विकासन्युज

२ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।

इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक, यस्तो छ विशेषता

काठमाडौं । इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सुविधा घोषणा गरेको हो । कम्पनीकाअनुसार हाल इनड्राइभले नेपालमा बाइक, ट्याक्सी लगायतका सवारी साधानमा राइड सेयरिङ सुविधा दिदै आएको छ । सोही क्रममा अहिले ‘इनड्राइभ कम्फर्ट’ फिचर ल्याइएको हो । यो प्रिमियम तथा लक्जरियस सेवा हो । यात्रुलाई आरामदायी यात्रा गराउने उद्देश्य सहित सुविधा ल्याइएको हो । यस अन्तरगत बिशेषगरी कारहरु उपलब्ध हुनेछन् । त्यसमा मुख्यतः एयर कन्डीसन (एसी) फराकिलो सिट, फराकिलो भित्रीभाग लगायतका सुविधा हुनेछन् । जुन सुविधाले यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीकाअनुसार यसमा विशेषगरी उच्च गुणस्तरीय सवारी साधन र उच्च श्रेणीका चालकहरू हुनेछन् । आरामदायी यात्रा चाहनेहरूका लागि यो सेवा लक्षित गरिएको कम्पनीको भनाइ छ । यसले काठमाडौंको व्यस्त ट्राफिक र मौसमबाट ग्राहकलाई राहत प्रदान गर्नेछ । यसमा विद्युतीय गाडी (इभी) लाई पनि मुख्य प्राथमिकतामा राखिएको छ । इनड्राइभका दक्षिण एशिया वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्माकरले ग्राहकहरूको आवश्यकताहरूलाई ध्यानमा राखेर नयाँ सुविधा ल्याएको बताए । उचित मूल्यमै ग्राहकले यो सुविधा पाउने उनको भनाइ छ । फराकिलो भित्री भाग भएका सेडान गाडीहरू पनि यसमा हुनेछन् । यस अन्तरगत आरामदायी, फराकिलो र झन्झट–मुक्त यात्रा गर्न सकिने दावी गरिएको छ । इनड्राइभका एशिया प्यासिफिक कम्युनिकेसन लिड पभित नन्दा आनन्दले भने, ‘हामी चालक र यात्रु दुवैलाई आफ्नो छनोट गर्न स्वतन्त्रता दिन्छौं । यो पूर्ण रुपमा पारदर्शी मोडेल हो । हामी यात्रु र चालकलाई आफ्नो अनुकुल सम्झौता गर्ने स्वतन्त्रता प्रदान गर्दैछौं ।’

