प्लाष्टिक झोलामुक्त अभियान : ३९१ किलो प्लाष्टिक जफत
दमौली । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक दुई हजार रुपैयाँ, दोस्रोपटक रु चार हजार र तेस्रोपटक छ हजार रुपैयाँ जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए । यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक पाँच सय रुपैयाँ, दोस्रोपटक एक हजार रुपैयाँ र तेस्रोपटक तीन हजार रुपैयाँ जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलोपटक दश रुपैयाँ, दोस्रोपटक ५० रुपैयाँ जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
सूर्यज्योति लाइफबाट संस्थापक शर्मा बाहिरिने, बिक्रीमा राखे सेयर
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनी नन्द किशोर शर्मा बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बेचेर शर्मा बाहिरिने भएका हुन् । शर्माले साविक ज्योति लाइफ इन्स्योरेन्समा अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । शर्मा अध्यक्ष रहेका बेला सूर्य लाइफ र ज्योति लाइफ मर्जरमा गएका थिए । शर्माले कम्पनीमा रहेको आफ्नो स्वामित्वको ३ लाख २० हजार २१४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर रेटसहित बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।
निफ्रा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र किन्न पाउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको स्वामित्वमा रहेको २ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
४ सय रुपैयाँमा मिथिला लघुवित्तको सेयर बिक्रीमा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल पेश गर्नुपर्नेछ । लघुवित्तको सेयरमा मंसिर ५ गतेसम्म आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
नगरपालिकाले थाल्यो फोहरबाट मल उत्पादन र बिक्री, सफाइ कार्ड लिनेलाई प्रतिकिलो ५ रुपैयाँ छुट
काठमाडौं । बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ । मध्यविन्दु नगरपालिकाले फोहरको व्यवस्थापनसँगै जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको छ । पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो । यहाँ स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाका इन्जिनियर विवेक पोखे्रलले बताए । स्थानीयस्तरमा सङ्कलित फोहरलाई वर्गीकरण गरी कुहिने फोहरलाई जैविक मलको रूपमा उत्पादन परीक्षण सफल भएको र यसलाई नियमित रूपमा अघि बढाइने उनले जानकारी दिए । नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरस्तरीय सरसफाइ प्रवर्द्धन समितिको निर्णयअनुसार प्रतिकिलोग्राम रु २२ मा बिक्री सुरु गरिएको इन्जिनियर पोख्रेलले बताए । । नगरपालिकाको सरसफाइ कार्ड लिनेका लागि १ सय किलोसम्म मल खरिद गर्दा प्रतिकिलो ५ रुपैयाँ छुट प्रदान गरिने उनले बताए । उत्पादित मल चोरमाराको कृषि विकास शाखा र उत्पादन केन्द्रबाट खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘उत्पादित जैविक मल नेपाल सरकारले तोकेको मापदण्डअनुसारको रहेको छ । हामीले त्यसको परीक्षण गरेका छौँ, नाइट्रोजन, फस्फोरस र पोटासियमलगायत अन्य तत्वको मापदण्ड तोकिएअनुसारै छ,’ इन्जिनियर पोख्रेलले भने । जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षणमा सहयोग पुग्ने, खाद्य उत्पादनमा टेवा पुर्याउने अपेक्षा रहेको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताए । हिजोआज कृषि उत्पादनका क्रममा धेरै रासायनिक मल प्रयोग गर्ने क्रम रहेकाले त्यसलाई निरुत्साहित गर्दै जैविक मल प्रयोगलाई बढाउनसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘हामीकहाँ अहिले कृषि उत्पादन गर्दा रासायनिक मल धेरै प्रयोग गर्ने, विषादी प्रयोग गर्ने गरिन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ, यसका लागि जैविक मलको प्रयोग गर्न सकारात्मक सन्देश दिनसमेत सहयोग पुग्ने अपेक्षा छ,’ नगरप्रमुख अधिकारीले भने । मध्यविन्दु नगरपालिकाले–११, कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब ४ करोड ३७ लाख रुपैयाँको लागतमा फोहर व्यवस्थापनकार्य अघि बढाएको र यसैबाट जैविक मल उत्पादनसमेत सुरु गरिएको हो । मध्यविन्दुमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरबाट नै फोहरको वर्गीकरण अनिवार्य गरेको छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर सङ्कलन गर्ने गरिएको छ । यसरी सङ्कलित फोहरमध्ये नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने फोहोर छुट्टाएर बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको हो ।
कम्पनी बन्द हुने चिन्तामा वायु सेवा सञ्चालक, समयमै विमानस्थलको स्तरोन्नति सक्न माग
काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ । ‘प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी वेबीचको लिकङ्रोड निर्माणकार्य तोकिएको समयमा नै सम्पन्न गर्नेछ भन्ने सङ्घले पूर्णविश्वास लिएको छ । सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तोरोन्नति तदारुक्ताका साथ गरिदिनुहुन सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा सङ्घ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपश्चात् सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दिर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने सङ्घको विश्वास रहेको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम वर्षा हुने, यस्तो छ देशभरको मौसम
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, १ डलरको १३५.१६ रुपैयाँ, यूरो र पाउण्ड ह्वात्तै घट्यो
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा यूरो र पाउण्डको भाउ भने ह्वात्तै घटेको छ । बिहीबार युरोपियन यूरोको एकको खरिदर १४४.२१ रुपैयाँ र बिक्रीदर १४४.८६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.२० रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.४८ रुपैयाँ र बिक्रीदर १५४.१६रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ तोकेको छ । यसअघि हिजो युरोपियन यूरोको एकको खरिदर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.८२ रुपैयाँ र बिक्रीदर १५६.५२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ तोकेको थियो । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७५ रुपैयाँ र बिक्रीदर ९७.१८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८७ रुपैयाँ र बिक्रीदर १०१.३२ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८२ रुपैयाँ र बिक्रीदर ३५.९८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९१ रुपैयाँ र बिक्रीदर ३७.०८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६१ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३८ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३४ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२३ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.९३ रुपैयाँ र बिक्रीदर ३५८.५२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।