हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा, चाँगुनारायण मन्दिरमा भक्तजनको भीड
भक्तपुर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा मंगलबार बिहानदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्यप्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शंन गर्ने गर्दछन् । आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेहरूले पनि चाँगुनारायणको मात्रै दर्शन गरे पनि चार नारायणको दर्शन गरेबराबरको पुण्यप्राप्त हुने मान्यता रहेकाले यस मन्दिरमा बिहानदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको पुजरी राजोपाध्यायले बताए । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजाअर्चना गरेर मनाइने पुजारी राजोपाध्यायको भनाइ छ । हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेको तुलसीको आज परम्पराअनुसार तुलसीको मठलाई सिङ्गारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराइएको छ । आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सख्खरखण्ड, तरुणका परिकार खाने प्रचलन रहेको छ । नगरपालिकाले पहिलोपटक मेलाको व्यवस्थापन गरेको छ । मेलाको व्यवस्थापनका लागि चाँगनारायण नगरपालिकाले चारैवटा नाकामा स्वागतद्धार निर्माण गर्नुका साथै मन्दिरलाई सिङ्गारेर झिलीमिली बत्तीहरू हालेर मन्दिरलाई आकर्षक बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । उनले भने, ‘मन्दिर प्रवेश गर्ने सिढीँहरु, मन्दिर परिसर र आसपासका क्षेत्र सफा गरेका छौँ, मन्दिर सिङ्गारिएर झकमक्क बनाएका छौँ, साँझ झलमल्ल बत्ती बालेर मन्दिर चारैतिरबाट उज्यालो बनाएका छौँ, मन्दिर प्रवेश गर्ने नाका र चाँगुनारायण प्रवेश गर्ने नाकामा स्वागतद्धार बनएका छौँ । मन्दिरमा सहज दर्शनका लागि स्वयंसेवक परिचालनदेखि स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छौँ ।’ नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले गएराति मन्दिरको अनुगमन गरी रातिदेखि नै मेला भर्नेका लागि सहज व्यवस्थापन मिलाएको बताए । उनले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौं मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्नेगरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यबस्थापनको तयारी गरिएको उनले बताए । सार्वजनिक बिदा चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरमा मेला लाग्ने अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्दै आज नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिकबाहेकका सबै स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी, सार्वजनिक संस्थालाई बिदा दिने निर्णय गरेको बताए । मन्दिरमा मेला भर्न र व्यवस्थापन गर्न आज बिदा दिएको उनले जानकारी दिए । सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको प्रमुख खत्रीले जानकारी दिए ।
एनएमबि लघुवित्तको नाफासँगै ईपीएस धनात्मक, ब्याज आम्दानी ४०.८५ प्रतिशत बढ्यो
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । असोज मसान्तसम्म लघुवित्तले ८ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको ब्याज आम्दानी ४०.८५ प्रतिशत बढेको हो । लघुवित्तले ९९ लाख ४७ हजार रुपैयाँ नेट फि एण्ड कमिसन इनकम, ९ करोड ८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ७१ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा ४८ लाख ४ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ, सेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २० करोड २ लाख रुपैयाँ छ भने सञ्चित नाफा भने ५ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै, लघुवित्तले असोजसम्म १ अर्ब ३० करोड १२ लाख रुपैयाँ निक्षेप तथा ३ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ सापट िलिई ५ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ धनात्मक छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २६.२५ रुपैयाँ ऋणात्मक थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ । यस्तै, लघुवित्तको खराब कर्जा ७.२७ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ । लघुवित्तको लागत ७.९८ प्रतिशत छ भने आधार दर १५.९६ प्रतिशत छ ।
ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, खराब कर्जा पनि घट्यो
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशत बढेको देखिन्छ । चालु आवको तीन महिनामा लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असोजसम्म लघुवित्तले २ करोड २२ लाख रुपैयाँ नेट फि एण्ड कमिसन इनकम, १५ करोड ९४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ, सञ्चित नाफा ५४ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तले असोजसम्म ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ । यस्तै, लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ । लघुवित्तको लागत ८.१० प्रतिशत छ भने आधार दर १३.५३ प्रतिशत छ ।
