बाइक चलाउँदै गरेका शिक्षकमाथि गोली प्रहार भएपछि…
काठमाडौं । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । आइतबार अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका-१, बोटगाउँ निवासी प्रधानाध्यापक प्रेम बहादुर बोम्जनलाई गोली प्रहार गरेको हो । बोम्जन मकवानपुरको बकैया गाउँपालिका स्थित बुद्ध माध्यामिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका-६, स्थित जंगलको बाटोमा मोटरसाइलमा हिड्दै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अड्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेलाई तत्काल उद्धार गरेको थियो । उनलाई सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बारा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बाढी पहिरोको क्षतिको दाबी भुक्तानी सुस्त भएपछि प्राधिकरण ‘फायर’, दोस्रो पटक लिखित निर्देशन
काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ । कम्पनीहरुले दाबी भुक्तानीमा ढिलो गरेको उल्लेख यथाशिघ्र र प्रभावकारी पार्न प्राधिकरणले निर्देशन दिएको हो । ‘हालसम्म अत्यन्त न्यून संख्या र रकममा मात्र दाबी भुक्तानी भएकोमा गम्भीरर ध्यानाकर्षण भएको छ, बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मुल्याङ्कन (सर्भे) गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशानुसार अनुरोध छ ।,’ प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ । गत असोजको दोस्रो साता आएको अबिरल वर्षासँगै आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसमध्ये बीमा कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँको दाबी पेस भएको थियो । बाढी पहिरोले भएको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छिटो दाबी भुक्तानी दिन भनेका थिए । सोही अनुसार कम्पनीहरुले पनि प्राधिकरणलाई विश्वस्त बनाएको थियो । कम्पनीमा पेस भएको दाबी र दिएको भुक्तानीको विवरण हरेक साताको बुधबार प्राधिकरणमा पेस गर्नुपर्ने सर्तसहित प्राधिकरणले कम्पनीहरुलाई निर्देशन गरेको थियो । तर, धन सम्पत्ति क्षति भएको डेढ महिना हुनलाग्दा पनि कम्पनीहरु दाबी भुक्तानीमा उदार देखिएका छैनन् । अर्थात कम्पनीहरुले एकदमै न्यून मात्रामा मात्रै दाबी भुक्तानी दिएका छन् । दाबीको ४.४७ प्रतिशत मात्र भुक्तानी उक्त बाढी पहिरोपछि बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ माग दाबी पेश भएको थियो । जसमध्ये असोज कार्तिक २० गतेसम्म कम्पनीहरुले ४७ करोड ११ लाख रुपैयाँ मात्र भुक्तानी दिएका छन् । जुन कुल दाबी रकमको ४.४७ प्रतिशत भुक्तानी भएको हो । यसरी भुक्तानी दिनेमा शिखर इन्स्योरेन्स अगाडी रहेको छ । शिखर एकलैले २५ करोड १९ लाख बढी दाबी भुक्तनी दिएको छ । शिखरले पनि कुल दाबीको जम्मा २४.२३ प्रतिशत मात्र भुक्तानी दिएको छ । शिखरमा १ अर्ब ३ करोड ९५ लाख रुपैयाँ दाबी पेश भएको थियो । अन्य कम्पनीहरुले दिएको दाबी भुक्तानी अत्यन्त न्यून रहेको छ । हालसम्म बीमा कम्पनीहरुमा ३ हजार ४ सय ६० वटा दाबी पेश भएकोमा ६ सय ३७ वटा दाबीमा मात्र भुक्तानी भएको छ ।
कालीकोटमा ठूलो दुर्घटना, हेलिकप्टरमार्फत उद्वार
काठमाडाैं । कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको निधन भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए ।
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिदाइ गरे । यसअघि नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । राष्ट्रपतिको बिदाइका लागि उपप्रधानमन्त्री, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल बाकु गएका हुन् । उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार बिहान स्वदेश फर्कने कार्यतालिका छ ।
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव तस्करी तथा सरकारी कागजात कीर्तेको आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।
सानिमा बैंकको दराजसंग ‘दराज ११.११’ योजनाका लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा छिुट दिने सहकार्य भएको छ । कम्पनीका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३ प्रतिशत प्रति वर्षका दरले, २४ महिना सम्मका लागी मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।
दोस्रो भरतपुर-१९ पर्यटन महोत्सव सुरु, होटलमा ३० प्रतिशतसम्म छुट
भरतपुर । दोस्रो भरतपुर–१९ सांस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ आइतबारदेखि सुरु भएको छ । महोत्सवको एक समारोहकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताइन् । पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यसबीचमा आर्थिक गतिविधि चलायमान भएको उनको भनाई छ । भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उनको भनाइ छ । भरतपुर भ्रमण वर्षले सिंगो चितवनको पर्यटन व्यवसायलाई नै टेवा पुगेको उनले उल्लेख गरिन् । महानगरमा भ्रमण वर्षको अवसरमा विभिन्न संघ संस्था, निकायको समवन्य तथा आयोजनामा धेरै वटा मेला, महोत्सव तथा सभा सम्मेलन भएको स्मरण पनि गरिन् । आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ । महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ । कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् । भरतपुर १९ शारदानगर, हेल्थ पोष्ट चौरमा सुरु भएको महोत्सव कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग संघका पदाधिकारीसँगको आइतबार मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे । ‘उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु’, मन्त्री भण्डारीले भने । उनले जहिले पनि उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीले समस्या ल्याएर सरकारलाई गुहारिरहनुपर्ने कुराको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उखु किसानलाई खेती गर्नेतर्फ अभिप्रेरित गर्न आग्रह गरे । चिनी उद्योगीका समस्या समाधानमा सरकार सधै सकारात्मक मात्र नभइ आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगीलाई उखु किसानका मर्का सम्बोधन गर्न पनि अनुरोध गरे । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालसहितको टोलीले सरकारले भारतबाट चोरी निकासी भएर अवैध रुपबाट ल्याइने चिनी बन्द गर्नुपर्ने, उखु किसानलाई उन्नत बीउ वितरण गर्नुपर्ने लगायतका माग राखेको थियो । चिनी उद्योगबाट मङ्सिरदेखि चैतसम्मको कुल उत्पादित मोलासेसको पचास प्रतिशत सञ्चित गरी बाँकी पचास प्रतिशतसम्म निकासी गर्न दिने व्यवस्था भएकामा हाल विभिन्न आन्तरिक राजस्व कार्यालयबाट सो नियमको अपव्याख्या गरिएको भन्दै संघले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । स्वदेशमा समेत बिक्री गरिएको मोलासेसको परिमाण घटाइ बाँकी रहेको मोलासेसको पचास प्रतिशत मात्रको अनुमति स्वीकृत गर्ने गरेकाले निकासीमा बाधा अवरोध खडा गरिएकामा संघले मोलासेस निकासी गर्नुको विकल्प नभएको हुँदा सोको समाधानका लागि माग गरेको छ ।