आनी, राजेश र रोहितले अनावरण गरे लुम्बिनीको जर्सी
काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । गायिका आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर अभिनेता राजेश हमाल र राष्ट्रिय सिनियर क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी जर्सी डिजाइन गरिएको क्लबको दाबी छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बायाँ भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक छ । भगवान बुद्धको जन्मस्थान लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरूमध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए । जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले भनिन्, ‘आज लुम्बिनी लायन्सको जर्सी औपचारिक रूपमा लोकार्पण भएको छ, मलाई एकदमै खुशी लागेको छ । जसरी संसारभरका सबै मानिसहरूको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।’ जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भने, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरूलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समूहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट – यी कुराहरूले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरू अति आवश्यक लाग्छन् ।’ उनले लुम्बिनी लायन्सको जर्सी क्लबको पहिचान मात्र नभएर क्रिकेटरहरूको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरूको अटुट साथको प्रतिविम्ब पनि रहेको तर्क गरे । लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरूको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा आफू निकै उत्साहित भएको हमालले बताए । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘आज हामीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको छौँ । सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सी डिजाइन गरेका छौँ ।’ निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको र सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गरेको उनले बताए । साथै, सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको जिसीको दाबी छ ।
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी, मूल्यसूची सार्वजनिक गर्नुपर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिए । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनकाे भनाइ छ । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको उनले बताए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनकाे भनाइ छ । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको उनले जानकारी दिए । ‘मैले टिकेटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ’, उनले भने । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए । उनका अनुसार भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म पुर्याउने योजनामा मन्त्रालय रहेको छ । उनले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए । आफूले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको जानकारी दिए । ‘त्रिभूवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु संघीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु । हामीले बनाएका तीन वटै एयरपोर्टमा आगामी दिनमा गतिविधि बढ्नेछ । तीन एयरपोर्टको दबाब, आवश्यकताले निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय स्तरकै निकै ठूलो एयरपोर्ट बन्ने परिकल्पना छ । हामी त्यो बनाउने दिशामा पनि सकारात्मक प्रेरणा मिल्नेछ’, उनले भने । उनले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको जानकारी दिए ।
डिसि फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डीसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस साझेदारीले १ वर्ष भित्रमा, देशभरका १०० स्थानहरूमा फास्ट–चार्जर स्थापना गर्ने योजना राखेको छ । हाल देशभर १६ भन्दा बढी फास्ट-चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् । उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ । हाल पोखरा–३ स्थान, काठमाडौं-३ स्थान, नारायणघाट-३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्ततः इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ । यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ । शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो । साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ । डीसी फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन् । यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन् । यो सम्झौता नेपालको इभि चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धी हो, जसको साथमा यातायात क्षेत्रमा वातानुकुलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुन्छ ।
सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धकमा नारायण प्रसाद भट्टराई नियुक्त
