले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । ‘पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरूपहरू समेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक छ,’ राष्ट्र बैंकले भन्यो । के तपाईंलाई अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्स एप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी, फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू प्राप्त भएको छ ? यदि आएको छ भने सजग रहन राष्ट्र बैंकले आग्रह गरेको छ । किनभने यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका सन्देशहरू हुने गरेको राष्ट्र बैंकको भनाइ छ । यस्ता सन्देशहरूमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव दिँदै व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानी नोक्सानी पुग्न सक्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैले अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुने राष्ट्र बैंकको भनाइ छ । ‘कहिलेकाहीँ परिचित व्यक्तिको मेसेन्जर, ह्वाट्स एपबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्यूआर कोड समेत प्राप्त हुनसक्छ, त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ,’ राष्ट्र बैंकको वित्तीय चेतनामा उल्लेख छ ।
आज सेयरधनी बने रु रु जलविद्युतको १५ प्रतिशत लाभांश पाइने
काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज असोज २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली असोज ३० गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक ११ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख रुपैयाँ हुनेछ । कम्पनीको सभाले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
२ दिनदेखि अमेरिकी डलर रकेर्ड बिन्दुमै स्थिर, यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौं । २ दिनदेखि अमेरिकी डलरको मूल्य रकेर्ड बिन्दुमै स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । युरोपियन यूरोको एकको खरिदर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.६५ रुपैयाँ र बिक्रीदर १५६.३४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.१२ रुपैयाँ र बिक्रीदर ९०.५२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२८ रुपैयाँ र बिक्रीदर ९७.७१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.६३ रुपैयाँ र बिक्रीदर १०३.०९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२५ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८७ रुपैयाँ र बिक्रीदर ९.९१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८७ रुपैयाँ र बिक्रीदर १२.९३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३६ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.४९ रुपैयाँ र बिक्रीदर ४३९.४५ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९७ रुपैयाँ र बिक्रीदर ३५७.५६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
‘पोस्ट’ मनसुनले बढायो चिसो, ५ डिग्री तापक्रम घट्यो
काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ,’ मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’ महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४.७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौंसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
एभरेष्ट बैंकका कर्मचारीको तलब १३.१७ प्रतिशत बढ्यो
काठमाडौं । एभरेष्ट बैंकका कर्मचारीको तलब भत्ता १३.१७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा बैंकका कर्मचारीको तलबभत्ता १३.१७ प्रतिशत अर्थात् २८ करोड ५ लाख रुपैयाँ बढेर २ अर्ब ४१ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कर्मचारीलाई तलब भत्ता भुक्तानी गरेको थियो । बैंकका अनुसार कर्मचारीलाई तलवबापत ७९ करोड २२ लाख रुपैयाँ, भत्ताबापत ५० करोड २१ लाख रुपैयाँ, उपदानबापत ९ करोड ४४ लाख रुपैयाँ, संचय कोषबापत ७ करोड २३ लाख रुपैयाँ, पोशाकबापत ९३ हजार रुपैयाँ भुक्तानी गरिएको हो । अघिल्लो वर्ष बैंकले तलवबापत ७४ करोड ४६ लाख रुपैयाँ, भत्ताबापत ४२ करोड १९ लाख रुपैयाँ, उपदानबापत ९ करोड ४९ लाख रुपैयाँ, संचय कोषबापत ६ करोड ८६ लाख रुपैयाँ, पोशाकबापत २४ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेको थियो । यस्तै तालिम तथा विकासमा ३ करोड ४३ लाख रुपैयाँ, संचित विदाबापत १२ करोड ६ लाख रुपैयाँ, औषधी उपचारबापत ७८ लाख ९५ हजार रुपैयाँ, बीमाबापत २ करोड १७ लाख रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ । अघिल्लो वर्ष तालिम तथा विकासमा २ करोड ९ लाख रुपैयाँ, संचित विदाबापत ९ करोड २३ लाख रुपैयाँ, औषधी उपचारबापत ७६ लाख ७० हजार रुपैयाँ, बीमाबापत १ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो । बैंकका अनुसार गत वर्ष एनएफआरएस अन्तर्गत वित्तीय खर्च ९ करोड ६४ लाख रुपैयाँ, कर्मचारी सम्बन्धी अन्य खर्च ३ करोड ९३ लाख रुपैयाँ र कर्मचारी बोनसबापत ६२ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरिएको छ । साथै बैंकमा कर्मचारीको संख्या समेत बढेको छ । अघिल्लो वर्ष १ हजार ९७ जना कर्मचारी कार्यरत रहेकोमा गत वर्ष १ हजार १५६ जना पुगेका हुन् । कमिशन आम्दानी डेढ अर्ब रुपैयाँ बैंकले गत वर्ष डेढ अर्ब रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ शुल्क तथा कमिशन आम्दानी गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो आम्दानी २१.५८ प्रतिशत बढाएको हो । शुल्क र कमिशन आयमा व्यवस्थापन शुल्क, सेवा शुल्क, सिन्डिकेशन शुल्क, विदेशी मुद्रा लेनदेनबाट कमिशन लगायत आम्दानी समावेश गरिएको हुन्छ । बैंकका अनुसार गत असारसम्म कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्कबापत ८ करोड ८३ लाख रुपैयाँ, सेवा शुल्कबापत ३७ करोड ८७ लाख रुपैयाँ, प्रतिवद्धता शुल्कबापत ३६ लाख ७९ हजार रुपैयाँ, डिडि/टिटि/स्वीफ्ट शुल्कबापत ३ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्कबापत ८ करोड ३४ लाख रुपैयाँ, सेवा शुल्कबापत २८ करोड ८४ लाख रुपैयाँ, प्रतिवद्धता शुल्कबापत २९ लाख ५५ हजार रुपैयाँ, डिडि/टिटि/स्वीफ्ट शुल्कबापत ३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्कबापत २१ करोड ५१ लाख रुपैयाँ, पूर्वभुक्तानी तथा स्वाप शुल्कबापत २ करोड ९० लाख रुपैयाँ, विप्रेषण शुल्कबापत ९ करोड ८३ लाख रुपैयाँ, प्रतितपत्रबाट कमिशनबापत १८ करोड २३ लाख रुपैयाँ, जमानतपत्र जारीबाट कमिशनबापत १५ करोड ६३ लाख रुपैयाँ, लकर भाँडाबापत २ करोड १४ लाख रुपैयाँ र अन्य शुल्क तथा कमिशन आम्दानीबापत ४२ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ । अघिल्लो वर्ष क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्कबापत २० करोड ३९ लाख रुपैयाँ, पूर्वभुक्तानी तथा स्वाप शुल्कबापत ९७ लाख ५३ हजार रुपैयाँ, विप्रेषण शुल्कबापत ९ करोड ४१ लाख रुपैयाँ, प्रतितपत्रबाट कमिशनबापत १४ करोड रुपैयाँ, जमानतपत्र जारीबाट कमिशनबापत १४ करोड २० लाख रुपैयाँ, लकर भाँडाबापत १ करोड ८८ लाख रुपैयाँ र अन्य शुल्क तथा कमिशन आम्दानीबापत ३३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो । साथै बैंकले गत वर्ष एटीएम व्यवस्थापन शुल्क, कार्ड सम्बन्धित शुल्क, रेमिटेन्स शुल्क र आयोग/टीटी/स्विफ्ट शुल्कबापत २९ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष सोही सूचकमा बैंकले २७ करोड १९ लाख रुपैयाँ खर्च गरेको थियो । जसमध्ये एटीएम व्यवस्थापनमा ५ करोड ६२ लाख रुपैयाँ, भिसा/मास्टर कार्डमा ७ करोड १८ लाख रुपैयाँ, डिडि/टीटी/स्विफ्टमा १ करोड १४ लाख रुपैयाँ, विप्रेषणमा ४ करोड ९१ लाख रुपैयाँ र अन्यमा १० करोड ६४ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष १ करोड ६,५ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष बैंकले १ करोड ५८ लाख २५ हजार रुपैयाँ सो शिर्षकमा खर्च गरेको थियो । गत वर्ष सामाजिक उत्तरदायित्व कोषमा ३ करोड ७० लाख ३२ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करोड ३६ लाख २१ हजार रुपैयाँ कोषमा जम्मा गरेको थियो ।
दसैं बजारमा तीन करोडको कारोबार
महेन्द्रनगर । दसैंका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष तीन करोड रुपैयाँको कारोबार भएको छ । गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । संघका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आएका शुलभ किचेन सेन्टरका सञ्चालक गंगाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे । करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने, ‘यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।’ उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे । दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ । घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताइन् । जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।