नेपाल लाइफको नाफा ३०% बढ्यो, २ खर्ब ८ अर्ब पुग्यो जीवन बीमा कोषको आकार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३० प्रतिशत बढेको हो । असोज मसान्तसम्म कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१४ प्रतिशत बढेको हो । ं समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ, सञ्चित नाफा ३४.७४ प्रतिशत बढेर ७१ करोड १९ लाख रुपैयाँ, जीनव बीमा कोष १९.५४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटी ४.४२ प्रतिशत बढेर ७९ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले ११ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ९२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.५४ प्रतिशतले बढी हो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.०१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्कमा १२४% छलाङ, नाफा बढ्यो १३.७३ प्रतिशत
काठमाडौं । राष्ट्रि बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १३.७३ प्रतिशत बढेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२४ प्रतिशत बढेको हो । ं असोजसम्म कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ लाख ३४ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४६१ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ४१ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने १६ करोड १८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १० करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष कोषमा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ९४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा विशेष कोषमा २ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब २६ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३० प्रतिशतले बढी हो । कम्पनीले पुनर्बीमा मार्फत ४४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५८.७२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२२३.५२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने ३०२.६३ गुणा रहेको छ ।
पृथ्वीराजमार्ग दैनिक साढे ४ घण्टा अवरुद्ध हुने
काठमाडौं । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे ४ घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए । ‘मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ,’ उनले भने । उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै, २ ठूला पुल र १०३ कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत २ सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनको भनाइ छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
तराईमा हुस्सु लाग्यो, कोशी र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दुई ब्रोकर संघबीच मर्जर, व्यवसायी र लगानीकर्ताको हकहितका लागि एक भएर अघि बढ्ने
काठमाडाैं । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालमा रहेका स्टक ब्रोकर्श एशोसिएनका र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । दुइुृ संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालमा आउने छ । पछिल्लो समय सेयर बजार देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकाश र विस्तार गर्नका लागि दुई संस्थाहरु एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रविकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो धु्रविकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ उनले भने, ‘यसले पक्कै पनि हाम्रो पूँजीबजारलाई र हामी यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशा निर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हक हित संरक्षणमा एकिकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ साथै अबको दिनमा संयुक्त रुपमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एक ढिंक्का भएर अघि बढन् प्रतिवद्धता व्यक्त गरे । करिब २३ वर्ष पछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायी मैत्री बनाउन मर्जर पछि एक भएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘अझै पनि धेरै कुराहरु जुन वर्तमान अवस्थामा हाम्रो पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक छन् त्यस किसिमका व्यवस्थाहरु समावेश भएको देखिँदैन,’ उनले भने, ‘यस्तो ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने हो । तर यति लामो अन्तराल पछि संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेको हुँदा सरोकारवाला सबैलाई यो विषयउपर आवश्यक छलफल गराई उक्त ऐनलाई अगाडि बढाउने हामीले आगामी दिनमा एकिकृत ढंगबाट पहल गर्नुपर्ने छ ।’ नेपालको पुँजी बजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजार लगायतका विषयमा हामीले अगामी दिनमा ठोस रुपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटिको डेरिभेटिभ, इण्डेक्स फण्ड लगायतका लगानी औजारहरुको विकास गर्न ढिला भैसकेको बताए । साथै अक्सन मार्केट, मार्केट मेकर, सिसिपि लगायतका पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ । सो कार्यका लागि नीगित रुपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकिृकत भई लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौं भने धितोपत्र व्यवसायीहरुको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरुले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्ग काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्त रुपमा काम गर्नेछौं ।’ उक्त संस्था मर्जरमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली हरका छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरु सुमन कुमार मल्ल र सन्दिप विक्रम राणामा रहेका छन् ।
पूर्णबहादुरको सारङ्गीले ताेड्याे धेरै कमाउने नेपाली फिल्मको रेकर्ड, १३ दिनमा कति कमायाे ?