काठमाडौं । सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नारायण प्रसाद भट्टराई नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थामा २७ वर्ष समय बिताएका अनुभवी बैंकर भट्टराईले नेपाल बंगलादेश बैंक लिमिटेडबाट बैंकिङ पेशा सुरु गरेका हुन् भने उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंक हुँदै कुमारी बैंकसम्म आईपुग्दा ती संस्थाहरुमा विभिन्न पद तथा क्षेत्रहरुमा रहेर कार्य गरेका छन् । नव नियुक्त उप–महाप्रबन्धकभट्टराईले २०८१ मंसिर २ गते आइतबारबाट आफ्नो कार्यभार सम्हाल्नेछन् ।
बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न
बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा सक्रिय लायन लिडरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले लायन्स क्लबले गरेको सेवाका बारेमा जति प्रशसा गरे पनि नपुग्ने बताए । उनले लायन्स क्लबले गर्ने सामाजिक कार्यहरुमा उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताए । डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामा उत्कृष्ट हुन सफल लायन लिडरहरुलाई पिन, मेडल तथा सर्टिफिकेट प्रदान गरी सम्मान गरिन् । यसबाहेक कार्यक्रम सफल बनाउन सहयोग गर्ने अन्य लायन लिडरहरुलाई पनि डिष्ट्रिक्ट गभर्नर थापाले सम्मान गरिन् । धौलागिरी एरियाका सबै क्लबहरुको संयुक्त आयोजनामा भएको दोस्रो क्याबिनेट बैठक कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट हंगर कोअर्डिनेटर लायन योगेन्द्र प्रधान, फस्ट पर्सन तथा मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सन चियरपर्सन लायन ध्रुब बहादुर थापा, आईपिडीजी लायन हरिप्रसाद मरहट्टा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली लगायतका लायन्स लिडरहरुले उपस्थित सबै लायन लिडरहरुलाई शुभकामना दिँदै सेवाका गतिविधि बढाउन आग्रह गरे । कार्यक्रममा बाल प्रतिभा, सामाजिक अभियन्ता प्रिन्सा रेग्मीले बालबालिका र अभिभावक बीचको सम्बन्धका बारेमा आफ्नो मन्तव्य दिएकी थिइन् । क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले डिष्ट्रिक्टबाट भएका विभिन्न कार्यक्रमहरुको बारेमा संक्षित जानकारी गराए । त्यस्तै क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् । सिल्भर प्यालेस पार्टी भेन्यूमा भएको कार्यक्रममा बागमती, गोर्खा, गण्डकी तथा धौलागिरी क्षेत्रका विभिन्न पदमा रहेका क्याबिनेट अफिसर्स, क्लब प्रेसिडेन्ट लगायत करिब ७७० जनाको उपस्थिती रहेको डिष्ट्रिक्टका पिआरओ चिफ लायन रामराजा थापाले जानकारी दिए ।
नेपाल बैंकको ८८ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड शुक्रबार आफ्नो ८७ औँ वर्ष पुरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए । नेपालभर २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २५ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । करिब ९ लाखभन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैंकिग सेवा लिई लाभान्वित रहेको जनाइएको छ ।
लमजुङ दरबार निर्माण कार्य ठप्प, प्रधानमन्त्रीका स्वकीय सचिवलाई भन्दा पनि अघि नबढेको गुनासो
लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । ‘हामीले निर्माणकार्य नभएपछि गत दसैँपछि काठमाडौँ पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम सुरु हुनसकेको छैन’, उनले भने,’यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।’ स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनःनिर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए । वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म कामसुरु नभएको बताए । ‘दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन’, उनले भने । पुरातत्व विभागका अनुसार दरबार पुनःनिर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा एक करोड ३३ लाख रूपैयाँ बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनःनिर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि ५५ लाखमात्र बजेट रहेको बताए । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ । ‘बजेट निकासा, किस्ता किस्तामा बोलपत्रलगायत प्रक्रियाका कारण यस वर्ष यतिका महिनासम्म निर्माण कार्यले गति लिन सकेको छैन । बोलपत्र प्रक्रियामा गइसकेको र आधिकारिक रूपमा बोलपत्र परेको कम्पनीको नाम आउन बाँकी रहेकाले पनि केही समय लागको हो । अब केही समयमा बोलपत्र परेका ठेकेदारसँग सम्झौता गरेर ठेकेदारलाई ल्याएर हेर्न आउँछौँ अनि करिब एक महिनापछि काम सुरु गर्छौँ, हालको बजेटको काम सुरु गरेको करिब तीन महिनाभित्रमै काम सम्पन्न हुने हाम्रो विश्वास छ’, इ अधिकारीले भने । पुरानै शैली र स्वरूपमा दरबारको पुनःनिर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ । रासस
एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुनमा कति ?
काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा ०.२० प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७९ प्रतिशत र संस्थागततर्फ ५.७९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६.९९ प्रतिशत, संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको थियो । । बैंकले साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधारदर ८.८७ प्रतिशत रहेको छ ।