रिलायन्स स्पिनिङमा १८ कम्पनीको साढे ७० करोड रुपैयाँ बन्धक

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तथा बिक्री प्रक्रिया स्थगित भएको ६ महिना पुग्न थाल्यो । अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगित भएको कम्पनीको आईपीओ बिक्री प्रक्रिया तत्काल अघि बढ्ने कुनै छाँटकाँट देखिँदैन । तर, पहिलो चरणमा बिक्री खुला गरेको आईपीओमा १८ कम्पनीको अर्बाैं रुपैयाँ बन्धक भएकाे छ । बुक बिल्डिङ्गमार्फत् आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको कम्पनीले दोस्रो चरणमा भने असार २९ गते वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गर्ने तयारी थियो । तर, सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि अनिश्चितका लागि कम्पनीको आईपीओ प्रक्रिया रोकिएको छ । कम्पनीले पहिलो चरणमा माघ १० गतेदेखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री गरेको थियो । संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा भाग लिएका ६४ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले अधिकतम ९१२ रुपैयाँ मूल्यमा सेयर किन्न आवेदन दिएका थिए । जसआधारमा १८ वटा संस्थागत लगानीकर्ताको ७० करोड २८ लाख २३ हजार रुपैयाँ विगत ६ महिना बढी समयदेखि बन्धकजस्तै बनेको हो । १८ कम्पनीले संस्थागत लगानीकर्ताको लागि छुट्याएको सेयरको मागभन्दा बढी आवेदन दिएका थिए । कट अफ मूल्यमा आवेदन दिएका यी लगानीकर्तालाई माग बमोजिमको सेयर बाँडफाँट गर्दा नपुगेकाले समानुपातिक रूपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्की नियामकले ठोस निर्णय नगर्दा रिलायन्सको आईपीओमा लगानी गरेको रकम बन्धक रहेको बताउँछन् । कम्पनीको विवादको विषय टुङ्गो लगाउन माग गरेको भएपनि हालसम्म कुनै सुनुवाई नभएको उनको भनाइ छ । ‘लामो समयदेखि करोडौं रकम बन्धकजस्तै रह्यो, यो विषय तत्काल टुङ्ग्याइदिनुहोस् भनेर माग गरिरहेका छौं, रिलायन्सले पनि आफ्नो तर्फबाट गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘नियामकले निकास दिनुपर्ने हो तर, केही निर्णय नै दिन सकेको छैन ।’ उनका अनुसार उक्त रकम सर्वसाधारण लगानीकर्ताबाट संकलन गरेको म्युचुअल फण्डको रहेकाले समस्या भइरहेको छ । आगामी दिनमा सेयर निष्काशन प्रक्रिया अघि बढेपनि नबढेपनि तत्कालका लागि बोर्डले निकास दिनुपर्ने उनको माग छ । ‘प्रक्रिया कि रद्द हुन्छ कि अघि बढ्छ भनेर एउटा जानकारी गराउनुपर्छ, उक्त रकम सर्वसाधारणको हो, त्यसैले हामी फण्ड म्यानेजरहरूलाई गाह्रो भइसक्यो, किनभने उक्त रकमलाई अन्य क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुन्थ्यो, इकाईधनीहरूलाई पनि थप प्रतिफल दिन सकिन्थ्यो,’ उनले भने, ‘अहिले सेयर बजार पनि उकालो लागेको छ, अहिले हाम्रा लागि अवसर छ ।’ लामो समय रकम होल्ड हुँदा ब्याज दिर्नुपर्ने व्यवस्था नरहेकाले आफूहरू केही गर्न सक्ने अवस्थामा नरहेको उनले बताए । उनका अनुसार कानुनी प्रक्रिया अपनाउन कहीँ कतै केही व्यवस्था गरेको छैन । रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका कम्पनी सचिव छविलाल शर्मा पौडेल १८ संस्थागत लगानीकर्तालाई समानुपातिक रूपमा सेयर बाँडफाँट गरिएको बताउँछन् । तर, उक्त रकम बन्धक नरहेको उनको भनाइ छ । ‘संस्थागत लगानीकर्ताले पाएको रकम रिलायन्सको पुँजी हो, लगत्तै रिलायन्सको खातामा जम्मा भइसकेको हो,’ उनले भने, ‘संस्थागत लगानीकर्तालाई आईपीओ जारी गरको ७ दिनभित्रै धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिएको हो । तर, बोर्ड स्वीकृत नदिएपछि अड्किएको हो ।’ कम्पनीको सेयर निष्काशनका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संसदीय छानबिन समिति र अदालतमा समेत मुद्धा परेकाले आफूहरूको काबुभन्दा बाहिर रहेको उनले बताए । ‘यो रिलायन्स र हाम्रो काबुको विषय नै रहेन, यदि निरन्तर सेयर जारी भएको भए अहिलेसम्म दोस्रो बजारमा कारोबारमा आउँथ्यो, ६ महिनापछि संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्न पनि पाउँथे, यसरी हेर्दा संस्थागत लगानीकर्तालाई मर्का परेको देखिन्छ, यसले नराम्रो सन्देश गएको छ,’ उनले भने, ‘तत्काल टुंगो लाग्ने विषय हो । तर, अहिलेसम्म टुंगो लाग्न सकेन ।’ उनका अनुसार कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रद्ध गर्नका लागि कानूनी व्यवस्था समेत छैन । तर, छिटोभन्दा छिटो समस्या समाधान गरेर आईपीओ जारी गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘लगानीकर्ताले आफ्नो लगानी योजना अनुसार लगानी गरेका हुन्छन्, कम्पनीले पुँजी पुर्याउने भनेर सेयर जारी गरेको हो, धेरै खर्च भइसकेको पनि छ, अब त्यो रकम फिर्ता गर्ने परिकल्पना समेत गर्न सकिँदैन,’ उनले भने, ‘रकम फिर्ता गर्ने विषयमा नियामकले कुनै व्यवस्था गरेको छैन । छिटोभन्दा छिटो समस्या समाधान गरेर आईपीओ जारी गर्नुपर्छ, यदि यो प्रक्रिया यसरी नै स्थगित हुने हो भने विश्वासको संकट उत्पन्न हुन्छ ।’ नेपाल धितोपत्र बोर्डका (सेबोन)का अध्यक्ष महेश बराल अदालतको निर्णय आइसकेको हुँदा बोर्डले निर्णय गर्न समय लाग्ने बताउँछन् । ‘हिजो अदालतबाट आदेश आएको छ, आजै नै केही गर्न सकिँदैन, आजसम्म केही निर्णय भएको पनि छैन, अदालतको निर्णय अनुसार काम गर्न समय लाग्छ, मलाई काम गर्न दिनुपर्छ, एक घण्टामा काम सक्न म मेसिन होइन,’ उनले भने । संस्थागत लगानीकर्तालाई सेयर वितरण गरेको विषयमा आफूलाई पनि जानकारी भएको र यस विषयमा गहन छलफल भइरहेको उनको भनाइ छ । कम्पनीको आईपीओमा संस्थागत लगानीकर्ता प्रभु क्यापिटल र नेशनल फण्ड म्यानेजमेन्टको १४/१४ करोड रुपैयाँ, कुमारी धनबृद्धि योजनाको १० करोड ४८ लाख रुपैयाँ, प्रभु स्मार्ट फण्डको ९ करोड ९४ लाख रुपैयाँ, नबिल स्टक डिलरको ९१ करोड २० लाख रुपैयाँ होल्ड भएकाे छ । यस्तै, कुमारी इक्विटी फण्डको ८ करोड २० लाख रुपैयाँ, प्रभु सेलेक्ट फण्डको ७ करोड रुपैयाँ, कुमारी क्यापिटलको ६ करोड ८४ लाख रुपैयाँ, गौरव नेपाल इन्भेष्टमेन्ट प्रालिको ५ करोड ४७ लाख रुपैयाँ, भेन्चर क्यापिटल प्रालिको ४ करोड ५६ लाख रुपैयाँ, कुमारी सुनौलो लगानी योजनाको ३ करोड १९ लाख रुपैयाँ, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ र नेपाल लाइफ क्यापिटलको समान २ करोड ७३ लाख रुपैयाँ, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको १ करोड ३६ लाख रुपैयाँ, सिद्धार्थ क्यापिटलको ९१ लाख २० हजार रुपैयाँ र एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट प्राइभेटको ७९ लाख ३४ हजार रुपैयाँ ६ महिना बढी समयदेखि कम्पनीको आईपीओमा होल्ड भएर बसेको छ ।

