विकासन्युज

आज सेयरधनी बने सानिमा बैंक र आशा लघुवित्तको लाभांश पाइने

काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा र आशाले कात्तिक २५ गते बुकक्लोज गर्दैछन् । कात्तिक २२ गते बिहीबार छठको बिदा र शुक्रबार र शनिबार सेयर कारोबार बन्द रहने भएकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले २०औँ वार्षिक साधारण सभा मंसिर ४ गते बोलाएको छ । बैंकको सभाले नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका सुविधाहरू बढाउने प्रस्ताव गरेको छ । त्यस्तै, आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले मंसिर ७ गते बनेपा काभ्रेमा आठौँ वार्षिक साधारण सभा दिउँसो ३ बजे डाकेको छ । यस्तै, लघुवित्तको सभाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने गाभिने तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घय दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घय दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घयलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घय दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घय दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घय दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घयका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ । यस पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।

कोशी र गण्डकीमा सतर्कता अपनाउनुपर्ने, यस्तो छ देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध छ ।

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् । यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ । सो समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुबै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए । ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए । नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई ‘भिषा फ्रि’ सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिदैँ ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे । यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।

उडान समय घटेपछि बुद्ध एयरले जारी गर्यो ६ बुँदे निर्देशिका

फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । कात्तिक २३ गते शुक्रबारदेखि करिब ५ महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हुँदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुध्द एयरको विश्वास छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् । विमानस्थल विस्तारपछि एयरलाइन्सको उडान व्यवस्थापनमा पनि सहजता हुने भएकाले अहिलेको निर्धारित मर्मतको समय सान्दर्भिक रहेको प्रवक्ता कर्णले बताए । इन्ट्रुमेन्ट फ्लाईट राडर ‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भए पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी भिजुअल फ्लाइट रुल्स ‘भीएफआर’ गन्तव्यहरूमा भिजिविलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ । कम्पनीले जारी गरेको ६ बुँदे निर्देशिकामा समयमै उडान भर्न पर्याप्त विमानहरू रहे पनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको उल्लेख छ । उपयुक्त कारणहरुले टिकटमा तोकिएको समयभित्रै विमानस्थल ‘चेक–इन’ काउण्टरमा रिर्पोटिङका लागि पुग्न पनि कम्पनीले यात्रुलाई अनुरोध गरेको छ । उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ । खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने कम्पनीले उल्लेख गरेको छ । उडान रद्द भएका टिकटलाई ‘रिफण्ड प्रोसेसिङ’ गरिने र त्यसका लागि तीनदेखि चार दिनको समय लाग्नेछ । एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध नगराइने कम्पनीले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरूले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने एयरले जनाएको छ ।

