कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो १८औं वार्षिकोत्सव
काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्तिक २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमवाट कुल ३९३ पिन्ट रगत संकलन भएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनवाट बैंकको वुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसंचार केन्द्रकी निशा भण्डारीलाई व्लड व्याग हस्तान्तरण गरि समुद्घाटन गरेका थिए । बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीहरुमा प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदी, कानुन विभाग प्रमुख डण्डपानी भट्राई, जोखिम सम्पत्ती विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखहरु राजेश कुईकेल र यज्ञमुर्ति लुईटेल, सवारी चालक याम वहादुर श्रेष्ठलाई केएसविविएल आईकनको रुपमा समेत सम्मान गरेको छ । रक्तदान कार्यक्रम कोशी प्रदेशको ईटहरी शाखा, मधेस प्रदेशको वर्दिवास शाखा, नारायणगढ क्षेत्रको खुरखुरे शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, वुटवल क्षेत्रको वुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिरहरुको सरसफाई, डस्टविन हस्तान्तरण कार्यक्रम, अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप, वित्तीय साक्षरता मुलक पदयात्रा कार्यक्रमहरु आयोजना गरेको थियो ।
दोहोरो अंकले घट्यो सेयर बजार, ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । ११.२४ अंकले घटेर नेप्से परिसूचक २७४५.८१ बिन्दुमा झरेको छ । आज ८० कम्पनीको सेयर बढ्दा १५७ वटाको मूल्य घटेको छ । ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे । ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तिय संस्था र मेन्सीयाम हाइड्रो १० प्रतिशत तथा बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । गुणविल फाइनान्स ९.३६ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी ४.९१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ३.७१ प्रतिशत र हिमालयन बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले गिरावट आएको छ । कारोबार तर्फ गुणविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार २०६, फेस्ट फाइनान्स कम्पनीको २९ करोड २५ लाख ६९ हजार ४००, आँखुखोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख ४७ हजार ७७५ र जानकी फाइनान्स कम्पनीको २० करोड ५९ लाख ३ हजार ५०८ बराबरको सेयर किनबेच भएको छ ।
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरले गर्यो साढे ५ करोड सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पंकज रायले महानगरले उक्त कार्यका लागि पाँच करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए । उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।
दूरसञ्चार तालिम केन्द्र बाहिर धर्ना दिने जनशक्तिसँग टेलिकमको कुनै सरोकार छैन : नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले काठमाडौंस्थित बबरमहलमा रहेको दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्रकाे प्राङ्गण बाहिर केही व्यक्तिहरूले धर्ना दिइरहेको बारे ध्यानाकर्ण गराएकाे छ । कार्तिक १२ गतेदेखि केही व्यक्तिको समूहले धर्ना दिँदै आएकाले आमसर्वसाधारण तथा सञ्चारमाध्यममा यसबारे केही भ्रम पर्न गएकोले टेलिकमले ध्यानाकर्षण गराएकाे हाे । कम्पनीको सेवा विस्तार, मर्मतसम्भार, सुरक्षा, सरसफाइ लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसाेर्सिङकाे माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको टेलिकमले जनाएकाे छ । टेलिकमका अनुसार सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ । दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाइको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको टेलिकमले जनाएकाे छ । नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराएकाे भन्दै विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिएकाे हाे । कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जनासमेत गरेको टेलिकमले जनाएकाे छ । साथै टेलिकमले उक्त जनशक्तिसँग कुनै सरोकार नरहेको बेहोरा पनि स्पष्ट पारेकाे छ ।
फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार बिहान सानोभर्याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै मंगलबार हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।’
पूर्वगृहमन्त्री लामिछानेसँग बयान लिँदै
गण्डकी । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पुर्याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा निजसँग बयान लिइएको हो । पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।
१० हजार किशोरीलाई एकैसाथ आत्मरक्षा तालिम दिँदै वीरगञ्ज महानगर, गिनिज बुकमा नाम दर्ता गर्ने तयारी
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ । महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए । बुधवार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार बढी छात्राहरूको सहभागिता रहने उनले बताए । एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल—भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर सहभागिहरूलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी बताए । आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरूलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए । भारतबाट आएका प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षकसमेत हुन् । उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएका छन् । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैदले व्यक्त गरे । पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुशी लागेको बताए । बुधवार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरू खटाइएको छ ।
हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)
काठमाडौं । हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा मंगलबार भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथलगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।