बलम्बुमा महालक्ष्मी जात्रा सुरु (फोटो फिचर)

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट सुरु हुन्छ । छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन् । पाहुना बोलाएर खुवाउँछन् । उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ । आजको फोटो फिचरमा महालक्ष्मी जात्रासम्बन्धी तस्बिरहरु ।  

लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित

लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार रुपैयाँ र सरकारको अनुदान ४५ करोड रुपैयाँ गरी उक्त आम्दानी खर्चको अनुमान गरेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरिएको छ । प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ । व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र स्थानीय तहसँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् । बैठकमा मन्त्री पाण्डेले लुम्बिनीको विकास र सुधारमा मन्त्रालय र आफ्नोतर्फबाट पर्याप्त रूपमा सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएकाले यसबाट लुम्बिनी र त्यस क्षेत्रका पर्यटकीय क्षेत्रले लाभ लिनुपर्ने बताए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समयको सदुपयोग गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । बैठकमा कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी विकास कोषले अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट यथेष्ट सहयोग नपाएको गुनासो गर्दै उक्त सहयोग र ढोका खुला राख्ने हो भने लुम्बिनी गुरुयोजना कार्यान्वयन सक्न सरकारको अनुदानबिना नै पूरा गर्न सकिने तर नेपालको नीतिमा उदार व्यवस्था हुनुपर्ने बताए । बैठकले लुम्बिनीमा निर्माण गरी राम्रोसँग सञ्चालनमा नआएका बिहार, गुम्बाको अध्ययन गरी तिनको करार प्रक्रिया र अवधिमा पुनःमूल्याङ्कन गर्न अध्ययन कार्यदल बनाउने निर्णयका साथै कर्मचारी सङ्गठनको बदलिँदो आवश्यकताअनुरुप पुनःसंरचना गर्ने निर्णय पनि गरेको छ । रासस

