धनियाँ १०० रुपैयाँले घट्दा डल्लेच्याउ १३८ रुपैयाँले बढ्यो
काठमाडाैं । हरियो धनियाँको भाउ शुक्रबार ह्वात्तै घटेको छ । आज हरियो धनियाँ प्रति केजी १०० रुपैयाँले घटेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हिजो हरियो धनियाँ प्रतिकेजी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो । आज ५६.६० प्रतिशतले घटेर ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । यसैगरी, हरियो लसुन प्रतिकेजी २२.०६ प्रतिशतले घटर १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ । हिजो हरियो लसुनको मूल्य २२६.६७ रुपैयाँ थियो । यसैगरी, सानो गोलभेडा (लोकल) प्रतिकेजी १८.३३ रुपैयाँले घटेर आज ८१.६७ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेडा (टनेल) ४ रुपैयाँले घटेर ९६ रुप्रैयाँमा कारोबार भइरहेको छ । भारतीय गोलभेडाको मूल्य भने आज ६५ रुपैयाँ रहेको छ । सेतो मुला १० रुपैयाँले घटेर २५ रुपैयाँमा झरेको छ भने लाम्चे भान्टा ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ । टाटे सिमी ३० रुपैयाँले घटेर ५५ रुपैयाँमा कारोबार हुँदा हरियो फर्सी २० रुपैयाँले घटेर ४५ रुपैयाँ, रायो साग १० रुपैयाँले बढेर ५५ रुपैयाँ, चमसुरको साग ४५ रुपैयाँले घटेर १३० रुपैयाँ, मेथीको साग ४६ रुपैयाँले घटेर १३० रुपैयाँ डल्लेच्याउ १३८ रुपैयाँले बढेर ४२६.६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
तिहार बिदाको मौकामा महानगरले पद्मोदय मोडका सटर भत्कायो (फोटोफिचर)
काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो । यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो । विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनाउने महानगरको योजना छ । कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै सामुदायिक विद्यालयले सटर निर्माण गरी भाडामा लगाएको भन्दै काठमाडौं महानगरपालिकाले फागुन ०८० देखि सटर खाली गराउने अभियान थालेको थियो । सोही अभियानपछि सामुदायिक विद्यालयले सटर भत्काएर सिकाइ कक्ष विस्तार गरेका हुन् ।
नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो
काठमाडौं । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव ५ ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक-एक विकेट लिए । नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।
दुई करोड १४ लाख राजस्व सङ्कलन
काठमाडौं । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा २ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१र८२ को साउनदेखि असोजसम्ममा २ करोड १४ लाख ६ हजार १२० रुपैयाा राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए । सवारीसाधन करबाट १ करोड ३६ लाख ५ हजार ५२५ रुपैयाँ, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार ९१० रुपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार १८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार १५१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने २०७९÷८० मा ७ करोड ५६ लाख २५ हजार ४७५ रुपैयाँ सङ्कलन भएको थियो ।
लक्ष्मीपूजाको दिन १६०२ मेगावाट विद्युतको माग, पिक समयमा २५३ मेगावाट भारत निर्यात
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षतिपुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १९५५ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो । ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएका थिए । कार्यकारी निर्देशक घिसिङले बिगतमा लोडसेडिङको अवस्थामा लक्ष्मीपूजाको दिनको विद्युत् मागलाई पिक डिमाण्ड मान्ने गरिएकोमा अहिले त्यस्तो अवस्था नरहेको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘आठ वर्षअघि लक्ष्मीपूजाको दिनको विद्युत् माग व्यवस्थापनका लागि आयात हुने गरेकोमा केही वर्षदेखि आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको हो, बाढीपहिरोले जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति नपुर्याएको भए यो वर्ष लक्ष्मीपूजाको दिन झण्डै एक हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्थामा हुन्थ्यौं ।’ उहाँले लोडसेडिङ अन्त्य भई निरन्तर विद्युत् आपूर्ति हुनथालेपछि र विद्युतीकरण व्यापक रुपमा गरिएपछि हरेक वर्ष देशभित्रको विद्युत् माग बढिरहेको बताए । प्राधिकरणले तत्कालीन समयमा भइरहेको लोडसेडिङलाई २०७३ सालको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा अन्त्यको सुरुवात गरेको थियो । परीक्षण सफल हुँदै गएपछि २०७५ साल वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् निर्यात भइरहेको छ । विद्युत्को खूद आयातकर्ताबाट गत आर्थिक वर्षबाट नेपाल खूद निर्याकर्ता बनेको छ । लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापनका लागि जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०६ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा ६२ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ६२ मेगावाट, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत गृहहरुबाट ९० मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट १३०४ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो । विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
आज देशभर मौसम अनुकूल रहने, आगामी २४ घण्टामा कस्तो छ ?
काठमाडौं । देशभर पश्चिमी तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध छ ।
पश्मिनाको कच्चा पदार्थ डोल्पामा स्रोत पहिचान, आयात घटाउने प्रयासमा उद्योगी
काठमाडौं । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौं फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना सङ्कलन गरिएको जानकारी दिए । ‘डोल्पामा प्रशस्त च्याङ्ग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन् । निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ, पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा सङ्कलन गरेर लैजाँदै आएका छौँ । डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ,’ उनले भने । डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा सङ्घका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो । कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङ्ग्रा फार्म अवलोकन, भुवाको नमूना सङ्कलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, सङ्कलन गर्ने सीप र प्रविधि सिकाउन र सङ्कलन केन्द्र बनाउन प्रस्ताव गरेका थिए । मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उनले बताए । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब एक सय घर किसानले ३० हजारभन्दा बढी च्याङ्ग्रा पालेका छन् । वैशाख, जेठ र असार च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताउनुभयो । भुवाले बजार पाएमा च्याङ्ग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उनले बताए । भुवाको नमूनाको गुणस्तर परीक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा सङ्कलन गर्ने आधुनिक सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र सङ्कलन केन्द्र स्थापना गरेर खरिद गरिने सङ्घका सचिव गीता श्रेष्ठले बताए । सङ्घको समन्वयमा मुस्ताङबाट २०७९ मा १ करोड ३४ लाख रुपैयाँ मूल्यको २ हजार किलोग्राम, २०८० मा ९० लाख रुपैयाँको भुवा खरिद भएको थियो । यस वर्ष प्रतिकिलो ४ हजार ५ सय रुपैयाँका दरले १ हजार ६सय किलोग्राम भुवा खरिद गरेर लोमान्थाङको सङ्कलन केन्द्रमा राखिएको छ । च्याङग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । डोल्पामा चौरीको भुवालाई पनि कच्चा पदार्थका रूपमा प्रयोग गर्न अध्ययन भएको छ । प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी किच्नु श्रेष्ठले बताए ।
निरन्तर स्थिर रह्यो अमेरिकी डलरको भाउ, यस्तो अन्य देशको मुद्राको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.८२ रुपैयाँ र बिक्रीदर १४६.४७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.२६ रुपैयाँ र बिक्रीदर १७५.०४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.९७ रुपैयाँ र बिक्रीदर १५५.६७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३९ रुपैयाँ र बिक्रीदर ९६.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५३ रुपैयाँ र बिक्रीदर १०१.९८ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५४ रुपैयाँ र बिक्रीदर १२.६० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७६ रुपैयाँ र बिक्रीदर ४३९.७२ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०२ रुपैयाँ र बिक्रीदर ३५७.६२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।