काठमाडाैं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । नेपालमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डलाई कबड्डी ४ को नाममा थियो । पूर्णबहादुरको सारङ्गीले कबड्डी ४ को रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । प्रदर्शनको १३ औं दिनसम्म फिल्मले २५ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले आज बुधबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्म निर्माताका अनुसार कबड्डी ४ को कलेक्सन २३ करोड ५० लाख र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा २१ करोड ३८ लाख छ ।
महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । ‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह छौ,’ उनले भने, ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो ।’ नेपालमा वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे । यसैगरि अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरुसंग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे । नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । ‘कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो,’ ढकालले भने । ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२ प्रतिशत मात्र हो । त्यसैले लगानी प्रवद्र्धन सबैको चासोको बिषय हुनुपर्ने उनको धारणा थियो । छलफलका क्रममा उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताए । ‘उच्च विदेशी मुद्राको संचितिलाई विदेशी लगानीकर्ताहरुले सदुपयोग गर्न सक्छन्,’ उनले भने । नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिने पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । ‘पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन, र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्यौं,’ उनले भने । यी कार्यक्रममा हरेक देशका करिब एक सय ५० स्थानिय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो । मध्यपूर्वी मुलुकहरुमा नेपाली कृषिजन्य उत्पादनहरुको सम्भावना रहेको औल्याउनु हुँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताए । अन्य मुलुकहरुमा पनि नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध समस्याका रुपमा रहेको बताए । यसैगरि नेपाल अतिकम बिकसित मुलुकहरुबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तराष्टियस्तरमा पाइने सुविधा कटौतिले निजी क्षेत्रमा प्रभाव पर्ने बताए । यस्तो प्रभाव कम गर्न नव नियुक्त राजदूतहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराए । छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको बताए । यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउँदै सहकार्य गरिने बताए । बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने बताए । चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्ण प्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने बताए । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिमल्सेनाले निजी क्षेत्रसंग मिलेर काम गर्ने बताए ।
यी हुन् सेयर मूल्य २ हजार रुपैयाँ भन्दा बढी भएका १८ कम्पनी
काठमाडौं । पछिल्लो समय पुँजी बजार सकारात्मक लयतर्फ अग्रसर छ । देशमा दुई ठूला राजनीतिक दलको संयुक्त सरकार बनेसँगै पुँजी बजारमा भने त्यस्तो कुनै हलचल भएको छैन । सेयर बजार घटबढ हुनु पुँजी बजारको सुन्दरता रहेको लगानीकर्ताहरू बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न क्षेत्रका साढे ३ सय बढी कम्पनी सूचीकरण भएर कारोबारमा छन् । नेप्सेमा सूचीकृत म्युचुअल फण्डबाहेकका कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्ममा कारोबार भइरहेका छन् । सूचीकृत कम्पनीहरूमा थोरै कम्पनीको मात्र सेयर मूल्य २ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको देखिन्छ । युनिलिभर नेपाल सेयर बजारको हटकेक कम्पनी हो । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी पनि युनिलिभर नै हो । बुधबारको अन्तिम कारोबार हेर्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५.८० रुपैयाँसम्म पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य पनि हो । कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ रहेको छ । जसमा संस्थापक समूहको ८५ प्रतिशत र सर्वसाधारण समूहको १५ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेमा तथ्याङ्क छ । कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको छ । लाभांश इतिहास हेर्दा कम्पनीले नगद लाभांशलाई मात्रै जोड दिएको देखिन्छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १ हजार ७१४ प्रतिशत लाभांश वितरण गरेको थियो । राष्ट्रिय बीमा कम्पनीको सेयर प्रतिकित्ता १७ हजार १५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकत्ता २२ हजार ४९३.