विकासन्युज

मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

काठमाडौं । घोराही उपमहानगरपालिका–१४ झिगौंराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उनी यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी डेढ लाख रुपैयाँ बढी आम्दानी गरेको बताउँछन् । पछिल्लो समय नयाँ मादल खरिद गर्ने भन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए । ‘पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ । अरु बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं-तिहारको अवसरमा बढोत्तरी हुन्छ । दसैँमा नाच्ने र तिहारमा देउसी-भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ । जसले गर्दा राम्रो आम्दानी हुन्छ,’ बादीले भने । आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ । ‘पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ । मैले सानैमा बुबा-बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सीपले अहिले दैनिकी चलाइरहेको छु । तर अहिलेको पुस्तामा मादल बनाउने सीप छैन । न आकर्षण छ,’ बादी भने । घोराहीमा विगत ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उनी यही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको बताउँछन् । ‘हाम्रो अरु पेसा सङ्कटमा पर्यो । समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सीप भएकाले हाल हातमुख जोर्न सहज भएको छ । योभन्दा अरु सीप पनि छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन,’ उनको कथन छ । मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए । ‘चाडपर्वको समय छ । नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५/२० जना मानिसहरु आउने गरेका छन् । तर एक्लै भएकाले काम गर्न समस्या छ । त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन् । त्यसैले योबेला मागअनुसार काम गर्न कठिन छ,’ उनले भने ।

आज तिहारको चौँथो दिन गाईको पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आज गोवर्द्धन र हली पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । गोवर्द्धन पूजा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा/सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसपटक भाईटीकामा वर्षा हुने, ७ दिनपछि चिसो बढ्ने

काठमाडौं । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । ‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थान तथा तराईका केही भू-भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,’ उनले भने, ‘तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।’ अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ । साता दिनपछि चिसो बढ्ने सम्भावना अब एक सातापछि काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए । ‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ, कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ,’ उनले भने । शुक्रबार रातिसम्म काठमाडौंको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ । चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।

नेपाल संवत् ११४५ प्रारम्भ, देशभर मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।

विश्वको आठौँ प्रदूषित सहरको सूचीमा काठमाडौं, के कारण बढ्यो वायु प्रदूषण ?

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको जनाएको छ । एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई १ सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित सहरको सूचीमा सूचिकृत रहेको छ । चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रहसमेत गरेका छन् । वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिए । वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलोहरु उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौं भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताए । ‘दिपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ, पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ, अब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जानेछ,’ उनले भने । पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । उनीहरुले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।’ सामान्यतः विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी, पटका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ । उपदाफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । (ख) मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु पचास हजारसम्म जरिबाना र (ग) मा सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा रु तीस हजारसम्म जरिवानाको व्यवस्था छ ।

नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

काठमाडौं । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।

जब मालिक खुसी भएपछि दिए १ करोड ६० लाख रुपैयाँ पर्ने रोलेक्स घडी

  काठमाडौं । भन्ने गरिन्छ कि कसैको मन खुसी बनायो भने उसले जे पनि उपहार दिनसक्छ । पञ्जाबका एक व्यापारी गुरदीप देव बाथले पनि यस्तै गरेका छन् । हो, उनले पञ्जाबको जिरकपुरमा आफ्नो हवेली बनाइरहेका थिए । ठेकेदारले लगनशीलताका साथ समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गरे । जब बाथले आफ्नो हवेली देखे तब उनको मन खुसीले भरियो । त्यसपछि उनले ठेकेदारलाई एक करोड भारु (एक करोड साठी लाख रुपैयाँ) को रोलेक्स घडी उपहारस्वरूप दिए । एनडीटीभीको रिपोर्टअनुसार गुरदीप देव बाथले पञ्जाबको जिरकपुरमा नौ एकड क्षेत्रफलमा आफ्नो हवेली बनाइरहेका थिए । यसलाई हवेली नभई सानो किल्ला पनि भन्न सकिन्छ । बनाउने जिम्मा राजिन्दर सिंह रुपरालाई दिइएको थियो । उनले दुई वर्षमा परम्परागत राजस्थानी शैलीमा हवेली निर्माण गरेका थिए । यो किल्ला देखेपछि गुरदीप सिंह चकित भए । गुरदीप सिंह बाथले पञ्जाबको शाहकोट निवासी ठेकेदार राजिन्दर सिंहलाई रोलेक्स घडी उपहार दिए । यो घडी ( रोलेक्स ओलिस्टर पर्पेटुअल स्काई ड्वेलर) १८ क्यारेट गोल्डमा बनेको छ । यसको मूल्य एक करोड ६० लाख रुपैयाँ छ, जुन संसारभरका धनीहरूले मात्र लगाउन सक्छन् । दुई वर्षमा आयोजना सम्पन्न जिरकपुरमा बनेको गुरदीप सिंहको विशाल हवेली बनाउन दुई वर्ष लागेको थियो । दैनिक २०० भन्दा बढी मजदुर हवेली बनाउने काममा लागेका थिए । यो घर मात्र नभई भव्यताको प्रतीक भएको गुरदीप बताउँछन् । रिपोर्टका अनुसार गुरदीप सिंहको यस परियोजनाका वास्तुकार रणजोध सिंह हुन् । यस हवेलीमा विशाल हल, बगैंचा र धेरै वास्तुकला तत्व समावेश छन् । यति ठूलो र परिष्कृत परियोजनामा ​​काम गर्नु चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको भनाइ छ ।