नेक प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश प्रवेश परीक्षा घोषणा गरेको छ । कलेजले इन्जिनियरिङ विधाका सात वटा विषयमा स्नातक तहमा अध्ययन गर्न विद्यार्थीहरुलाई प्रदेश अनुसार छात्रवृत्ति दिँदै आएको छ । यो वर्षको प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते तोकिएको छ । प्रवेश परीक्षा भक्तपुर चाँगुनारायण स्थित कलेजमा हुनेछ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले देशका सबै क्षेत्रका विद्यार्थीहरुले इन्जिनियरिङ शिक्षा हासिल गर्न सकुन् भनेर प्रादेशिक छात्रवृत्ति दिएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए । ‘इन्जिनियरिङ विषय देश विकासको महत्वपूर्ण विषय भएको र यसमा देशका सबै क्षेत्रका विद्यार्थीको सहभागीता बढोस् भनेर सातै प्रदेशका लागि प्रादेशिक छात्रवृत्ति दिँइदै आइएको छ’, उनले भने । कलेजले यसअघि लिएको प्रदेश परीक्षामा सहभागी भई पास भएका तर, फर्म भर्दा प्रादेशिक छात्रवृत्तिमा समेत टिक लगाएका विद्यार्थीहरु पनि प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् । कलेजले सात वटा विषयमा सातै प्रदेशका लागि एकएक वटा पूर्णछात्रवृत्ति प्रदान गर्दछ । नेकको प्रादेशिक छात्रवृत्ति पाउनका लागि प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा पास गर्नुपर्छ । सरकारी स्कुलबाट कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिइने गरिन्छ । त्यसका लागि विद्यार्थीले प्रदेशको स्थानीय तहबाट सिफारिस समेत ल्याउनु पर्ने प्रावधान रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिषकुमार झाले बताए । ‘प्रादेशिक छात्रवृत्तिले विशेषगरी दुरदराजमा रहेका, कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई इन्जिनियर बन्ने अवसर प्रदान गर्दछ’, उनले भने । सन् १९९४ मा स्थापना भएको नेकमा इन्जिनियरिङका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, कम्प्युटर, सिभिल एण्ड रुलर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्ट विषयमा अध्ययन गर्न सकिन्छ । नेकले प्रादेशिक छात्रवृत्तिसँगै अन्य विभिन्न छात्रवृत्तिहरु प्रदान गर्दै आइरहेको छ । कलेजले प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने, सेमेष्टर टपर, स्थानीय तहका विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको छ । कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्ति दिने गरेको छ ।

बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी इभी : बिग ह्याच विथ फाइभ स्टार लक्जरी

बुटवल । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा डोंगफेंग बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् । सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । कार्यक्रममा डोंगफेंगका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए । उनले बिक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई र शुभकामना व्यक्त गरे । त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए । सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ । कम्पनिका अनुसार नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ । एमएडब्लु वृद्धिले कात्तिक २७ गते (आज) बाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउनेछन् । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जानकारी दिएको छ ।

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

फाइल फाेटाे सिमकोट । यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो । रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका छन् । सीता, समिट र तारा एयरलाइन्सले दैनिक उडान नगर्दा यहाँका नागरिकलाई गन्तव्यसम्म पुग्न समस्या हुँदै आएको छ । तारा एयरले सोमबार, सीता र समिट एयरले साताको बुधबार एकदिन मात्रै उडान गर्दा अत्यावश्यक काम परेर जिल्ला बाहिर जान पनि नसकिएको स्थानीय बताउँछन् । नेपाल एयरलाइन्सले हप्तामा सोमबार र मङ्गलबार उडान गर्ने गरेका छ । बिहानैदेखि विमानस्थलमा लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधरणको गुनासो छ । विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका–८ का जय कामीले छोरीको दुवै मृगौला फेल भएर उपचारका लागि बाहिर जिल्ला जान टिकटको खोजी गरिरहेको भन्दै बिरामीको मात्रै टिकट पाइएको गुनासो पोखे । जिल्ला अस्पतालले ‘रिफर’ गरेको कागज पेस गरेपछि मुस्किलले एउटा मात्र टिकट पाइएको उनले बताए । नेपाल एयरलाइन्सले सातामा दुई दिन हुने उडानमा चार जना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएर टिकट उपलब्ध गराएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । पाल्पामा कृषि प्राविधिक विषय अध्ययन गर्दै आएका सिमकोट–२ ठेहेका सन्देश बोहराले अन्तिम परीक्षा दिन जानुपर्नेमा टिकट नपाउँदा समस्या भएको बताए । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई सास्ती हुने गरेको छ ।