बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला, पशुपति क्षेत्रमा भक्तजनको भीड
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडो मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौँ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन् । ‘भगवान् शिव मृगरूप लिएर घुम्नु भएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,’ उनले भने । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसैबखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसैबेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसैबखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिन नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।
देशभर मौसम सफा रहने, उच्च पहाडी र हिमाली भागमा हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानहरूले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार, चालु खर्चमा ३०% कटौती
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारको प्रारम्भिक खाका तयार भएको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा मन्त्रालयको बजेट वक्तव्य कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै मन्त्री अधिकारीले सरकारी स्वामित्वको डिडिसीको व्यवस्थापकीय सुधारको काम सुरु भएको बताए । ‘मन्त्रालय डिडिसीलाई सुधार गर्न लागि परेको छ, मन्त्रालयअन्तर्गत समिति गठन गरेर यसलाई कुन ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका तयार गरेका छौँ,’ मन्त्री अधिकारीले भने । संस्थानको चालु खर्चमा ३० प्रतिशत कटौती गर्नेबारे उनले जानकारी दिए । यस्तै, चिस्यान केन्द्रको व्यवस्थापन, बजारीकरण गर्न ५० स्थानमा कर्नर र एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ । मन्त्री अधिकारीले भने, ‘दुग्ध विकास संस्थानका सबै आयोजना प्रमुखसँग संयुक्त रुपमा छलफल गरेका छौँ ।’ मन्त्री अधिकारीले संस्थाको आन्तरिक व्यवस्थापनमा कर्मचारी जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । गत असार मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने रकम १ अर्ब ५८ करोड रुपैयाँ बाँकी रहेको, कर्मचारीलाई उपदान दिनुपर्ने रकम ८ करोड ३८ लाख रुपैयाँ, कर्मचारीलाई तलब दिनुपर्ने ४ करोड ६३ लाख रुपैयाँ र अन्य भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । किसानको भुक्तानी ५६ करोड रुपैयाँ बाँकी रहेको मन्त्री अधिकारीले समितिलाई जानकारी दिए । उनका अनुसार कर्मचारी उपदानतर्फ ७ करोड २४ लाख रुपैयाँ, कर्मचारीको (तलब कात्तिक महिना) १ करोड ७ लाख रुपैयाँ तथा अन्य भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख रुपैयाँ छ । किसानको हातमा १ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पुगेको उनले बताए । डिडिसीसँग ३७ करोड ९४ लाख रुपैयाँ बराबरको दूध पाउडर ५५२ मेट्रिक टन तथा ४९ करोड ६० लाख रुपैयाँको ६२० मेट्रिक टन बटर मौज्दात रहेको छ । यस्तै उठ्न बाँकी ३१ करोड १ लाख रुपैयाँ रहेको मन्त्री अधिकारीले जानकारी दिए । कृषि ऐन निर्माणदेखि रासायनिक मल खरिदका लागि कानुन संशोधन र समयमै कृषि उपजको न्यूनतम मूल्य समर्थन मूल्य तोक्ने विषयमा उनले समितिलाई जानकारी गराए ।
रास्वपाका सभापति लामिछानेलाई काठमाडौं ल्याइयो, शुक्रबार मात्रै बयान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले आज साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौं ल्याइएको हो । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । सभापति लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट उनलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली लगिएको छ । भोलि (शुक्रबार)बाट जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुने प्रहरीले जनाएको छ ।। सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आईएसएमटी कलेजले सम्पन्न गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । काठमाडौंको तीनकुने गैरिगाँउस्थित आईएसएमटी कलेजले सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलापअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । बेलायतको सुन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस आईएसएमटी कलेजले बीबीए, बीएचएम, बीएससी आइटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक, एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै आईएसएमटी ग्रुपअन्तर्गत युनिभर्सिटी अफ सुन्डरल्यान्ड युकैकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालनमा छन् ।
राहुलले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि, तोरण एक स्ट्रोकले पराजित
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन् । अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरणविक्रम शाहीलाई एक स्ट्रोकले माथ दिएका हुन् । राहुलको सूर्य नेपाल गल्फ टुरमा करिअरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए । प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए । समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे । निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए । प्रोफेसनलतर्फ संयुक्तरूपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी, समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए । सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए । यसैगरी, समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन-पार ७२ मा खेल पुरा गरे । ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए । अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे । आज एमेच्योर गजेन्द्र गुरुङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे। अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सदभाव विरुद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने संभावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरेर उपाधि आफ्नो पोल्टामा पारे ।
अनुमतिप्राप्त मेडिकल कलेजहरूको अस्पताल शैय्या क्षमता सार्वजनिक, धेरै चितवन मेडिकल कलेजको
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरूले सञ्चालन गरेका अस्पतालहरूको शैय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो । मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शैय्या क्षमता छ । मन्त्रालयसँग चार सय शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ । लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् । बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरूले भने तीन सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए/नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शैय्या सञ्चालन भए/नभएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।[pdf id=525396]