एनआरएन इन्फ्राइट्रक्चरले खरिद गर्याे एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर
काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)को सेयर खरिद गरेको छ । कम्पनीले एलआईसी नेपालको ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको हो । एलआईसी नेपालले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गरेको थियो । जसमध्ये एनआरएन इन्फ्राइट्रक्चरले सर्वसाधारण समूहतर्फको ४ लाख ७५ हजार कित्ता सेयर खरिद गरेको हो । एनआरएन इन्फ्राइट्रक्चरले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा कम्पनी आक्रमक रूपमा लगानी परिचालन गर्दै आएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरणमा सघाउने विश्वास बैंकले गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका पदाधिकारी, तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागितामा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले चेक हस्तान्तरण गरेका हुन् ।
फोटोन नेपालको सर्भिस नेटवर्क पार्टनर बैठक सम्पन्न
काठमाडौं । चिनियाँ सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक फोटोन नेपालले नेपालका १७ सर्भिस नेटवर्क पार्टनरहरूको बैठक सम्पन्न गरेको छ । नेपालमा ट्रक, पिकअप र विद्युतीय सवारी साधनको कारोबार गर्दै आएको फोटोन नेपालले गत वर्षको कार्यसम्पादन मूल्यांकन गर्दै भविष्यमा गर्न सकिने सहकार्यबारे समीक्षा गरेको थियो । ‘अ रिलायबल आफ्टर सेल सर्भिस’ नाराका साथ नयाँ सेवा प्रविधि र सेवामा उत्कृष्टता बढाउने विषयमा छलफल भएको थियो । फोटोन नेपालले आफ्ना सबै ग्राहकलाई सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितता समेत व्यक्त गरेको छ ।
साइमेक्स इंकद्वारा ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजनाको घोषणा
काठमाडौं । नेपालको विद्युतीय मोबिलिटी र अत्याधुनिक प्रविधिमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यका साथ बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च ४ सम्म आयोजना हुन लागेको यस इभेन्टले इलेक्ट्रिक भेइकल, एआई इन्टिग्रेसन र नयाँ उर्जा सोलुसनका आधुनिक सुविधाहरूलाई एकै ठाउँमा समेट्ने उद्देश्य राखेको छ । कम्पनीकाअनुसार यस इभेन्टमा उपस्थित हुने आगन्तुकहरूले उच्च–टेक इन्टर्याक्टिभ जोनमार्फत बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.० लगायतका अत्याधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । साथै, नेक्स्ट–जेन भेइकल शोकेसमा बीवाईडीका पछिल्ला मोडल र चाँडै आउने नयाँ मोडलको प्रदर्शनी हुने भएकोले अटोमोटिभ क्षेत्रका व्यवसायी, प्रविधि उत्साही र साधारण प्रयोगकर्ताले भविष्यको स्मार्ट मोबिलिटीको झलक पाउनेछन् । रियल–टाइम टेक्नोलोजी डेमो, विशेषज्ञ टक र प्यानल डिस्कसनमार्फत नेपालमा ईभी ट्रेन्ड र नविन इनोभेसनका बारेमा महत्वपूर्ण जानकारी साटासाट हुनेछ । इभेन्टले परिवारिक क्रियाकलाप र रमाइला कार्यक्रमहरूको आयोजना पनि गरेकोले सबै उमेरका दर्शकहरूका लागि यो एक अनुपम अनुभव बन्ने अपेक्षा गरिएको छ । कम्पनीकाअनुसार टिकट खरिद ई-सेवामा उपलब्ध गराइएको छ भने विद्यार्थीहरूलाई परिचय पत्र देखाउँदा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ । यस इभेन्टले नेपालमा इलेक्ट्रिक मोबिलिटी र सस्टेनेबल प्रविधिको क्षेत्रमा नयाँ सोच र उर्जा प्रवाह गर्ने विश्वास गरिएको छ । सहभागीहरूले आधुनिक प्रविधिका नविन प्रयोगहरू प्रत्यक्ष अवलोकन गर्दै स्मार्ट मोबिलिटीको भविष्यमा आफ्नो योगदान पुर्याउने सुनौलो अवसर प्राप्त गर्नेछन् । बीवाईडी हाई–टेक विक २०२५ ले नेपाली अटोमोटिभ उद्योगमा नयाँ अध्याय सुरु गर्दै, प्रविधि र उर्जामा आधारित समाधानहरूद्वारा दैनिक जीवनमा सहजता र उन्नत सेवा प्रदान गर्ने दिशा तय गरेको कम्पनीले जनाएकाे छ ।
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ : डा. मिलनकुमार थापा
काठमाडौं । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बृद्धि भएको छ। एक दशकयताकै सर्वाधित भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको छ । जनवरीमा ‘पशुपति दर्शन अभियान’मार्फत भारतमा धार्मिक अभियन्ता, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियन्तासँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि महाशिवरात्रिको तयारीमा जुटेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासँग यही सन्दर्भमा गरिएको अन्तरवार्ताः महाशिवरात्रि पर्वमा दर्शनार्थीको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेज्यूको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ। मन्त्रीज्यूको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषको सम्पूर्ण टोलीले काम गरिरहेको छ। ९ वटा विषयगत उप–समिति गठन गरिएको छ। उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ। व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउन सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ। यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ। भक्तजनलाई सहज बनाउन पशुपतिनाथ मन्दिरमा पूजाआजाको प्रबन्ध कसरी गरिएको छ ? नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वमा धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ। व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ। कोषको प्राथमिकता भक्तजनको सुबिधा र सहजता हो। दर्शनार्थी, साधुसन्त एवं भक्तजनको संख्या बृद्धि भएको हुनाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्ने र भगवानको दर्शन गर्न लामो समय प्रतिक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ। सुरक्षाको प्रबन्ध कसरी गरिएको छ ? सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आफ्नो सुरक्षा टोली रहेको छ। दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ। साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ। सुरक्षा निकायसँगै अरु सामाजिक संस्थाको परिचालन कसरी गरिएको छ ? सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरिएको छ। कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघसंगठनका तर्फबाट स्वयंसेवक खटाइएको छ। स्वास्थ्यको प्रबन्ध के छ ? स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ । अस्पतालमा शैया बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ । साधुसन्तको व्यवस्थापन, खानपिन आदिको व्यवस्थापन कसरी गरिएको छ ? साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ। मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ। तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ। भगवान पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वलाई विशेष बनाउनका लागि मन्दिर परिसरलाई आकर्षक रुपमा सिँगारिएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थित र भव्य बनाउन मन्त्रीज्यूसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राज्यमन्त्री अरुणकुमार चौधरीको पनि सदासयता प्राप्त भएको छ। दर्शनार्थीलाई छिटोछरितो रुपमा दर्शन गराउनका लागि मूल भट्टजीसहित पाँच जना भट्टजीहरू, भण्डारीहरू, कोषका कर्मचारी, परिषद् सदस्यहरू अरोरात्र खटिनुभएको छ। महाशिवरात्रि पर्वमा आउने दर्शनार्थीले अत्यन्तै उल्लास र भव्यता महसुस गर्नुहुनेछ। कोष सम्पन्न ध्यान दर्शनार्थीको सेवामा केन्द्रित छ। धार्मिक पर्यटन प्रवद्र्धन गरी आर्थिक रुपमा समुन्नत र समृद्ध देश बनाउन मैले व्यक्तिगत र संस्थागत रुपमा पहल गरेको छु। भगवान पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्न हामी प्रयत्नरत छौँ।
यस्तो छ मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ २५ पैसा र बिक्रीदर नौ रूपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रूपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३८ पैसा र बिक्री दर ३१ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ एक पैसा र बिक्रीदर १३ रूपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ५९ रूपैयाँ ५४ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ १० पैसा तय गरिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’ निर्माण
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका– ३ स्थित लौठचौरमा निर्माण हुने भनिएको ‘कर्णाली हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’को काम अझै अघि बढेको छैन । तालिम केन्द्रको नाममा जग्गा पास नहुँदा निर्माण रोकिएको छ । विद्यालयको नाममा रहेको जग्गामा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद हुँदा अहिले निर्माण अघि नबढेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुंगो लगाई ट्रेनिङ निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । विद्यालयको जग्गा छोडेर बाँकी रहेको जग्गामा समेत उक्त ठाउँमा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माण गर्न सकिन्छ । जग्गा विवाद देखाएर सरकारबाट विनियोजन भएको बजेट सदुपयोग गर्न नदिने खेल भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । विश्वको सर्वाधिक उचाइमा धान फल्ने पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य ट्रेनिङ सेन्टरले लिइएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ । विभिन्न चरणमा गरेर सरकारको करिब तीन करोड पैसा ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ । ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए । चालु आर्थिक वर्ष २०८१ र ८२ मा ६ करोड २९ लाख बजेट विनियोजन भएको छ । स्थानीय पुर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार बजेट ट्रेनिङ सेन्टरको नाममा विनियोजन भएको आयोजनाका सुचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । यो आर्थिक वर्ष भित्र उक्त बजेट खर्च गरिसक्नु पर्ने हुन्छ । जग्गा पास नहुदाँ हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरको काम रोकिएको शहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सुचना अधिकारी खड्काको भनाइ छ । जिल्ला खेलकुद विकास समिति जुम्लाले हाइअल्टिच्युट मैदानको डिपिआर भने ३२ करोड तीन लाख बजेटको बनेको छ । १० लाख बजेटमा चिमारा इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार गरेको थियो । विसं २०७४ पुस ३ मा युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गर्नुभएको थियो । यसपछि विद्यालयको जग्गा र स्थानीय बासीको जग्गामा रंगशालाको निर्माण कार्य थालिएको थियो । पटक पटकको करिव तीन करोड बजेटमा मैदान समथलमा खर्च भइसकेको छ । हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ । त्यसैगरी स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ । संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुने छ । खेल पर्यटन प्रवद्र्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्यूला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने छ ।
चोरी पैठारीका २३८ वटा पत्रु सवारी साधन बिक्री गर्दै जलेश्वर भन्सार
काठमाडौं । जलेश्वर भन्सार कार्यालय महोत्तरीले चोरी पैठारीका सवारी साधन बिक्री गर्ने भएको छ । कार्यालयले विभिन्न निकायहरूबाट चोरी पैठारीको आरोपमा जफत गरिएका २३८ सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । भन्सार कार्यालयका अनुसार दर्ता भएन÷भएका पत्रु सवारीहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी बढाबढमा बिक्री गरिनेछ । खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले २१ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै आफूले कबोल गरेको रकमको न्यूनतम १० प्रतिशत रकम बैंकमा जम्मा गरी सोको सक्कल भौचर बोलपत्र फाराम साथ पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । चोरी पैठारी लगायत गैरकानुनी रुपमा ल्याइएका सवारी साधन समयमा बिक्री नहुँदा भन्सार कार्यालयमै थन्किएर बस्ने गरेका छन् । यसरी ल्याइएका सवारी साधन समयमा बिक्री वितरण हुने हो भने राज्यलाई करोडौं राजस्व समेत उठ्ने देखिन्छ । तर, समयमा यस्ता सवारी साधन बिक्री नहुँदा भन्सार कार्यालयको ठाउँ समेत ओगट्ने गरेका छन् । अन्ततः कवाडीका रुपमा बिक्री गर्नुपर्ने बाध्यता आउँछ ।