केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न
काठमाडौं । केटिएम नेपालले हालसालै ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यही कार्तिक ०९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’ मा सहभागी हुने अवसर प्रदान गरेकाे थियाे । कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो । दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो । ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो ।
सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरीत शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थित स्थानान्तरित शाखाको सोमबार समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । यस शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडर द्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सु सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल साथै कम्पनीका केहि विभाग प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरु, लगायत सिटिजनका केही लिडरहरु र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर द्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा उनीहरुलाई गर्व रहेको भावना व्यक्त गरे । यस संस्थाले सधै आफुहरुलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।
ज्योति विकास बैंकका ग्राहकलाई स्काई वाकमा २० प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई ‘स्काईवाक नेपाल’ मा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काईवाक नेपाल’ मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काईवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काईवाक नेपाल का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन् । छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल स्काईवाक टावर काठमाडौंको दृष्यावलोकनको लागि उचित रहेको बैंकले जनाएको छ । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
हिमालयन क्यापिटलको लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन क्यापिटलको गानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएको छ । पुँजी बजारको दिगो विकासमा सदैव प्रतिबद्ध रहेको हिमालयन क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा कात्तिक ९ गते शुक्रबारका दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । आफ्नो स्थापनाकालदेखि नै पुँजी बजारको विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ । क्यापिटलका प्रमुख संचालन अधिकृत राम प्रसाद भट्टराईले कार्यक्रममा सहभागीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पुँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति र सामूहिक लगानी कोष सम्बन्धि जानकारी गराएका थिए । साथै पुँजी बजारको निरन्तर विकासका लागि भावी पुस्तालाई पुँजी बजार र यसको प्रकृतिको बारेमा उनले जानकारी गराए । कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकाका स्थानीयहरू लाभान्वित हुने विश्वास रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यसप्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता विषयमा जानकारी प्राप्त गरेको बताएका छन् । साथै सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको बुझाइ छ । हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेशन अप सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।
माछापुच्छ्रे क्यापिटलले नवलपरासीको विद्यालयलाई गर्यो सहयोग
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नवलपरासीको विद्यालयलाई सहयोग गरेको छ । क्यापिटलले कार्तिक ९ गते शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्राम ५, परासी, नवलपरासी स्थित ‘श्री आदर्श माध्यमिक विद्यालय’ लाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरू प्रदान गरेको छ । उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरू तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक तथा विद्यार्थी वर्गहरू तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरू उपस्थित थिए । धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीको रुपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ ।
उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
काठमाडौं । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो । छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिएका थिए । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्न नसक्ने अवस्थाबाट उद्योग चलिरहेको तर्फ सबैले चिन्ता लिएर उद्योगलाई बचाउन जरुरी रहेको बताए । निमित्त महाप्रबन्धक साहका अनुसार २०८१ साउन ६ गतेसम्मको तिर्नु पर्ने बाँकी दायित्वमा कर्मचारीहरुको तलव र नागरिक लगानी कोषको १२ करोड ७१ लाख, अवकास प्राप्त कर्मचारीहरुको ३२ करोड ४७ लाख, कर दायित्व १६ लाख, बैंक ऋण २ करोड, विद्युत प्राधिकरण डेडिकेटेड लाइन ३३ करोड ६४ लाख र कोइला तथा अन्य सामान सप्लायर्स दायित्व ६१ करोड ३१ लख रहेको छ । उद्योगका केमिष्ट तथा वरिष्ठ अधिकृत (सहायक नायव महाप्रबन्धक) कोविद काफ्लेका अनुसार अन्य दायित्वका कुरा छाडेर तत्काल उद्योग संचालनकालागि ५५ करोड रुपैया आवश्यक भएको र सरकारले यो उद्योग संचालन गर्न निजीकरणको बाटोमा नगई लिजमा दिएर संचालनको