विकासन्युज

प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण पर्वतीय नागिरकले समस्या भोगिरहेका छन् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरुलाई न्याय दिन उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि सुुरु भएको कोप—२९ सम्मेलनका क्रममा बुधबार किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनका कारण भएको उनको धारणा थियो । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिव महिला, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित बनेको बताए । कोप २९ जलवायुजन्य पीडितलाई न्याय दिन सफल हुने विश्वास राखेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दो रहेको र त्यसले नयाँ रेकर्ड कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उनको भनाइ थियो । ‘जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिव महिला, बच्चाबच्ची र वृद्धवृद्धा अझ बढी जलवायु प्रभावमा परेका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ’, राष्ट्रपति पौडेलले भने, ‘उनीहरुलाई जलवायु न्याय दिनमा कोप २९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ ।’ गत अगस्टमा नेपालको सगरमाथा क्षेत्रमा हिमताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौंको हानीनोक्शानी व्यहोर्नुपरेको सन्दर्भ उल्लेख गर्दै उनले गत मनसुन सिजनमा आएको वाढी पहिरोमा नेपालका ५ सय बढी नागरिकले जीवन गुमाउनु परेको बताए । ‘यसको पीडा अझै सन्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिने छ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आंकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्शानी व्यहोर्नुपर्ने छ’ राष्ट्रपति पौडेलले भने । उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकोले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान रहेको बताए । साथै नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा पनि सँगै काम गरेको अनुभव रहेको उनले स्मरण गरे । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मंगेलियाका राष्ट्रपति, अजरबैजानका विदेशमामिला मन्त्रीलगायतले बोलेका थिए । अजरबैजानको बाकु शहरमा कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत मङ्गलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ । सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले आज यहाँ आयोजना गर्ने ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड डयामेज इन द हिमालय’ (‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्शानीको सम्बोधन’) शिर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उनले सम्बोधन गर्नेछन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमवार बाकु पुगेका हुन् । उनलाई त्यहाँस्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्वन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकम लगानी गर्न तथा कार्वन उत्सर्जनमा न्युन योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएका थिए । त्यस्तै, राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच जलवायु परिवर्तनबाट देखिएको समस्या समाधानका बारेमा कुराकानी भएको थियो । कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा उनीहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको हो । यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप—२९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आईतवार काठमाडौंबाट दोहाको लागि प्रस्थान गरेका थिए । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  प्रथम दीक्षान्त समारोहमा उनले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन  प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए । उनले भने, ‘स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ ।  मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ ।’ स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिए । संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहेका सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाघटन गरेका थिए ।

चलचित्र पूर्णबहादुरको सारङ्गीमा यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको/हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छन् भने शब्द नवराज पन्तले लेखेका हुन् । ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ । गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको…’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाए । ‘गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन’, उनले भने, ‘अहिले सोही गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता/दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।’ चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताए । चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उनको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैँया चाँदीको, म त बागलुङे, मैँया मादीको…’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताए । ‘यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल चलचत्रिका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो’, उनले भने । गीतकार पन्तका लागि पनि यो गीत उनको गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी…’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गरेका पन्तको पहिलोपटक चलचित्रका लागि गीत लेखेका हुन् । ‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैँया चाँदीको…’ थेगो फुरेको गीतकार पन्तले बताए । ‘उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासी मलाई यो गीतको शब्द फुर्यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ’, उनले भने, ‘आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो ।’ गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताए । ‘चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गरे, चलचत्रिको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो’, उनले भने । ‘सुपरहिट’ चलचित्रमा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उनले सुनाए । हाल अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय छज् । बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी…’, ‘डाँडै फर्के सल्लो…’, ‘मायालुको सहरमा…’ लगायत गीत चर्चित छन् । लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेका छन् ।  नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढङ्गले शब्दमा उतार्न उनी सिपालु छन् ।

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

काठमाडौं । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन । ‘भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्’, उनले भने । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । ती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार सुक्खा मौसम र प्रदूषणले लामो समय वर्षा नहुँदा तथा तराई क्षेत्रमा बाक्लो तुवालो लागेकाले हवाई यातायात प्रभावित भइरहेको बताए । ‘तराईको भू–भागमा वर्षा भए पनि नभए पनि अबको केही दिनपछि बिहाना हुस्सु, कुइरो लाग्नेक्रम बढ्ने र उडान प्रभावित हुनेछ’, उनले भने, ‘नोभेम्बरको तेस्रो सातादेखि बाक्लो हुस्सु कुइरो बढ्नेछ । डिसेम्बर, जनवरी र फेब्रुअरीमा बढी हुस्सु र कुहिलो लाग्ने भएकाले महाशाखाले विशेष ‘मोनिटरिङ’ नै गर्छ ।’ तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

सेयर बजारमा १४ अंकको गिरावट, कारोबार रकम पनि खस्कियो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१२ अंक घटेर २७३४.८३ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर बढ्दा १३८ वटाको मूल्य बढेकाे छ । तर, ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि हिजो नेप्से ११.२४ अंकले घटेको थियो भने ७ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, मकर जीतुमायी सुरी हाइड्रो, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । तर, कुथेली बुकारी स्मल हाइड्रोकाे सेयर मूल्य १० प्रतिशत घटेकाे छ । यस्तै, समाज लघुवित्त वित्तिय संस्था ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीको ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले गिरावट आएको छ । कारोबारतर्फ भने जानकी फाइनान्स कम्पनीकाे ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ, पोखरा फाइनान्सकाे २५ करोड ८९ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँ, समृद्धि फाइनान्सकाे २१ करोड १३ लाख रुपैयाँ र पिपुल्स हाइड्रोको १८ करोड २२ लाख  रुपैयाँकाे सेयर काराेबार भएकाे छ ।

