विकासन्युज

बालुवाटारमा १० हजार मानिस उतार्ने रास्वपाको रणनीति, रविको रिहाइ मुख्य माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (मंगलबार) बालुवाटारमा विरोध गर्ने भएको छ । रास्वपाले बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतारेर विरोध गर्ने भएको हो । सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले विरोध गर्ने भएको हो । रास्वपाले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेर अन्ततः बालुवाटारमा आन्दोलन गर्ने भएको हो । रास्वपा सचिवालका अनुसार चावाहिल‚ कोटेश्वर‚ कलङ्की चोक‚ ललितपुर‚ स्वयम्भु, वनस्थली बालाजु एरिया‚ सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली बालुवाटारमा आउनेछ । नेपाल प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेको थियो । उनलाई रास्वपा कार्यालयबाटै प्रहरीले पक्राउ गरेर पोखरा लगेको हाे । उनी हिरासतमा बसेको दुई साता भइसकेको छ ।  उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको छ ।

मन्त्रिपरिषदको बैठक बस्दै, ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी छलफल हुने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आह्वान गरिएकाे छ । बैठक मंगलबार पाँच बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयकाले जनाएकाे छ । आजकाे बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवादबारे छलफल हुने जनाइएकाे छ । साथै समसामयिक विषयमा पनि छलफल हुनेछ । पछिल्लाे समय ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवाद चुलिएकाे छ । पीडित तथा प्रताडित उद्याेगी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएकाे थियाे । यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले याे विवाद आफ्नाे कार्यकालभन्दा अगाडि सिर्जित भएकाे बताएका छन् । हिजाे बस्ने भनिएकाे मन्त्रिपरिषदकाे बैठक प्रधानमन्त्री केपी शर्मा ओलीकाे व्यस्तताले बस्न सकेकाे थिएन ।

ट्रयाक खोलिएको करिब २० वर्षपछि नुवाकोटको विदुरहुँदै धादिङ पुग्ने सडक कालोपत्र सुरु

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ । बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे । ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । ‘अहिले विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ’, उनले भने, ‘बाँकी रहने थप छ किमीसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ ।’ गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गनुपर्ने उल्लेख छ । बहुवर्षीय ठेक्का भएकाले चालु आवमा आठ करोड रुपैयाँ बजेट विनियोजन भएको छभने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए । ‘राईसिं–हर्कपुर–गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । हाल उक्त कच्ची सडकमा यात्रुबाहक सवारीसाधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सम्पन्न भएको छ । गत शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्ण रत्न माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमगरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु हो । विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ । कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।

केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ सम्पन्न

काठमाडौं । केटिएम नेपालले हालसालै  ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यही कार्तिक ०९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’ मा सहभागी हुने अवसर प्रदान गरेकाे थियाे । कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो । दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो । ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो ।

सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरीत शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थित स्थानान्तरित शाखाको सोमबार समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । यस शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडर द्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सु सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल साथै कम्पनीका केहि विभाग प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरु, लगायत सिटिजनका केही लिडरहरु र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर द्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा उनीहरुलाई गर्व रहेको भावना व्यक्त गरे । यस संस्थाले सधै आफुहरुलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।

ज्योति विकास बैंकका ग्राहकलाई स्काई वाकमा २० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई ‘स्काईवाक नेपाल’ मा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काईवाक नेपाल’ मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काईवाक नेपालको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले स्काईवाक नेपाल का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन् । छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल स्काईवाक टावर काठमाडौंको दृष्यावलोकनको लागि उचित रहेको बैंकले जनाएको छ । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

हिमालयन क्यापिटलको लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन क्यापिटलको गानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएको छ । पुँजी बजारको दिगो विकासमा सदैव प्रतिबद्ध रहेको हिमालयन क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा कात्तिक ९ गते शुक्रबारका दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । आफ्नो स्थापनाकालदेखि नै पुँजी बजारको विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ । क्यापिटलका प्रमुख संचालन अधिकृत राम प्रसाद भट्टराईले कार्यक्रममा सहभागीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पुँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति र सामूहिक लगानी कोष सम्बन्धि जानकारी गराएका थिए । साथै पुँजी बजारको निरन्तर विकासका लागि भावी पुस्तालाई पुँजी बजार र यसको प्रकृतिको बारेमा उनले जानकारी गराए । कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकाका स्थानीयहरू लाभान्वित हुने विश्वास रहेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यसप्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता विषयमा जानकारी प्राप्त गरेको बताएका छन् । साथै सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको बुझाइ छ । हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेशन अप सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।