‘साख मूल्यांकन नतिजालाई अवसरमा बदलौं’
काठमाडौं । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवमा शनिबार आयोजित ‘अर्थतन्त्रको प्रबन्धन’ विषयक अन्तक्र्रियामा आर्थिक क्षेत्रसम्बद्ध सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले पाएको ‘डबल बी माइनस’ नतिजा उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको बताए । नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको भन्दै उनले यो सम्भावनालाई नतिजामा बदल्न आवश्यक रहेको धारणा राखे । सरकारलाई गर्ने आलोचनाको अन्तर्यमा निकास भेटिने भन्दै उनले निरपेक्ष रूपमा मात्र आलोचना नगर्न सुझाव दिए । ‘यो सरकार बनेदेखि आजसम्म आइपुग्दा अर्थतन्त्रमा समस्या थपिएका छन् भने त्यसको जिम्मा म लिन्छु, राम्रो भएको भए जस यो सरकारलाई चाहिँदैन,’ उनले भने । अर्थमन्त्री पौडेलले विरासतमा अत्यन्तै गम्भीर समस्याको चाङ प्राप्त गरेको भन्दै समस्याबीच रहेर काम गर्ने प्रयास गरेको बताए । यहीबीच सकारात्मक सुधार र संकेत देखापरेको उनको दाबी छ । निजी क्षेत्रको मनोबल उकास्न व्यावसायिक वातावरण बन्नुपर्ने र राजनीतिक अस्थिरता त्यसको बाधक रहेको उनले बताए । ‘राजनीतिक अस्थिरताले मुलुकलाई कहालीलाग्दो अवस्थामा पुर्याउँछ, त्यस अवस्थामा अर्थतन्त्रमा उल्लेखनीय समस्या समाधान गर्न सक्दैनौं । यो संसदले पनि स्थिर सरकार दिन सकेन,’ उनले भने, ‘संसद् जनताको इच्छाअनुसार बन्यो, तर सरकार स्थिर बनेन, स्थिर सरकार बनाउने आवश्यकता महसुस गरेर यो सरकार बनेको हो । मेरो बुझाइमा यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।’ योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले मुलुकको सार्वभौम साख मूल्यांकनले सकारात्मक बहस सिर्जना गरेको बताए । उनले अबको बहस सुधारमा केन्द्रित हुनुपर्ने बताए । लगानीका क्षेत्र पहिचान गरी त्यसतर्फ बहस बढाउनुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्र चलायमान हुन नसक्नुका पछाडि फरक खालको बहस हुन नसक्नु पनि एक कारण देखिन्छ,’ उनले भने, ‘हामी ५/६ वर्षदेखि एकै खालको बहस गरिराखेका छौं, तर आजको अवस्था फरक छ ।’ अहिले ब्याजदर घटेको, तरलता पर्याप्त रहेको, सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न खोजेको लगायत कारण विगतभन्दा फरक अवस्था रहेको उनको भनाइ छ । त्यसैगरी नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाका हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चुनौती कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाइ छ । मुलुकको आर्थिक र वित्तीय अवस्था विगतभन्दा फरक नभएका कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेत कुनै प्रावधान संशोधन नभएको उनले बताए । त्यस्तै अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमात्र जिम्मेवार नभई अन्य क्षेत्रको पनि भूमिका महत्त्वपूर्ण रहने उनले बताए । ‘अहिलेको स्थिति चिर्न राज्यका सबै निकायको उत्तिकै भूमिका हुन्छ, मौद्रिक नीति माथिको निर्भरता घट्नुपर्छ, यदि मौद्रिक नीतिले सही काम गरेको छ भने यसलाई चलाउनु हुँदैन,’ उनले भने । त्यसैगरी अर्थविद् डा. अच्युत वाग्लेले राजस्वका नयाँ स्रोत फेला नपरेको सन्दर्भ निकाल्दै यसले राज्यलाई कमजोर बनाइरहेको बताए । राजस्व उठ्ने ट्रेन्ड कुल गार्हस्थ उत्पादन (जीडीपी) को २४/२५ प्रतिशतबाट घटेर १२/१३ प्रतिशतमा झरेको भन्दै ‘राजस्व नउठ्ने अवस्थामा किन पुग्यौं ?’ भन्दै प्रश्न गरे । राजस्व नउठ्दा सार्वजनिक ऋण थप्नुपरेको भन्दै यसले थप संकट ल्याउनतर्फ समेत सचेत गराए । अबको केही वर्षमै जीडीपीको ६० देखि ६५ प्रतिशतसम्म सार्वजनिक ऋण पुग्ने भन्दै यो थेग्न सक्ने अवस्था हो वा होइन भनेर विश्लेषण गर्नुपर्ने बताए । यी सबै समस्या आउनुका पछाडि आर्थिक व्यवस्थापकीय प्रबन्धन अभाव रहेको उनले बताए । सरकारले हातखुट्टा उठाउनुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै बलियो रूपमा प्रस्तुत हुन सुझाव दिए । अब केही गर्न सकिँदैन भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे । अर्थविद् वाग्लेले निर्देशनको भूमरीमा मात्र मुलुक फसेको भन्दै निर्देशन दिनुभन्दा राज्य सञ्चालकले रणनीति ल्याएर एक्सनमा जानुपर्ने बताए । उनले गैरआर्थिक व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गरे । ‘कुनै पनि मन्त्रालयमा ६ देखि ७ महिना सचिव नटिक्ने अवस्था किन आउँछ,’ भन्दै प्रश्न गरे । राज्यले संघीय प्रणाली नै स्वीकार गर्न नसकेको भन्दै यसमा सुधार गर्नसमेत आग्रह गरे । ‘हामी संघीयतामा छौं भनेर किन स्वीकार नगरेको ?,’ उनले प्रश्न गरे, ‘संघीय प्रणाली अनुसार आर्थिक प्रणालीलाई परिचालन गर्नुपर्छ भनेर सोच्दै सोचेनौं ।’ निजी क्षेत्रको अपेक्षा कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका नेतृत्वले अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि निजी क्षेत्रको मनोबल उठ्न नसकेको भन्दै यसमा काम गर्न सरकारलाई सुझाव दिए । नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले अप्ठ्यारो परिस्थितिबीच नेपालले पहिलो पटक राम्रो कन्ट्री रेटिङ पाएको बताए । ‘यो राम्रो समाचार हो । दक्षिण एसियामा भारतभन्दा पछाडि भए पनि अन्यभन्दा राम्रो हुनु सुखद हो । यसमा राष्ट्र बैंकको निकै ठूलो योगदान छ । यसले हामीलाई वाह्य क्षेत्रबाट हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ,’ उनले भने । यो अवसरलाई उपयोग गर्नुपर्ने र यो स्तरलाई निरन्तरता दिनु चुनौतीका रूपमा रहेको उनले बताए । पछिल्लो १० वर्षमा पहिलो पटक ब्याजदर ९ प्रतिशतभन्दा कम भएको सन्दर्भ निकाल्दै उनले आर्थिक गतिविधि विस्तारमा जोड दिए । त्यसैगरी नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले राम्रो वाह्य सूचकमा रहे पनि निजी क्षेत्र शिथिलतामा रहेको उल्लेख गरे । निर्माण, व्यापार क्षेत्र संकुचनमा रहेको, आयात–निर्यात घटेको भन्दै उनले पुरानो समस्याको बोझ मुख्य कारण रहेको बताए । क्रेडिट रेटिङले निजी क्षेत्रको मनोबल उकास्न सहयोग पुग्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सुस्तता अहिलेको समस्याका रूपमा रहेको बताए । विगतमा लिएका नीतिले समस्या समाधान नभएको हो कि भनेर समीक्षा गर्नुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधार सुझाव आयोगमा निजी क्षेत्रको सहभागिता गराएकोमा उनले आभार व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दललाई आर्थिक रूपमा एक स्थानमा ल्याउन सफल भएको सन्दर्भ निकाले । उनले लगानी सम्मेलनका बेला कानुन परिवर्तनमा प्राप्त सफलता त्यसकै उपज भएको समेत बताए । ‘निजी क्षेत्रले इस्यु, अडान निजी क्षेत्रको फाइदाका लागि मात्र राख्छ, सामाजिक रूपमा उत्तरदायी छैनन् भन्ने जुन मानसिकता थियो, त्यसले राजस्व संकलनमा असर गरेको छ,’ ढकालले भने, ‘आयात निषेध गरेर समस्या समाधान हुँदैन भन्ने निजी क्षेत्रको भावना छ ।’
कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै सिद्धार्थ हस्पिटालिटी
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रबर्द्धनमा जोड दिएको छ । सिद्धार्थले सोभेनियर सपमार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको हो । सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए । उनका अनुसार राउटे र अन्य समूदायले बनाएका काठका सामग्री, थारू समूदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्री समेत सोभेनियर सपमा राखिएको छ । प्रायस् होटलको सोभेनियर सपमा गरगहना र कपडा राख्ने चलन भए पनि यस होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन राखिएको हो । ‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रुपमा विभिन्न उत्पादन तथा अर्ग्यानिक कृषिजन्य उत्पादन कोसेलीका रुपमा लैजान सकून भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो’, उनले भने, ‘हाम्रो यो प्रयासबाट यहाँका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण हुनुका साथै किसानलाई प्रोत्साहन हुने अपेक्षा गरेका छौ ।’ रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई उक्त उत्पादन आपूर्तिका लागि समन्वयन गरिएको सो समितिका अध्यक्ष उदिराम डाँगीले बताए ।
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए । ‘सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ’, उनले भने, ‘पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौँ ।’ सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा रु १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जालगायतका सामान धेरै तस्करी हुने गरेको देखाउँछ । सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार मूल्य पर्ने पाँच सय ३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ । त्यस्तै सोही अवधिमा दुई सय ३६ किलोग्राम गाँजा, १४ दशमलव ९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो । सशस्त्र प्रहरीले जिल्लामा आव २०८०-८१ मा भने ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।
५.२६ प्रतिशत नगद लाभांश बाँड्ने नेशनल बैंकिङ्ग इन्स्टिच्युटको घोषणा
काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस ८ गते बिहान साढे ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ कायम गर्ने, सञ्चालक समिति सदस्यको संख्या ५ बाट ७ पुर्याउनेछ । यस्तै, सञ्चालक समितिबाट नियुक्त भएका नेपाल राष्ट्र बैंकका नेफिल मातङ्गि मास्के र ग्लोबल आइएमई बैंकका बिल डागालाई सञ्चालकमा अनुमोदन गर्नेछ ।
सिद्धार्थ बैंकबाट बाहिरिँदै लेखा राज्यलक्ष्मी खाँड, बिक्रीमा राखिन् सेयर
काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक सेयरधनी लेखा राज्यलक्ष्मी खाँडले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेकी हुन् । उनले आफ्नो स्वामित्वमा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा राखेकी हुन् । सो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र उक्त सेयर खरिदका लागि संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
