विकासन्युज

बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले मोरङको बेलबारी नगरपालिकामा उद्यमीहरुको व्यवसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यसका लागि बैंकले नगरपालिकासँग समन्वय गरेको थियो । वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रसारणसमेत गरिरहेको जनाएको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

आज ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार, दुई उपसूचकबाहेक सबै हरियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज १५.८३ अंकले बढेर बजार २ हजार ६ सय ८३.२४ बिन्दुमा झरेको छ । आज १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन १ करोड २२ लाख कित्ता सेयरको किनबेच हुँदा ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै न्यादि ग्रुप पावरको ५४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, बेस्ट फाइनान्सको २५ करोड, नेपाल फाइनान्स लिमिटेडको २० करोड र एनआरएन इन्फ्राक्टर एन्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड बढीको सेयर कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषबाहेक अन्य उपसूचक सबै हरियो छन् ।

ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर अनावश्यक हल्ला गरियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्छौँ । त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम गर्दैनौँ । यसमा ढुक्क हुन आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुनेगरी तयारी भएको जानकारी दिए । उनले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुनेगरी लिन सक्नुपर्नेमा जोड दिए । नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने प्रधानमन्त्री ओलीले आग्रह गरे । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको उल्लेख गर्दै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारूढ दुई दलीय संयन्त्रबाट ‘एजेन्डा’का विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रुप दिइने बताए । उनले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताए । छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं उपत्यकाबाहिर रहेका कारण अनुपस्थित थियो भने पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी थिए ।

कोइकाको अनुदानमा मध्यपुरथिमि नगरपालिकामा १५० शय्याको अस्पताल बन्ने

  काठमाडौं । नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवनको शिलान्यास भएको छ । सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ भवनको शिलान्यास गरे । शिलान्यास समारोहमा कोरिया गणतन्त्रका राजदूत पार्क ताइयाेङ, , कोइकाका देशीय निर्देशक कङ मुहन, मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र स्थानीय समुदायका नेताहरूलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । १५० शैयाको नयाँ भवनमा न्युरो, स्त्री, प्रसूति, अर्थोपेडिक्सलगायतका विशेष सेवासहित ६ वटा अपरेशन थिएटर रहनेछन् । नयाँ भवनले अस्पतालको क्षमता विस्तारका साथै विशिष्ठ चिकित्सकीय सेवाका लागि थप ठाउँ प्रदान गर्नेछ । यस भवनले स्वास्थ्य पूर्वाधार सुधार गर्न र स्थानीय जनसंख्याको बढ्दो आवश्यकताहरू पूरा गर्नका साथै गुणस्तरीय र व्यापक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताको प्रमाण हो । विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको यो अस्पताल यस क्षेत्रको चिकित्सा पूर्वाधार सुधारका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो । यसले मध्यपुर थिमि र वरपरका क्षेत्रको बढ्दो स्वास्थ्य सेवा आवश्यकतालाई सम्बोधन गर्दै आपतकालीन हेरचाह, मातृ तथा बाल स्वास्थ्य, बहिरंग सेवा र विशेष्ठ उपचारलगायतका अत्यावश्यक सेवाहरू प्रदान गर्दै एक व्यापक स्वास्थ्य सेवा सुविधाको रूपमा काम गर्नेछ । समारोहमा उपप्रधानमन्त्री सिंहले सार्वजनिक स्वास्थ्य सेवाको अभिवृद्धि, सबै नागरिकको स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न र स्वास्थ्य सेवाको असमानतालाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतामा जोड दिए । कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइयोङले दिगो स्वास्थ्य सेवाको विकासमा अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वलाई प्रकाश पारेका थिए । कोइकाका कन्ट्री डाइरेक्टर मुहन् कङले नेपालमा स्वास्थ्य सेवाको पूर्वाधार सुदृढ गर्न कोइकाबाट जारी सहयोगका बारेमा बोल्दै नेपाल कोरिया फ्रेन्डसिप नगरपालिका अस्पतालको विस्तार र गुणस्तरीय चिकित्सा सेवामा पहुँच सुधार गर्न यसको भूमिका प्रति खुसी व्यक्त गरे । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नयाँ भवनले मध्यपुर थिमि र बाहिरका बासिन्दाको स्वास्थ्य सेवा र स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै समुदाय केन्द्रित विकासको महत्त्वमा जोड दिए ।

चीनसँग लोन लिनै हुँदैन भन्ने विषय असाध्यै आपत्तिजनक हो : झलनाथ खनाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजनाअन्तर्गत लोन लिनै नहुने सत्तारूढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् । सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजनाअन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए । उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे । नेता खनालले भने, ‘बीआरआई ग्लोवल प्रोजेक्टजस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरूसँग सहमति भइसकेकाे छ । भूराजनीतिक जटिलता अहिले मात्रै होइन, धेरै पहिलेदेखि भएको छ । र यो जारी रहन्छ । त्यसकारण भूराजनीतिक जटिलता भित्र सत्तारुढ दलहरू पर्नुपर्ने आवश्यकता छैन । चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाहिं असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौं ।’ बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरू देशको दवावको कुनै अर्थ नहुने पनि नेता खनालले दोहोर्‍याए ।

बिदामा बसेर पाइलटको विरोध, समस्या छिट्टै समाधान हुनेमा वायुसेवा निगम विश्वस्त

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट) ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौंमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । यात्रुलाई आइतबार राति मुम्बई र आज बिहान दुबई लगिएको छ । उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे। निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिबारदेखि उडानमा प्रभाव देखिन थालेको थियो । निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले विरोध जनाएको बुझिएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । निगमका पाइलटहरूको सेवासुविधा सम्बन्धमा निगम व्यवस्थापनका तर्फबाट विभिन्न चरणमा अद्यावधिक जानकारी गराइएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको निगमले उल्लेख जनाएको छ । निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको निगमको अपरेसन्स विभागका कामु निर्देशक दीपुराज ज्वारचनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण विमानचालकलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ ।

एमालेले पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो जरिवानापत्र

काठमाडौं । नेकपा एमालेले जरिवानापत्र बुझ्न नमानेपछि काठमाडौं महानगरले इमेल र हुलाकमार्फत् पठाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेको महानगरपालिकाको टोलीलाई एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । पत्र बुझ्न नमानेपछि महानगरले जरिवानापत्र इमेल र हुलाकमार्फत् पठाएको महानगरको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । शुक्रबार दरबारमार्गमा भएको एमालेको जागरणसभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवानापत्र लेखेको थियो । आइतबार एमालेको मुख्यालयले आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको थियो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताएका थिए । उनले नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे । साथै उनले काठमाडौं महानगरपालिकाका प्रमख बालेन्द्र साहले स्टन्टबाजी गरेकाे भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै कामअघि बढाउनसमेत आग्रह गरेका थिए । उनले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी पनि गरेका थिए ।

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आएका सभापति देउवाले सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताए । सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए । फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताए । सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।