निजगढमा सामूदायिक आँखा अस्पताल सेवा सञ्चालनमा

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढमा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको बुधबार उद्घाटन गरी सेवा सुचारु गरिएको छ । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ । उद्घाटन पश्चात मुख्यमन्त्री सतिश कुमार सिंहले भने , ‘यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ ।’ निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले भने, ‘राम्रो आँखा उपचार भन्नासाथ तिलगंगा भनेर सम्झिथ्यौ जसको लागि काठमाडौं कि हेटौडा जानुपथ्र्यो तर अहिले तिलगंगा हाम्रै आगँनमा आएको छ । हामी निजगढवासी र वरिपरिका क्षेत्रका लागि यो एकदमै खुशीको क्षण र ठूलो उपलब्धी हो । यसको लागि हामी सम्पूर्णको तर्फबाट ह्रदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।’ तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा।डा।सन्दुक रुइटले भने, ‘यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ ।’ द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने, ‘यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ ।’ वर्तमानमा, नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र करिव ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ । प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६।८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ । आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ । विशार्टले थपे ‘फाउन्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ ।’ नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुइ तिहाई बढी दृष्टिविहिन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रम मार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँच सम्बन्धि विद्यमान लैगिंक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ । स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा अनुमानित ४–५ प्रतिशत अंश रहेको देखिन्छ, त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरि सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकुल प्रणालीहरू प्रयोगमा ल्याउने छ ।

कुनै पनि हालतमा बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति गरेको, लोकप्रियताको आड लिएको लगायतका आरोप लगाउँदै आएका छन्, मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन, ‘उनले भने, ‘मैले कानुनभित्र बसेर राजस्व  उठाउन मात्रै खोजेको हुँ ।’ यस्तै, उनले आफूले सम्पूर्ण राजनीतिक दल र नागरिक समाज लगायत निकायबाट सहयोग पाएकाे बताउँदै जसरी पनि बक्यौता उठाएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् । उनले राजस्व उठ्नुलाई राजनीति गरेको भनेर आरोप नलगाउन पनि अनुराेध गरेका छन् । उनले आफूले राजनीति नगरेको पनि प्रष्ट पारे । आफूले नेपालको संविधान र कानुनमा रहेर देशको हितमा काम गरेको धारणा राखे ।

उद्योगीहरू ब्ल्याकमेलिङमा लागे, बक्यौता नतिरे लाखौं लगानीकर्ता डुब्न सक्छन् : घिसिङ

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्नुको साटो यो विषयलाई थप विवादित बनाउने र इमोस्नल ब्ल्याकमेलिङ गरेर सरकारलाई प्रभावित पार्ने कामका लागेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले उद्योगीहरुले तिर्नु पर्ने बिजुलीको बक्यौता तिर्नुको सट्टा बढी राजनीतिककरण गर्नतर्फ लागेको धारणा राखेका हुन् । ‘उनीहरु लाइन काट्नुभन्दा अगाडि धेरै वस्तु उत्पादन गरिराख्ने, बिक्री नभएको वस्तु लाइन काटेको अवधिमा बिक्री गर्ने, त्यो समयमा बक्यौता पनि नतिर्ने, उल्टै नेपालको अर्थतन्त्र धरासायी भयो, धेरैले रोजगारी गुमाए भनेर इमोस्नल ब्ल्याकमेलिङ र राजनीति गर्नतर्फ लाग्नुभयो, बक्यौता नतिरेर उहाँहरुले यो विषयलाई थप विवादित बनाउन तर्फ लाग्नु भयो,’ उनले भने । उनले आफू सुरुदेखि नै देशमा औद्योगिक वातावरण निर्माण गर्नतर्फ लागेको पनि बताएका छन् । ‘म औद्योगिक वातावरण सिर्जना गर्नुपर्छ भनेर सुरुदेखि लागेको हुँ, उद्योगीलाई दिनुपर्ने सेवा सुविधा दिएकै छौं, लोडसेडिङ अन्त्य गरेर उद्योगीलाई धेरै सहयोग गरेका छौं,’ उनले भने । उनले प्राधिकरणले पाउनुपर्ने रकम असुल नगरेमा प्राधिकरणलाई ठूलो आर्थिक क्षति भएर वित्तीय रुपमा नै धरासायी हुने स्थिति बन्न सक्ने बताए । ‘अहिले हामी वार्षिक १०/१२ अर्ब रुपैयाँ नाफा गरिरहेका छौं, नगद प्रवाह राम्रो छ । हामीले प्राप्त गनुर्पे रकम बढ्दै गएको छ । यो रकम असुल गर्न सकिएन भने प्राधिकरण वित्तीय रुपमा ठूलो समस्यामा पर्न सक्छ, यसको प्रभाव अन्य विद्युत कम्पनीमा परेर लाखौं लगानीकर्ता डुब्न सक्ने स्थिति आउन सक्छ,’ उनले भने । त्यसको असर प्रत्यक्ष रुपमा अर्थतन्त्रमा पर्ने उनको भनाइ छ ।