एनपिएल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौं गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु-१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौं गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् । चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् । त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् । यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् । कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।
काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । रास्वपाकी श्रेष्ठले २ हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत पाएर दोस्रो भएका छन् । कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत पाएर तेस्रो भए । यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् । यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनको नतिजा आउनेक्रम जारी, कहाँ कसले जित्यो ?
काठमाडौं । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ । हालसम्म मतपरिणाम सार्वजनिक भएका अधिकांशमा नेपाली कांग्रेसले जितेको छ । साथै, नेपाली कांग्रेसलाई केपाल कम्युनिष्ट पार्टी (एमाले)ले पच्छ्याइरहेको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– मा देवेन्द्रप्रसाद यादव निर्वाचित एको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीका)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । हिजो सम्पन्न उपनिर्वाचनमा उनले ६५५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले ६३१ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए । ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी ईशनाथ नगरपालिका वडा–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए । सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी काठमाडौँ, १७ मङ्सिरः सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे । कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे । हेटौंडा–१२ मा कांग्रेसका तिवारी बिजयी मनहरी (मकवानपुर), १७ मङ्सिरः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिए । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे । कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी काठमाडौँ, १७ मङ्सिरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उनले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गरे । नुवाकोटको ककनी–२ मा माओवादी केन्द्रका घिमिरे बिजयी नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए । उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गरे । तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । उनले चार सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए । लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे । सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे । धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी धनुषा, १७ मङ्सिरः धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएक छन् । उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे । स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् । उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरिन् । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो । निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएक छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले छ सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे । बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे । सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । यादवले तीन सय ७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे । रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे । दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका छन् । उनले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छन् । गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए । उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे । ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएका छन् । उनले तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए । सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे । झापा कन्काई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएक छन् । उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे । गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए । रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।