रवि लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान ७ बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरीले जनाएको छ । बयानका लागि रुपन्देही लैजाने प्रहरीको तयारी भएपछि रास्वपा र सहकारी पीडित दुवै पक्षले विरोध प्रदर्शनको तयारी गरेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा विरोध प्रदर्शनका लागि पीडित सदस्यहरूलाई सूचित गरेर बोलाएको छ भने रास्वपाले सबै कार्यकर्तालाई बिहानै लुम्बिनी गेटमा उपस्थितिका लागि निर्देशन गरेको छ । मंगलवार नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ ।
२ हाइड्रोको लाभांश पाउन आज सेयरधनी बन्नुपर्ने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज कात्तिक २७ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मन्दाकिनी र विन्ध्यबासिनी हाइड्रोले कात्तिक २८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले यी दुई कम्पनीको सभामा सहभागि भएर लाभांश प्राप्त गर्न सक्नेछन् । मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते नेपाली चुलो लाजिम्पाट काठमाडौंमा ११औँ वार्षिक साधारण सभा बिहान ८ बजे बोलाएको छ । बोनस सेयर वितरणपश्चात् १ बराबर १.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रालिमा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्नेछ । यस्तै, विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले मंसिर ६ गते नयाँ बानेश्वर काठमाडौंमा भौतिक तथा भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।
३ बैंकसहित यी ५ संस्थाबाट संस्थापक बाहिरिँदै, बिक्रीमा राखे सेयर
काठमाडौं । विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्राइम बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महुली लघुवित्त र महिला लघुवित्तको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । प्राइम बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखिएको भनेपनि कति कित्ता सेयर हो भनेर खुलाएको छैन । तर, सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यस्तै, लुम्बिनी विकास बैंकको १५ हजार ८१२ कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३३ कित्ता र निर्मला तुलाधरको ६ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । यस्तै, मितेरी डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी मोहन कुमार सुवेदीले आफ्नो नाममा रहेको ४४ हजार ८४१ कित्ता सेयर बिक्रीमा राखेका छन् । उनले बिक्रीमा राखेको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । तर, ३५ दिनभित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ । यस्तै, महुली लघुवित्तबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी कविता कुमारी चौधरीले आफ्नो नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीले ६ हजार कित्ता गरी ११ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, महिला लघुवित्तको संस्थापक समूहको ८६ हजार ३२५ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो, बन्दीपुर आउने पर्यटकलाई ग्रेटवालको झल्को
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ गन्तव्यस्थल बनाउन खोजेका हौँ,’ उनले भने । थापाका अनुसार अहिले दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । उनले भने, ‘केही समय यसको काममा ढिलाइ भएको थियो, गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।’ पदमार्गको दूरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम सकिएको थापाले जानकारी दिए। यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत परिमाण गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले उल्लेख गरे । विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गरे । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन सकिए पर्यटन व्यवसाय फस्टाउनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने बताए । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिए । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीबाट १८ किमी डुम्रे हुँदै ८ किमी उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ ।
ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलर निरन्तर बलियो बन्दै, फेरी बनायो नयाँ रेकर्ड
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । आज युरोपियन यूरोको एकको खरिदर १४३.६५ रुपैयाँ र बिक्रीदर १४४.२९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.५५ रुपैयाँ र बिक्रीदर १७४.३२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.२४ रुपैयाँ र बिक्रीदर १५३.९३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.६७ रुपैयाँ र बिक्रीदर ८९.०६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७१ रुपैयाँ र बिक्रीदर ९७.१४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.१५ रुपैयाँ र बिक्रीदर १०२.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८७ रुपैयाँ र बिक्रीदर ३६.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९२ रुपैयाँ र बिक्रीदर ३.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५५ रुपैयाँ र बिक्रीदर ४४०.५० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.५० रुपैयाँ र बिक्रीदर ३५९.०९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।