बाटो रोज्नु उपयुक्त हुने छलफलमा जानकारी गराएका थिए । छलफलमा बसेको एमालेको तर्फबाट एमालेकी पोलिटव्युरो सदस्य तथा संविधानसभा सदस्य मञ्जु कुमारी चौधरीले उद्योग उदयपुरको गौरव र गहनाको रुपमा रहेकोले यसलाई निजिकरण हुनबाट बचाएर संचालन गर्न कसरी सहज हुन्छ मन्त्री स्तरमा, मन्त्रीपरिषद्मा छलफल गरेर अघि बढ्नु पर्ने र कर्मचारी तथा मजदुरहरुले पनि यो मेरो उद्योगको मात्र नभएर जीविकोपार्जन गरिरहेको रोजगारदाता भएकोले मैले इमान्दार भएर काम गरेमा यसको उन्नति प्रगति हुन्छ र मेरो भविष्य पनि यसले बनाउँछ भन्ने सोच राखेर काम गर्नु पर्ने धारणा राखे । नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापाले उद्योगको समग्र वर्तमान अवस्था अध्ययन गरेर सुधारकालागि आवश्यक पहल र छलफल गर्दा राम्रो हुने र उद्योग स्थानीय जनताको हितमा संचालन हुनु पर्ने बताइन् । एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा उदयपुर निर्वाचान क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझीले उद्योगलाई निजिकरणबाट जोगाएर संचालन गर्न सकिने उपायका बारेमा उद्योगमन्त्री, प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल गरेर अघि बढ्नु पर्ने धारणा राखेका थिए । सोमबारको छलफलमा यस अघि पनि उद्योगमन्त्रीसँग छलफल भएको तर उद्योगमन्त्री सकारात्मक नभएको हुँदा उद्योगको अवस्था झन कमजोर भएकोले पुःन एक पटक उद्योग बचाउनकालागि अनुरोध गर्ने र केही नलागेमा निजिकरण नगरी लिजमा दिएर संचालनको मोडालिटी बनाउने कुरामा सहभागी सबै सहमत भएका छन् । रत्ना रिर्सोटमा भएको सोमबारको छलफलमा उद्योगका तर्फबाट निमित्त महाप्रबन्धक महेश प्रसाद साह, सहायक नायव महाप्रबन्धक कोविद् काफ्ले, वरिष्ठ इन्जिनियर हरि अधिकारी, गंभिरजंग खत्री लगायतका सहभागी भएका थिए भने नेकपा एमालेका तर्फबाट पोलिटव्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणी राउत, उदयपुर २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी, कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, उदयपुर जिल्ला कमिटी अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उपसचिव द्वय गंगा राई र हेम खड्का लगायत सहभागी रहेका थिए ।
पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
म्याग्दी । स्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए । उनका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् । मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिए । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । ‘बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ’, पुजारी सुवेदीले भने । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुगेकाका शालिकराम रिजालले बताए । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताए । उनका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् । रासस
मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी, युवा विदेश जानुभन्दा देशमै काम गर्दा राम्रो
ढोरपाटन । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । घर्कँदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन् । काम गर्ने जोस जाँगर पनि उनमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ । उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले विसं २०५० देखि व्यावसायिक रूपमा मौरीपालन गर्न थालेका हुन् । तीन दशक मौरीपालन गरेका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागती खेती समेत गर्न थालेको बताए। उनको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उनले सुन्तलाका तीन सय र कागतीका एक सय ५० बोट लगाएका छन्। ती बिरुवाले बिस्तारै फल दिन थालेको उनले बताए । जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रूपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आएका छन् । उनी अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि छन् । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पुर्याउँदा उनीहरूलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गरे । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उनले सबै खर्च कटाएर १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको जानकारी दिए । ‘विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरी पालनतर्फ लागेँ’, उपाध्यायले भने, ‘मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।’ मह प्रतिकेजी एक हजार तीन सय रुपैयाँमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उनले बताए । महको माग निकै बढेको हुँदा पुर्याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उनको भोगाइ छ । मौरी पालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मान्ने उनले पहाडी क्षेत्र मौरी पालनका उपयुक्त हुने धारणा राखे । उपाध्यायले भने, ‘विसं २०४८ तिर मौरी पालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रूपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पुर्याउन सकिरहेका छैनौँ ।’ युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उनले जोड दिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए। किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उनले उल्लेख गरे । पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताए । रासस