कर तिर्न बैंकहरुले छुट्याए पौने ७ अर्ब, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा पौने ७ अर्ब रुपैयाँ कर तिर्नका लागि रकम छुट्याएका छन् । गत साउनदेखि असोजसम्म तीन महिना अवधिको कर तिर्न बैंकहरूले ६ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याएका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । गत वर्षको तीन महिनामा बैंकहरूले ६ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर तिर्नका लागि रकम छुट्याएका थिए । बैंकहरूले नाफाको ३० प्रतिशत रकम सरकारलाई कर तिर्न छुट्याउनुपर्ने व्यवस्था छ । तीन महिनाको अवधिमा बैंकहरूले उक्त रकम छुट्याएको भएपनि वर्षको अन्तिममा भने सो रकम घटबढ हुन सक्ने बैंकरहरू बताउँछन् । ‘अहिले जति नाफा गरेको छ त्यसको ३० प्रतिशत रकम कर तिर्नका लागि छुट्याउनु पर्ने हुन्छ, ६ महिना, ९ महिना र १२ महिनापछि उक्त रकम बढ्न सक्छ, तत्कालका लागि ३० प्रतिशत छुट्याएको भएपनि कर तिर्ने समयमा बैंकहरूबीच प्रतिस्पर्धा नै हुन्छ,’ एक बैंकरले भने, ‘बैंकहरूले वर्षको अन्तिममा कर तिर्ने गर्छन्, अहिले अनुमानित रुपमा कर तिर्नका लागि आम्दानीको ३० प्रतिशत छुट्याएका मात्रै हुन्, पछि कर तिर्नुपर्ने पनि हुन सक्छ, नतिर्नुपर्ने पनि हुन सक्छ ।’ समीक्षा अवधिमा सबैभन्दा धेरै सिद्धार्थ बैंकको कर रकम बढेको देखिन्छ । गत वर्षको तुलनामा यस बैंकको ५०६.३२ प्रतिशत बढेर १६ करोड ७१ लाख रुपैयाँ कर तिर्नका लागि छुट्याएको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले २ करोड ७५ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । यस्तै, लक्ष्मी सनराइज बैंकको ४२४.६० प्रतिशत बढेर २३ करोड १६ लाख रुपैयाँ र कुमारी बैंकको १७४.४६ प्रतिशत बढेर ४७ करोड ८५ लाख रुपैयाँ सरकारलाई कर तिर्न छुट्याएका छन् । गत वर्षको सोही अवधिमा लक्ष्मी सनराइजले ४ करोड ४१ लाख रुपैयाँ र कुमारीले १७ करोड ४३ लाख रुपैयाँ कर तिर्न रकम छुट्याएका थिए । समीक्षा अवधिमा नेपाल एसबीआई बैंकको ९४.३८ प्रतिशत बढेर ३९ करोड ९२ लाख रुपैयाँ, एभरेष्ट बैंकको ४४.४४ प्रतिशत बढेर ४८ करोड ३३ लाख रुपैयाँ, प्रभु बैंकको ३३.४२ प्रतिशत बढेर ५५ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २३.६३ प्रतिशत बढेर ६५ करोड ३८ लाख रुपैयाँ, एनएमबी बैंकको १९.१२ प्रतिशत बढेर ४९ करोड १७ लाख रुपैयाँ छुट्याएका छन् । गत वर्षको सोही अवधिमा नेपाल एसबीआईले २० करोड ५३ लाख रुपैयाँ, एभरेष्ट बैंकले ३३ करोड ४६ लाख रुपैयाँ, प्रभुले ४१ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमईले ५२ करोड ८८ लाख रुपैयाँ र एनएमबिले ४१ करोड २८ लाख रुपैयाँ छुट्याएका थिए । तीन महिनाको अवधिमा नबिल बैंकले सबैभन्दा धेरै कर तिर्नका लागि रकम छुट्याएको छ । यस बैंकले ७७ करोड ९५ लाख रुपैयाँ कर तिर्न रकम छुट्याएको हो । जबकी गत वर्षको सोही अवधिमा बैंकले ६७ करोड ८८ लाख रुपैयाँ छुट्याएको थियो । गत वर्षको तुलनामा बैंकले १४.८३ प्रतिशत कर रकम बढेको देखिन्छ । यस्तै, प्राइम बैंकको ७.२३ प्रतिशत बढेर ५२ करोड ९१ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.१६ प्रतिशत बढेर ३६ करोड ९५ लाख रुपैयाँ छुट्याएका छन् । गत वर्षको सोही अवधिमा प्राइमले ४९ करोड ३४ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्डले ३५ करोड ४७ लाख रुपैयाँ छुट्याएका थिए । समीक्षा अवधिमा विभिन्न ७ बैंकको भने गत वर्षको तुलनामा कर रकम घटेको देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको कर रकम घटेको देखिन्छ । यस बैंकको ८८.३१ प्रतिशत घटेर ४ करोड ७३ लाख रुपैयाँ कर तिर्नका लागि छुट्याएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४० करोड ५२ लाख रुपैयाँ छुट्याएको थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८२.३९ प्रतिशत घटेर ६ करोड ४८ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५२.०५ प्रतिशत घटेर ८ करोड २७ लाख रुपैयाँ, हिमालयन बैंकको ३३.०१ प्रतिशत घटेर २८ करोड ५१ लाख रुपैयाँ कर तिर्नका लागि छुट्याएका छन् । गत वर्षको सोही अवधिमा राष्ट्रिय वाणिज्यले ३६ करोड ८४ लाख रुपैयाँ, सिटिजन्सले १७ करोड २४ लाख रुपैयाँ र हिमालयनले ४२ करोड ५७ लाख रुपैयाँ छुट्याएका थिए । यस्तै, सानिमा बैंकको ८.९८ प्रतिशत घटेर १७ करोड ४५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८.५६ प्रतिशत घटेर २२ करोड ६८ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४.५६ प्रतिशत घटेर ६२ करोड ९२ लाख रुपैयाँ सरकारलाई कर तिर्न छुट्याएका छन् । गत वर्षको असोजमा सानिमाले १९ करोड १८ लाख रुपैयाँ, माछापुच्छ्रेले २४ करोड ८१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट मेगाले ६५ करोड ९३ लाख रुपैयाँ कर तिर्न छुटयाएका थिए । समीक्षा अवधिमा नेपाल बैंकले ९ करोड १३ लाख रुपैयाँ र कृषि विकास बैंकले १ करोड ४६ लाख रुपैयाँ कर तिर्न रकम छुट्याएका छन् । तर, गत वर्षको सोही अवधिमा भने यी दुई बैंकले कर रकम छुट्याएको देखिँदैन । गत वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंक घाटामा गएकाले कर रकम राख्नु नपरेको बैंकका नायव महाप्रबन्धक प्रेम कुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार बैंकको नाफा ऋणात्मक भएपछि कर लाग्दैन । बैंक नाफामा भएपछि मात्रै कर तिर्नुपर्ने उनको भनाइ छ । नेपाल बैंकको भने गत वर्षको पहिलो त्रैमासमा करयोग्य रकम नभएपछि शून्यमा राखिएको हो । स्रोतका अनुसार बैंक नाफामै भएपनि करलेखा र नेपाल राष्ट्र निर्देशिक बमोजिम करयोग्य रकम अपुग भएकाले कर खर्च नदेखाइएको हो । ‘गत वर्ष पहिलो त्रैमासमा बैंक घाटामा थिएन । तर, कर लेखा र राष्ट्र बैंकको निर्देशिका अनुसार करयोग्य रकममा देखिने रकम अपुग भएकाले गत वर्ष कर खर्च आएन्, करयोग्य आम्दानी नदेखिएपछि कर खर्च रकम शून्य राखिन्छ,’ बैंकका एक अधिकारीले भने ।

टीभीएसको बाईक किन्दा उतीम लाल साहले जिते नगद १० लाख

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् । साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले खरिदअघि ५ हजार र खरिद पश्चात ५ लाख रुपैयाँ जित्न सफल भएका हुन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद १ लाख रुपैयाँ, ४ जनाले नगद ५० हजार रुपैयाँ, १० जनाले नगद २५ हजार रुपैयाँ, १५ जनाले नगद १५ हजार रुपैयाँ र १८ जनाले नगद ५ हजार जित्न रुपैयाँ सफल भइसकेका छन् । नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो । टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेको कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् ।

सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । ठूलो संख्यामा थारु समुदायमा समस्स्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् । मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरि अस्पतालमा वार्ड स्थापनाको निणय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ । पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोवास गर्ने थारु समुदायका नागरिकहरु सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ । विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका. बमोजिम सिकलसेल एनिमिया रोग लागेका विरामीहरुलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य समाग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिको लागि १ लाख रुपैया सम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।