९० रुपैयाँ पुगेको थियो । २६ करोड ६६ लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा संस्थापक समूहको ८७.७५ प्रतिशत र सर्वसाधारण समूहको १२.२५ प्रतिशत लगानी छ । यस कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता भने कम्पनीले हालसम्म प्रतिफल बाँड्न सकेको छैन । साथै, कम्पनीको विगत केही वर्षको लेखापरीक्षण पनि हुन बाँकी रहेको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर बुधबार प्रतिकित्ता १७ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ । ५२ साताको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ हजार ७६५ रुपैयाँसम्म पुगेको नेप्सेले जनाएको छ । १९ करोड ४८ लाख ८८ हजार रुपैयाँ पुँजी रहेको कम्पनीमा २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापक समूहको सेयर स्वामित्व रहेको छ । निरन्तर लाभांश वितरण गर्दै आएको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा भने सेयरधनीहरूको हात रित्तो बनाएको थियो । बोटलर्स नेपाल (तराई) को सेयर मूल्य प्रतिकित्ता १४ हजार ४११ रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ हजार २ सय रुपैयाँ पुगेको थियो । १९ करोड ४८ लाख ८८ हजार रुपैयाँ पुँजी रहेको यस कम्पनीमा सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पनि निरन्तर उच्च लाभांश वितरण गर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक भने लाभांश घोषणा गर्न बाँकी छ । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको सेयर बुधबार प्रतिकित्ता ५ हजार ९ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रत्येक वर्ष सेयरधनीलाई उचित लाभांश वितरण गर्दै आएको यस कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा ७ हजार रुपैयाँ पुगेको थियो । कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख १७ हजार रुपैयाँ छ । जसमा २१.२६ प्रतिशत संस्थापक समूह र ७८.७४ प्रतिशत सर्वसाधारण समूहको लगानी छ । आर्थिक वर्ष २०७९/८० मा १५.७९ प्रतिशत लाभांश बाँडेको कम्पनीले यसपटक भने घोषणा गर्न बाँकी छ । विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ३०५ रुपैयाँ रहेको छ । संस्थागत सुशासनमा कमजोर रहेको यस कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा प्रतिकित्ता ५ हजार ३१४ रुपैयाँसम्म पुगेको थियो । ४ करोड ९१ लाख ४० हजार रुपैयाँ पुँजी रहेको कम्पनीमा सर्वसाधारण समूहको ८५.२६ प्रतिशत र संस्थापक समूहको १४.७४ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले विगत लामो समयदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन भने हालसम्म सेयरधनीहरूलाई प्रतिफल पनि वितरण गर्न सकेको छैन । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ७८९.१० रुपैयाँ रहेको छ । गत वर्ष मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा कम्पनीको प्रतिकित्ता ३ हजार १४० रुपैयाँसम्म पुगेको नेप्सेको तथ्याङ्क छ । जलविद्युत समूहमा २ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य रहेको कम्पनी पनि कुथेली नै हो । सर्वसाधारण समूहको २० प्रतिशत र संस्थापक समूहको ८० प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २०९ रुपैयाँ रहेको छ । ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा २ हजार ७ सय रुपैयाँ पुगेको थियो । कम्पनीमा संस्थापक सेयरधनीहरूको स्वामित्व ८० प्रतिशत र सर्वसाधारण समूहको २० प्रतिशत स्वामित्व रहेको छ । कोषले निरन्तर सेयरधनीहरूलाई प्रतिफल वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा १५.७९ प्रतिशत लाभांश बाँडेको कोषले यसपटक भने घोषणा गर्न बाँकी छ । १० वटा लघुवित्त संस्था नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १० वटा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ हजार रुपैयाँभन्दा बढी रहेको छ । महिला लघुवित्त, गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त, यूनिक नेपाल लघुवित्त, श्रृजनशील लघुवित्त, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको नेप्सेले जनाएको छ । बुधबारको तथ्याङ्कअनुसार आत्मनिर्भर लघुवित्तको ४ हजार ७३५ रुपैयाँ, समाज लघुवित्तको सेयर मूल्य ३ हजार ८९८ रुपैयाँ, उपकार लघुवित्तको ३ हजार १७० रुपैयाँ, यूनिक नेपाल लघुवित्तको २ हजार ८५० रुपैयाँ, विन नेपाल लघुवित्तको २ हजार २८५ रुपैयाँ, गुराँस लघुवित्तको २ हजार ७८० रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ हजार ३६५ रुपैयाँ, श्रृजनशील लघुवित्तको २ हजार ५२४ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको २ हजार ४३३ रुपैयाँ र महिला लघुवित्तको प्रतिकित्ता २ हजार १२४.९० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ ।